दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले सन् १९४५ को अगस्टमा परमाणु बम प्रहार गरेपछि परास्त भएकोे जापानी सेनाले पूर्वी प्रशान्त क्षेत्रका अमेरिकी कमान्डर जनरल डग्लस म्याकआर्थरले नेतृत्व गरेको फौजसामु सेप्टेम्बर २ मा विधिवत् आत्मसमर्पण गर्योर।
त्यस विश्वयुद्धमा जापानले हिटलरको नाजी जर्मनीलाई साथ दिएको थियो। जापानको प्रशासनिक क्षेत्र पनि सम्हाल्ने जिम्मेवारी भएका जनरल म्याकआर्थरमाथि जापानको मेजी कालको सन् १८८९ को सैन्य संस्कारलाई प्रधानता दिइएको संविधान परिवर्तन गर्नुपर्ने जिम्मेवारीसमेत आइलाग्यो। प्रारम्भमा उनले जापानीलाई नै नयाँ प्रजातान्त्रिक संविधान बनाउन भने। जापानीहरूले उही पुरानै मेजीकालको संविधानलाई नै केही फेरबदल गरेर प्रस्तुत गरे। मुख्यतः भविष्यमा जापानको सैन्य शक्ति निर्माणको सम्भावनालाई पूर्ण बन्देज लगाउने उद्देश्य राखेका जनरल म्याकआर्थरलाई जापानीहरूले बनाएको पुरानै प्रकारको संविधानबाट चित्त बुझेन। अनि उनले आफ्नै सैन्य कर्मचारीमध्येकी सवैभन्दा कान्छी २३ वर्षमात्रै पुगेकी अस्ट्रियामा जन्मेकी अमेरिकी कलाकार सुश्री बीट सिरोटा गोर्डनलाई एक साताभित्र जापानको संविधान बनाएर प्रस्तुत गर्ने जिम्मेवारी सुम्पे। युद्धले तहसनहस भएको टोकियो सहरमा जीप लिएर उनी विभिन्न विदेशी मुलुकका प्रजातान्त्रिक संविधान संकलन गर्न थालिन्। भनिन्छ, उनले बेलायतको संविधान खोज्नमात्रै झन्डै तीन दिन खर्च गरिन्। भनिन्छ, त्यपछिमात्रै उनलाई बेलायत त संविधानविहीन मुलुक भएको थाहा भयो। तैपनि उनले एउटा प्रगतिशील संविधानको खाका जनरल म्याकआर्थरलाई बुझाइन्। बादशाह हिरोहितोलाई देशको संवैधानिक सर्वोच्च राष्ट्राध्यक्षका रूपमा कायमै राखेर दुई सदनात्मक संसदीय व्यवस्था र 'मानव अधिकार र स्वतन्त्रता' को पूर्ण प्रत्याभूति गरिएको उक्त संविधानलाई जापानी मन्त्रीपरिषद्ले समान्य हेरफेरपछि स्वीकृत गर्योत। गणतान्त्रिक अमेरिकाका जनरलले जापानलाई पनि गणतान्त्रिक बनाउने हुन् कि भन्ने शंकामा पिल्सिरहेका सम्राट हिरोहितोले आफूलाई आलंकारिक बनाए पनि राजपरिवारलाई कायमै राखेको देखेपछि दायाँबायाँ केही नहेरी हत्तपत्त उक्त संविधानलाई स्वीकृति प्रदान गरे। अमेरिकी जनरल म्याकआर्थरले बनाएर दिएको त्यही संविधान कुनै परिवर्तन र संशोधन नगरीकन जापानमा हालसम्म कायम रहेको छ।
हाम्रो मुलुकमा जापानको जस्तो स्थिति नभए पनि घरभित्रको झगडा बाहिर छताछुल्ल हुनथालेको छ। विदेशीहरूले बढी नै चासो दिन थालेका छन्। इन्टरनेटको माध्यमबाट देश विदेश जहाँकहीबाट पनि हेर्न र सुन्न सकिने यु ट्युबमा नेपालको संविधान सभामा गत माघ ५ गते मध्यरातमा एक पक्ष (एनेकपा (माओवादी) नेतृत्वको मोर्चा) बाट भएको हंगामा र व्यापक तोडफोडका २१ वटा श्रव्यदृश्य सामग्री राखिसकिएका छन्। तीमध्ये सबैभन्दा विस्तृत र लामो १४ मिनेट ३७ सेकेन्डदेखि सबैभन्दा छोटो २५ सेकेन्ड सम्मका रहेका छन्। हंगामा र तोडफोडका मुख्य मुख्य दृश्य समेटिएका ती सामग्रीलाई झन्डै ५० हजार दर्शकले हेरिसकेका छन्। यसरी अत्यन्त व्यापकरूपमा प्रचार प्रसार भएको यो हंगामाका पछाडि राज्य पुनर्संरचनाअन्तर्गत प्रादेशिक संरचनामा पर्न नसकेका ५ जिल्लाको विषयलाई अगाडि सार्ने गरिएको छ।
कांग्रेस एमालेले ल्याएको भनिएको ७ प्रदेशको संघीयताको प्रस्तावमा अहिले सुदूर पश्चिमका कञ्चनपुर र कैलाली तथा पूर्वका झापा, मोरङ्ग र सुनसरीलाई निहुँ बनाएर संघीयताको प्रस्तावमात्रै होइन सहमतिको बिन्दुमा पुगिसकेका निर्वाचन प्रणाली, शासकीय स्वरूप तथा न्याय प्रणालीलाई पनि विवादकै विषय बनाउने प्रयास भइरहेको छ। यसबाट कसलाई कसरी लाभ पुग्नेे हो?
सुदूर पश्चिमका कञ्चनपुर र कैलालीका बहुसंख्यक स्थानीय वासीले तराईका ती दुई जिल्लालाई सुदूर पश्चिमका अरू भूभागमै समावेश गर्नुपर्ने माग राखेर आन्दोलन नै गरेका थिए। पूर्वका झापा, मोरङ्ग र सुनसरीका कुनै पनि पूर्व जिविस वा गाविसका निर्वाचित प्रतिनिधिले पनि अहिलेसम्म आफ्नो क्षेत्रलाई अमुक प्रदेशमा समावेश गरियोस् भनेर कहीँ कतै आफ्ना माग प्रस्तुतसमेत गरेका छैनन्। यस स्थितिमा ती जिल्लालाई नै मुख्य विवाद बनाउनुको अन्तर्य कतै अर्कै पो छ कि भन्ने शंका उठ्नु अस्वाभाविक होइन।
सन् ६० को अन्त्यतिर भारतको पश्चिम बङ्गालको नक्सालबाडी क्षेत्रबाट प्रारम्भ भएको हिंसात्मक आन्दोलनले भारतका अहिले झन्डै एकतीहाइ जिल्ला आक्रान्त भएका छन्। त्यही नक्सालबाडी झापा जिल्लासँग जोडिएको छ। त्यतिमात्रै पनि होइन झापाबाट बङ्गलादेशको सीमामात्रै १४ किलोमिटरको दूरीमा छ। यो १४ किमिको भूमि कति महत्वपूर्ण छ भने यहीँबाट भारतका उत्तर पूर्वी क्षेत्रमा रहेका ७ वटा 'दिदी बहिनी' प्रदेशहरू तथा भुटान र बर्मासम्म पुग्ने सम्पूर्ण मार्गका प्रवेशद्वार नै यही क्षेत्र हो। यहाँबाट ७/८ घन्टाको बसयात्रामा कलकत्ता पुग्न सकिन्छ। त्यस्तै कञ्चनपुरबाट दिल्ली पनि अत्यन्त नजिक पर्छ। बिहान बस चढेर साँझपख दिल्ली पुग्छन् यात्रुहरू। त्यसैले पूर्व र पश्चिमका यी दुई जिल्ला सामरिक दृष्टिबाट अत्यन्त महत्वपूर्ण छन्। त्यही सामरिकतालाई हेरेर यो वितण्डा मच्चाइएको त होइन?
ती ५ जिल्लालाई नै झगडाको विषय बनाएर कांग्रेसएमालेले प्रस्तुत गरेको अहिलेको संघीयताको ढाँचालाई नमान्ने हो भने र यसलाई अहिलेलाई स्थगित स्थितिमा राखेर स्थानीय स्वायत्त शासन ऐन, २०५६ अनुसार स्थानीय निकायको (गाविस र जिविसको) निर्वाचन गरिएमा गाविस र जिविसमा स्थानीय निर्वाचित जनप्रतिनिधिले काम गर्न पाउनेछन्। स्थानीय स्वायत्त शासन ऐन, २०५६ ले स्थानीय निर्वाचित जनप्रतिनिधिलाई पर्याप्त अधिकार दिएको छ। यसरी काम गर्दा ऐनअनुुसार आफूले पाइआएको हक अधिकार कुण्ठित हुने गरी कुन निर्वाचित जनप्रतिनिधि वा जिविस/गाविसले पछि बन्ने प्रादेशिक सरकारका हर्ताकर्तालाई आफ्ना हक अधिकार सुम्पन तैयार होलान्?
प्रादेशिक सरकार हुनेबित्तिकै जिविसले अहिले काठमाडौंमा रहेको देशको केन्द्रीय सरकारसँग हुने सीधा सम्पर्क र 'बार्गेनिङ्ग'को सुविधा गुमाउनेछ। जिविस र काठमाडौंका बीचमा थपिने प्रदेश सरकारको नयाँ तहलाई नाघेर जानु उसका लागि असम्भव प्रायः हुनेछ। उसको सिधा सम्पर्क र 'बार्गेनिङ्ग'को सुविधा प्रदेश सरकारसम्म मात्र हुनेछ। गाविसका लागि त काठमाडौं पुग्न झनै दुरुह हुनेछ।
विसं २०४९ र २०५४ मा भएका स्थानीय निर्वाचनमा जिल्ला तथा गाविसमा पार्टीहरूले आआफ्ना उम्मेदवार खडा गर्दा पनि जिल्ला वा गाविसमा बसोवास गर्ने विभिन्न जातजातिको जनसांख्यिक समीकरण मिलाएर उठाएका थिए। सवै जिविस वा गाविसमा निर्वाचित स्थानीय जनप्रतिनिधिले नै आआफ्ना स्थानीय सरकारको नेतृत्व सम्हालेका थिए। तिनको पहुँच सीधा सिंहदरवारसम्म हुन्थ्यो। आआफ्ना क्षेत्रका लागि केन्द्रले विनियोजन गरेको विकास बजेट र सेवा सुविधामा चित्त नबुझेमा सीधै सिंहदरवारमा झगडा गर्न पुग्थे। अहिले स्थानीय स्वायत्त शासन ऐन, २०५६ अनुसार गाविस र जिविसको निर्वाचन भएमा नेपाल गणराज्यका ७५ वटै जिल्ला विकास समितिमध्ये कुनैले पनि प्रदेशको संरचनाभित्र समावेश हुन रुचाउने छैनन्। त्यसैले रुखको चरो समात्न खोज्दा हातको चरोसमेत उम्कने स्थिति उत्पन्न गर्नु बद्धिमानी पटक्कै होइन।
माओवादी हिंसात्मक विद्रोह, दोस्रो जनआन्दोलन, मधेस आन्दोलनलगायतपछि स्थापित संघीयता, गणतन्त्र, समावेशिता जस्ता मूलभूत उपलब्धि कांग्रेसएमाले सहितको ९ बुंदे प्रस्तावमा धेरै हदसम्म समेटिएको देखिन्छ। त्यसमा पनि अझै लचिलो हुन सकिन्छ भन्ने धारणा आधिकारिकरूपमै पनि यथेष्ट सार्वजनिक भएका छन्। मिश्रित सदस्यीय समानुपातिक निर्वाचन प्रणालीलाई त स्वीकार गरिसकिएकै हो – प्रत्यक्षमा ६० प्रतिशत र समानुपातिकमा ४० प्रतिशत राख्नेसम्मको समझदारीका रूपमा। तीन तहको शासकीय स्वरूपमा पनि समझदारी भएकै हो। दस वर्षसम्मका लागि संवैधानिक अदालतसहित न्याय प्रणालीमा पनि सहमति भएकै हो। कांग्रेस र एमालेभित्रका अनुदारवादीको चर्को दवाब भएपनि यी सहमति र समझदारीबाट अहिलेसम्म कांग्रेस एमालेसहितका दलहरू संस्थागतरूपमा पछाडि हटेको कुनै संकेत देखिएको छैन। यति बुझेर पनि कांग्रेस एमाले २०४७ साल मै फर्किन लागेको भनेर अत्तो थापी संविधान सभा छाडेर हिंड्न पर्नुको भित्री कारण खोजी गर्नु जरुरी छ। यसका पछाडि मुख्यतः दुई कारण हुनसक्ने देखिन्छ – पहिलो, वाह्य शक्तिको चर्को दबाब र दोस्रो, स्थापित हुनलागेको परिवर्तनको स्वामित्वको भागबन्डा। भारत, चीनलगायत सबै पश्चिमा मुलुकले समेत मूलरूपमा परिवर्तनका विषय समेटिएको संविधान यथासक्य छिटो आपसी समझदारी र सहमतिमा जारी हुनसकेमा नेपालमा स्थिरता र आर्थिक विकास हुनसक्ने पटक पटक दोहोर्याटएकाले वाह्य शक्तिको दबाबमात्रै यसको कारण हो भन्ने तर्क स्थापित हुँदैन। त्यसैले परिवर्तनको स्वामित्वको भागबन्डा नै अहिलेको संविधान सभा भित्रको द्वन्द्वको मुख्य कारण देखिन्छ। दशक लामो हिंसात्मक सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल 'प्रचन्ड'लाई अवश्य लाग्दो हो- २०६२/०६३ को जनआन्दोलनको सफलताका पछाडि दस वर्षे सशस्त्र द्वन्द्वले स्थापित गरेका परिवर्तनका आधार नै हुन्। आफ्नो नेतृत्वमा भएको सशस्त्र युद्ध र त्यसले स्थापित गरेका परिवर्तनका मान्यतामा आफ्नो कुनै हक नलाग्ने परिस्थिति उत्पन्न हुँदै जाँदा आफ्नो राजनीतिक भविष्य नै दाउमा परेको अनुभव एउटा राजनीतिक व्यक्तिलाई हुन्छ नै। यस्तो मनःस्थितिलाई संविधानमा उल्लेख गरिने प्रगतिशील अक्षरले मात्रै चित्त बुझाउन सक्तैन, भावना पनि त्यत्तिकै चाहिन्छ। संविधान सभामा परिवर्तनका पक्षधर सबैले बुझ्नुपर्छ- परिवर्तनका वाहक कमजोर भएमा वा अनावश्यक द्वन्द्वमा लागेमा दलमा रहेका अनुदारवादी सबल हुनेछन् र द्वन्द्वको अर्को शृङ्खला सुरु हुन सक्नेछ।