‘फुट्न'लाई जुटौँ!
०४ चैत्र २०७१
•
१६ मिनेट पाठ
‘फुट्न'लाई जुटौँ!
माओवादी शिविरमा आधादर्जन सानाठूला चिरा परेपछि ‘बाक्लो दाल' खान हिँडेका क्रान्तिकारीहरू निकै चाँडो थाकिसकेका लक्षण देखिन थालेका छन्। थकाइको प्रमुख कारण क्रान्तिकारी कार्यनीतिको कमी भने पक्कै होइन। किनभने उनीहरूका दस्तावेजमा क्रान्तिकारी विचार अटाईनअटाई खाँदिएका मात्र हैनन् छताछुल्ल भएर बाहिरै पोखिएका छन्। तर आजकल पार्टीहरू दस्तावेजले मात्र चल्दैनन्।पार्टीमा राम्रो रकमको जोहो गर्न नसक्ने हो भने जस्तै क्रान्तिकारी पार्टीभित्र पनि नेता र कार्यकर्ता अडिन सक्ने स्थिति छैन। अझ चर्को क्रान्तिकारी पार्टीमा त उसको पेसा नै ‘क्रान्ति गर्ने' तोकिएको हुनाले निजी उद्यम व्यवसाय गर्नु पनि अपराध मानिन्छ। त्यसकारण कार्यकर्ताले आफूलाई पेसेवर क्रान्तिकारी भनेर चिनाउन गर्व गर्छन्। तर परिस्थिति बदलिएको छ। नेता र कार्यकर्ताको आर्थिक हैसियत चीन र नेपालको आर्थिक हैसियतजस्तै फराकिलो हुन पुगेको छ। यस्तो अवस्थामा फुटेर गएका ‘क्रान्तिकारी' नेताले आजका ‘क्रान्तिकारी' कार्यकर्ता पाल्नु भनेको सयौँ हात्ति पाल्नुभन्दा पनि अप्ठेरो हुने बुझ्न कठिन छैन।
अहिले माओवादी शिविरका विभाजित समूहहरू एकताको कुरा गर्न थालेका छन्। अझ त्यसका दोस्रो पुस्ताका महंगा नेतालाई भविष्यको चिन्ताले सताउन थालेको छ। हिजोसम्म आफ््नो भाग खोस्न आएको ठानेर पार्टीबाट लखेट्न टुप्पीदेखि पाइतालासम्मको बल लगाउनेहरू नै अहिले एकै ठाउँ जम्मा भएर कथित एकताको रोइलो गाउन थालेका छन्। माओवादी शिविरको यस्तो रमाइलो रोइलोलाई देखेर माओवादी खेमाबाहिरको जमातलाई राम्रै मनोरञ्जन प्राप्त भएको हुनुपर्छ। एकातिर कथित दोस्रो पुस्ताका केही अवसरवादीको भविष्य चिन्ताले पार्टी एकताको कुरा हुँदै गर्दा अर्कोथरी ‘बाक्लो दाल'का अनुयायी भने भयभीत बन्न थालेका छन्। हिजो पार्टी विभाजन हुँदा न्वारानदेखिको बल लगाएर पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई तथानाम गाली गर्नेलाई त्यही पार्टीमा गएर पद धारण गर्न निकै अप्ठेरो होला। त्यसकारण पार्टी एकताको प्रसंग उठ्नेबित्तिकै माओवादी शिविरका सबै गुटमा पक्ष/विपक्षको अर्को विजातीय शृंखला आरम्भ भइसकेको छ। सधैँ कथित ‘विचार र राजनीति' मिले नमिलेको बारेमा किचलो गरिरहने माओवादी शिविरको चालु पार्टी एकताको समान आधार भने ‘प्रतिक्रियावादी' हेपाइ मुख्य कारण बन्न पुगेको छ।
‘विचार' मिल्ने र नमिल्ने माओवादी शिविरको कथा आरम्भ एउटा रमाइलो व्यंग्यबाट गरौँ। आजीवन विवाह नगर्ने प्रतिज्ञा गरेर बसेको एक जना पुरुष एक दिन एकाएक एउटी महिलासँग देखा परेछ। आजीवन विवाह नगर्ने प्रतिज्ञा गरेको व्यक्ति एउटी महिलासँग आएको देखेपछि अरूले प्रश्न गरेछन्। उसले पनि सहज ढंगले उत्तर दिएछ – यीनी मेरी पत्नी हुन्। सबैले छक्क पर्दै सोधेछन् – होइन, तपार्इँले त आजीवन विवाह नगर्ने प्रतिज्ञा गर्नुभएको थियो तर किन आफ्नै वाचा तोड्नुभयो? उसले पत्नीतर्फ फर्केर मुसुमुसु हाँस्दै भनेछ – वास्तवमा मजस्तै आजीवन विवाह नगर्ने प्रतिज्ञा उनले पनि गरेकी रहिछिन्। ‘आजीवन विवाह नगर्ने' प्रतिज्ञामा हामी दुवैको विचार मिलेपछि हामीले विवाह गर्यौँर। ठीक यही तालको ‘विचार' माओवादी शिविरको चालु एकता प्रक्रियामा पनि मिलेको देखिन्छ। अर्थात् ‘फुट'मा विचार मिलेपछि माओवादी शिविर ‘जुट'को कुरा गर्दैछ। तर माओवादी शिविर पुनः एकजुट हुने कुरा हाललाई भ्यागुताको धार्नीमात्र साबित हुनेछ।
पार्टीलाई सकेसम्म उपभोक्तावादबाट दीक्षित गरेका अध्यक्ष पुष्पकमल दाहाललाई राम्रैसँग थाहा छ – वर्तमान माओवादी शिविरलाई नेतृत्व प्रदान गर्न उनीबाहेक हरू कसैले पनि सक्तैन। माओवादी पार्टीको निर्माण कस्तो व्यक्तिवादी र उपभोक्तावादी ढाँचामा भएको छ भने आर्थिक स्रोत सुक्नासाथ पार्टी चलाउने रहर धेरैमा मर्नेछ। मरिरहेको छ। अहिले माओवादी शिविरका कुनै पनि गुटले कथित क्रान्तिको कुरा गर्दैमा कार्यकर्ताले उसको कुरा पत्याउने कुनै पनि कारण बाँकी छैन। अर्कोतिर ठूलो पार्टी नहुँदाको दुःख एक पटक सरकारमा गएर ‘तर' मारिसकेका एमाओवादीले नबुझेका पनि छैनन्। त्यसकारण सबैको औकात बुझिसकेका दाहालले पार्टी एकताभन्दा एकताको कुरामात्र गरेर नेपाली कांग्रेस र नेकपा (एमाले)लाई थर्काउने रणनीति लिएका छन्। पार्टी एकताको हतारो दाहाललाई भन्दा पार्टी चलाउन नसकेर हत्तु बनेका साना गुटहरूलाई छ। त्यसकारण जतिबेला पनि उनीहरूको आत्मतुष्टिलाई सम्बोधन गरिदिएपछि एकता हुनेमा दाहाल बढी विश्वस्त देखिन्छन्। तर दाहाललाई अहिले पार्टी एकताको कुनै खाँचो महसुस भएको छैन।
कांग्रेस र एमालेले एमाओवादीलाई नराम्रोसँग खेद्न थालेपछि दाहालले पार्टी एकताका कुरा गर्न थाल्छन्। तर दाहालको रणनीति पार्टी एकताको लागि नभएर कांग्रेस र एमालेमाथि दबाब सिर्जना गर्नमात्र अवलम्बन गरिएको हुन्छ। उता ससाना माओवादी गुट भने ‘अब एकता हुन्छ' भनेर मुख मिठ्याउन सुरु गरिसकेका हुन्छन्। उनीहरूले दाबी गर्ने एकताको आधार अझ बढी उदेकलाग्दो छ। एमाओवादीलाई आफूहरूले कमजोर बनाएको हुनाले आफ्नो पर्याप्त शक्ति रहेको आत्मरति नै तिनको मुख्य एकताको आधार रहिआएको छ। एमाओवादीलाई आफूले कमजोर बनाउन सकेको हुनाले आफ्नो शक्तिलाई दाहालले बल्ल बुझेको दाबी उनीहरूको छ। उनीहरूको दाबी र तर्कलाई दाहालले भने कौडीको भाउ दिएको पनि देखिदैँन। अर्कातिर साना माओवादी गुटले आफ्ना कार्यकर्ताको पलायनलाई थाम्ने एकमात्र हतियार पनि ‘पार्टी एकता हुँदैछ' भन्ने सन्देशमात्र बाँकी छ। दुवै पक्षको यही घोर अवसरवाद नै अहिलेको कथित पार्टी एकताको ‘बतासे आधार' हो।
सबैले जानी आएकै हो, भारतमा लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा माओवादी शिविरको बीचमा कार्यगत एकताको प्रयास गर्ने भनेर एउटा माओवादी घटकका नेता मणि थापाको संयोजकत्वमा कमिटी निर्माण भएको थियो। तर लोकसभा निर्वाचनको परिणामले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको एकमात्र दावेदार देखाउनेबित्तिकै एमाओवादीको कार्यगत एकताको योजना तुरुन्तै छुमन्तर शैलीमा बेपत्ता हुनपुगेको थियो। माओवादीको विघटनलाई रोक्न भनेर गरिएको उक्त कार्यगत एकताको प्रयास मोदी प्रधानमंत्री बन्नेबित्तिकै कमीटी नै विघटन भएर तुहियो। यस्तो अवस्थामा एमाओवादीसँगको पार्टी एकताप्रति लालयित जमातले कुन ‘विचार' र कुन ‘राजनीति'को कुरा गर्दैछ? माथिल्लो कमिटीका कमरेडको मर्यादाक्रम मिच्दै र मानमर्दन गर्दै जथाभावी मन्त्री नियुक्त गर्ने, पार्टी जिम्मेवारी हेरफेर गर्ने तथा सरकारी पदमा नियुक्ति गर्नेजस्ता क्रियाकलाप कुन सांगठनिक प्रावधानअनुसार भएका थिए? पार्टीका महत्वपूर्ण निर्णय कहाँबाट निर्देशित हुँदैआउँथे? हिजो आफैँले आरोप लगाएका हरेक शब्दप्रति जिम्मेवारी नलिने एमाओवादीइतर  अन्य  माओवादी गुटहरू पनि यथार्थमा भूमिका नपाएर छट्पटिएका अवसरवादीम्ाात्र थिए भन्ने आज उनीहरूकै गतिविधिले प्रमाणित गरिरहेका छैनन्? माओवादी शिविरको एकता प्रक्रियाभन्दा अगाडि स्वाभाविक ढंगले माथिका प्रश्न उठिहाल्छन्।
प्ाार्टी एकताको हल्ला गर्नु दाहालका लागी अहिले फाइदाको विषय भएको छ। उनले एकताको हल्लामार्फत् कांग्रेस र एमालेसँग मोलमोलाइको राजनीति जो गर्नु छ। तर अन्य माओवादी समूहलाई भने पार्टी एकतामार्फत् अस्तित्वको रक्षा गर्नुमात्र छ। त्यसकारण अन्य माओवादी घटकभित्र पार्टी एकताको हल्लासँगै विवाद पनि चुलिँदै गएको छ। यस्तै अर्को एउटा माओवादी घटकका नेता मातृका यादवले उनीहरूको सामुहिक मंचबाटै भनेका छन् – एमाओवादीको पार्टी एकता गर्ने कुनै चाहना होइन। पार्टी एकताको हल्ला काँग्रेस र एमालेले एमाओवादीलाई हेपेको कुण्ठा पोख्ने अश्त्रमात्र हो। जुन दिन कांग्रेस र एमालेले एमाओवादीलाई अलिकति भाउ दिन थाल्छन् त्यसै दिन कथित पार्टी एकताको नाटक पनि समाप्त हुन्छ। वास्तवमा पार्टी एकताको एमाओवादी नाटकबारे माओवादीका अन्य घटकभन्दा मातृका यादव सत्यको बढी नजिक देखिन्छन्।
पार्टीमा आएको विभाजनपछि अकर्मण्य देखिएको वैद्य माओवादीको लागि पार्टी एकता बढी आवशयक बनेर आएको देखिन्छ। तर उक्त पार्टीभित्र पनि एकताको पक्ष र विपक्षमा पर्याप्त मतभेद छन्। विचारमा आधारित पार्टी एकताका पक्षधरहरू नयाँ जनवाद र समाजवादको कुरा गर्ने पार्टीहरूबीचको दूरी रातारात कसरी मेटिन्छ भन्ने प्रश्न गर्न थालेका छन्। तात्कालिक राजनीतिक प्रश्नमा पनि उनीहरूको दूरी पटक्कै नजिक हुँदैगएको छैन। एमाओवादीको लक्ष्य वर्तमान संविधान सभाबाट नयाँ संविधान जारी गर्ने हो भने माओवादीको लक्ष्य संविधान सभा औचित्यहीन भएकोले त्यसलाई ध्वस्त पार्दै विद्रोहमा जाने हो। अब उनीहरूबीचमा पार्टी एकता भयो भने कुन कार्यदिशाअनुरूप पार्टी चल्ने हो? पार्टीका कुनै पनि निकायमा आजसम्म कुनै औपचारिक छलफल चलेको छैन। छलफल नै नचलेपछि निर्णय हुने त कुरै भएन। त्यसैले होला एमाओवादी नेता राम कार्कीले टि्वट गरेर व्यंग्ये गरेका छन्– पोखरा पुग्ने लक्ष्य लिइँ तिनकुनेबाट बनेपातर्फ लागेका पाँच वटुवासँग पाँच हजार मानिस थपिएपछि जाने कहाँ? राम कार्कीजस्तै कथित पार्टी एकताको अन्योल र कार्यदिशामा असंतुष्टि जनाउने नेता कार्यकर्ता सबै घटकहरुभित्र उत्तिकै भेटिन्छन्।
माओवादी शिविरकै अर्को घटक नेत्र चन्द समूहका नेता खडकबहादुर विश्वकर्माले त कथित पार्टी एकताको नाममा एमाओवादी नेतृत्वले आफूलाई अनावश्यकरूपमा फसाएको आरोप लगाएका छन्। आआफ्नो वैचारिक कार्यदिशामा बहस गर्ने भनेर बोलाइएको कार्यक्रममा अनावश्यक पार्टी एकताको झ्याली पिटिएको आरोप उनको छ। यसरी सबै माओवादी समूहभित्र कथित पार्टी एकताको पक्ष र विपक्षमा चर्को विवाद छ। यस्तो अवस्थामा कदाचित् एकता भइहाल्यो भने पनि पूरै समूह एकतामा सामेल हुने सम्भावना पटक्कै छैन। माओवादी शिविर कसरी विभाजित भइसकेको छ भने अब गरिने पार्टी एकताले अहिलेभन्दा गहिरो अर्को विभाजनलाई जन्म दिनेछ। यसैले फेरि सबै घटकमा फुटको नयाँ बीजारोपण गर्नुभन्दा त अहिलेकै अवस्था ठीक होइन र?


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस