चक्रव्यूहमा संविधान सभा
२३ पौष २०७१
•
१८ मिनेट पाठ
चक्रव्यूहमा संविधान सभा
अचम्म छ, ‘सहमति'बाट नआएको संविधान आन्दोलनबाट झन् कसरी आउला ? तर पनि एनेकपा (माओवादी) र मधेसवादीलगायतका केही साना दलले संविधान निर्माणकै लागि भन्दै आन्दोलनको घोषणा गरेका छन्। अर्को अचम्म छ, संविधान बने पनि नबने पनि माघ ८ गतेपछि नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाएर संविधान निर्माणको बाटो कसरी खुल्ला?पूर्व निर्धारित एमाले–कांग्रेस सम्झौता अनुसार माघ ८ गतेपछि जुनसुकै अवस्थामा पनि एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने अडान एमालेको छ। झन् अचम्म छ, उल्लेखित दुई विपरीत उपक्रममा अल्भि्कएको नेपाली कांग्रेसले कसरी सहमति निर्माण गर्दै संविधान जारी गर्ला? अहिले पनि प्रधानमंत्री सुशील कोइरालाले सहमतिबाट निर्धारित समयमा संविधान आउने भन्दैछन्। विषयवस्तु कस्तो गोलमाल ढंगले विकसित भएका छन् भने एक अर्को दलका रणनीति नबुझेर नेताहरू रनभुल्ल देखिएका छन्।
माघ ८ गतेपछिको राजनीतिक पहलकदमीलाई आफ्नो नियन्त्रणमा लिन ठूला दलहरूले आआफ्नै चक्रव्यूह निर्माण गरिरहेका छन् र संविधान सभा त्यही व्यूहको चंगुलमा परेको छ। घनीभूत ढंगबाट वार्ता हुँदै गर्दा सभासद्लाई अहिले नै सहमति भइहाल्छ कि जस्तो लाग्दो हो र एकैछिनमा सहमति कहिल्यै हुँदैन कि जस्तो पनि लाग्दो हो। त्यसैकारणले गर्दा सभासद्हरूले पार्टी नेतृत्वको सहमति प्रयासको विपक्षमा कहिल्यै पनि प्रभावकारी कदम चालेनन्। कहिलेकाँही सत्तापक्षका एकाध जना ‘सेलिब्रिटी' सभासद्ले आफ्नो आर्जित साखको जगेर्ना गरिरहन केही राजनीतिक ‘प्रोपोगण्डा' गर्नु बेग्लै कुरा हो। तर संविधान सभाको अधिकारलाई अपहरित गर्ने मुख्य नेतृत्वको अलोकतान्त्रिक क्रियाकलापलाई विधिसम्मत ढंगले संविधान सभामा उजागर गर्न तिनले सकेनन् वा चाहेनन्। संविधान सभालाई दलका सीमित नेताको चक्रव्यूहबाट अलग गर्न सकिएको भए सहमति खोज्न र सहमति नभएका विषयको प्रक्रियागत समाधान पहिल्याउन अपेक्षाकृत सरल हुने थियो। 
संविधान बनाउने सम्पूर्ण जिम्मा ठूला दलका शीर्ष नेतालाई दिइएपछि संविधान सभामा कुनै काम नहुनु स्वाभाविकै हो। किनभने विवादहरू समाधान गर्ने विभिन्न विषयगत समितिको कार्य पनि पहिलो संविधान सभाबाट जस्ताको तस्तै स्वामित्व ग्रहण गरिएको छ। तर संविधान सभा भन्नेबित्तिकै जहिले र जस्तो भए पनि त्यसको गुणात्मक चरित्र एउटै रहन्छ भन्ने ठान्नु गलत हो। राजनीतिक परिवर्तनपछिको समयावधि, दलहरूको परिवर्तित प्रतिनिधि संख्या तथा जनतामा आएको परिवर्तित चेतनाले शब्द उही भए पनि बेग्लै अर्थ बोक्न थाल्छ। त्यसैले विघटित र वर्तमान संविधान सभा प्रकृति र प्रभावका दृष्टिबाट निकै भिन्न पनि छन्। यही भिन्नताका कारणले गर्दा वर्तमान संविधान सभाभित्रको अन्तरसम्बन्ध र अन्तरविरोध पनि हिजोभन्दा नितान्त भिन्न छन्। यसको अन्तरसम्बन्ध ‘सहमति'मा र अन्तरविरोध ‘प्रक्रिया'का रूपमा अभिव्यक्त हुँदैआएको तथ्य सर्वविदितै छ। 

आन्दोलन कि संविधान?


अहिले मुलुकलाई चाहिएको त संविधान हो। यसको अर्थ आन्दोलनको कुनै अर्थ र महत्व हुँदैन भन्ने होइन। तर संघर्ष निरपेक्ष विषय हो भने समाधान सापेक्ष। त्यसैले संघर्षको प्रकृति, विधि र समय एक अर्कासँग अन्तरसम्बन्धित भएर आउँछन्। अहिलेको संघर्षको मूल थलो संविधान सभा हो। संविधान निर्माण नगरी अबको कुनै पनि संघर्षले सही परिणाम दिने संभावना छैन। संविधान सभाबाहिर पनि २ वटा माओवादी समूहलगायत अन्य केही ससाना समूह थिए र छन्। तर पहिलो संविधान सभाको विघटनपछि तिनको संघर्षको प्रभावकारिता शून्य बराबर रहेको तथ्यलाई यहाँ विशेष स्मरण गर्नु जरुरी छ। संविधान सभाको उपस्थितिमा नेपालमा कुनै पनि राजनीतिक दलले आफ्नो निजी लहडमा संघर्ष गर्न सम्भव छैन। त्यसकारण आन्दोलनको घोषणा गरेका दलहरूले अहिले आफ्नै कार्यकर्तालाई पनि संघर्षमा उतार्न संभव छैन भन्ने बुझ्नु जरुरी छ। किनभने, संविधान सभालाई नेताहरू स्वयंले संपूर्ण समाधान जादूको मेसिनजसरी प्रस्तुत गरेका छन्। लामो समयावधिको यसप्रकारको प्रशिक्षण कुनै बेला आफ्नै गलगाँड बनेर पनि आउनसक्छ भन्ने ख्याल उतिबेला नेताहरूले गरेको देखिएन। जनताको ठूलो हिस्सा अहिले पनि जेजस्तो रूपमा होस् तर संविधान जारी होस् भन्ने पक्षमा छ। त्यसैले अहिले एमाओवादी र मधेसवादी दलहरूको प्रधान पक्ष संविधान निर्माण हुनुपर्छ आन्दोलन होइन। 
हुनत, एमाओवादी/मधेसवादी दलको आन्दोलनको घोषणा जातीय पहिचानसहितको संघीयताका लागि गरिएको मोलतोल हो भन्ने सबैलाई थाहा छ। तर कहिलेकाँही समयको सापेक्षतामा मोलमोलाइ गर्ने उपयुक्त संघर्षको विधि चयन गरिएन भने परिणाम प्रत्युत्पादक पनि हुन सक्छ। अहिले पनि सत्तापक्ष र प्रतिपक्षबीचमा घनीभूत ढंगले राजनीतिक संवादहरु चलिरहेका छन्। यो ज्यादै सकारात्मक पक्ष हो। र, साथै यही संवादको वादविवाद र सहमति नै अहिलेको संघर्ष सही विधि हो। आन्दोलनको विधिलेे संविधान निर्माणको दिशामा कुनै सकारात्मक परिणाम ल्याउने सम्भावना छैन। कुनै अमुक दलको इच्छा र आकांक्षामा आन्दोलन हुँदोरहेनछ भन्ने त पहिलो संविधान सभादेखि अहिलेसम्मका धेरै गतिविधिले प्रष्ट पारेकै छन्। बरु कथित आन्दोलनको घोषणा र त्यसको प्रभावहीनताले संविधान सभाभित्रको संघर्षलाई कमजोर पारेको मात्र छैन आन्दोलनरत दलहरूको मोलतोलको शक्तिलाई पनि कमजोर बनाएको छ। जुनसुकै समय र परिस्थितिमा पनि दलको आदेश पाउनासाथ कार्यकर्ता र जनता आन्दोलनमा हाम फालिहाल्दैनन्। त्यसको निम्ति आन्दोलनका निम्ति वस्तुगत र मनोगत पूर्वाधारको विकास परिपक्व भएको निश्चित राजनीतिक परिवेशको आवश्यकता पर्छ। 
संविधान कुनै शाश्वत वस्तु होइन। सामाजिक चेतनासँगै परिवर्तन भइरहने राजनीतिक परिस्थितिअनुसार संविधान पनि परिवर्तित हुँदैजान्छ। त्यसकारण संविधान निर्माणजस्तो संवेदनशील विषयमा आजको आफ्नो दलको आकार हेरेर निर्णय लिनु उचित हुँदैन। बरु संविधानमा लोकतन्त्रका सीमित आधारभूत विषयबाहेक संपूर्ण प्रावधानमा संशोधन गर्न सकिने बनाउनुपर्छ। सन् १९४९ मा निर्माण भए यता हाम्रै छिमेकी मुलुक भारतको संविधानमा आजसम्म ९० पटकभन्दा बढी संशोधन भइसकेको छ। किनभने भारतीय संविधानको धारा ३६८ ले संसद्को दुई तिहाइ बहुमतले संविधानका सम्पूर्ण धारालाई संशोधन गर्नसक्ने अधिकार दिएको छ। त्यसकारण आन्दोलनरत दलहरूले अहिले आफूले भनेजस्तो गर्न संभव नभए पनि कालान्तरमा आफूलाई जनसमक्ष अब्बल साबित गरेर संविधान संशोधन गर्न सक्छन्। त्यसका लागि उनीहरूको संघर्ष संविधानका धारालाई अपरिवर्तनीय राख्ने अपरिपक्व निर्णयविरुद्ध हुनुपर्थ्यो। तर अपसोस, जल, जमिन र हावाजस्ता प्रकृति प्रदत्त अधिकारमाथि बन्देज गर्दै निजी सम्पत्तिका नाममा जमिनमाथिको अधिकारलाई समेत अपरिवर्तनीय बनाउन एमाओवादी र मधेसवादीको समेत सहमति छ। संविधान सभाभित्रको लडाइँमा ससाना कुरालाई पनि संविधानको अपरिवर्तनीय धारामा समावेश गर्न ल्याप्चे ठोक्न तयार हुने दलहरूले अहिले आन्दोलनको माध्यम रोज्नु हास्यास्पद हुन्छ। 
एमाओवादी तथा मधेसवादी दलले आन्दोलनभन्दा बढी संविधान सभाको प्रभावकारी उपयोगमा ध्यान पुर्या उन जरुरी छ। विघटित संविधान सभामा अत्यधिक संख्या रहेको एमाओवादी र मधेसवादी दलहरुको सत्तालिप्सा, अज्ञान र अहंकारले गर्दा अग्रगामी संविधान बन्न नसकेको हो। अलिकति पनि बुद्धिमतापूर्ण ढंगले अगाडि बढेको भए मुलुकको परिस्थिति आजभन्दा निकै भिन्न हुनेथियो। तर तिनले संविधान सभाको सर्वोच्चतालाई पार्टीको आकारले निर्देशित गर्न खोज्दा गलत नजिर स्थापना हुन गयो र अहिले उनीहरूको अवस्था कमजोर बन्न पुगेको हो। विघटित संविधान सभामा एमाओवादी र मधेसवादी दलले जेजस्ता कर्म गरे र त्यसप्रतिको जनधारणा दोस्रो संविधान सभाको परिणाममा देखिएको हो। तर, यो अन्तिम आवधिक निर्वाचन त होइन। अर्को, संविधान सभाभित्र एमाओवादी र मधेसवादीले उठाएको विषय कुनै प्रगतिशील विषय पनि होइन। संविधान बन्दैमा मुलुकका सबै समस्याको समाधान हुने पनि होइन। यत्ति हो, संविधान निर्माणपछि दलीय प्रतिस्पर्धाको संघर्ष संवैधानिक नियमको अधीनस्थ बन्छ। यसले सामाजिक वर्ग र तिनको संघर्षलाई पनि लयबद्ध पार्छ। संविधान निर्माणपछिको राजनीतिक वातावरणको फाइदा पनि सबैभन्दा बढी एमाओवादीलाई नै हुनेछ। तर संविधान सभालाई चक्रव्यूहमा फसाएर उत्पन्न हुने अराजकताले भने उसलाई नै सबभन्दा बढी नोक्सान गर्नेछ। 

सरकार कि संविधान?


अहिले जसरी घनीभूतरूपमा राजनीतिक संवाद भइरहेका छन् र दलहरूका आआफ्ना मान्यतामा लचकता देखिएको छ त्यसले अन्तिम प्रहरमा भए पनि सहमति बन्ने आशा जगाएको छ। तर संविधान र सरकारको मिश्रित विषयक्रमले सहमतिको वार्तालाई धेरै हदसम्म बर्गेल्याउँदै लगेको छ। अन्तिम समयमा भइरहेका निर्णायक वार्ताले यी पंक्ति अखवारमा प्रकाशित भइसक्दा केही सकारात्मक वा नकारात्मक परिणाम दिनसक्नेे संभावना पनि छ। तर अहिलेको निर्णायक वार्तामा उठेका विषयवस्तु नयाँ संविधान निर्माणको एक सूत्रीय उद्देश्यमा केन्द्रित छैनन्। एकैसाथ कति धेरै विषयवस्तु उठाइएको छ भने तिनमा एकैपटक सहमति कायम गर्न असंभव प्रायः छ। नयाँ संविधानका विवादित अन्तर्वस्तु, अन्य विवादित तर गौण विषयवस्तु, राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन, सरकार परिवर्तनलगायत प्रस्तावित संघीय संरचनामा केही जिल्ला हेरफेरका विवादसमेत एकै पटक उठेका छन्। विषयक्रमको यस्तो विस्तारितरूपलाई माघ ८ गते अगाडि सम्बोधन र व्यवस्थापन गर्न असंभव छ। त्यसकारण माघ ८ गतेभन्दा अगाडि संविधानको पहिलो मस्यौदासम्म मात्र भए पनि सार्वजनिक गर्ने विषयलाई मात्र वार्ताको विषय बनाउन जरुरी छ। अन्यथा संविधान सभा संविधान निर्माणमा होइन, सरकार परिवर्तनको दिशामा बढी अग्रसर हुनेछ।
एमालेले अहिले सरकार परिवर्तनको विषयलाई बढी उठाइरहेको छ। गत वर्ष सरकार निर्माणका क्रममा कांग्रेससँग गरेको सम्झौताबमोजिम उसले सरकारको दाबी गर्नु स्वाभाविक भए पनि संविधान निर्माणको प्रक्रिया अपेक्षा गरेअनुरूप सहजतापूर्वक सम्पन्न हुनसकेन। यस्तो अवस्थामा सरकार परिवर्तनको विषयलाई केही समयका लागि थाती राखेर भए पनि संविधानका विवादित विषयवस्तुको समाधानमा मात्र ध्यान केन्द्रित गर्नु जरुरी छ। कदाचित् सहमतिको वातावरण सकारात्मक बन्यो भने अन्तिम सहमतिको क्रमले थप दुई/तीन महिनाको समय अवश्य पनि लिनेछ। त्यति बेलासम्म सरकार परिवर्तन वा अन्य विषयलाई प्रधान बनाउनु हुँदैन। त्यसलाई प्रधान बनाउनेबित्तिकै संविधान सभा अर्को चक्रव्यूहमा फस्नेछ जसले संविधान निर्माणको बहसलाई विशृंखलित गर्नेछ। 
निर्धारित समय सीमाको आसपास (एक दुई महिना उता सर्न सक्छ) संविधान निर्माण गर्न सकिएन भने दोस्रो संविधान सभा पनि असफल बन्ने निश्चित छ। किनभने, अहिले मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक समस्याको केन्द्रीकरण संविधान सभाभित्र मात्र छैन। संविधान सभाबाहिर पनि समस्याको अर्को केन्द्रीकरण भइसकेको छ। संविधान सभा भित्रैका विषयको समाधान गर्न नसक्नेले बाहिरका विषय समाधान गर्नसक्ने प्रश्नै हँुदैन। वर्गीयता, संघीयता र धर्म निरपेक्षताजस्ता विषय संविधान सभाको सीमाबाहिर आइसकेका छन्। माघ ८ गतेभित्र संविधान निर्माण सुनिश्चित भएन भने यी विषयको सम्बोधन वर्तमान संविधान सभाले गर्नसक्ने छैन। अहिले नै चक्रव्यूहमा पसेको संविधान सभाले अभिमन्युको जस्तो मृत्युवरण गर्नसक्ने खतरा बढी छ। त्यसकारण अहिले सरकार परिवर्तन वा अन्य विषयतर्फ होइन, संविधान निर्माणमा अर्जुन दृष्टि केन्द्रित गर्न जरुरी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस