एमाओवादीको संकीर्ण दृष्टिकोण
१३ माघ २०७१
•
१३ मिनेट पाठ
एमाओवादीको संकीर्ण दृष्टिकोण
नागरिकमा प्रकाशित मेरो अघिल्लो लेख पढेर केही पाठकले प्रतिक्रिया दिए– मेरो विचार सत्तापक्षको वकालत भए। एमाओवादीको बढी नै विरोध भयो। कतिले म एमाले वा नेपाली कांग्रेससँग सम्बन्धित हुँ कि भनेर पनि सोधे। एक दलित शुभेच्छुकले सम्झाए पनि– ‘तपाईंले पक्कै दलित हुनुको पीडा भोग्नुभएको होला। माओवादी आन्दोलनले त्यो पीडा कम गर्न निकै साथ दिएको कुरालाई मनन गर्नु पर्दैन?' वास्तवमा मेरो छोटो जवाफ त्यही प्रश्नमा अन्तर्निहित छ। सत्ताधारी दल दलितको मामिलामा अत्यन्तै चिन्तित छन् भन्ने दुस्साहास गरेँ भने तिनकै भ्रातृ संगठनका दलितले समेत गाली गर्नेछन्।दुःखको कुरो म र मजस्ताकै निम्ति अद्भूत त्याग र बलिदान गरेको भन्ने क्रान्तिकारी दलले हामीलाई चटक्कै बिर्सेको आभास मिलेको छ। दुःखी, गरिब र पीडितको भरोसा भत्किँदै गएको छ। त्यही चिन्ता र चासो नै मेरो विरोधको प्रमुख स्रोत हो। प्रबुद्ध लेखक खगेन्द्र संग्रौलासँग मेरो विचार यो अर्थमा मिल्छः परिवर्तनको प्रचुर सम्भावना बोकेको एमाओवादी पार्टी निरन्तर जनताबाट टाढिँदो छ। 
मैले निरन्तर जातीय राज्यविरुद्ध आवाज उठाएको छु, तर त्यो विरोध संघर्षरत जनजाति समूहहरूप्रति लक्षित होइन। उनीहरू पनि एक हदसम्म उत्पीडित हुन् राज्यसत्ताबाट सदियौँसम्म हेपिएका, चेपिएका, अपमानित गरिएका छन्। धार्मिक, भाषिक, आर्थिक, राजनीतिकलगायत धेरै तरिकाले तिनले कथित उच्च जातीय नियन्त्रणमा रहेको राज्यव्यवस्थाको अन्याय र अत्याचार सहनु परेको छ। निश्चितरूपमा परिवर्तनका निम्ति आवाज उठाउनु तिनको लोकतान्त्रिक अधिकार हो। जातीय राज्यद्वारा नै आफूमाथि हुँदै आएको अत्याचार अन्त्य हुन्छ भन्ने केही जातजातिको धारणा छ भने त्यसमा अरुको टाउको दुख्नुपर्ने कुरो भएन। आफ्नो हक र हितका लागि संगठित हुने अधिकार प्रजातन्त्रमा सबैको हुन्छ।
त्यस्तै, एक पहाडियाको नाताले विभिन्न मधेसी दल वा समूहले उठाएका मुद्दाहरूलाई जायज वा नाजायज भन्ने मेरो अधिकार पनि नहोला। उनीहरूले पनि पहाडे उच्च जातीय सत्ताबाट अनेकौँ अपमान, अन्याय र भेदभाव युगौँसम्म भोग्दै आएको ऐतिहासिक सत्य हो। सबैभन्दा बढी अन्नबाली उब्जनी हुने त्यहीँ, धेरै कलाकारखाना त्यहीँ, भारतसँगको अत्यावश्यक व्यापारसम्पर्क त्यही भूमिमार्फत्। तर त्यही ठाउँका नागरिक अनागरिक! तिनै मान्छे दोस्रो दर्जाका जनता? तिनैको नेपाल राष्ट्रप्रतिको माया र श्रद्धामा अनावश्यक शंका? अहिले अस्ट्रेलियामा डाक्टर काम गर्दै आएका मेरा एक मधेसी मूलका साथी भन्छन्– उनले पोखरा र राजधानीमा पढ्दा कहिल्यै पनि अरु नेपालीसरह सम्मान पाएनन्। हामी दलितलाई त हेप्नुअगाडि पहिला जात पहिचान गर्नुपर्छ कमसेकम। तर मधेसी दाजुभाइ–दिदिबहिनी देख्नेबित्तिकै को आएछ उत्तरप्रदेश वा बिहारबाट भन्ठान्ने पहाडे शासनसत्ताले निर्माण गरेको असत्य र भ्रामक दृष्टि उदेकलाग्दो छ। 
यति हुँदाहुँदै पनि हालको एमाओवादी राजनीतिप्रति मेरो वा भनौँ मजस्ता धेरैको विरोध किन? सिद्धान्ततः ऊ उत्पीडितसँग यसरी पंक्तिबद्ध हुनु ज्यादै सराहनीय काम हो। गरिब–दुःखीका निम्ति भनेर नै उसले युद्ध सुरु गरेको हो र विशाल जनलहर उसको पछाडि लागेकै हो। तर बुझ्नेलाई के कुराको डर पैदा भयो भने यतिखेर सिंगो मुलुकको क्रान्तिकारी रूपान्तरण मुख्य उद्देश्य लिएको पार्टीले अहिले फगत केही जातिवादी र क्षेत्रीय दलजस्तो व्यवहार गरिरहेको छ। 
निश्चितरूपमा जातीय दलले त्यहीअनुसार आवाज उठाउन मिल्छ, धार्मिक राजनीतिले यो वा त्यो धर्मलाई जोड दिन्छ, साम्प्रदायिक समूहले आफ्नो सम्प्रदायको हितमा कुरा गर्छ। त्यस्तै क्षेत्रीय पार्टीले आफ्नो क्षेत्रको हकहितको विषयलाई प्रमुखतामा राखेको हुन्छ र राख्नु पनि पर्छ। किनकि तिनको उद्देश्य नै दलको नामले किटान गरिसकेको हुन्छ। यसको मतलब तिनले समग्र देशको कुनै वास्तै गर्दैनन् भन्ने होइन, तर उनीहरूको पूर्वनिर्धारित जनाधार हुन्छ र सोहीबमोजिम कार्य गर्नु पर्ने बाध्यता रहन्छ। र, त्यो सुहाउँछ पनि। मधेसी दलहरूले एक ढिक्का भएर ‘एक मधेस प्रदेश' भन्नुका पछाडि पनि उक्त क्षेत्रको सर्वोत्तम हितलाई ध्यानमा राखेर अगाडि सारिएको विषय हुनुपर्छ र त्यसरी नै बुझ्नु जरुरी छ।
एमाओवादीले अहिले के कुराको हेक्का राख्न सकिरहेको छैन भने, ऊ विस्तारै जातीय र क्षेत्रीय दलको रूपमा परिणत हुँदै गइरहेको छ। उपेन्द्र यादव जतिसुकै महान् नेता भए पनि मुख्यतः उनलाई लोकले चिन्ने एक क्षेत्रीय नेताका रूपमा मात्रै हो। भविश्यमा जे गरे पनि राष्ट्रपति डा. रामवरण यादव र उपेन्द्र यादवको प्रतिष्ठा र इज्जत एकै हुनैसक्दैन। त्यस्तै, हाल जति लोकप्रिय वा अलोकप्रिय भए पनि पुष्पकमल दाहाल सिंगो मुलुकका नेता हुन्। उनले विश्व नै चकित हुनेगरी सशस्त्र युद्ध गरेर देशलाई यहाँसम्म ल्याउन ठूलो पुरुषार्थ देखाइसकेका छन्। यसको मतलब उनले साना दल वा समूहसँग सहकार्य गर्नै हुन्न भन्ने होइन। परन्तु, एक राष्ट्रिय नेताका हिसाबले उनको सोच अरुको भन्दा बढी फराकिलो, दूरगामी र सबैको भावना तथा चाहना अटाउने खालको हुनुपर्ने होइन र? 
हालसालको उनको राजनीतिमा त्यो दूरदर्शिता, त्यो जुझारूपन र नैतिकता झल्कँदैन। क्षणिक स्वार्थ र पदलोलुपता दृष्टिगत गरेर सीमित जातजाति, भाषाभाषी वा क्षेत्रका निम्ति मात्रै यसरी मरिहत्ते गरिरहनाले उनको र उनको दलको प्रतिष्ठा तथा समर्थन निरन्तर ओरालो लागेको छ। जनमानसमा पार्टीको छवि दिनानुदिन खस्कँदो छ। आफ्ना स्वार्थले एमाओवादी समर्थक विश्लेषकहरूले यो कुरालाई त्यति उजागर गरेका छैनन् होला, तर फेसबुकलगायत सामाजिक सञ्जालमा एक नजर लगाउने हो भने पनि यो कुरा प्रष्ट हुन्छ। 
दाहालको हालैको रणनीतिले जनतामा नराम्रो प्रभाव पर्न गएको हो। कमसेकम जातजातिलाई राज्य दिएर मात्रै उनीहरूको उत्थान हुन्छ भन्ने एमाओवादीको अकाट्य विचार हो भने उसले त्यही कुरालाई मधेसमा पनि लागु गर्न पहल गर्नुपर्थ्यो। दक्षिण नेपालका समथर भूमिलाई सकेसम्म एक वा दुईमात्र प्रदेश बनाउने, ती प्रदेशको नाममा चाहिँ जातीयता झल्किनु नपर्ने, तर पातलो बस्ती भएको पहाडलाई भने धेरै चिरा बनाउने र ती प्रायः सबैमा एक जातको सग्लो नाम हुनैपर्ने भन्ने अडान कहाँसम्म व्यावहारिक होला? यो कुरा थोरैमात्रै पढेका वा कति पनि नपढेका र नबुझेका मान्छेलाई पनि ज्यादै विरोधाभासपूर्ण देखिन्न र? एक प्रतिशत जनसंख्या भएकाले जातीय राज्य प्राप्त गर्ने र अरुले नपाउने भन्ने कुरो कुन वैज्ञानिक सिद्धान्तमा आधारित छ? 
त्यो प्रतिशतलाई थपघट किन गर्न सकिँदैन? त्यो नै अत्यावश्यक सिद्धान्त हो भने तराईमा त्यो किन लागु हुन्न? एकै देशका जनतामा यो भिन्नता किन? अझ पेचिलो प्रश्नः सात–आठ जातिलाई राज्य दिलाइसकेपछि अन्यले पनि आन्दोलन चर्काए भने तिनलाई के दिने, कसरी दिने, कहाँ दिने वा दिँदै नदिने? यस्ता स्वाभाविक प्रश्नका उत्तर एमाओवादीले चित्तबुझ्दो तरिकाले अझै दिनसकेको छैन। 
यस्ता सवालहरूमा घोत्लिरहनु नपर्ला जातीय र क्षेत्रीय दल वा समूहलाई, किनकि अगाडि भनिएजस्तै तिनको मुद्दा र प्रतिनिधित्व गर्ने समूह प्रष्ट छन्। तर एमाओवादी त फगत् जातीय वा क्षेत्रीय दल होइन। तदनुरूप उसको दृष्टिकोण हुनु पर्दैन? यस पटक आफ्नो साख निक्कै घटे पनि अघिल्लो पटक त्यो सबैभन्दा ठूलो दल थियो, संविधान सभामा। अर्को पटक पुनः उसको उदय हुनसक्छ। आज बिच्केका समर्थक भोलि फर्कन सक्छन। यो क्रम त बहुदलीय व्यवस्थामा चलिरहन्छ। तसर्थ अहिल्यै आत्तिहाल्नु पर्ने के छ र राष्ट्रिय दललाई, जसको ठूलो लगानी र प्रयत्नमा संविधान सभा देख्नपाएका हुन नेपाली जनताले। तत्काललाई हताश–निराश भइहाल्नु हुनु पर्ने त्यस्तो के छ र एमाओवादीलाई? तर यस्तै क्षुद्र व्यवहार गर्दै गयो, जातीयता र क्षेत्रीयतामा मात्रै आफ्नो भविष्य देख्यो र आफैले जन्माएको संविधान सभाको आफैले घाँटी निमोठ्न थाल्यो भने तत्काल केही नेतालाई ठूलै फाइदा होला, तर खहरे बनेको एमाओवादीको पुनः नदी बन्ने सपना सपनामै सीमित रहन पनि सक्छ। दलितलगायत धेरै उत्पीडित जनताले कुनै बखत औधि मनपराएको र भरोसा गरेको दलको अन्ततोगत्वा यस्तो हविगत नहोस् भन्ने कामना गर्ने मान्छेको भीडमा म पनि एकजना हुँ ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस