लोकतन्त्रविरुद्ध लोकतन्त्रवादी
०२ माघ २०७८
•
७ मिनेट पाठ
लोकतन्त्रविरुद्ध लोकतन्त्रवादी
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मे २०२० मा आयोजित एउटा मदिरा पार्टीका निम्ति संसद्मा माफी माग्नुपरेको छ। ‘म माफी चाहन्छु’, उनले बुधबार संसद्को तल्लो सदन हाउस अफ कमन्समा भने, ‘बितेका १८ महिनामा मुलुकका लाखौँ मानिसले अतुलनीय बलिदान गरेको मलाई थाहा छ... उनीहरूले भोगेको पीडा, आफ्ना नातेदारको अन्तिम संस्कार गर्न र स्वतन्त्र भएर आफ्नो जीवन निर्वाह गर्न नपाएको पनि मलाई थाहा छ।’




प्रधानमन्त्री निवासको बगैँचामा आयोजित उक्त पार्टीको भिडियो सार्वजनिक भएयता बेलायती प्रधानमन्त्री आमआलोचनाका पात्र भएका छन्। संसद्मा माफी मागेपछि पनि विपक्षीहरूले उनलाई राजीनामा गर्न दबाब दिइरहेका छन्। उनले लकडाउनका बेला कानुन उल्लंघन गरेको भनी यति धेरै विरोध र आलोचना भइरहेको हो। उनले कामको सिलसिलामा आफू त्यो पार्टीमा सरिक भएर तत्काल हिँडेको स्पष्टीकरण दिए पनि सजिलै छुटकारा मिल्ने संकेत छैन।

कानुन बनाउनेले त्यसको पालना गरेनन् भने परिणाम गम्भीर हुन्छ। उनलाई बेलायती संसद्मा सोधिएको थियो– के तपाईं र अरूका लागि अलग कानुन छन् ?

प्रजातन्त्रको जननी बेलायतमा पनि प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार हुँदैन। हामीलाई प्रजातन्त्रले पनि नपुगेर मुलुकमा लोकतन्त्र बहाल गरेका छौँ। २०६२/०६३ को जनआन्दोलनपछि लोकतन्त्र स्थापना भएयता मुलुकमा एउटा यस्तो वर्ग तयार भएको छ, जसलाई कानुन लाग्दैन। कानुन भन्दा माथिको वर्ग भएकाले त्यसका बारेमा कतै प्रश्न उठाउने ठाउँ समेत छैन। अर्थात् हामीकहाँ शासक र शासितका निम्ति कानुन एउटै भए पनि कार्यान्वयन फरक हुन्छ।  

लकडाउनका बेला आयोजित ‘बुजी पार्टी’ अर्थात् हाम्रो ठेट भाषामा ‘जाड पार्टी’ हो। यस्तो पार्टीका निम्ति बेलायती प्रधानमन्त्रीले संसद्मा माफी माग्नु भन्दा ठीक एक दिनअगाडि हामीकहाँ के भयो ? एकैछिन यता हेरौँ। वर्तमान र भूतपूर्व दुवै राष्ट्राध्यक्ष स्वास्थ्य शिष्टाचार नाघ्दै सार्वजनिक कार्यक्रममा सरिक भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र स्वास्थ्य मापदण्ड बेवास्ता गर्दै सिंहदरबार बाहिर पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउन पुगेका थिए। सरकारले २५ जना भन्दा बढीलाई एक ठाउँमा भेला नहुन आदेश दिए पनि यी दुवैले यसको पालना गरेनन्। पालना नगर्नेले त गरेनन् नै, त्यसमा प्रश्न उठाउने पनि केही भएनन्।

उच्च जिम्मेवारीमा रहेका राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री आदिका बारेमा कहाँ प्रश्न उठ्छ ? यस्तो प्रश्न उठाउने थलो संसद् हो। संसद्लाई निकम्मा बनाएको दुई वर्ष भइसकेको छ। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुई पटक यसको विघटन गराएपछि पुनस्र्थापनाका निम्ति अदालत र आन्दोलन गर्दै समय व्यतीत भएको छ। अदालतको परमादेशपछि बनेको सरकारले पुस २९ गते ६ महिना पूरा गरिसकेको छ। संसद्ले काम गर्न पाएको छैन। यो काम गर्न नदिएको कसले ? यसमा कसैको जिम्मेवारी छ ? कतै प्रश्न उठाउन सकिन्छ ? अहँ केही गर्न सकिँदैन।

संसद्मा प्रश्न उठ्न सक्दैन भने अदालत त होला नि ? अदालतमा पनि प्रश्न उठ्न सक्दैन। अदालत यतिबेला आन्दोलित छ। कानुन व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन ७७ दिनदेखि चलिरहेको छ। यहाँ प्रश्न उठे पनि त्यसको जवाफ कतैबाट दिनु पर्दैन। न्यायालयमा यस्तो भइरहँदा पनि सत्तारुढ दल र प्रमुख विपक्षी दलले कुनै सम्बोधन गर्नुपर्ने आवश्यकता छैन। मुलुकका प्रमुख नेताहरू सुतुरमुर्ग बनेका छन्। कानुन व्यवसायीहरूले सोधेका छन्– तपाईंहरू हामीसँग हो कि प्रधानन्यायाधीशसँग ? कित्ता खुलाउनुहोला।

सरकारले केही गर्ला कि भन्ने झिनो आशा पनि बाँकी छैन। हाम्रो सरकारको गति बुझ्न अरू धेरै हेर्नै पर्दैन, कोभिड–१९ को व्यवस्थापनमा गरिएको काम आफैँमा पर्याप्त छ। आम नागरिकलाई रोग र भोकबाट जोगाउन सरकार सर्वथा कमजोर भएको छ। जतिबेला नागरिक कोभिड–१९ को त्रासमा थिए, त्यतिबेला प्रमुख दल भने सत्ताको खेलमा थिए। त्यसैको परिणामस्वरूप सर्वसाधारणले आफ्नो जीवन गुमाउनुपरेको छ।

आखिर यो कुरा ह्युमन राइट्स वाचको विश्व प्रतिवेदनले पुष्टि गरेको छ। सरकारी असफलताका कारण कैयन् नागरिकले कोभिड–१९ को दोस्रो लहरका बेलामा ज्यान गुमाउनुपरेको तथ्य वाचले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

महामारीबाट सर्वसाधारणलाई जोगाउन सरकारले सक्ने थियो। त्यस निम्ति सरकारले तयारी नै गरेन। यसैकारण सर्वसाधारणको ज्यान गयो। विश्वका सयभन्दा बढी मुलुकको मानव अधिकार स्थिति विश्लेषण गरिएको उक्त प्रतिवेदनले नेपाली राज्यको असली अनुहार उदांग पारेको छ।

कोरोना महामारी उत्कर्षमा पुगेका बेला सरकारमा रहेका व्यक्तिको ध्यान खोप खरिदमा भ्रष्टाचार गर्न केन्द्रित थियो। कोरोनाकै बेला सत्ताको खेलदेखि भ्रष्टाचारसम्म भइरहँदा पनि सरकारलाई प्रश्न गर्ने निकायको यहाँ अभाव भइरह्यो। अहिले आएर विश्वले नेपालको अवस्थाबारे बुझ्न पाएको छ।

अंग्रेजीमा एउटा शब्द छ– बनाना रिपब्लिक। केरा निर्यात गरेर आम्दानी गर्ने अस्तव्यस्त मुलुकहरूलाई बुझाउन यो शब्द प्रयोग हुन्छ। ठेट नेपालीमा यो ‘केरा गणतन्त्र’ हो। हामी केरा निर्यात त गर्दैनौँ तर पौरखी पाखुरा विदेश पठाएर आउने रेमिटान्सले चलेका छौँ।

हामी पनि गणतन्त्रमा शासित छौँ। यसलाई सञ्चालन गर्ने करिब आधा दर्जन नेता मुलुकमा छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू खड्गप्रसाद शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई आदि/इत्यादि। यी नेता नै हुन् मुलुकका मुख्य जिम्मेवार। अहिलेको मुलुकको बेथितिका बारेमा यिनले नै जिम्मा लिनुपर्छ।

यिनले मुलुक चलाउन नसकेको निष्कर्ष आमनागरिकले निकालिसकेका छन्। मुलुकबासी कुर्दाकुर्दा आजित भइसकेका छन्। अब त केही सुधार होला कि भन्यो, फेरि केही हुँदैन। उही लथालिंग तालले मुलुक माघको चिसोले जस्तो कक्रक्क परेको छ। नेताहरू आपसमा मिल्न सक्दैनन्, संस्थाहरू भताभुंग भएका छन्। अहिले मुलुकका कुनै पनि संस्था काम गर्न नसक्ने गरी ठप्प छन्। संसद् चल्न नसक्दा ओलीलाई खुसी लाग्छ– मैले त पहिल्यै भनेको हो यो चल्न सक्दैन। आफ्नो अडान पुष्टि गर्न उनी तत्पर छन्।

राज्यका सबै अंगलाई ठप्प पारेपछि फाइदा कसलाई हुन्छ ? आखिर अहिलेको लोकतन्त्र पनि चल्न सक्दैन भन्नेलाई नै यसले बल पुर्‍याएको छ। पूर्वराजा ज्ञानेन्द्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउन जाँदा सर्वसाधारणले लगाएका नारा अहिलेको गठबन्धन सरकारमा सहभागी दल र प्रमुख विपक्षी नेकपा (एमाले)का नेताले पनि पक्कै सुनेका हुनुपर्छ। त्यहाँ नारा लाग्दै थियो– राजा आऊ, देश बचाऊ।

राजा आएर फेरि देश बच्छ त ? त्यो चाहना पनि उनको शासनको कठ्यांग्रिएको चिसो बिर्सिने मति मात्र हो। तर अहिलेकै राजनीतिक नेतृत्वले आममानिसलाई विकल्पतिर जान बाध्य पार्दैछ। अहिलेको प्रणाली राम्ररी चलाउन नसक्ने हो भने त्यसले अन्ततः विग्रहतर्फ मुलुकलाई लैजान्छ। अहिले राजनीतिक नेतृत्वले गरेको काम हेर्दा कतै यी सबै अहिलेको लोकतन्त्रविरुद्ध सक्रिय भएका हुन् कि जस्तो लाग्छ। त्यस्तो हुँदैनथ्यो भने किन आफ्नै खुट्टामा बन्चरो हानिरहन्थे।

मुलुकका समस्या समाधान नगरी जिम्मेवारीका पदमा बस्नु समयको अनाहकको नोक्सानीमात्र हो। बरु सबैले अहिले जिम्मेवारीबाट हटेर काम गर्न सक्ने आफ्नै दलका अन्य नेतालाई अघि लगाउने हो कि ? त्यसो गर्दा मात्र अहिलेको प्रणालीमा केही सुधार आउन सक्छ। अन्यथा, सर्वसाधारणको गालीमात्र खाएर मात्र बस्नु हुँदैन।

राज्यको उच्च जिम्मेवारी लिएपछि त्यसमा जवाफदेही पनि हुनुपर्छ। जवाफदेहीबिनाको जिम्मेवारीले मुलुकलाई ‘बनाना रिपब्लिक’ मात्र बनाउँछ। संसद्, न्यायालयलगायतका राज्यका अंगलाई फेरि क्रियाशील बनाएर अहिलेको प्रणाली बौराउन सकिएन भने समस्या आउन सक्छ। कम्तीमा बेलायती प्रधानमन्त्री जोन्सनले जसरी संसद्मा गएर माफी माग्ने ठाउँ त बनाऔँ। त्यसका निम्ति संसद् अगाडि सरोस्।

अन्त्यमा एक अमर मुसाको कहानी

कम्बोडियामा हालै एउटा मुसाको मृत्यु भएपछि संसारभरि शीर्ष समाचार बनाउन सफल भएको छ। चर्चित अमेरिकी अखबार वासिङ्टन पोस्टको अनलाइनमा बुधबार प्रकाशित शीर्षकले भन्छ– मागावा, ‘हिरो मुसो’ जसले आफ्नो सानो नाकले ७१ वटा बारुदी सुरुङ पत्ता लगायो, अवकासपछि मृत्यु भयो।

यो मुसाको विशेषता विष्फोटक पदार्थ राखेको ठाउँ पत्ता लगाउनु थियो। आफ्नो जीवनकालमा उसले धेरै बारुदी सुरुङ पत्ता लगाएर विश्व रेकर्डसमेत कायम गरेको थियो। आफ्नो कामबाट अवकास लिइसकेको यो मुसाको मृत्यु आठ वर्षको उमेरमा भएको हो।

तान्जानियामा जन्मेको उक्त मुसालाई विष्फोटक पदार्थ पत्ता लगाउने तालिम दिइएको थियो। यसलाई तीन वर्षको उमेरमा कम्बोडिया लगिएको थियो जहाँ उसले आधा दशकमा झण्डै २४ लाख वर्ग फिट जमिनमा विष्फोटक पदार्थ खाली गर्न मद्दत गरेको थियो। भियतनाम युद्ध र पछि आफ्नै मुलुकमा भएको आन्तरिक द्वन्द्वका बेला राखिएको विष्फोटक पदार्थ खाली गर्न यो मुसो सहयोगी सिद्ध भएको थियो।

शिक्षा मृत्युपछि मुसाको समेत समाचार बनेको छ। अहिले काम गर्न नसक्ने हामी कतै मृत्युपछि पनि बेखबर हुने त होइनौँ ?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस