कसरी घट्ला लोडसेडिङ!
२१ पौष २०७१
•
११ मिनेट पाठ
कसरी घट्ला लोडसेडिङ!
घरमा बिजुलीको स्विच थिच्नेदेखि ठूला औद्योगिक कारखाना चलाउने सबैको एउटै चाहना हुन्छ, चौबीसै घन्टा बिजुली आओस्। विद्युत् कटौती हुनासाथ यसको दोष सीधै नेपाल विद्युत् प्राधिकरणको टाउकोमा जान्छ। बिजुलीको माग र आपूर्तिबीचको असन्तुलनमा उपभोक्ताको चासो रहँदैन। उनीहरू चाहन्छन्, चाहेको समयमा बत्ती बाल्न पाइयोस्, उद्योग निर्वाध चलोस्। तर, उपभोक्ताले चाहेजस्तो भएको छैन।पर्याप्त बिजुली उत्पादन नहुँदा माग–आपूर्तिबीच सन्तुलन छैन। जडित बिजुली लक्षित उपभोक्तालाई बाँड्न र प्रसारण प्रणाली ध्वस्त हुनबाट जोगाउन प्राधिकरणले लोडसेडिङ गर्दै आएको छ। बिजुलीको माग हरेक वर्ष करिब सय मेगावाटका दरले बढेको छ। यो अनुपातमा उत्पादन भएको छैन। यद्यपि, प्राधिकरणले उपभोक्तालाई चौबीसै घन्टा बिजुली दिन सम्भावित विकल्पको खोजी गरिरहेकै छ। 
यो हिउँदमा दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गर्ने घोषणा छ। तर, यो सम्भव देखिँदैन। किनकि प्राधिकरणले नै सार्वजनिक गरेको तालिकाअनुसार थप एकदेखि डेढ घन्टासम्म बिजुली कटौती भइरहेको छ। १२ घन्टामा लोडसेडिङ सीमित गर्ने हल्ला फिँजाए पनि अघोषितरूपमा दैनिक १४ घन्टा पुगिसकेको छ। यो हिउँदको गर्जो टार्न धौधौ भइरहँदा उसले अर्को हिउँदका लागि भने आजैदेखि टाउको दुखाउन थालिसकेको छ।
प्राधिकरणसँग ९२ मेगावाटको कुलेखानी जलाशयबाहेक विद्युत् संकट टार्ने अर्को भरपर्दो आधार छैन। आफ्ना र निजी क्षेत्रका सबै विद्युत्गृहले हिउँदमा कूल उत्पादन क्षमताको एकतिहाई मात्रै बिजुली उत्पादन गर्छन्। हालसम्म प्राधिकरणको प्रणालीमा कूल ७ सय ६५ मेगावाट जडित छ। तर, हिउँदमा ३ सय मेगावाटभन्दा बढी उत्पादन हुँदैन। अपुग बिजुली प्राधिकरणले कि भारतबाट आयात गर्छ या कटौती गरेर सन्तुलन मिलाउँछ।
चालू वर्षको हिउँदसम्म बिजुलीको माग करिब साढे ११ सय मेगावाट पुगेको छ। तर, आफ्ना विद्युत्गृह, निजी क्षेत्र र भारतबाट खरिद गरी जम्मा साढे पाँच सय मेगावाट आपूर्ति गर्नसकेको छ। स्वदेशी निजी क्षेत्रबाहेक प्राधिकरणले हरेक वर्ष भारतबाट करिब आठदेखि नौ अर्ब रुपैयाँको बिजुली किन्ने गरेको छ। निजी क्षेत्रसहित उसले वर्षको २० अर्ब रुपैयाँको बिजुली किन्छ। यति गर्दा पनि दैनिक १२ घन्टा लोडसेडिङ भइरहेको छ।
अर्को हिउँदमा माग झन्डै १३ सय मेगावाट पुग्ने प्रक्षेपण छ। यही मागलाई लक्षित गरी भारतबाट मात्रै २० अर्ब रुपैयाँको बिजुली किन्ने घोषणा गरिएको छ। नेपालले भारतबाट वार्षिक ५ खर्ब रुपैयाँको वस्तु आयात गर्छ। त्यसमध्ये एक खर्ब रुपैयाँ पेट्रोलियम पदार्थमा खर्चिन्छ। अब लोडसेडिङ हटाउन पनि भारतकै भर पर्नुपर्ने अवस्था आइसक्यो। पछिल्लो तथ्यांकअनुसार बिजुलीलगायत नेपालले भारतबाट झन्डै साढे पाँच खर्ब रुपैयाँको वस्तु आयात गर्छ। लोडसेडिङ घटाउने प्राधिकरणको चिन्ता स्वाभाविक हो। आगामी ४–५ वर्षसम्म आयात गर्नु बाध्यता पनि हो। तर, भएको स्रोत–साधन र विकल्प उपयोग गर्न छोडेर परनिर्भर भइरहनु बुद्धिमानी होइन।
प्राधिकरणले भारतबाट आयात गर्ने बिजुलीको परिमाण बढाइरहेको छ। तर, बनिरहेका आयोजना समयमा पूरा गर्नतिर भने ध्यान दिएको छैन। सरकार झन् यस्ता आयोजनामा राजनीतिक रङ घोलेर थप विवादित बनाउन लागिपरेको छ। बरु बिजुली किनिरहन प्राधिकरणलाई उक्साइरहेको छ। ऊर्जा र यससँग जोडिएका अन्य मन्त्रालय सरकारको गलत कार्यशैलीलाई नै साथ दिँदै आएका छन्। अवस्था यही रहेमा अर्को एक/दुई वर्षभित्र नेपालले भारतबाट बिजुली मात्र पाँच खर्ब रुपैयाँको किन्ने अवस्था सिर्जना नहोला भन्नसकिन्न।
प्राधिकरणले बनाइरहेका ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो तीन वर्षअघि नै बनिसक्नु पर्ने हो। तर, यी आयोजना कहिले पूरा हुन्छन्, ठेगान छैन। माथिल्लो त्रिशूली–३ ‘ए' र राहुघाट ‘राहु' बनिसकेका छन्। यी आयोजना राजनीतिक हस्तक्षेप, स्थानीय बासिन्दा, ठेकेदार र तिनका नेपाली एजेन्ट प्राधिकरणकै सिकार भएका छन्। आयोजनाहरू नेता, मन्त्रीदेखि तिनका कार्यकर्ता पाल्ने, पोस्ने र कमाइखाने मलिलो थलो बनेका छन्। त्यही थलोबाट समस्याको जरो पलाएको छ। यसको समाधानतर्फ नलागी सरकार रमिते बनेको छ।
सरकार लोडसेडिङ कमगर्ने डिङ हाँक्छ। तर, बनिरहेका आयोजना समयमा पूरा गर्नतिर माखो मार्दैन। जुन पार्टीको सरकार बन्छ, त्यही पार्टीका भ्रातृ संगठन र तिनका खेताला आयोजनाको विरोधमा उभ्याइन्छन्। समस्या समाधान गर्ने, विरोध हटाउने र छिटो आयोजना पूरा गर्नतिर लागे राजनीतिक नेता र तिनका कार्यकर्ता पाल्ने र पालिने थलो बाँकी रहन्न। तिनले मोजमस्ती गर्न पाउँदैनन्। यो नियति होइन, नियत हो। यस्तो नियतले तीन वर्षमा होइन १० वर्षमा पनि लोडसेडिङ हट्दैन।
सरकार वा प्राधिकरण भारतबाट बिजुली आयात गर्नुमा गर्व गर्छ, तर स्वदेशमै आयोजना निर्माण गर्ने निजी क्षेत्रको उपेक्षा गर्छ। प्रक्रिया पुगेर ऊर्जा, वातावरण वा वन मन्त्रालय पुगेका फाइल महिनौँ थन्किन्छन्। ती सबै निकाय वा व्यक्तिलाई अघाउने नबनाउँदासम्म फाइलको काम उकालो लाग्दैन। आयोजनास्थलमा स्थानीय अरिंगाल बनेर खनिन्छन्। तिनको समस्या समाधानमा स्थानीयदेखि केन्द्र सरकारसमेत मुकदर्शक बन्छ। निजी क्षेत्रले बनाइरहेका आयोजना समयमा पूरा गर्न सघाउँदैन सरकार। उत्पादित बिजुली दसौँ वर्षसम्म प्रसारण लाइनको अभावमा खेरजान्छ। सरकार एकातिर समस्याका चाङ थुपार्दै जान्छ, अर्कोतिर तीन वर्षमै लोडसेडिङ हटाउने डिङ हाँक्न छोड्दैन!
प्राधिकरणले भारतीय बजारबाट प्रतियुनिट औसत ६ रुपैयाँ ९० पैसामा बिजुली लिन्छ। २५ प्रतिशत चुहावट, प्रसारण र वितरण खर्चसमेत जोड्दा त्यो उपभोक्ताको घरसम्म पुग्दा प्रतियुनिट १२ रुपैयाँ ५४ पैसा पुग्छ। प्रसारण र वितरण खर्च घटाउने हो भने पनि प्राधिकरणलाई यसमा प्रतियुनिट खुद १ रुपैयाँ ६३ पैसा घाटा छ। यो घाटा खाइरहन ऊ तयार छ, तर स्वदेशी निजी क्षेत्रसँग औसत ६/७ रुपैयाँमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्न तयार हुँदैन! प्राधिकरण कर्मचारी मोटो रकम कमिसन आउने ठाउँमा जसरी पनि पीपीए गर्न तयार हुन्छन्। आर्थिक मुनाफा नहुने अवस्थामा प्राधिकरण टाट पल्टिन्छ भन्दै तर्किन्छन्। २५ मेगावाटमाथि र अमेरिकी डलरमा गर्नुपर्ने पीपीएमा उही ‘संस्था टाट पल्टिन्छ' भन्ने रटान दोहोरिँदै आएको छ। सरकार विदेशी लगानीकर्ता आऊ भन्दै पसल थापेर बस्छ, तर त्यसको व्यवस्थापन गर्दैन!
नेपाली मोडलका रूपमा स्थापित हुनलागेको ‘चिलिमे' र ‘तामाकोसी' मा ऊर्जा मन्त्रीको गलत हस्तक्षेप छ। चिलिमे कम्पनीले बनाइरहेका चार आयोजनाको निर्माण अस्तव्यस्त छ। माथिल्लो सेती राजनीतिको सिकार बनिसक्यो। के जलविद्युत् विकासमा नेपालले छुट्टै मोडल स्थापित गर्न नसक्ने हो? जलस्रोतमा धनी भनएिको देशमा आफूले काम नगर्ने र बिजुलीका निम्ति सधैँ छिमेकीसामु लम्पसार परिरहनुपर्ने? जलविद्युत् विकासमा कहाँ छ सरकारको प्रतिबद्धता? खोइ लोडसेडिङ हटाउने न्यूनतम जवाफदेहिता? भएको स्रोत उपयोग नगर्ने, आयोजनामा भ्रष्टाचार गरिरहने! आफूमा सधैँ खोट एवं समस्या देख्ने, तर परनिर्भर भइरहनुमा राष्ट्रवाद देख्ने! यो जगहँसाइ कहिलेसम्म?


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस