सत्य निरूपणमा आयुक्त
१७ फागुन २०७१
•
१४ मिनेट पाठ
सत्य निरूपणमा आयुक्त
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका सम्बन्धमा सर्वोच्च अदालतले २०७१ फागुन १४ मा दिएको फैसलाले संक्रमणकालीन न्याय संयन्त्रलाई पीडित केन्द्रित बनाउन मद्दत पुगेको छ। र, गम्भीर मानवअधिकार उल्लंघनबाट पीडित भएका द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण तथा गम्भीर अपराधमा जवाफदेही प्रत्याभूति गर्नका लागि आधार प्रदान गरेको छ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन २०७१ का कतिपय प्रावधान सर्वोच अदालतको २०७० पुस १८ लगायतका फैसला एवं नेपालको अन्तरिम संविधान २०६३ प्रतिकूल रहेको भन्दै प्रतिनिधिमूलकरूपमा ४४ जिल्लाका २३४ जना द्वन्द्वपीडितले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले अदालतमा विचाराधिन मुद्दाहरूको क्षेत्राधिकार नै समाप्त हुनेगरी अदालतबाहेक अरुले निर्णय गर्ननसक्ने जनाउँदै अदालतमा विचाराधिन मुद्दाहरूसँग सम्बन्धित घट्ना द्वन्द्वसँग सम्बन्धित भए–नभएकोलगायत उक्त मुद्दाको टुंगोसमेत अदालतले नै लगाउने आदेश दिएको छ। साथै, आयोगमा परेका तर अदालतमा परेभन्दा बाहेकका घट्नाका निवेदनउपर आयोगले अनुसन्धान गरी द्वन्द्वसँग सम्बन्धित भए–नभएको निर्क्यौल गर्ने र सत्यको अन्वेषण गरी आवश्यक सिफारिस गर्नसक्ने आदेश दिएको छ। यसले अदालत र आयोगबीचको क्षेत्राधिकार तथा अदालतमा विधाराधिन मुद्दाहरू अर्धन्यायिक र अस्थायी प्रकृतिका आयोगमा कसरी सर्नसक्छन् भन्ने अन्यौल एवं त्यससम्बन्धी आयोग स्वयंसमेतको अन्यौल अन्त्य गरेको छ।

सामान्य प्रकृतिका घटनामा मेलमिलापसम्बन्धी प्रक्रियामा अदालतले मेलमिलाप सहअस्तित्व र समभावमा आधारित सामाजिक सम्बन्ध भएकाले पीडितको आत्मसम्मानमा ठेस लाग्नेगरी एकतर्फी मेलमिलाप लाद्न नसकिने र पीडित स्वयंले उत्प्रेरित र आमन्त्रित गरेको अवस्थामा मात्र मेलमिलापको प्रक्रिया सार्थक हुने आदेश दिएको छ। साथै, ऐनमा आयोगलाई चाहेमा गम्भीर प्रकृतिका अपराधका पीडकलाई समेत क्षमादान गर्नसक्ने अधिकार दिइएको जनाउँदै गम्भीर अपराधका पीडकलाई न्यायको दायरामा ल्याई सजायँ गर्ने आधार खोजी गर्नु आयोगको संविधान र कानुनसम्मत दायित्व भएको जनाउँदै अभियोग नै नलगाई, कसुर नै कायम नगरी आममाफी दिएसरह क्षमादान गर्ने आधार र कारण खोजिहिँड्न आयोगलाई सुहाउँदैन भनिएको छ। र, आयोगको छानबिनबाट क्षमादान दिन पर्याप्त आधार र कारण नदेखिएका भन्ने शब्दावली बदर गरिएको छ। फैसलामा नेपालको अन्तरिम संविधानले महान्यायाधिवक्तालाइ अभियोजनसम्बन्धी विशिष्ट र स्वायत्त अधिकार प्रदान गरेको जनाउँदै आयोगले पेश गरेको सिफारिसउपर मन्त्रालयले फेरि छानेर अभियोजनका लागि महान्यायाधिवक्तामा सिफारिस गर्ने प्रावधान बदर गरेको छ र आयोगका सिफारिसउपर अभियोजनको निर्णय गर्ने महान्यायाधिवक्ताको अधिकार सुनिश्चित गरेको छ। साथै, अदालतले राज्यका कानुनबाट स्थापित उक्त आयोगहरूलाई कार्यसञ्चालनका लागि संविधान, कानुन, अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुन तथा न्यायका सिद्धान्त एवं सर्वोच्च अदालतबाट यसअघि जारी भएका ऐतिहासिक आदेशसमेत मार्गदर्शक सिद्धान्तका रूपमा रहने बताएको छ।

गतवर्ष मात्रै अदालतले बलात्कारमा मुद्दा चलाउने ३५ दिने हदम्याद पुनरवलोकन गर्न, पीडित तथा साक्षी संरक्षणसम्बन्धी कार्यक्रम बनाइ लागु गर्न, सशस्त्र विद्रोहको पक्षमा एवं विद्रोहको दमन गर्ने कार्यमा संलग्न नरहेको तथा मानवअधिकार उल्लंघनको नकारात्मक अभिलेख नभएका व्यक्तिहरू सम्मिलित गरी अन्तर्राष्ट्रिय मापदण्डको स्वच्छ, निष्पक्ष, विश्वसनीय आयोग गठन गर्न सर्वोच्चले आदेश दिएको छ। अदालतले बेपत्तालाई अपराधीकरण गर्ने कानुन बनाउन, व्यक्ति हत्यासम्बन्धमा जाहेरी दर्ता गरी अनुसन्धान तहकिकात गर्न, राज्यको जिम्मेवार निकायहरूबाट भएको मानवीय कानुनको उल्लंघनका सम्बन्धमा उचित क्षतिपूर्तिको व्यवस्था गरी दण्डहीनताको अन्त्य गर्ने विस्तृत कानुन बनाउन, यातना दिने कार्यलाई अपराध घोषित गरी यातना पीडितलाई क्षतिपूर्ति दिनेसमेत व्यवस्थाको कानुन बनाउन, सार्वजनिक पद धारण गर्न चाहिने योग्यताको परीक्षण गर्न, जेनेभा महासन्धिको प्राबधानबमोजिम राष्ट्रियस्तरको कानुनी व्यवस्था गर्न आदेश दिएको थियो। कब्जा गरिएका सम्पत्ति वास्तविक धनीलाई फिर्ता दिन र दिलाउन, सम्पत्ति कब्जाको कारण भएको क्षतिबाट पीडितलाई राहत पुर्यावउन क्षतिपूर्तिको लागि कोष खडा गर्न, द्वन्द्वपीडितलाई राज्यबाट प्रदान गरिने सेवा र सहुलियतका सम्बन्धमा समानताविपरित नहुने गरी स्पष्ट कानुनी व्यवस्था गर्दै उचित र आवश्यक व्यवस्थापन गर्नसमेत सर्वोच्चले पहिले नै आदेश दिइसकेको थियो।

फैसलाले आमद्वन्द्वपीडित समुदायमा आशा त जगाएको छ, तर कानुनसरह बाध्यात्मक रहेका अदालतका फैसलाहरूसमेत कार्यान्वयन नगर्ने र विश्वसनीय तथा पीडित केन्द्रितभन्दा पीडक चोख्याउने मनसायले संक्रमणकालीन संयन्त्र बनाउने सरकारी उदासीनताका कारण नै द्वन्द्वपीडितले पटकपटक सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनु परेको छ। फेरि पनि सरकार र राजनीतिक दलहरूमा सर्वोच्च अदालतको आदेश इमानदारीपूर्वक कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति र कार्यक्षमता तथा स्वतन्त्र विश्वसनीय संयन्त्र नै द्वन्द्वका चहराइरहेका घाउमा न्यूनतम भए पनि न्यायको मलम लगाउने र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सफल बनाउने कडी हो। अदालतको फैसलाले गम्भीर अपराधमा क्षमादान नहुने आदेश दिएको छ, तर बेपत्ता, यातना, मानवताविरुद्धको अपराध, युद्ध अपराधलाई अपराधीकरण गर्ने, बलात्कारको हदम्याद संशोधन गर्ने कानुन नबनेसम्म उपरोक्त अपराधमा अन्ततः क्षमादान नै हुनजाने भएकोले उक्त आधारभूत कानुन तुरुन्त निर्माण हुनुपर्छ।

द्वन्द्वपीडित समुदायले विद्यमान ऐनका सर्वोच्च अदालतका फैसलाविपरितका प्रावधान संशोधनका लागि सरकारसमक्ष जाहेर गरेका थिए, तर त्यसमाथि सुनुवाई नभएपछि अदालत जान बाध्य भएका थिए। सरकारले गठन गरेको सिफारिस समितिसमक्ष ऐनका प्रावधान सम्बन्धमा मात्र नभएर समितिले सरोकारवालालाई पूर्णतः बेवास्ता गर्दै बनाएको छनौट कार्यविधिसम्बन्धमा समेत पीडित समुदायले गम्भीर सरोकार जाहेर गरेका थिए। तर पीडितहरूबाट आएका संवेदनशील सरोकारलाई दुरुपयोग गरी सिफारिस समितिले देशव्यापीरूपमा पीडितलगायतका सरोकारवालासँगको परामर्शको निष्कर्षका आधारमा आयुक्तहरू सिफारिस गरिएको प्रचार गर्यो । ऐन र छनौट प्रक्रियापछि पीडित समुदायको यतिका असहमति र सरोकार जाहेर भइरहेको अवस्थामा जागिरका लागि दरखास्त हालेझैँ आयुक्तका लागि धमाधम आवेदन परे।

संक्रमणकालीन न्याय भनेकै सहकार्य, आपसमा विश्वास एवं स्वीकारोक्ति निर्माण प्रक्रिया हो। तर ऐनमात्र होइन आयोग निर्माण प्रक्रियामा पीडितहरूलाई विश्वासमा लिइएन। द्वन्द्वपीडितकै लागि काम गर्न तम्सेका कुनै उम्मेदवारबाट आयोगका प्रमुख सरोकारवाला द्वन्द्वपीडितसमक्ष तिमीहरूको भावना, संवेदनशीलता तथा सरोकार के हो भनेर कहिल्यै परामर्श भएन न त ऐनका गलत प्रावधानका बारेमा कुनै धारणा नै आयो। साथै, सिफारिस समितिले न त आयुक्त छनौटका आधार नै सार्वजनिक गर्योन न त केकति विज्ञता र क्षमताका आधारमा ६९ जना उम्मेदवारबाट उत्कृष्ट आयुक्त छनौट गरियो भन्ने कुरो नै सार्वजनिक गरिएको छ। न त उम्मेदवारहरूको सार्वजनिक सुनुवाई नै गरियो न त सिफारिस गर्नुअघि पीडित समुदायलाई उम्मेदवारको प्रतिबद्धता लिने मौका नै दिइयो! अदालतमा पीडकका पक्षमा बहस गरेका व्यक्तिसमेत आयुक्त रहेका आयोगप्रति पीडित समुदायको विश्वसनीयता शंकाकै घेरामा छ।

पीडितका भावनालाई बिल्कुल बेवास्ता गर्दै सरकारले जारी गरेको माफीमुखी ऐनलाई नै सर्वोत्तम ठान्दै पीडितको सहमति–असहमति जे भए पनि मेलमिलाप गराउने, गम्भीर अपराधमा समेत क्षमादानका आधार र कारण खोज्दै पीडकलाई चोख्याउने कार्यादेशबमोजिम आयुक्तहरू नियुक्त भएका हुन्। अदालतको फागुन १४ को फैसलाले मेलमिलापमा पीडित सहमति अनिवार्य हुनुपर्ने, गम्भीर अपराधमा आयोगले स्वविवेकमा क्षमादान दिन नपाउने, आयोगका कार्यले सिर्जना गरेको असर र परिणाम पनि न्यायिक सम्परीक्षणको दायराबाहिर हुन नसक्नेलगायतका आदेश गरेपछि आयोगको कार्यक्षेत्र आयुक्तहरूले सोचेको भन्दा बिल्कुल फरक हुनपुगेको छ। साथै, दशकभन्दा लामो न्यायको अभियानमा द्वन्द्वपीडित समुदायसँग कमै सहकार्य गरेका व्यक्तित्वको बहुमत रहेको आयुक्तहरूको संक्रमणकालीन न्याय क्षेत्रको विज्ञता, विश्वसनीयता, क्षमता, पीडितप्रतिको संवेदनशीलता, अदालतका विभिन्न फैसला र फैसलाका कारण भिन्न हुनपुगेको कार्यादेशप्रतिको धारणा एवं फैसला कार्यान्वयनप्रतिको प्रतिबद्धताका सम्बन्धमा पीडित समुदाय अनभिज्ञ छ। आयोगमा जागिर खान जानका लागि मन्त्रालयका कर्मचारीबीच तानातान छ भन्ने पनि सुनिएको छ। द्वन्द्वका पक्षधरहरू आयोगमा रहन नहुने फैसलाबीच बिना परीक्षण आयुक्त छनौट गरिएको र हिजो द्वन्द्वको एक पक्ष सरकारको नुनपानी खाएका कर्मचारी पहुँचका आधारमा मन्त्रालयको सिफारिसमा भर्ना गरिने आयोगले पीडित समुदाय एवं सरोकारवालाको विश्वास कसरी आर्जन गर्नसक्ला? कसरी आयोगले सफलताको मार्ग समाउन सक्ला? प्रश्न अनुत्तरित नै छ।
अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस