कर्णालीको गरिबी र विकास
०१ पौष २०७१
•
१८ मिनेट पाठ
कर्णालीको गरिबी र विकास
नेपाल मानव विकास प्रतिवेदन, २०१४ मा कर्णालीलाई सबै दृष्टिबाट मुलुककै सबैभन्दा पछाडि परेको क्षेत्र भनिएको छ। भोकमरी, महामारी दुस्साहसपूर्ण माओवादी आक्रमण र सरकारी प्रत्याक्रमण, भौगोलिक विकटताजस्ता भयावह विषय र घटनाका बेलामात्र मुलुकको ध्यान कर्णालीमा जान्छ।
नत्र, उक्त क्षेत्र राज्यले सधैँ उपेक्षा र बेवास्ता गर्ने गरेको छ। भौगोलिकरूपले दुर्गम र विकट भएकाले कर्णाली अर्थात पुरानो जुम्ला राज्य अविकसित भएको मान्दै आइएको भए पनि वास्ताविकता फरक छ। पर्याप्त राजनीतिक चाहना र इच्छाशक्ति भए भौगोलिक कठिनाइ सजिलै हटाउन सकिन्छ। नत्र अरबका मरुभूमि र हिउँले ढाकिएका डाँडाकाँडा भएको स्विट्जरल्यान्ड, तिब्बतलगायतको प्रगति कसरी हुन सक्थ्यो? कर्णालीमा पुँजी निर्माण हुन सक्दैन, उद्यम र व्यापार छैन, त्यसकारण गरिबी छ भन्ने अर्थशास्त्रीको तर्क होस् वा घोर अशिक्षा, अन्धविश्वास र गरिबीले त्यहाँको समाज मूलप्रवाहमा सरिक हुन नसकेको भन्ने समाजशास्त्रीको तर्क सबैले कर्णाली र त्यहाँका बासिन्दामाथि नै दोष थुपारेको छ। यो आंशिक सत्य भए पनि वास्तविक सत्य यही नै चाहिँ होइन।ऐतिहासिक थलो

इतिहासमा कर्णाली वैभवशाली सभ्यताको धनी मानिन्छ। के कारणले इतिहासको यो विरासत गुम्यो? ऐतिहासिकरूपले राजनीतिक अर्थतन्त्रलाई आलोचनात्मक विश्लेषण र यस प्रान्तको राज्यसँगको सम्बन्ध नखोतलिकन सच्चाइमा पुग्न सकिँदैन। वि.सं. १८४६ सालपूर्व आत्मनिर्भर र आत्मविश्वास भरिएको कर्णाली किन आज जर्जर अवस्थामा आइपुग्यो? जुम्ला राज्य अर्थात् वर्तमान कर्णाली अञ्चलमाथि गोर्खाली सेनाले विजय त गर्‍यो तर गोर्खाको विजय र विस्तार अभियानलाई कर्णालीले स्वीकार गरेन। अन्तिम लडाइँमा पराजित जुम्लाका राजा र भारदार तिब्बतको ताक्लाकोटमा शरण लिन पुगेपछि जुम्ला नेतृत्वविहीन भयो। पटकपटकको आक्रमणमा गोर्खालीको पनि धेरै क्षति भएकाले गोर्खाली राज्यको दृष्टिकोण पनि कर्णालीमाथि सकारात्मक बन्नसकेन। कर्णालीको पराजयपछि रिक्त राजनीतिक र सांस्कृतिक नेतृत्व पूरा गर्न केन्द्रले बडाहाकिम र कर्मचारी पठाएर शासन गर्न थाल्यो। यो प्रवृत्ति आजसम्म पनि छ। मुलुकको १४.५ प्रतिशत भूभाग ओगटेको सबैभन्दा ठूलो अञ्चलमा देशको २ प्रतिशतभन्दा कम जनसंख्या बसोबास गर्छन्। विकट भूबनोट, अत्यन्त चिसो हावापानी, कमजोर विकास पूर्वाधार, मानवीय संसाधन र आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पछौटेको परिचय बोकेर बाँच्न कर्णाली अहिले पनि विवश छ।

 

कर्णालीको गरिबी र पीडा

मानव गरिबीका दृष्टिले नेपालका सबैभन्दा गरिब ५ मध्ये ३ जिल्ला कर्णालीमा पर्छन्। यहाँका ५५ प्रतिशतभन्दा बढी बयस्क जनसंख्या साक्षर छैनन्। महिला साक्षरता ज्यादै न्यून छ। पाँच वर्षमुनिका आधाभन्दा बढी बालक कुपोषणका सिकार छन्। झन्डै आधा जति जनसंख्याको जीविका सुरक्षित छैन। जम्मा ४० वर्षसम्म बाँच्न असमर्थ जनसंख्याको प्रतिशत राष्ट्रिय औसतभन्दा झन्डै दोब्बर छ। महिलाको स्थिति ज्यादै कमजोर छ। घरपरिवारमा सुविधाको चरम अभाव छ। सत्तरी प्रतिशतभन्दा बढी परिवारमा कुनै पनि आधुनिक सुविधा छैन। दाउराबाहेक इन्धन छैन। दुई तिहाईभन्दा बढी परिवारको बिजुलीमा पहुँच छैन। आधाभन्दा बढी घरमा चर्पी छैन। कर्णालीको गुजारामूलक खेती प्राकृतिक सम्पदामाथि नै निर्भर छ। खेतीयोग्य जमिनको उपलब्धता कम छ। मकै, कोदो, फापर, चिन्नो, कागुनो, आलु र लट्टे मुख्य बाली भए पनि आजीविका चरन र पशुपालनसँग जोडिएको छ। जडीबुटी संकलन र सीमापारिको व्यापारको जीविकामा महत्त्वपूर्ण भूमिका छ। पर्यावरण साहै्र कमजोर र संवेदनशील छ। खाद्य असुरक्षा, भोकमरीको व्यापकता कर्णालीको परिचय बनेको छ।

राज्यको बेवास्ता, घट्दो आत्मविश्वास, हीनताभाव र आत्मकेन्द्रित राजनीतिले कर्णालीलाई परनिर्भर बनाएको छ। ऊर्जा, जैविक विविधता र पर्यटन विकासको प्रचुर सम्भावना भए पनि राज्य शक्तिमा शून्य पहुँचका कारण नेपालमा गरिबीको किम्बदन्ती बनेको छ कर्णाली। विभिन्न कठिनाइ हुँदाहुँदै कर्णालीमा स्नातक/स्नातकोत्तर गर्नेको ठूलै संख्या छ तर तिनीहरु राज्यका निर्णायक तहमा पुग्नसकेका छैनन्। कर्णालीले बाहिरकालाई उनीहरूले गोर्खाली भनेर चिन्छन् र बाहिरका हाकिमले यिनलाई पिउन, भरिया र भान्छे बनाउँछन्। उनीहरुलाई गरिब, पछौटे, असभ्य, फोहोरीको उपमा दिन्छन् र अर्धचेतमै कर्णालीले स्वीकार गर्छ। राज्यले पठाउने चामल, खाद्यान्न, नुन जहाजबाट कहिले झर्ला भनेर पर्खनु र त्यसलाई नै ठूलो मान्नु कर्णालीको विशशता बनेको छ। पञ्चायतपछि बहुदलीय व्यवस्थामा केही परिवर्तन भए पनि गणतन्त्रसम्म आइपुग्दा सम्म त्यहाँका जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन आउनसकेको छैन। क्रान्ति, परिवर्तन र 'जनयुद्ध'का नाममा धेरैले जीवन गुमाए, फर्केर हेर्दा केही पनि पाउन सकेनन्। त्यहाँको पीडा र गरिबीको यस यथार्थलाई उपेक्षा गरेर कर्णाली विकासको चर्चा गर्नु नै व्यर्थ हुन्छ।

 

कछुवा गतिको विकास

गतिलो सडक यातायात कर्णाली क्षेत्रकै पहिलो आवश्यकता हो। विसं २०४० मा सुर्खेत–जुम्ला सडक निर्माण गर्ने भनिए पनि केही वर्षअगाडि मात्र कर्णाली राजमार्ग बनेर जुम्लासम्म मोटर गयो तर कमजोर सडकका कारण चार सयभन्दा बढीको जीवन लिएकाले कर्णाली राजमार्गले 'मृत्यु मार्ग' को परिचय पाएको छ। हुम्ला र डोल्पालाई अहिलेसम्म पनि सडकले छोएको छैन। न सडक यातायात प्रभावकारी छ न हवाई यातायात। हवाई मैदान कामचलाउ हालतमा मात्र छन्। विद्युत् र पर्यटनका पूर्वाधार छैनन्। रारा र फोक्सुन्डो पर्यटक पर्खेर बसेका छन्। ज्यादै महँगो यातायातले पर्यटक लोभ्याउनसकेको छैन। छरिएका बस्ती र बजारले खास उपलब्धि हासिल गर्नसकेका छैनन्। शिक्षा र स्वास्थ सेवा नाममात्रका छन्। अर्थात्, अहिलेसम्म पनि विकास पूर्वाधार दिगो र भरपर्दो छैन।

कर्णालीमा केही वर्षयता सीमित संख्यामा झोलुङ्गे पुल, स्कुल, स्वास्थ्य चौकी, केही सरकारी भवन, हवाई मैदान त बनेकाछन् तर तिनलाई विकास भन्नसकिने अवस्था छैन। भएका विकास निर्माण पनि कछुवाको गतिमा छन्। विनियोजन गरिएको बजेट खर्च हुनसकेको छैन। कच्चा पदार्थ, सिमेन्टलगायत निर्माण सामग्री अत्यधिक महँगो हुनाले पनि विकास महँगो भएको छ। प्रशासनिक शिथिलता, निराश जनमानस, प्रभावकारी अनुगमन अभावले कुनै पनि काम राम्रोसँग अघि बढ्नसकेको छैन। अहिलेसम्म पनि कर्णाली विकासको गुरुयोजना बनाएर अगाडि बढ्न सकिएको छैन भने कृषि उत्पादन, रैथाने बाली संरक्षण र विकास, जडीबुटी संकलन, प्रशोधन तथा त्यसको बजारीकरणको अभावले आर्थिक गतिविधि ज्यादै सुस्त छ।

 

सडक : विकासको आधार

स्रोतको अभावले कर्णाली विकास नभएको होइन बरु कर्णालीको विशेषताअनुसार विकासको परिकल्पना नभएकाले यो क्षेत्र अविकसित रहेको हो। अहिलेसम्म कर्णालीबासीले पशुपालन र परम्परागत तिब्बत र नेपालका मध्यपहाडी उपत्यकासँगको व्यापारमा नै आफ्नो जीवन निर्वाह गरे। पहाडको सामुदायिक वनको अवधारणाले पशुपालन गर्ने काममा धक्का पुग्यो। पशुको निःशुल्क चरन नभएपछि परम्परागत हिसावले तिब्बतबाट नुन र ऊनको व्यापार तथा तराई एवं पहाडबाट अन्न ल्याउने व्यापार करिब बन्दै हुनपुग्यो। त्यसमाथि माओवादी सशस्त्र युद्धले झन् ठूलो बाधा पार्‍यो। कर्णालीमा अत्यन्तै मूल्यवान हिमाली काठ, दाउराको स्रोत, जलविद्युत्, पर्यटन, जैविक विविधता र प्रचुर मात्रामा जडीबुटी छन् तर बजार छैन। त्यसकारण कर्णाली क्षेत्रको सबै पक्षको विकासका लागि पहिलो सर्त हो – स्तरीय, सस्तो र सुलभ सडक यातायात।

त्यहाँको सम्भावित विपद् र जोखिमलाई ध्यानमा राखेर रणनीतिक सडक बनाउनुपर्छ तर संवेदनशील क्षेत्रमा मनपरी सडक लैजान रोक्नुपर्छ बरु विकल्पमा पहुँचका लागि सडक–रोपवे गोरेटोको सञ्जाल चाहिन्छ। मृत्यु मार्गका रूपमा परिचित कर्णाली राजमार्गको स्तरोन्नति र अहिलेसम्म पनि सडक सञ्जालले नछोएका हुम्ला र डोल्पामा स्तरीय सडक निर्माण गर्नुपर्छ। सडकलाई तिब्बतसँग जोड्न सके व्यापारको सम्भावनाले कृषिको विकास हुन्छ। मुख्य रणनीतिक सडक बनाउँदा छरिएका बस्ती एकीकृत गर्ने र बस्ती विकास गर्ने योजनाका साथ काम गर्नुपर्छ। कम्तीमा चार सय परिवार भएको करिब ३० वटा बस्ती विकास गर्ने काम तत्काल प्रारम्भ गर्नुपर्छ। बस्तीबाट प्राकृतिक स्रोत, जडीबुटी लिन जाने गोरेटो निर्माण गर्नुपर्छ। यही सन्दर्भमा संसद्को विकास समितिले तत्काल कणाली क्षेत्र विकास गुरुयोजना बनाउन सरकारलाई निर्देशन दिएको छ। कर्णाली विकास गुरुयोजना यातायात र बस्ती विकासलाई केन्द्रमा राखेर जलविद्युत्, पर्यटन, जडीबुटी, कृषि र खासगरी बजार खोज्ने व्यापार बढाउने र रोजगारी गर्ने कार्यक्रमका साथ आउनुपर्छ।

 

आर्थिक विकास र रोजगारी

कर्णालीको विकास अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ हुनुपर्छ। ग्रामीण विद्युतीकरण, साना सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, भवन, तटबन्ध, रैथाने कृषि बालीको विकासजस्ता परियोजनाले तत्कालीन आवश्यकता पूरा गर्छन् तर यसले रोजगारी सिर्जना गर्न सक्दैन। ठूला राजमार्ग, जलविद्युत् परियोजना, पर्यटनको विकास र ठूला मात्रामा कृषि र जडीबुटी उत्पादन र त्यसको बजारीकरणले रोजगारी सिर्जना गर्छन्। अहिलेसम्म कर्णालीको विकास तत्कालीन आवश्यकता पूर्ति गर्नेमा केन्द्रित छ। त्यसलाई कर्णालीको दीर्घकालीन आर्थिक विकास र रोजगारी सुरक्षासँग जोड्नुपर्छ।

बजारबाट पृथक रहेर कर्णालीको विकास सम्भव छैन। कर्णालीमा रैथाने बालीको उत्पादकत्व बढाउनु, जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरी त्यसको प्रतिकूल नहुने गरी कृषि विकास गर्नुपर्छ। अहिले कर्णालीमा उत्पादित खाद्यान्नले व्यापारिकरूपमा नजिकको बजारमा प्रतिस्पर्धा गर्नसकेका छैनन्। त्यसकारण खाद्यान्न भनेको नै भात हो भन्ने मानसिकता परिवर्तन गरी आफ्ना उत्पादनलाई राम्रोसँग प्रयोग गर्ने बानी बसाल्नुपर्छ। कर्णालीमा खाद्यान्न ढुवानीमा मात्र वर्षेनि करिब ७० करोड रुपियाँ खर्च हुन्छ। त्यही रकम त्यहाँको खाद्यान्न उत्पादनतर्फ लगाउने हो भने पनि धेरै परिवर्तन हुनेथियो। खाद्यान्नमा आत्मनिर्भर बन्ने र कर्णालीको उच्च पहाडी क्षेत्रको जैविक विविधताको सदुपयोग गरी सिमी, स्याउ, टिम्बुर, यार्सागुम्बा, जैतुन, पशुपालनजस्ता उच्च मूल्यका कृषि उत्पादनलाई व्यावसायिक बनाउनुपर्छ। साथै कर्णाली विकासका लागि चाहिने सिपमूलक जनशक्ति त्यहीँ उत्पादन गर्नुपर्छ।

पर्यटकीय आधारमा कर्णाली धेरै सम्पन्न छ। कालीकोटको पचल झरना, मुगुको रारा ताल, डोल्पाको से–फोक्सुन्डो ताल, राफ्टिङ, साहसिक यात्रा र पैदल भ्रमण, कैलाश मानसरोवरसँगको पर्यटन सम्बन्धलाई समेत विकास गर्ने हो भने पर्यटकीय सम्भावनाका आधारमा कर्णाली उत्तम स्थल हुनेछ। कहिल्यै सम्पन्न नहुने विमानस्थल, महँगो हवाई यात्रा, कठिन र विकट सडक यात्रा आदिले कर्णाली पर्यटन धेरै नै महँगो र जोखिमपूर्ण छ। यातायात र अन्य पूर्वाधारको विकास गरिएमा कणाली पर्यटकको उत्कृष्ट गन्तव्य हुनेछ।

कर्णालीलाई परनिर्भर बनाउने काठमाडौँकेन्द्रित सोच हो। त्यहाँ जाने कर्मचारीले आफूलाई सजाय दिएको ठान्छ। त्यसैले कर्णालीको यो हालत हुनुमा त्यहाँ रहेर कर्णालीको विकास नगर्ने राजनीतिज्ञ, कर्मचारी, गैसस, ठेकेदार सबै दोषी छन्। कर्णालीकै विशेषतामा आधारित नीति योजना र कार्यक्रम नबन्दासम्म त्यहाँका बासिन्दाले देख्ने र अनुभूत हुने प्रतिफल प्राप्त गर्न सत्तै्कनन्। अर्थात्, कर्णालीका जनताको सशक्तीकरणविना त्यहाँको विकास असम्भव छ।

- लेखक व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिका सभापति हुन्



अर्को समाचार
कर्णाली प्रदेशका पाँच वर्ष: नामाकरण गरेर वाहवाही कमायो,फ्लोरक्रस गरेर चर्चामा आयो
०२ असोज २०७९
•
१० मिनेट पाठ
कर्णाली प्रदेशका पाँच वर्ष: नामाकरण गरेर वाहवाही कमायो,फ्लोरक्रस गरेर चर्चामा आयो
२०७४ माघ २१ मा बसेको तत्कालीन प्रदेश नं. ६ को प्रदेशसभाको पहिलो बैठकमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकै स्वरमा भनेका थिए, ‘कर्णाली प्रदेशसभामा हामी कोही पनि सत्ता पक्ष र प्रतिपक्षी हुनेछैनौं, कर्णालीको रोग, भोक, गरिबी र अशिक्षानै हाम्रा प्रतिपक्षी हुन्। हामी जुनसुकै राजनीतिक दलबाट प्रतिनिधित्व गरेर आएपनि कर्णालीको विकास र समृद्धिका लागि संगसंगै हातेमालो गरेर अघि बढ्नेछौं।’  




४० सदस्यीय प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ३३ सांसद थिए। 

प्रदेशसभा सुरु भएको छोटो समयमै यसले आफ्नो न्वारन गर्न सफल भयो। स्थायी ठेगाना कायम गर्‍यो। सुरुमै प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत कायम गरेर देशभर वाहवाही कमाएको प्रदेशसभाले पछिल्ला पाँच वर्षमा धेरै आरोह अवरोह भोग्नुपर्‍यो। कर्णालीबाटै देशकै ठूलो शक्ति एमाले सत्ताको किनारामा पुग्यो भने जनताले पाँच वर्षका लागि सत्ता बाहिर राखेको कांग्रेसलाई केन्द्रदेखि प्रदेशसम्मको सत्ताको बागडोर सुम्पियो।
सुरुमै नाम र राजधानी

प्रदेशसभाको चौथो बैठकले २०७४ फागुन १३ गते प्रदेशको नाम र राजधानी घोषणा ग¥यो। प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मतिले र प्रदेश राजधानी वीरेन्द्रनगर बनाउने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित गर्‍यो। 

एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदमा ‘प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत पारित भयो। नामकरण प्रस्ताव मत विभाजनबाट पारित भयो। प्रदेशसभाका ३९ जना सांसद (सभामुखबाहेक) मध्ये पक्षमा ३७ र विपक्षमा शून्य मत पर्‍यो। 
तत्कालीन अवस्थामा राजीनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही र कांग्रेस सांसद झोवा विक बैठकमा उपस्थित थिएनन्।  

तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउन प्रस्ताव गरे। उक्त प्रस्ताव दुईतिहाइभन्दा बढी मतबाट पारित भयो। वीरेन्द्रनगर प्रदेश राजधानी बनाउने प्रस्तावका पक्षमा ३६ मत र विपक्षमा एक मात्र मत खसेको थियो। प्रदेशसभामा एक मात्र सांसद रहेको राप्रपाले राजधानी सम्बन्धी प्रस्तावमा विपक्षमा मतदान गर्‍यो भने तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेश राजधानीका विषयमा फरक मत राखेका थिए।

पाँँच वर्षमा ५३ कानुन

कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानुन निर्माण गर्‍यो। २०७४ माघ २१ गते बसेको पहिलो बैठकदेखि दशौं अधिवेशनको उनान्तीसौं बैठकसम्म पारित भएका ५३ विधेयक कानुनका रुपमा प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन्। स्थापनाकाल यता प्रदेशसभामा ८३ विधेयक दर्ता भए।  

‘प्रदेशसभामा ८३ विधेयक दर्ता भए पनि अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयकको लगत कट्टी गर्दा विधेयक ६४ पुगेका थिए’, सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, ‘यसमा ११ विधेयकबाहेक अरु सबै प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानुन बनिसकेका छन्।’ उनका अनुसार दर्ता भएका विधेयकमध्ये तीन निस्क्रिय र आठ अध्यादेश फिर्ता भए।  

सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा ६ वटा विधेयक पठाइएका थिए भने प्रदेशसभामा दर्ता भएका तर निर्णय हुन बाँकी विधेयकको संख्या ४ छ। टेबुल भएर कारबाहीको प्रक्रियामा रहेका विधेयकको संख्या १ र भने सभाबाट स्वीकृत भएका अध्यादेशको संख्या ८ छ।

संसदमा दुई गैरसरकारी विधेयक

कर्णाली प्रदेशसभामा पाँच वर्षको अवधिमा दुई गैरसरकारी विधेयक दर्ता भए। 

जुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद नरेश भण्डारीले २०७८ असोज १० गते ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’ र २०७८ पुस २६ गते ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक’ संसदमा दर्ता गरेका थिए। 
तीन वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा संसदमा विधेयक नलिएका भण्डारीले मन्त्री पदबाट बाहिरिएपछि गैरसरकारी विधेयक दर्ता गरेका थिए।  

सरकारले गैरसरकारी विधेयक अघि नबढाएको भन्दै उनले सडकमा आन्दोलन पनि गरे। विधेयक पारित गर्ने संवैधानिक, कानुनी र प्रक्रियागत मार्ग अवरुद्ध गरिरहेको भन्दै सडकमा नारावाजी पनि गरे। ‘विधेयक सरोकार समाज’ गठन गरेर दबाबमूलक कार्यक्रम गरेपनि संसदबाट ति विधेयकहरु पारित भएनन्।

अविश्वास प्रस्ताव विफल

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २० सांसद थिए। माओवादी केन्द्रका १३ जना सांसद थिए भने नेपाली कांग्रेसका ६ जना र राप्रपाका एक सांसद थिए। 

संघीय मन्त्री भइसकेका एमाले सांसद यामलाल कँडेल मुख्यमन्त्री बन्नेकै लागि प्रदेशसभामा झरेका थिए। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर संयुक्त चुनाव लडे। दुई दलबीच भएको सहमति अनुसार कर्णालीको नेतृत्व माओवादीको भागमा पर्‍यो। 
केन्द्रको दबाबमा सत्ताको बागडोर माओवादीलाई सुम्पिएपनि कँडेलले सरकारलाई संसदबाट पटक–पटक अवरोध गरिरहे।  

आफ्नै नेतृत्वको सरकारविरुद्ध संसदबाट पटक–पटक असन्तुष्टी पोखेका कँडेलले आलोपालो मुख्यमन्त्रीका लागि पनि धेरै प्रयास गरे। केही विकल्प नभएपछि सरकारविरुद्ध नेकपा हुँदै पटक–पटक अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन भए। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा पुर्‍यायो।

लगत्तै एमालेले माओवादी केन्द्र नेतृत्वको महेन्द्रबहादुर शाहीलाई सरकारलाई लिएको समर्थन फिर्ताको निर्णय गर्‍यो। एमाले संसदीय दलको बैठकले २०७७ चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्‍यो। एमालेले सरकारमा रहेका मन्त्रीहरूलाई समेत दलले फिर्ता बोलायो। सोही अनुरूप एमालेका तीन मन्त्री सरकारबाट बाहिरिए। एमालेबाट सरकारमा गएका प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले २०७७ चैत २४ गते राजीनामा दिए।

एमालेले सरकारलाई दिएको समर्थन फिर्तापछि तत्कालीन मुख्यमन्त्री शाही अल्पमतमा परे तर उनले राजीनामा दिन भने मानेनन्। एमालेले २०७७ चैत्र ५ गते समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री शाहीले चैत ३१ गते विश्वासको मतका लागि संसद सचिवालयमा पत्राचार गरे। २०७८ वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरे।
फ्लोरक्रस: दुर्लभ अभ्यास

प्रदेशसभामा एमालेका चार सांसदले फ्लोरक्रस नगरेको भए अहिलेको राष्ट्रिय राजनीतिले अर्कै मोड लिएको हुन्थ्यो। प्रदेशसभाका ४० मध्ये सभामुखसहित २० सांसद एमालेसँग थिए। राप्रपाका एक सांसदको समर्थन एमालेले पाइसकेको थियो। तर, एमालेको तत्कालीन माधवकुमार नेपाल समूहका चार जनाले मुख्यमन्त्री शाहीलाई फ्लोरक्रस गरेर समर्थन गरेपछि देशकै राजनीतिले नयाँ मोड लियो। एमालेको नेपाल समूहका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले फ्लोरक्रस गरे।  

गैरसांसद मन्त्री

तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेसँगै कर्णालीमा गैरसांसद मन्त्री बन्ने लहर चल्यो। आठ सदस्यीय कर्णाली प्रदेश सरकारमा फ्लोरक्रस गरेका कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा गैरसांसदका हैसियतले सरकारमा सहभागी बने। त्यसपछि पनि माओवादीले हुम्लाबाट गैरसांसद कार्चेन लामालाई मन्त्री बनायो।
कारवाहीको लहर

४० सदस्यीय कर्णाली प्रदेशसभाको पाँच वर्षे कार्यकाल समाप्त हुँदा ३५ जनामा सीमित भयो। २० सांसद जितेको एमाले १३ सांसदमा सीमित भयो भने १३ सदस्य जितेको माओवादीका ११ सांसद मात्रै बाँकी रहे। 

नेकपा विभाजसँगै माओवादी केन्द्रबाट विजयी भएका दैलेखका सांसद धर्मराज रेग्मीले एमाले रोजे। केही समयपछि सुर्खेतबाट जितेका ठम्मर विष्ट पनि एमाले प्रवेश गरे। 
दुबै जनालाई माओवादी केन्द्रले कारवाही गर्‍यो। दुबैको संसद पद गुम्यो।

एमालेले माओवादी केन्द्रको सत्ता जोगाइदिएका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मर थापा र नन्दसिंह बुढालाई कारवाही ग¥यो। एमालेबाट फुटेर एकीकृत समाजवादी गठन भएपछि तीन जना सांसद समाजवादीतिर लागे।  

कांग्रेसको हातमा सत्ताको बागडोर

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका एक प्रत्यक्षसहित ६ जना सांसद थिए। संघको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खानेपानी मन्त्री भइसकेका जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेशमा झरेका थिए। प्रत्यक्षतर्फ एक्लै जितेका उनी अहिले कर्णालीको मुख्यमन्त्री छन्।

तत्कालीन नेकपालाई विभाजन गरेर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि कर्णालीलाई कांग्रेसलाई सत्तामा पुग्ने बाटो खुल्यो। सरकार गठनका लागि २१ जना सांसद आवश्यक हुन्थ्यो। माओवादी केन्द्रका १३ सहित कांग्रेसका ६ सांसद जुटाउँदा पनि महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्ने अवस्था थिएन्। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको पहलमा एमालेको असन्तुष्ट समूहसँग २०७८ वैशाख २ गते राति ११ बुँदे सहमति भयो।  

एमालेका चार सांसदले फ्लोरक्रस गरेर माओवादी संसदीय दलका नेता शाही नेतृत्वको सरकार जोगाउने र छ महिनापछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने ११ बुँदे सहमतिमा उल्लेख छ। 
सोही सहमति २०७८ कात्तिक १५ गते माओवादीबाट मुख्यमन्त्री बनेका शाहीले राजीनामा दिए। १६ गतेबाट सत्ताको बागडोर एउटा मात्रै सांसद प्रत्यक्षतर्फ जितेको कांग्रेसको हातमा आयो। कर्णालीकै सहमतिले एमालेलाई प्रदेश हुँदै संघसम्म सत्ता बाहिर पु¥यायो।  

सत्ताको द्वन्द्व संसदमा

सत्ता समीकरणको प्रभाव कर्णाली प्रदेशसभामा निरन्तर पर्‍यो। आफ्नै पार्टीका दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेदेखि पार्टी निर्णयविरुद्ध फ्लोरक्रस गर्ने संसदीय प्रणालीमै दुर्लभ अभ्यास कर्णाली प्रदेशसभामा देखिए। 

तत्कालीन मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने क्रममा एमालेकै चार प्रदेशसभा सदस्यले पार्टी निर्देशन विपरीत मत दिएपछि त्यसको असर प्रदेशसभामा देखियो।
एमालेले कारबाही गर्ने र सर्वोच्च अदालतको अन्तरिम आदेशले पद ब्युँतिने भएपछि एमाले र कारबाहीमा परेका प्रदेशसभा सदस्यहरूबिचको जुहारीमै प्रदेशसभा बैठक रुमल्लियो। एमालेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आफैले दिएको अन्तरिम आदेश खारेज ग¥यो। केही महिना प्रदेशसभामा देखिएको एमाले सांसद विवाद अन्त्य भयो।

तत्कालीन सत्तारुढ दल नेकपाको केन्द्रमा देखिएको अन्तर संघर्षलाई कर्णालीले थप मद्दत पुर्‍यायो। 

नेकपामा अन्तर संघर्ष हुँदै विघटनसम्म पुग्दा उक्त दलका कर्णालीका नेताहरूमा देखिएको चरम वैमनस्यता एउटा कारकका रूपमा देखापर्‍यो। यसले प्रदेशसभालाई समेत गतिहीन बनायो। 
तत्कालीन नेकपाका नेताहरू यामलाल कँडेल र महेन्द्रबहादुर साहीबीच सम्बन्ध सुधार हुन सकेन।  

कर्णालीमा एमाले–माओवादी टकराब यत्तिकै रोकिएन। प्रदेशसभाका विभिन्न क्रियाकलापमा यसका बाछिटाहरू देखापरे। एमालेले सदन चल्न नदिएपछि सरकारले बजेटसमेत अध्यादेशबाट ल्याउनुपर्‍यो।

सत्ता साझेदार दलबाटै अवरोध

कांग्रेस नेतृत्वको सरकारले चालू आर्थिक वर्षको बजेट संसदमार्फत सार्वजनिक ग¥यो। यो बजेटमा माओवादी केन्द्र नेतृत्वको सरकारलेझै अबण्डा बजेट राखिएको थिएन्। चुनावी सरकारले संसद र सरकारमा रहेकाहरुलाई छुट्टै बजेटको व्यवस्था गरेको थिएन्। प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रलाई यो कुरा मन परेन्। उनले आफै सहभागी सरकारविरुद्ध अवरोध गर्ने निर्णय गर्‍यो।

‘माओवादीले सुरुदेखिनै चुनाव केन्द्रीत बजेट ल्याउन दवाव दिइरहेको थियो, त्यसो नगरेर सरकार छोड्ने धम्की पनि दिएको थियो,’ सरकारका एक मन्त्रीले भने, ‘मुख्यमन्त्रीले त्यसो नगरेकाले माओवादीले संसद र सरकारमा अवरोध गर्‍यो। ’माओवादीले मुख्यमन्त्री एकलौटी हिँड्न खोजेको भन्दै साउनमा बसेको संसदीय दलको बैठकले निर्णय संसद र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको थियो।  
झण्डै १५ दिन संसद अवरुद्ध गरेको माओवादीले सरकारसँग ‘मौखिक सहमति’ भएको बतायो। ‘सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममा हेरफेर गर्ने निर्णय गरेपछि उति बेला हामीले आन्दोलन फिर्ता लिएका हौं,’ हाल आर्थिक मामिला तथा योजना मन्त्री रहेकी कृष्णा शाह आचार्यले भनिन्, ‘त्यसपछि सरकारसँग खासै समस्या भएन्।’

संस्थागत विकासमा अब्बल

प्रदेशसभाले पाँच वर्षको अवधिमा संस्थागत क्षमता विकासमा भने उल्लेख्य सुधार गरेको छ। प्रदेशसभामा श्रव्य दृश्य व्यवस्थापनसहितको सुविधा सम्पन्न भिडियो कन्फिडेन्स हल बनाइएको छ। 

प्रदेशका सबै जिल्ला समन्वय समितिमा बसेर भर्चुअल उपस्थितिमा प्रदेशसभासँग जोडिन सकिन्छ। संसदीय समितिले विभिन्न विधयेकहरुमाथि सरोकारवालाको सुझाव लिन थुपै्र पटक भर्चुअल माध्यमको उपयोग गर्ने गरेका छन्। 
जनतासँग प्रदेशसभा, जनतासँग सभामुखलगायतका कार्यक्रम पनि प्रदेशसभा सचिवालयले सञ्चालन गर्ने गरेको थियो भने सर्वसाधारणका लागि प्रत्येक महिनाको १५ र २९ गते प्रदेशसभा अवलोकनका लागि खुला राख्ने गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस