बेलायतबाट निस्कने प्रतिष्ठित दैनिक 'द गार्जियन'को जनवरी २४ तारिख अर्थात माघ १० गतेको अंकमा एउटा 'स्कुप' समाचार प्रकाशित भएको छ। उक्त पत्रिकाका अनुसार लिबियाका सैनिक शासक कर्नल कद्दाफीको शासनकालका बेलाा तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई व्यक्तिगत पत्र लेख्दथे। उक्त पत्रिकाका अनुसार त्यस समयमा बेलायतमा बसेका लिबियाका राजनीतिक शरणार्थीलाई विभिन्न प्रकारले तर्साउन, धम्काउन र लिबिया फर्काउनसमेत ब्लेरको सरकारले सहयोग गरेको प्रमाण भेटिएको छ।
उता संसारको आँखामा भने लिबियाका सैनिक शासक प्रत्यक्षरूपमा पश्चिमा सरकारको विरोधीका रूपमा चिनिन्थे। सन् १९८८ मा स्कटल्याण्डको लकर्बीमा अमेरिकी एअरलाइन्स पानआम ७३ मा बम राखेर पडकाएको र सन् १९८६ मा जर्मनीको एक डिस्कोथेमा बम पडकाएकोजस्ता अनेक मुद्दाका कारण पश्चिमा देश र कर्नल कद्दाफीबीच प्रत्यक्षरूपमा ठूलो दूरी थियो। तर अप्रत्यक्षरूपमा बेलायती प्रधानमन्त्रीको कर्नल कद्दाफीसँगको चिठी पत्र आदान–प्रदानसम्मको सम्बन्धले राजनीतिमा कूटनीतिक स्वार्थले खेल्ने धमिलो खेल उजागर हुन्छ।
सन् २०१४ अप्रिलमा भर्खरै स्वतन्त्र राष्ट्र बनेको दक्षिण सुडानमा डिन्का समुदायको सरकार र संयुक्त राष्ट्रसंघको शान्ति सेनाबीच धेरै ठूलो विवाद भयो। राष्ट्रसंघको शान्ति सेना राजधानी सहर जुबामा रहेको आफ्नो मुख्यालय छाडेर सानो एअरपोर्टमा मेकसिफ्ट अफिस बनाएर बस्यो, कुनैपनि समयमा भाग्नका लागि। भएको के थियो भने दक्षिण सुडान सरकारले शान्ति सेनामा खटिएका घानाका सैनिक ट्रकहरूको खानतलासी गर्दा ठूलो मात्रामा रकेट, ग्रिनेडजस्ता वस्तु फेला पारेको थियो। सो हतियार विद्रोही नुयर जातिलाई दिलाउन राष्ट्रसंघले लुकाएर लगेको आरोप लागेको थियो। सो समस्या हल गर्न राष्ट्रसंघलाई ठूलै 'पापड' बेल्नुपर्योआ। त्यसबेला अर्को सानोमात्र समस्या थपिएको भए राष्ट्रसंघीय नियोगका कर्मचारीलाई भाग्ने समय पनि नहुन सक्थ्यो।
यी दुई उदाहरण विश्व राजनीति प्रत्यक्ष देखिएकोजस्तो सहज हुँदैन र विदेशी सहयोगका नाममा तिनको कालो र अध्यारो छायाले गरिब र कमजोर राष्ट्रको राजनीतिमा गोप्य ढंगले प्रभाव पारिहेको हुन्छ भन्ने उदाहरणको प्रतिनिधि घटनामात्र हुन्। नेपाल अहिले यस्तै विश्व राजनीतिको कुटिल खेलमा फस्दै गएको देखिन्छ। विश्वका शक्तिराष्ट्र र तिनका प्रतिनिधि पात्रले नेपालमा शान्ति, स्थायित्व र विकास ल्याउन खेलेको प्रत्यक्ष भूमिकाको पृष्ठभूमिमा केही घीनलाग्दो खेल पनि सँंगसँगै चलिरहेको छ। पहिलो संविधान सभाबाट संविधान बन्न नसक्नुको एउटा मुख्य कारण विदेशी सहयोगी संस्थाले जातीय राज्य माग गर्ने विभिन्न साना समुदायलाई अनावश्यक रूपमा अर्बौ लगानी गर्नु पनि हो। नेपाल बन्द गराउन समेत बेलायती सहयोग संस्था डीएफआईडीको पैसा खर्च भएको प्रतिवेदन सार्वजनिक भए पछि श्चात त्यस संस्थाले यस्तो कार्यमा सहयोग गर्न बन्द गर्योत। फलस्वरुप दोस्रो संविधान सभाकालमा जातीय राज्यका नाममा नेपाल बन्दका घटना भएनन्। यस्ता विषयमा अलिकति संयम अपनाउने बित्तिकै जातिवाद र अन्य पिछडिएका वर्गका नाममा आफ्नो स्वार्थ पूर्तिगर्ने गैरसरकारी संस्था र नागरिक समाजको आवाजै हरायो।
विसं २०७० सालमा निर्वाचित दोस्रो संविधान सभा अहिले अनिर्णयको बन्दी बनेको अवस्थामा विदेशीको चलखेल एकपल्ट पुनः बढेको देखिएको छ। प्रत्यक्षरूपमा हेर्दा द्विपक्षीय र बहुपक्षीय सहयोग नियोगहरूको प्रमुख उद्देश्य नेपालमा शान्ति कायम राख्नु र हिंसा हुन नदिनु हो। तिनले बुझेको वा तिनलाई बुझाइएको मुख्य विषय नेपालमा एउटा सानो समूहले दलित, शोषित र पीडितहरूमाथि शासन गरेर बसेको छ र यिनले बहुमतको नाममा जनताको गाँस, बास र कपास खोसिरहेका छन् भन्ने नै हो। नेपालका राजनीतिक दलहरू मुख्यतः नातावाद, कृपावाद र पैसावादमा निर्लिप्त हुँदा गरिब जनता सधैँ गरिबनै रहेका छन्, शोषित सधैँ शोषणमै परेका छन् र पीडित जनताले न्याय पाउनसकेका छैनन् तर त्यसैका लागि लोकतन्त्र र संविधान चाहिने हो। लोकतन्त्रको उपहास गरेर यस्ता साध्य हासिल हुने होइन। यिनै समस्याका ओखतीका रूपमा २०६३ सालको अन्तरिम संविधान र २०६४ सालको निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था कायम गरियो। सबै जाति, धर्म, लिंग, वर्णबाट संविधान सभामा प्रतिनिधित्व हुने व्यवस्था पनि भयो। यस कामका लागि तिनै वैदेशिक सहयोग नियोगका एक से एक परामर्शदाताले काम पनि गरे। तर, पहिलो संविधान सभाले कुनै फल दिएन।
दोस्रो संविधान सभाको निर्वाचन पूर्व पनि पुनः समावेशी, समानुपातिक, समानता, समताआदि सबै विषयको दुहाई दिइयो। यस्का लागि फेरि पनि ६०१ जनाके बृहत् संविधान सभाको निर्माण भयो। त्यसमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि ४८ प्रतिशतमात्र रहने तोकियो भने बाँकी ५२ प्रतिशत समानुपातिक प्रतिनिधित्वका लागि राखियो। दोस्रो संविधान सभा देशी, विदेशी सबैले भनेको जस्तो अत्यन्त समानुपातिक र समानतामूलक बन्यो। सम्पूर्ण स्वदेशी र विदेशी निर्वाचन पर्यवेक्षकले पनि त्यस निर्वाचनलाई अत्यन्त सफल र समानुपातिक प्रतिनिधित्व भएको स्वीकार गरे। तर अन्ततः संविधान बनाउने बेलामा यस्तो समानुपातिक र समतामूलक प्रतिनिधित्व भएको भनिएको संविधान सभाको दुई तिहाई बहुमतले पारित गरेको संविधान जारी भयो भने गरिब, निमुखा, पिछडिएको समुदायको प्रतिनिधित्व हुँदैन भन्ने आवाज विशेषगरी विदेशीहरूको मुखबाट सुनिदैछ। निर्वाचनमा हारेका दलहरूले बहुमतले मात्र निर्णय गरेर हुँदैन अल्पमतको पनि ध्यान पुर्याैइनुपर्छ भन्नु आफैँमा एउटा राजनीतिक चलाखी हो। तर, जुन विदेशी शक्तिको सल्लाह र समर्थनमा संविधान सभा बनेको छ त्यसैले फेरि दुई तिहाई बहुमतको आधारमा अघि बढ्न पनि नदिनु कसको स्वार्थका लागि हो भन्ने प्रश्न सहजै गर्न सकिन्छ।
विदेशी नियोगहरूले लिएको अडान गरेको गतिविधि हेर्दा सहजै अनुमान लगाउन सकिने कुरो के हो भने जुन देश कमजोर छ, अस्थिर छ त्यसमा जनताका प्रतिनिधिले आफूले चाहेअनुरुप निर्णय लिन पाउँदैनन्। अर्थात्, विदेशी स्वार्थ पूर्ति नहुने अवस्था छ भने दुई तिहाइ बहुमत भए पनि पनि त्यो सहमति मानिदैन। नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता बेग्लाबेग्लै तीनथरीराजनीतिक विचार भएका दल सँगै मिलेर सहमति गर्दा पनि असहमत दलले वितण्डा मच्चाउने वा अशान्ति पैदा गर्ने डर देखाएर असहयोग गर्नु नेपाली जनताको अभिमतलाई अस्वीकार र अपमान गर्नु नै हो।
विदेशी नियोगले नेपालको हितमात्र हेरेर आफ्ना निर्णय दिएका छैनन् भन्ने त तिनले अहिलेका विपक्षी नेताहरूलाई मात्र होइन नेपाललाई टुक्य्राउनु पर्छ भन्ने व्यक्तिलाई पनि निकै महत्व दिएकाले पनि पुष्टि भएको हुन्छ। नेपाल टुक्राउन चाहने एक जना विदेशबाट सञ्चालित व्यक्तिलाई केही युरोपेली मुलुकका राजदुतहरूले हालै भेटेको थाहा पाइएको छ। नेपालका सुरक्षा निकायहरूसँग तिनले कहाँ, कतिबजे, कतिजनाले भेटे र तिनको आशय के हुनसक्छ र त्यसले नेपालको आन्तरिक सुरक्षामा कसरी असर पार्नसक्छ भन्ने विषयमा समेत विश्लेषण भइसकेको थाहा पाइएको छ। तर नेपालजस्तो कमजोर मुलुकमा सरकारले तिनलाई बोलाएर नेपाल टुक्य्राउँछु भन्ने शक्तिसँग किन भेटघाट गर्यौु? के के कुरा गर्यौम? भनेर सोध्ने आँट देखाउन सकेको छैन।
यस्तो सबैथरीको राजनीति चलिरहेको अवस्थामा नेपालको स्थायित्वका लागि छिमेकी भारत र चीनको भूमिका महत्वपूर्ण हुन्छ। नेपालमा अस्थिरता भयो भने संयुक्त राष्ट्रसंघको निलो हेल्मेटधारी नियोगको उपस्थिति हुन्छ र त्यसको सिधा असर भारतमा भएको माओवादी विद्रोहदेखि कस्मिरमा चलेको पृथकतावादी अन्दोलनसम्म पर्छ भन्ने हिसाब भारतले पनि नगरेको त पक्कै होइन होला। तथापि नेपालको तरल अवस्था बेचेर भारतमा नेपाल विशेषज्ञ हुन चाहने वा विदेशीलाई नेपालमा अत्यन्त अन्याय, अत्याचार र विभेद छ भनेर आफ्ना धन्दा चलाउन चाहनेहरूले भारतीय सरकारलाई पनि दिग्भ्रमित गरेको देखिन्छ। अत्यधिक बहुमतका साथ प्रधानमन्त्री बनेका मोदीलाई समेत नेपालमा भ्रष्टाचार गरेर पैसा कमाउन अभ्यस्त गुप्तचर संस्थाले प्रभावमा पारेको लक्षण देखिँदै जान थालेको छ।
चीन सधैँ नेपालमा स्थायित्व होस् र एक चीनको नीतिमा कुनै प्रकारको विवाद नआओस् भन्ने चाहन्छ। त्यसभन्दा बढी चीनले अघि बढेर नेपालको विषयमा ठूलो हस्तक्षेप गरेको देखिँदैन। चीनको राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि नेपालले अंगीकार गरेको राजनीतिक व्यवस्थामा सहयोग र समर्थन गर्ने तथा जनताको अभिमतअनुरूप हिँड्न नेपालका राजनीतिक शक्तिहरूलाई उत्प्रेरित गर्नु चीनको पनि हितमा हुनेछ। नेपालमा विदेशी सेनाले शान्ति स्थापना गर्नुपर्ने अवस्था चीनका लागि पनि रुचिकर र हितकारी पक्कै नहुनु पर्ने हो।
तर नेपालका दुई तिहाइ पुर्यालउन सक्षम राजनीतिक दलले पनि आफ्ना विभिन्न जाति, धर्म, लिंग, क्षेत्रका सभासद्लाई उभ्याएर भनाउन सक्नुपर्छ – 'हामी कुनै असमान राष्ट्र बनाउन लागेका होइनौं, समानुपातिक, समतामूलक र सबैले सम्मानपूर्वक बाच्न पाउने देश बनाउन लागेका हौं। हामीलाई देश बनाउन देऊ, असफल राष्ट्र बनाएर आफ्नो परियोजनाको बजेट बढाउने कोसिस नगर!'