‘अतृप्त' आन्दोलन!
२८ माघ २०७१
•
१९ मिनेट पाठ
‘अतृप्त' आन्दोलन!
माघे संक्रान्तिमा आरम्भ हुने मकर स्नान मसान्तबाट समाप्त भएको मानिन्छ। अनि, मकर संक्रान्तिलाई नेपाली समाजमा जीवनको महत्वपूर्ण  संकल्प लिने दिनका रूपमा पनि चिनिन्छ। त्यसैले होला – आफूलाई मुख्य दल दाबी गर्ने राजनीतिक शक्तिहरूले गत वर्षको मकर संक्रान्तिकै छेकमा एक वर्षभित्र मुलुकलाई नयाँ संविधान दिने संकल्प सुनाएका थिए। तर अचम्म के भयो भने पहिलेको दाबीको ठीक विपरीत तिनै दलले यस वर्षको माघ १ गते अर्थात् मकर संक्रान्तिकै दिन माघ ८ गते कुनै पनि हातलमा संविधान दिन नसकिने अर्को संकल्प गरे।धन्यवाद दिउँ, कमसेकम संविधान नदिए पनि दलहरूले मकर संक्रान्तिको धर्म भने पूरा गरे। र, आज मकर स्नानको समाप्तिसँगै भोलिबाट फागुन महिना सुरु हुनेछ। चालु आन्दोलनको मौसममा तीन भाइ माओवादीका लागि फागुन आउनु स्वयं नयाँ संकल्पको अर्को अध्याय हो। यसै पनि मकर स्नानको समाप्तिसँगै ‘संविधान दिन्छु' भन्ने पुरानो वाचा पूरा नगरेकोमा कुनै खतबात लाग्दैन।
संकल्प लिने ‘सौम्यक क्रान्ति'को मकर रूप समाप्त हुनासाथ भोलिदेखि ‘रौद्र क्रान्ति'को जन्मोत्सव सुरु हुन्छ। तीन भाइ माओवादीको लागि भोलिदेखि लिइने संकल्प पनि निर्धारितै छन्। नेत्रविक्रम चन्दको माओवादी ‘जनयुद्ध'को पूर्ववत् मान्यताको निरन्तरताको पक्षमा छ। मोहन वैद्यको माओवादी ‘जनविद्रोह' गर्ने र सफल हुनेमा विश्वस्त छ। र, पुष्पकमल दाहालको माओवादी ‘जनपक्षीय' संविधान निर्माणका लागि आन्दोलनको घोषणा गरेर हिंडिसकेको छ। माओवादी संकल्पका विविध रूपहरूको तमासा चल्दैरहला तर यहाँ चर्चा गर्न खोजिएको विषय एनेकपा (माओवादी)को आन्दोलन र त्यसको निहितार्थ हो। किनभने माओवादीका अरू भाइहरूको गतिविधि अझै पनि कागजबाट भुँइमा खसिसकेको छैन। कागज भनिदिँदा कसैको चित्त दुख्छ भने त्यसलाई ‘दस्ताबेज' भनिदिन पनि सकिन्छ। तर यो पंक्तिकारशब्द बदल्दैमा अर्थ बदलिन्छ भन्ने मान्यतामा छैन।
बाह्र बुँदे सहमतिसँगै जन्मिएको ‘नयाँ नेपाल' अहिले एमाओवादी भाष्यकार बाबुराम भट्टराईको शब्दकोषबाट समेत हराइसकेको छ। हिजोसम्म आफ्नै पार्टीभित्र उनको ‘युगान्तकारी' परिवर्तनलाई बुझ्न र आत्मसात् गर्न नसक्नेहरू ‘महान क्रान्तिलाई बुझ्न नसक्ने अबुझ' थिए। तर आज आफैँ आफ्नो क्रान्तिको कन्तबिजोग रोक्न भनेर उनी पनि मध्य पश्चिमाञ्चलतर्फ लागेका छन्। त्यहाँ त बाबुरामको संविधान सभाको कार्यनीतिलाई ‘भ्रमित बुर्जुवाको असफल कार्यनीति' मान्दै चन्द एक वर्षअघि नै पुगिसकेका थिए। माओवादीभित्र  ब्ााबुरामको पछि लागेर ‘नयाँ नेपाल – भैलो!' भन्दै हिड्नेहरू त अहिले उनलाई सरापेर पनि थाकिसके। विडम्बना, जुन बिन्दुबाट पहिलो संविधान सभालाई वैद्य र चन्दले पाँच वर्षअघि ‘प्रतिक्रियावादीको चंगुलमा फसिसकेको' आरोप लगाउन आरम्भ गरेका थिए अहिले दाहाल र भट्टराई पनि त्यही बिन्दुमा पुगेका छन्। किनभने, अहिले एमाओवादीले पनि संविधान सभालाई ‘प्रतिक्रियावादीहरूले अपहरण गरेको' आरोप लगाइरहेको छ। एमाओवादीको विश्लेषण साँच्चै नै यही हो भने इमान्दारीसाथ संविधान सभाबाट बाहिर निस्केर वैद्य र चन्द माओवादीसँग माफी माग्दै निःसर्त उनीहरूको नेतृत्व स्वीकार गर्नुपर्छ। र मात्र पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउनुपर्छ। के यसो गर्न एमाओवादी नेतृत्व तयार छ? उत्तर द्विविधारहित छ। कथित आन्दोलनको बहानामा एकातिर एमाओवादीले आफ्नो विघटित संगठनलाई कृत्रिम सास दिएर केही समय बचाउन खोजेको छ भने अर्कोतिर संविधान सभाभित्र रहेको आफ्नो भूमिकालाई बढाउने मोलमोलाई गरिरहेको छ।
कुनै पनि आन्दोलनको उद्देश्य हो– परिवर्तन। तर यति भन्दैमा हरेक आन्दोलनले आफँै परिवर्तनको दिशा निर्धारण गर्दैन। आन्दोलनको दिशा निर्धारण गर्ने काम एउटा निश्चित राजनीतिक लक्ष्यले गर्छ। र, त्यस्तो राजनीतिक लक्ष्य प्राप्त गर्ने आन्दोलनका मूलतः तीनवटा दिशा हुन्छन्। पहिलो, विद्यमान राजनीतिक परम्परालाई तोड्ने परिवर्तनकारी दिशा। दोस्रो, विद्यमान राजनीतिक परंपरामा सुधार गर्ने दिशा। र तेस्रो, निवर्तमान राजनीतिक परम्परालाई पुनर्जीवित गर्ने दिशा। उल्लेखित राजनीतिक दिशा प्राप्त गर्न आन्दोलनको विधि र साधन तयार गरिन्छ। त्यसले आन्दोलनको शक्ति तयार पार्छ र निर्धारित सामाजिक लक्ष्यका लागि उक्त आन्दोलित शक्ति एउटै राजनीतिक दिशातर्फ गतिवान् हुन्छ। आन्दोलनका यो एउटा सामान्य सामाजिक नियम हो। तर एमाओवादीको आन्दोलनको दिशा कता गतिवान् छ? पहिलो संविधान सभाको विघटनपछि एमाओवादीको राजनीतिक दिशा पुनः अर्को संविधान सभाको निर्वाचन र लोकतान्त्रिक संविधानको निर्माण थियो भने वस्तुगत परिस्थितिमा के परिवर्तन देखापर्योल र उसले दोस्रो संविधान सभालाई ‘अपहरित संविधान सभा'को विशेषण भिराउनु पर्योन?
प्रष्ट छ, पहिलो र दोस्रो संविधान सभा निवार्चनको वर्गीय चरित्र एउटै हो। वर्गीय चरित्र एउटै भएपछि त्यसको राजनीतिक चरित्र पनि एउटै हुन्छ भन्ने अरूलाई त बताइरहनु पर्दैन तर एमाओवादीलाई भने पटकपटक बताइरहनुपर्छ। किनभने, यसको मूल नेतृत्व ‘बेइमान'मात्र छैन घन्टैपिच्छे आफ्ना राजनीतिक मान्यता फेर्छ। पहिलोभन्दा दोस्रो संविधान सभाको फरक चरित्र भनेको एमाओवादीको स्वाट्टै घटेको आकारमात्र हो। उही वर्गीय र राजनीतिक चरित्र बोकेको संविधान सभामा कुनै अमुक दलको गणितीय संख्या घट्दैमा त्यसको वर्गीय चरित्रलाई कुनै फरक पार्दैन। फरक पार्छ त त्यसमा सम्मिलित दलका निजी मान्यता, पदको बाँडफाँट र स्वार्थमा। एमाओवादीले भनेजस्तो यो संविधान सभा ‘प्रतिक्रियावादी' हो भने अहिलेको एमाओवादीको आन्दोलन पनि ‘प्रतिक्रियावादी' गुटहरूको बीचको झगडामात्र हो। किनभने अन्य ‘प्रतिक्रियावादी' दलभन्दा फरक भएको तथ्य एमाओवादीले कहिल्यै प्रमाणित गर्न सक्नेछैन।  संविधान सभाबाट बाहिरिने कथित नाटक र धम्कीको पर्दाफास त आर्थिक लेनदेनको विवादबीच सिफारिस गरिएका ल्यारक्याल लामा प्रकरणमार्फत् पनि उजागर भइसकेको छ।
आफ्नै कमजोरीको बन्दी हुँदैजाँदा एमाओवादी अहिलेको कमजोर अवस्थामा आइपुगेको हो। गल्तीको कडी थपिँदै जाँदा असाधारण रूपले पार्टी संगठन कमजोर बनिसकेपछि मात्र उसले थाहा पायो – उसको न क्रान्तिकारी चरित्र बाँकी रहेकोछ न त लोकतान्त्रिक चरित्र नै हासिल भएको छ। एमाओवादीको आक्रोश, अधैर्य र अराजकता त्यसैको समग्र परिणाम हो। संसारमा राज्यसत्ता संचालनका लोकतान्त्रिक व्यवस्था एकै प्रकारका छैनन् र हुँदैनन्। तर संसारभरि लोकतान्त्रिक व्यवस्थाका केही साझा मान्यता छन्। तिनैलाई लोकतन्त्रका आधारभूत विशेषताका रूपमा संसारभर स्वीकार गरिएको हुन्छ। मोटामोटी रूपमा आवधिक निर्वाचनमा आधारित प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज्यको अवधारणाजस्ता आधारभूत मान्यताको  समर्थनलाई लोकतान्त्रिक व्यवस्थाप्रतिको  सैद्धान्तिक सहमति मान्ने गरिएको छ। एमाओवादीले माथि उल्लेखित मान्यताहरूप्रति लिखित प्रतिबद्धता जाहेर गरेको छ। यसको अर्थ प्रचलित लोकतान्त्रिक सीमाभित्रको वैधानिक संघर्षबाहेक अन्य धम्कीहरू बाहियात हुन् भन्ने कुरा सैद्धान्तिक रूपमा प्रष्ट छ। तर क्रान्तिकारी होस् वा लोकतान्त्रिक – दुवै आन्दोलनमा एउटा निश्चित सांस्कृतिक आचरणको आवश्यकता पर्छ। एमाओवादीको प्रमुख समस्या उसको अराजक सांस्कृतिक आचरण हो जसले कुनै पनि आन्दोलनको इमानदारीसाथ नेतृत्व गर्न सक्तैन।
नयाँ जनवादी क्रान्तिको लक्ष्य लिएर सशस्त्र संघर्ष गर्ने राजनीतिक शक्तिको आन्दोलनले पूर्ण विजय वा पराजय भोगेन भने त्यस्तो शक्तिको अतृप्त आकांक्षा निकै पीडादायी हुन्छ। नेपालको ‘जनयुद्ध'ले गरेको संघर्ष पनि अतृप्त छ। सम्पूर्ण राज्यसत्ता कब्जा गर्ने उद्देश्य लिएको सशस्त्र संघर्षरत राजनीतिक शक्ति जब संझौताद्वारा सत्ता साझेदारीमा ओर्लन्छ त्यसको राजनीतिक अभीप्सा अतृप्त रहन्छ। पार्टीभित्र आन्तरिक संघर्षहरू पनि त्यस्तै अतृप्तताको परिणाममात्र हुन्छ। माओवादीमा आइरहने विभाजन, कलह र अविश्वास त्यसैको अभिव्यक्ति हो। अर्कोतिर एमाओवादीको मुख्य नेतृत्वको व्यक्तिगत अतृप्तता पनि उनीहरूको कथित आन्दोलनसँग जोडिएको छ। संयोग कस्तो छ भने आफूलाई माओवादी आन्दोलनका मुख्य नेता दाबी गर्ने दाहाल र भट्टराईले आफ्नो सम्पूर्ण जीवनमा प्रहरीको एक थप्पड खान र एक दिनका लागि पनि जेल र हिरासत भोग्नु परेन। र, दश वर्षको ‘महान् जनयुद्ध'का अवधिमा उनीहरू एक दिन भोकै बस्ने अवसर पनि जुरेन। अर्कातिर सामान्य राजनीतिक कार्यकथर्ताका लागि यस्तो अवस्था किशोर अवस्थामै पर्याप्त उपलब्ध भइसकेको हुन्छ। त्यसैले माओवादी आन्दोलनको चरित्रको कारणले उत्पन्न अतृप्तता र यसका नेताले भोग्न नपाएको आन्दोलनको अतृप्तताले एमाओवादीमा कथित आन्दोलनको रहर त उत्पन्न गराएको छ तर यसको न त कुनै राजनीतिक उद्देश्य छ न आवश्यकता नै।
बरु एमाओवादीको दिशाविहीन संघर्षबाट फाइदा उठाउन सुझबुझपूर्ण ढंगले कमल थापाको राप्रपा–नेपाल अगाडि आइरहेको देखिन्छ। माथि उल्लेखित आन्दोलनका मुख्य तीनवटा राजनीतिक दिशामध्ये एमाओवादी, मधेसवादी र राजावादी मिलेर गरिने आन्दोलनले कुन दिशा समात्ला? सामान्यभन्दा सामान्य व्यक्तिले पनि बिना संकोच उत्तर दिनेछ – यस्तो विजातीय स्वार्थ समीकरणबाट निर्मित आन्दोलनको दिशा ‘निवर्तमान राजनीतिक परम्परालाई पुनर्जीवित गर्ने' प्रतिगामी नै हुनेछ। एमाओवादीको आन्दोलनको घोषणालाई उसैका नेता र कार्यकर्ताले समेत नपत्याएको कारण यही हो। बाइस वर्षपछि गत साल भएको महाधिवेशनमा ‘नेपालमा सामन्तवादको अन्त्य भएको, नयाँ जनवादी क्रान्तिका धेरै कार्यभार पूरा भएको तथा बाँकी कार्यभार समाजवादी क्रान्तिको दौरानमा पूरा गरिने' निर्णय गरेको पार्टीले अहिले आफ्नो दलले निर्वाचनमा पराजय भोग्नेबित्तिकै संविधान सभाको अर्थ र औचित्य छैन भन्दै अतृप्त आन्दोलनको कुरा गर्नु वास्तवमै लाजमर्दो अवस्था हो। पार्टीले वर्गीय मुद्दाको मातहतमात्र जातीय र क्षेत्रीय मुद्दालाई उठाउनुपर्छ भन्ने मान्यता राख्ने नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले औपचारिक बैठकमै कांग्रेस र एमालेमा जाँदा हुन्छ भन्नेसम्मका अभिव्यक्ति दिए। यसबाट एमाओवादीको कथित जातीयता र आन्दोलन साँच्चिकै उनीहरूको पार्टीको स्वतन्त्र निर्णय हो त भन्ने गंभीर शंका पैदा भएको छ। पार्टी र आफ्नै आन्दोलनलाई सखाप पारुन्जेलसम्म पनि दाहाल र भट्राईले निर्णय सच्चाउनुको साटो झन् उल्टै नेता र कार्यकर्तालाई दुत्कार्दै एमाले/कांग्रेसमा गए हुन्छ भन्नु कुनै कोणबाट पनि स्वाभाविक लाग्दैन।  
अन्त्यमा, तात्कालिक सोभियत संघमा जार अलेक्जान्डरलाई हटाएपछि केरेन्स्की सरकारको नेतृत्वमा भएकोे संविधान सभाको निर्वाचनमा लेनिनको बोल्सेविक पार्टीले बाध्यतावश भाग लिनुपरेको थियो। र, उक्त निर्वाचनमा बोल्सेविक पार्टीले पराजय भोग्यो। जम्मा ७०० स्थानमध्ये लेनिनको बोल्सेविक पार्टीले १६८ सिटमात्र जितेको थियो। संविधान सभाको निर्वाचनभन्दा अगाडि नै ‘संपूर्ण सत्ता सोभियत'लाई भन्ने मान्यता राख्ने लेनिन र ‘संपूर्ण सत्ता संविधान सभालाई' भन्ने मान्यता राख्ने विरोधी राजनीतिक शक्तिहरूबीचमा निकै चर्को संघर्ष थियो। अन्त्यमा लेनिनले ‘लाल रक्षक'हरूको सहयोग लिएर संविधान सभालाई भंग गरे। के अहिलेको एमाओवादीको आन्दोलनले त्यस्तो औकात राख्छ? सेना समायोजनको नाममा आफ्ना लडाकुको अपमानजनक विघटन गरेको एमाओवादीले लेनिनको पार्टी र इतिहासमा भएको संविधान सभाको विघटनलाई तुलना गर्ने धृष्टता कहिल्यै नगरोस् भन्नाको खातिर यो प्रसंग यहाँ उप्काइएको हो। तसर्थ अतृप्त आन्दोलन छोडेर न्यूनतम ‘धर्म निरपेक्षता र समावेशितासहितको संघीय गणतान्त्रिक संविधान' बनाउने कार्यमा लाग्नु नै एमाओवादीको हितमा हुनेछ। चाहिएको बाँकी अधिकार प्राप्तिका लागि संघर्ष अर्को पंक्तिले गर्नेछ। त्यसको एमाओवादीले कुनै चिन्ता नमान्दा हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस