संविधान निर्माणमा ‘कोसेढुंगा'
२१ माघ २०७१
•
१४ मिनेट पाठ
संविधान निर्माणमा ‘कोसेढुंगा'
संविधान सभाले संविधान निर्माणको प्रक्रिया आरम्भसँगै असहमतिका विषयमा प्रश्नावलीसहितको प्रस्ताव तयार गर्नका लागि ‘प्रस्ताव निर्माण समिति' गठन गरेको हो। समितिको पहिलो बैठक माघ १७ गते बस्यो र बैठकले एमाओवादी नेतृत्वको मोर्चालाई समितिमा सहभागी हुनका लागि अपिल गर्नुका साथै समितिको कार्यविधि बनाएर काम थालनी गर्‍यो।सहमतिको प्रयास सँगसँगै अब संविधान निर्माणको प्रक्रिया अघि बढेको छ। त्यसले गर्दा संविधान नबन्ने हो कि भन्ने शंकाको बादल एक हदसम्म फाटेको छ। यो पहिलो सिँढी उक्लनुलाई संविधान निर्माणको ‘कोसेढुङ्गा' मान्न सकिन्छ। 
पछिल्लो समयमा संविधान सभाभित्र माघ ८ मा नै संविधान जारी गर्नका लागि नेताहरु, सभामुख र सिंगो संविधान सभामाथि संविधान सभाभित्र सभासद्हरुको र बाहिर नागरिक समाज र जनसमुदायको निकै चर्को दबाब थियो। त्यसका बाबजुद निर्धारित समयमा संविधान आउन सकेन। परिणामस्वरूप सबै राजनीतिक दलले गरेको प्रतिबद्धता एकपटक बेवारिसे बन्न पुग्यो। र, आमजनतामा दोस्रो संविधान सभाले पनि संविधान दिन सक्दैन वा संविधानबिना नै संविधान सभा अवसान हुने हो कि भन्ने चिन्ता र शंका बढ्यो। 
चौतर्फी दबाबपछि अन्तिम समयमा दलका नेता सक्रिय भए र सभामुखको पहलकदमी पनि बढ्यो। पछिल्लो समयमा सहमतिको नजिक पनि पुगे दलहरु। मुख्य विवादित विषयमध्ये न्याय प्रणालीमा पूर्ण सहमति कायम भयो, मिश्रित निर्वाचन प्रणाली अपनाउने सम्बन्धमा सैद्धान्तिक सहमति भयो र प्रत्यक्ष र समानुपातिकको प्रतिशतमा सहमति हुन बाँकी थियो। शासकीय स्वरूपमा सुधारिएको संसदीय परिपाटीलाई नै अघि बढाउने र एमाओवादीले ‘नोट अफ डिसेन्ट' लेखेर प्रक्रियामा सहभागी हुने टुङ्गोमा पुगियो। सबैभन्दा जटिल मुद्दा संघीयताका विषयमा सहमति गर्नका लागि केही समय थप प्रयत्न गर्नेसमेत समझदारी भयो। यति भइसकेपछि अब सहमतिमा संविधान बन्ने विश्वासिलो सन्देश सबैतिर फैलियो। तर सो सकारात्मक सन्देशलगत्तै सहमति तोडिएको समाचार हावासरी फैलियो र सबैलाई फेरि निराश तुल्यायो। 
सहमतिको जतिसुकै प्रयत्न गर्दा पनि सम्भव नभएपछि सभामुखले विवादित विषयहरुको प्रश्नावली निर्माण गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन खोज्नुभयो तर प्रक्रियासँगै एमाओवादी/मधेसवादी दलहरुको चर्को विरोधको सामना गर्नुपर्योप। सभामुखद्वारा विरोधका बीच आरम्भ गरेको प्रक्रिया अघि बढाउने अठोट र ९ माघको बैठकमा गरेको उद्घोषले प्रक्रिया अघि बढ्ने आधार प्रदान गर्योअ। जसअनुसार उहाँले माघ ११ को बैठकमा एमाओवादीलगायतको विरोध र नाराबाजीका बाबजुद ‘प्रस्ताव समिति' गठनको घोषणा गर्नुभयो। जुन निर्णयले संविधान आउने विश्वासको जग बसाल्यो।
सहमति र प्रक्रिया सँगसँगै
प्रस्ताव समिति गठन भएर आकाशै खसेको छैन। संविधान निर्माणको प्रक्रिया आरम्भ भएको छ र देश दुनियाँलाई अब संविधान आउने भयो भन्ने सन्देश प्रवाह भएको छ। यो कसैको जीत–हारको विषय होइन। प्रक्रिया अघि बढेर सहमतिको ढोका बन्द भएको पनि छैन। बरु सहमतिका लागि दलहरुलाई अझ ठूलो दबाब र चाप परेको छ। एमाले काँगे्रसले एमाओवादीलगायतका दलहरुसँग संवाद जारी राख्दै सहमतिका लागि प्रयास गर्ने र पूर्ण सहमति नहँुदा पनि अधिकतम सहमति गरेर संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन्। जसले फेरि पनि वार्ताको कडी जोड्न र सहमतिसाथ निष्कर्षमा पुग्न मद्दत नै गर्नेछ। काँगे्रस–एमाले मोर्चाले ठूलो जित हासिल गरेको दम्भ देखाउने र एमाओवादी–मधेसवादी मोर्चाले पराजयको हीनताबोध गर्ने यी दुवै कुरा संविधान ल्याउनका लागि बाधक बन्नेछन्। त्यसकारण हामीले गम्भीर भएर फेरि पनि सहमतिको झण्डालाई बुलन्दीसाथ उठाउनुपर्छ। दलबीचको संवादहीनतालाई तोडेर तत्काल वार्ता आरम्भ गर्नुपर्छ र यसअघिका सहमतिमाथि उभिएर अन्तिम सहमति गरेर जानुपर्छ। यसका लागि फेरि पनि प्रधान मन्त्री र सभामुखले नै पहलकदमी लिनुपर्छ। यसरी अब सहमतिको प्रयत्न र संविधान निर्माणको प्रक्रिया सँगसँगै अघि बढ्नेछ। 
सभामुख मध्यमार्गी बाटो नै हिँड्नुभएको छ। एकातिर एमाओवादी मोर्चाले केही समय माग गरेअनुसार ५ दिनको समय दिइयो र अर्कोतिर प्रक्रियाका लागि प्रस्ताव समिति पनि गठन गरियो। सभामुखले दिएको ५ दिनको समयलाई दलहरुले उच्च महत्व दिएर परिणाममुखी बनाउनुपर्दथ्यो। त्यो हुन नसके पनि प्रश्नावली तयार गर्ने कामसँगै संवाद र सहमतिका लागि पनि अधिकतम प्रयास गर्नुपर्छ। एमाओवादीले संविधान सभा र संसदका समितिहरुसमेत बहिष्कार गर्ने कुरा दुःखद् हो। प्रस्ताव समिति खारेज हुँदैन। बरु एमाओवादीसहितको मोर्चा समितिमा बसेर समाधान खोज्नु उत्तम हुनेछ। एमाओवादीसहितको मोर्चाले बुझ्नैपर्छ कि दुनियाँमा प्रक्रियाबिना र पूर्ण सहमतिमा संविधान जारी भएको एउटा पनि उदाहरण छैन। दलहरुको सहमतिमा, सो सम्भव नभए लोकतान्त्रिक विधिबाट, सार्वभौम नेपाली जनतालाई संविधान दिनैपर्छ।
मूल मार्ग कि विप्लवको बाटो 
एमाओवादी र प्रचण्डले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। हिजो सबैभन्दा ठूलो पार्टी आज तेस्रो हैसियतमा झरेको छ, हिजोका एकल जातीय पहिचान र एक मधेस एक प्रदेशका एजेन्डा संविधान सभा निर्वाचनमा नै अस्वीकृत भइसकेका छन्, हिजोको सग्लो पार्टी विभाजित भएर पाँच टुक्रा भएको छ, ‘ग्रास रुट' का कार्यकर्ता कति विप्लवतिर कति एमालेतर्फ हाम फालिरहेका छन्। अब संविधान नलिएर जनताबीच जानका लागि बाटो बन्द छ। कमरेड प्रचण्डहरु अब विप्लव मार्ग अर्थात् युद्धको दिशा अवलम्बन गर्न सक्नुहुन्न। न मूल प्रवाहमा रहन सक्ने, न हिजोको बाटो हिँड्न सक्ने, यो द्विविधाले तपाईँहरुलाई कहाँ पुर्याहउला? आजकै मितिमा किनारा गर्नुपर्दैन? संविधान लिएर जनताबीच जाँदा जनताले जय/जयकार गर्नेछन्, खाली हात जाँदा जसले संविधान बनाउन बाधा खडा गरेका छन्, उनीहरु गाउँबाट लखेटिने छन्। हिजो ठूलो पार्टी भएर संविधान बनाएन, आज संविधान बनाउन दिएन भन्ने प्रभाव जनतामा परेकै छ। यो मनोविज्ञानले एमाओवादीलाई अझै पुड्को बनाउने छ, ऊ अझै ‘बेसाइज' को बन्नेछ। अन्त्यमा राजनीतिको मूल प्रवाहबाट ‘साइड लाइन' हुने खतरासमेत छ। समयमा नै चेतना हुनुपर्छ। 
विगतबाट सिक्ने कि?
पछिल्ला राजनीतिक घटनाक्रमहरुले शान्ति प्रक्रिया ‘डिरेल' हुने र राष्ट्र नयाँ द्वन्द्वको भूमरीमा फस्ने हो कि भन्ने खतराको घण्टी बजिरहेको छ। यतिबेलाको अर्को खतरा भनेको दलहरुको धु्रवीकरण फराकिलो बन्दै जाने, विभाजनको रेखा बढ्दै जाने र हिजोको नियति भोग्नुपर्ने हो कि भन्ने पनि हो। यसबाट कतै १२ बुँदेबाट आरम्भ भएको राजनीतिक कोर्स भत्किने र राष्ट्र नयाँ संकटतर्फ धकेलिने हो कि भन्ने कुरामा पनि राजनीतिक दलहरु सचेत हुन जरुरी छ। 
आज प्रचण्डहरूले एकपटक विगततर्फ पनि आँखा दौडाउनु उपयुक्त होला। जनआन्दोलनपछि निर्माण भएको २०४७ सालको संविधानलाई एमालेले पूरै स्वीकारेको होइन। उसका धेरै असहमति थिए। सकेसम्म संविधान निर्माणका क्रममा नै जनअधिकारका सवालमा, राजा र दरबारको अधिकार कटौती गर्नेलगायतका सवालमा संघर्ष गरेको थियो। त्यति गर्दा पनि उसका सबै एजेन्डा सम्बोधन हुन नसेकपछि ‘प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि प्राप्तिका लागि अघि बढ्ने' कार्यनीतिअनुसार संविधानलाई ‘आलोचनात्मक समर्थन' गरेको थियो। अन्त्यमा २०६३ सालमा आएर संसद्ले नेपालको ‘म्याग्नाकार्टा' जारी गर्दा एमालेले १५ वर्षअगाडी दर्ज गरेका २७ बुँदे एजेन्डालाई सम्बोधन गरेको थियो। आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर त्यसलाई संस्थागत गर्ने चरणमा पुग्न सकेका छौं। यसबाट एमाओवादीले किन पाठ नसिक्ने? आफ्ना एजेन्डा सही छन् भन्ने उसको दाबी छ भने भोलि जनताका बीचमा गएर अनुमोदित गर्ने र संविधान संशोधनको आँट किन नगर्ने? हलो अड्काएर गोरु पिट्ने कामले त अगाडि बढ्नै सकिँदैन। त्यसैले यतिबेला प्राप्त उपलब्धिहरुको रक्षा गर्ने र थप उपलब्धिका लागि अघि बढ्ने एमाले मार्ग र ‘भण्डारी थेसिस' अनुसार जानु नै राष्ट्र र स्वयं एमाओवादीको समेत हितमा छ। 
अन्त्यमा,
एमाओवादी मोर्चाले हेक्का राख्नुपर्ने अर्को विषय पनि छ– संविधान कहाँबाट आउँछ? संविधान सभाबाट कि सडकबाट? ‘कासी जान कुत्तिको बाटो' भनेझैं आफूलाई संविधान सभाको ठेकेदार ठान्नेहरू आफँै त्यहाँबाट भाग्न खोज्ने? एक जुगमा एक पटक आउने संविधान सभाबाट मात्र संविधान आउँछ न कि सडक वा आन्दोलन वा बन्द हड्तालबाट। संविधान आउँदा आकाश खस्दैन, धर्ती भासिँदैन। आकाशै खस्छ भने पनि संविधान त ल्याउनैपर्छ। प्रक्रिया थालनी भएपछि संविधान आउने विश्वास जागृत भएको छ। संविधान निर्माणको आधारशीला तयार भएको छ। सकेसम्म सहमति, सो सम्भव नभए यो आरम्भ भएको प्रक्रियालाई निश्कर्षमा पुर्यासएर जनताको हातमा जनताको नासो संविधान दिनुको विकल्प छैन। आमाको छटपटीपश्चात नवजात शिशुले जन्म लिएजस्तै यो रस्साकस्सी, छटपटी, संवाद र संघर्षबीचबाट जनअधिकार र जनस्वामित्वसहितको नयाँ संविधान जन्मिनु अनिवार्य छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस