झण्डै सात दशकको योजना आयोगको विकासका मोडलहरूले व्यक्तिलाई सामान्य विकासतर्फ अघि बढाउन सकेन नै, न त समृद्धिको छेउसम्म पनि पुग्नसक्यो। यही कारण मुलुक दिनप्रतिदिन अवनतिरै गइरहेको छ। त्यसो त यो संसारका एक अर्ब मान्छे गरिवीको रेखामुनि छन या दरिद्रतामा बाँचेका छन् भन्ने तथ्यांक छ।
मेरो खुल्ला दृष्टिले भन्छ, यथार्थमा झण्डै डेढ अर्ब मान्छे गरिवीको रेखामुनि छन्। भैगो यो संख्यालाई छोडौँ। भोलिको समृद्धि नेपाल तथा यस्तै आर्थिक स्थिति भएका मुलुकले कसरी पाउँछन्? चर्चा यसको गरौँ।कुनैबेला यही भूखण्डमा बस्ने नागरिकको एउटा देशलाई तीन देशमा टुत्र््कयाइयो। त्यसैगरी कतिपय स्वतन्त्र देश एउटा मुलुकमा गाभिए। नेपालीले खोजेको भने त्यो होइन। यस्तै कुनै अंकले नेपालको न्यायव्यवस्थालाई भंग गर्नसक्दैन। नेपाल आफै एउटा स्वाधीन राष्ट्रका रूपमा उभिन चाहन्छ। त्यसभन्दा बढी न यसको सोच छ न त चिन्ता नै!
धेरै मुलुकले यी विषयलाई सँगसँगै बोक्दाखेरी आफ्नो मुलुकको आदर्शमात्रै होइन नक्सा नै चिरेर पनि अर्को मुलुकलाई दिए। नेपाल भने त्यस्तो होइन। युद्धको कुरा गर्नु २१ औँ शताब्दीमा निर्मम नै हुन्छ। युद्धमा जयपराजय भन्दाभन्दै हामी जहाँको त्यहीँ या त्यसभन्दा एक तह खसेका पनि हुन सक्छौँ। हामी अधिकांश नेपालीलाई लागेको छ मुलुकको नयाँ संवैधानिक ढाँचा एवं संघीयतामा गइसकेपछि देशले समृद्धि आफै बोकेर ल्याउँछ। तर, यो सोच नै गलत हो। समृद्धि व्यक्तिको प्रयत्नको फल हो। आँगनमा एक टुक्रा सुन खसे पनि या असिनासँगै माछाको वर्षा भए पनि एउटा व्यक्तिविशेषले त्यो सुनलाई पगाल्ननसक्नु र त्यसैगरी अरू कसैले त्यो माछालाई संरक्षित गर्ननसक्नु आफैमा एउटा कमजोर स्थिति हुनजान्छ।
यदाकदा हामी सुन्नेपढ्ने गर्छौं, नेपाललाई संघीयतामा लग्नासाथ हामी समृद्ध हुन्छौँ। विकासको बाटोमा हाम्रा पाइला हुन्छन् र हामीसित त्यो जनशक्ति पनि छ। अब के त? यी आफै समृद्धिका बाहक हुन् या व्यक्तिको संलग्नता त्यसभित्र चाहिन्छ? यथार्थमा भन्नुपर्दा व्यक्ति, उसको प्रयत्न, उसको जाँगर र लक्ष जेसुकै होस् ऊ नाफामुखी छैन भने समृद्धि सम्भव छैन। एकबाट धेरै टुक्रामा बाँडिएका प्रादेशिक ढाँचाका मुलुकहरू पनि आज अनेक प्रकृतिको समस्याबाट गुज्रनु परेकै छ। त्यो हेर्न अफ्रिका पुग्नपर्दैन, न त दक्षिण अमेरिका नै। हाम्रै छरछिमेकमा ती कुरा देखिएका छन्।
प्रसंग सामाजिक रूपान्तरणको होस् या आर्थिक समृद्धिको, यसको केन्द्रमा व्यक्ति नै रहन्छ। त्यसको वर्ग, लिंग र रंगरोगन जातजाति आदि कुराले कुनै अर्थ राख्दैन। यस्ता भेद हुँदा पनि उद्देश्य एउटा छ भने त्यो प्राप्त गर्छ व्यक्तिको स्वायत्त, सार्वभौम एवं त्यहाँसम्म पुग्ने लक्ष्यले मात्रै। माओत्से तुङको अवसानपछि अपत्यारिलो किसिमले नेतृत्वमा पुगेका देङ सियाओ फेङले सुरूमै भने, एउटा समाजमा न त सबैलाई आर्थिकरूपले बराबर बनाउन सकिन्छ न त उसलाई एकनासले उन्नत गर्नसकिन्छ। केही दिनसम्म केही मान्छे गरिव नै रहन्छन्। केही मान्छे धनी भएर उक्लन्छन्। अब आउने शताब्दी सबैका लागि समान समृद्धि बाँड्ने शताब्दी हुनसक्दैन। केहीबाट केहीले सिक्नैपर्छ, तबमात्र हामी त्यो स्थानमा पुग्छौँ। सायद यिनै भनाइका कारणले होला उनलाई पुँजीवादको मार्गमा हिँडेको नेता भन्दै आलोचना पनि गरियो। तर, यथार्थ यही नै हो र यही नै रहन्छ पनि।
योजनाका कुरा हामीले माथि पनि गर्यौँर। योजनाबद्ध विकासको हाम्रो लामो अनुभव भए तापनि सिटामोल र जीवनजलको अभावमा अझै हाम्रा केटाकेटी मृत्युको मुखमा पुगेको यथार्थलाई हामी बिर्सन सक्दैनौँ। योजना बनाएर विदेशी सहयोगमा झुल ल्याएर झुण्ड्याउँदैमा लामखुट्टेबाट सधैँ बच्न सकिँदैन। अझै पनि हामीमाझ मलेरिया, इन्सेफलाइटिस, मेनेन्जाइटिसजस्ता रोग कायम छन्। आज गाउँगाउँमा १५/१५ मिनेटको दूरीमा नुहाउने साबुन, सेम्पु, पानपरागलगायतका गुट्खा पाउन सकिन्छ। तर, आधारभूत औषधि जीवनजल या सिटामोलजस्ता सामान्य कुरा भने न ती पसलमा पाइन्छ न त हेल्थपोस्टमा नै! भन्न खोजिएको के हो भने, योजना बनाएर विकास वितरण गर्छु या योजना बनाएर बजेट बाँडेर विकास हुन्छ भन्ने सोच आफैमा गलत हो। देशका कुनाकुनामा रक्सीको बोतल र माथि उल्लिखित जो स्वास्थ्यका लागि हानिकारक छन्, चाउचाउदेखि लिएर तारेर खाने आलुचिप्ससम्म व्यापारीले पुर्या्उन सक्दछन्, तर सरकार भने त्यो काम गर्नसक्दैन। खाद्यसामग्रीको अभाव अहिले पनि नेपालको दूरदराजका जनताले हरेक वर्ष भोग्नुपर्ने यथार्थ हो। यसमा सरकार कमजोर देखिएको छ। व्यापारी बलिया देखिएका छन्। उत्पादकले आफ्नो बजार आफै खोज्छ। जस्तोसुकै कठिन ठाउँ किन नहोस् ऊ आफ्नो उत्पादन पुर्याउउन सक्छ। भनिन्छ, योजनाले विकास समानुपातिक किसिमले बाँड्छ। यो भ्रमबाट मात्र हामी मुक्त हुन सक्यौँ भने पनि उत्पादन र वितरण सहज हुनसक्दो रहेछ। यो मुलुकको यथार्थ हो। योजना आयोगदेखि लिएर उत्पादक, वितरक र उपभोक्तासँग हामीले संवाद गर्यौँस भने यो यथार्थ बुझ्न सकिन्छ। तर, दुर्भाग्य यसलाई पुँजीवाद भनिन्छ! त्यसको अर्को पाटोमा जँादा यी सबै राज्यका जिम्मेवारी हुन्भन्दा त्यसलाई समाजवादको संज्ञा दिइन्छ! तर, त्यस्तो समाज विश्वमा आजसम्म देखिएन। जसले यी सबै कुरा राज्यले गर्नसकोस्।
त्यसैले पनि भन्नुपर्ने हुन्छ, संविधान नामको एउटा कागजको पुलिन्दाले समृद्धि बोकेर ल्याउँदैन। हरेक व्यक्तिभित्र रहेको त्यो उद्यमी स्वभावलाई कुनै रोकतोकविना नै उजागर गर्नसक्ने व्यवस्थाको प्रत्याभूति संविधानले दिनसक्छ कि सक्दैन? संविधानबाट नै सबै कुराको समाधान हुन्छ भन्ने सोचबाट हामी मुक्त हुन सकेनौँ भने माथि भनिएजस्तै समृद्धि आफै बर्संदैन। व्यक्तिभित्रको त्यो असीमित र अनन्त सम्भावनाको खोजी संविधानले गर्नसक्छ कि सक्दैन भन्ने कुरा नै महŒवपूर्ण हो। वैयक्तिक स्वतन्त्रतालाई सुनिश्चित गर्नसक्ने संविधानको निर्माण हामीले गर्नसकेनौँ भने हामीमात्र जाति, वर्ग, लिंग, उत्पीडन, शोषण आदि सबैलाई समान तुल्याउने एउटा यस्तो उद्यममा लागेका हुन्छौँ जसले समृद्धि त कता पछाडि फ्याल्छफ्याल्छ राज्यले बेहोरीनसक्ने स्थितिको निर्माण हुन्छ। त्यहाँ व्यक्ति र राज्यबीचको सम्बन्ध कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउँछ। यसबाट एउटा घोर असन्तोष, आक्रोसको जन्म आमजनमानसमा उठ्नसक्छ। त्यसको परिणाम कसरी व्यक्त हुन्छ त्यो अझै भन्न सकिन्न।
केही राजनीतिक दल र त्यसका नेता विद्रोहको मात्रै कुरा गर्छन्। र, यही विद्रोह पनि अनेक प्रकृतिका हुनसक्ने सम्भावना देखाएर राज्य विप्लवको धम्की दिनसमेत पछाडि परेका छैनन्। संविधान विप्लवका लागि बन्ने होइन। संविधानत सबैलाई समान दृष्टिले हेर्नसक्नुपर्ने एउटा दस्तावेज हो। यसले मूलतः कानुनी राज्य, वैयक्तिक स्वतन्त्रता र व्यक्तिले चाहेको आफ्नो उचाईसम्म पुग्नसक्ने स्वाभाविकतालाई सुनिश्चत गर्नसकोस्। यसका लागि जातजाति, भाषाभाषी, लिंग, आजसम्म चलिआएका अन्य प्रकृतिका भेदभावबाट जनतालाई मुक्ति दिलाउन सकोस् र आफैबाट आफ्नो सिर्जनशीलतालाई उपयोग गर्दै समृद्ध हुनसक्ने वातावरणको निर्माण गरोस्।
यस्तो संविधानमा न कुनै वाद अटाउन सक्दछ, न कुनै व्यक्ति विशेषको चिन्तन। बीस हजार नेपालीले आआफ्नै राज्य निर्माण गर्नका लागि बलिदान गरेका हुन् भन्नु या एउटा निश्चित किसिमको राज्यव्यवस्थाले मात्र यसलाई सम्बेाधन गर्नसक्छ भन्ने ठान्नु आजको संविधानको निर्माणको विषय हुँदैहोइन। संविधान ढुंगामा कुँदिएको शिलालेख पनि होइन, जसलाई परिवर्तन गर्नै नसकियोस्! त्यसकारण यस्तो संविधान भएमा मुलुक द्रुत गतिमा समृद्धिको बाटोमा लाग्छ नभए लाग्न सक्दैन भन्ने आग्रह त्यागेर व्यक्ति बलियो भए समाज समृद्ध हुन्छ भन्नेमात्रै सोच राख्दाखेरी पनि संविधान निर्माण धेरै ठूलो कठिनाइमा पर्दैन। कुन्नि किन हो प्रदेशका संख्या, राज्यव्यवस्था, निर्वाचन पद्धति, न्यायप्रणाली आदिमा अल्झेर आजको नेतृत्व संविधान निर्माणका साथै जनताको भविष्यसँग पनि खेलबाड गरिरहेको छ।