सर्वसत्तावादीसँग सहमतिको खोजी
०८ चैत्र २०७१
•
१८ मिनेट पाठ
सर्वसत्तावादीसँग सहमतिको खोजी
'सहमति, संवाद र सहकार्य' थेगो भएका प्रधानमन्त्री सुशील कोइरालालाई 'उल्लु' बनाएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उनको नेतृत्वका मधेसी तथा जनजाति नेता दोस्रो चरणको आन्दोलनको तयारीमा हिँडेका छन्। बीचमा वार्तामा बस्ने उनीहरूको निर्णय त पहिलो चरणको आन्दोलनको थकाइ मेटाउने उपायमात्रै रहेछ। यहीबीच एमाओवादी अध्यक्ष दाहालले आफ्ना मान्छेलाई संवैधानिक निकायमा छिराउने मौका पनि छोपे।सत्ता साझेदारहरूबीच झगडाको बीउ रोप्ने प्रयास पनि गरे। संविधान सभामा सुरु भएको संविधान निर्माण प्रक्रियालाई 'अनिश्चित कालसम्म' स्थगित गरेर सहमतिको खेती गर्न हिँडेको सत्तापक्ष विशेषगरी प्रधानमन्त्री कोइराला चाहिँ तिनैको स्वार्थ पूरा गर्न र गराउनैमा तल्लीन देखिए। संविधान निर्माण झन् दुरुह र जटिल बन्न पुग्यो। त्यतिमात्र हैन संसद्को हिउँदे अधिवेशन बोलाउने मेसो पनि सरकारले पाएन। अर्थात्, चौपटतन्त्र। र, यो स्वाभाविक पनि थियो। किनभने, सर्वसत्तावादीहरूले सहमति र सहकार्य शब्द जति रटे पनि व्यवहारमा अभ्यास भने निषेधको गर्छन्। कम्युनिस्टहरू त सैद्धान्तिकरूपमै सर्वसत्तावादी हुन् भने जनताले चुनेका प्रतिनिधिले निर्णय गर्न पाउँदैनन् भन्ने अरू मधेसी र जनजातिलाई पनि अरू जे भने पनि कम्तीमा लोकतन्त्रवादी चाहिँ भन्न मिल्दैन। अर्कातिर, सिद्धान्ततः लोकतन्त्रवादी भए पनि संविधान सभाबाहिर समाधान खोज्न अग्रसर भएर नेपाली कांग्रेसका नेताले पनि सर्वसत्तावादकैे औँला समाएका छन्। यसैले वार्ता छाडेर विपक्षीहरू आन्दोलनमा लागेकोमा आश्चर्य मान्नुपर्दैन। नियत, स्वार्थ र सिद्धान्तका कारण अहिलेको अल्पमत पक्ष कुनै पनि अवस्थामा संविधान सभाबाट संविधान बन्न दिन तयार हुनेछैन। नपत्याए, अल्पमतले राखेको सबै प्रस्ताव स्वीकार गर्न बहुमत पक्ष तयार भएको जनाउ दिएर हेरे हुन्छ। एमाओवादी नेतृत्वमा रहेका दलहरूले उनीहरूकै बीचमा सहमति कायम गर्न सत्तै्कनन्। जनतालाई सर्वोच्च नठान्दासम्म हुने पनि यस्तै हो। सत्ता र समग्र राजनीतिकै चरित्र र अभ्यासमा सामन्ती सर्वसत्तावाद कायम रहुन्जेल जनतालाई वास्तवमै सर्वोच्च हुन पनि दिइनेछैन।

सामन्ती सत्ताको निरन्तरता
पञ्चायत राणा शासनको नयाँ अवतार थियो। सीमित राणाहरूको साटो अलि धेरै भारदार शासनमा संलग्न हुने व्यवस्था। लोकतन्त्रको स्थापना, पुनःस्थापना, गणतन्त्र घोषणा केहीले पनि शासनलाई राणाकालीन धङधङीबाट मुक्त गर्न सकेको देखिएन। लाग्छ, अहिले पनि भारदारहरूकै शासन छ राणाकाल र पञ्चायतको नयाँ 'एक्सटेन्सन ' का रूपमा। दल छन् गुटका साटो। नेता छन् र राजा र भारदारका ठाउँमा। साहुजीहरू सत्ताको दलाली गर्छन् अझ त्यसोभन्दा पनि भन्नुपर्छ होला भारदारहरू सत्ताका लागि साहुजीहरूको दलाली गर्छन्। साहुहरूमा बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय भट्टीवालासम्म सबैको आआफ्नै प्रकारको प्रभाव र पहुँच छ। पहिले नजराना टक्य्राउनेहरू अहिले 'कुकुरलाई हड्डी' फाल्छन्, गोरुलाई घाँस हाल्छन्। कानुनले उति बेला पनि ठूलाठालुलाई छुँदैनथियो। अहिले पनि छुँदैन। राज्यले एउटा वर्गलाई विशेष बनाएको हुन्थ्यो र त्यस कोटरीमा सदस्य थप्ने क्रम चलिरहन्थ्यो। अहिले पनि चलिरहेको छ विशेषवर्ग 'मोर इक्वेल'हरूको क्लबको सदस्यता विस्तार। नत्र, सत्तामा जनताको यथार्थ प्रतिविम्बित हुन्थ्यो।

सरकारको प्राथमिकता
विश्वेश्वरप्रसाद कोइरालाले प्रधानमन्त्री भएका बेला राष्ट्रिय योजना आगोगको बैठक कक्षमा राजासँगै हलोजोत्दै गरेको किसानको तस्बिर पनि झुन्ड्याउने निर्देशन दिएका थिए। त्यस्तो तस्बिर २०४६ पछि झुन्ड्याइयो पनि। राजासँगै देशमा गरिब किसान पनि छन् र उत्तिकै महत्व तिनलाई पनि दिइनुपर्छ भन्ने बुझाउन उनले किसानको तस्बिर राख्न भनेका थिए। उनका लठुवा अनुयायीले त्यसको शब्द त बुझे भाव भने सायद बुझ्दै बुझेनन्। वा बुझेर पनि बुझ पचाइदिए। अहिले राजाको तस्बिर त हटाइयो होला तर राज्य र जनताबीच सामन्तवादले बनाएको दूरी कायमै छ। अहिले त झन् गाउँमा महिलाले अनौ समाउनु परेको छ र मानिसहरू नारिएर वा एक्लै हलो तान्नु परेको छ। राष्ट्रिय योजना आयोगलगायत सम्भवतः कुनै पनि सरकारी कार्यालयमा त्यस्ता तस्बिर राखिएका छैनन् होला। अरबको खाडीमा उसिनिएर पठाएको पैसाले सरकार चलाउनेको गाडी चल्छ। वैदेशिक रोजगारमा गएको कुनै युवाको उदास अनुहार सरकारी बैठक र सभाकक्षमा सायद कतै पनि छैन। यसैबाट स्पष्ट हुन्छ नेपालको राजकीय संस्कार र राज्यको प्राथमिकता। जनता सँधै मामुली मान्छे भइरहन्छन् भुइँफुट्टाको शासनमा। र, वैध अवैध भ्रष्टाचार पनि निरन्तर रहन्छ।

भ्रष्टाचारको मुहान
प्रधानमन्त्री हुनेबित्तिकै सुशील कोइरालाले भ्रष्टाचार विरुद्ध भाषण गरे। उनको छवि भ्रष्ट पनि थिएन तर भ्रष्टाचार कम गर्ने नीति र उपाय अपनाएनन्। यसैले अहिले आफैँ भ्रष्टाचार बढेको गथासो सुनाउँदै हिँड्नुपरेको छ। प्रचार पाखण्डले भ्रष्टाचार कम हुँदैन। 'एकाधिकार र तजबिजी अधिकार हुने तर जवाफदेही नहुने' शासनमा भ्रष्टाचार बढ्छ भन्ने रबर्ट क्लितगार्डको सूत्र अहिले पनि उत्तिकै सान्दर्भिक छ। भ्रष्टाचार कम गर्न शासनमा पारदर्शिता र उत्तरदायित्व बढाउने तथा एकाधिकार एवं तजबिज घटाउने अभ्यास हुनुपर्ने सल्लाह उनले दिएका छन्। एकैपटक यी सबै काम व्यवहारमै अभ्यास गर्न गराउन सजिलो पक्कै हुँदैन तर पारदर्शिता र जवाफदेहीको बाटामा लाग्ने हो भने मात्र समाजलाई बिस्तारै भ्रष्टाचारविरुद्ध जागरुक बनाउन सम्भव हुन्छ। ( सुशील कोइरालाको शासन हेर्दा झलक्क पञ्चायतका 'मिस्टर क्लिन' लोकेन्द्रबहादुर चन्दको सरकारको सम्झना हुन्छ। प्रधानमन्त्री चोखो देखिने तर मन्त्रीहरूले भ्रष्टाचारको रकर्डै तोड्ने गरेको देखिन्थ्यो।)

यहाँ त, सरकारी निर्णयहरू पारदर्शी गर्ने भनेको निर्णय सार्वजनिक गर्नुमात्र हो भन्ने ठानिन्छ र पो त! पारदर्शिता त उस्तै परिस्थिति भए निर्णय पनि समान हुनुपर्छ भन्ने पनि हो। व्यक्ति विशेषको प्रभाव र पहुँचबाट राज्यको निर्णय प्रभावित हुनुहुँदैन भन्ने पनि हो। विडम्बना, भ्रष्टहरू त यसै पनि भ्रष्टाचार बढाउन लाग्ने नै भए 'स्वच्छ' भनिएका सुशील कोइरालाबाट पनि भ्रष्टाचार कम गर्न कुनै भरपर्दो काम भएन। र, शासनमा निर्णायक रहिआएका सत्ताका दलालहरू व्यवस्थालाई पारदर्शी हुन रोक्न सफल भइरहने छन्।

सत्ताको चरित्र
वैदेशिक रोजगार प्रवर्धन बोर्डको कामदार कल्याणकारी कोष सञ्चालनमा देखिएका विकृतिहरू अहिलेको राज्यको नीति र प्रवृत्तिको यथार्थ प्रतिविम्ब हुन्। कोषमा जम्मा भएको पैसा तिर्नेहरू विदेशमा अलपत्र पर्दा उद्धार नगर्ने तर राजनीतिक र प्रशासनिक पहुँच हुनेहरू तिनैको पैसामा विदेश सयर गर्न लाज नमान्नेहरू भ्रष्ट र सर्वसत्तावादी दुवै हुन्। राज्यको सम्पत्तिलाई निजी ठान्नु सामन्ती प्रवृत्ति हो। सर्वसत्तावादीहरूमा सार्वजनिक सम्पत्तिलाई निजी ठानेर तजबिजमा खर्च गर्ने बानी परेको हुन्छ। पार्टीका नाममा जम्मा गरेको पैसा व्यक्तिका लागि खर्च गर्नु भ्रष्टाचार हो। तर नेपालका सबै पार्टीका नेताहरूलाई त्यसो गर्नु भ्रष्टाचार होजस्तो लाग्दैन। समाजले पनि त्यसलाई भ्रष्टाचार मान्दैन। नत्र, अधिकांश शीर्ष नेताहरू झ्यालखानामा भेटिने थिए। राज्यको ढुकुटीबाट नक्कली लडाकुका नाममा पैसा निकासा गराएर हिनामिना गर्नेमाथि भ्रष्टाचारको कारबाही हुँदा जोखिममा पर्ने शान्ति प्रक्रिया नेपालबाहेक अन्त कतै पक्कै पनि छैन। क्रान्तिका नाममा गरे जे पनि जायज हुन्छ?

सत्ताका दलाल र सहमतिको भोरजुवा
हुनत, सुशील कोइरालाले सत्ताका दलाल पन्छाउलान् भनेर अपेक्षा गर्नु पनि उनीमाथि अन्याय गरेजस्तो हुन्छ। अहिले राजनीतिक रङ्गमञ्चमा रहेका पात्र सायद कसैबाट पनि शासनमा जनताको स्वामित्व स्थापना गराउन सहयोगी हुने अपेक्षा गर्न सकिँदैन। सत्ताको केन्द्रमा सामान्य जनतालाई पुर्यानउने बरु जनताको बाटामा भाँजो हालेर आफैँ शासनको केन्द्र रहिरहने यिनको नियत धेरैपटक उजागर भइसकेको छ। सत्ताका दलालहरूको प्रभाव र पहुँच सीमित बनाउन सकेमात्र शासनमा जनताको पहुँच स्थापित हुन्छ। सहमतिको राजनीतिले मुलुकलाई अनिर्णयको भुमरीमा जाकेको छ। त्यसमाथि शासनमा समेत विधिको साटो सहमतिलाई निर्णायक बनाउँदा भोरजुवा मच्चिने नै भयो। सत्ताका दलालहरूलाई भने सहमतिको भोरजुवा सायद सबैभन्दा अनुकूल हुन्छ।

शीर्ष भनिएका नेताहरूको कुनै एउटा सहमतिमा 'भारतीय नम्बर प्लेटका गाडीहरूमा' बजेटबाट लगाइएको कर खारेज हुनुपर्ने माग पनि समावेश थियो। त्यस सहमतिका अरू बुँदा कता गए के भए सायद सहमति गर्नेहरूले पनि बिर्सिसके तर भारतीय नम्बर प्लेटका गाडीहरू अचेल काठमाडौंका निकैे देखिन थालेका छन्। यही उदाहरणले नेपालका राजनीतिक दलहरूको हैसियत र नियत स्पष्ट हुन्छ। यस्तो नियत हुनेहरूले अरूलाई हैसियत देखाउने धम्की दिँदा कुरीकुरी भन्न पनि आफैँलाई लाजलाग्छ।

थपिएका मालिकहरू
अहिले मालिकहरूको तह थपिएको छ। विदेशी मालिकलाई रिझाउने होड चलेको छ। लाजै नमानी लम्पसार पर्न थालिएको छ। भारत, चीन, अमेरिका, युरोपेली संघ धेरै मालिक छन्। सबैलाई रिझाउन नेपाली जनतालाई भित्तैमा पुर्याछउने प्रयास भएको छ। भारत, चीन, युरोप र अमेरिका सबै नेपालका हितैषी हुन् तर त्यसभन्दा पहिले तिनले आआफ्नै स्वार्थ हेर्छन्। नेपालमा लोकतन्त्र फराकिलो र बलियो हुँदाभन्दा यस्तै अस्थिरता आफ्नो स्वार्थमा हुन्छ भन्ने तिनले ठानेको देखिएको छ। हुन पनि, नेपालमा लोकतन्त्र बलियो भए न चीनले तीब्बती समुदायलाई आधारभूत मानव अधिकारको अभ्यास गर्न पनि नदेऊ भने निर्देशन दिन सक्छ न नेपालको 'माइक्रो म्यानेजमेन्ट'मा भारतीय रजगजै सहज हुन्छ, न युरोपेली र अमेरिकीले पैसा देखाएर नेपालको शासन चलाउनै सक्छन्।

कतै पढेको थिएँ- टार्न नसकिने भविष्य र बिर्सन नसकिने अतीतको चेपुवामा परेको इतिहासलाई बेलैमा समातेन भने हातबाट चिप्लिन्छ । यो राणाहरूले ठेक्कामा चलाएको मुलुक हो। राज्य र जनताबीचको सम्बन्ध मालपोत लिने र दिनेमा सीमित थियो। मालपोत उठाउने जिम्मा मुखिया, जिम्मुवाल र जमिनदारलाई दिइन्थ्यो। भन्सार उठाउने कामसमेत ठेक्कामा लगाइएको थियो। राज्य भनेका तिनै सरकारी कामका ठेकेदार थिए जनताका लागि। अहिले पनि गहिरो गरेर हेर्ने हो भने स्थिति धेरै बदलिएको छैन। राज्य देखिने र सुनिने त भएको छ तर जनहितकारी हुनसकेको छैन। सबैभन्दा दुःखको विषय त सरकारमा अनुहार जति फेरिए पनि व्यवहार फेरिएको छैन।

र अन्त्यमा
गिरिजाप्रसाद कोइरालाले गरेका सम्झौता नै सधैँ राज्यका लागि निर्देशक सिद्धान्त मानिन सत्तै्कन। यसै पनि पहिलो निर्वाचनमा कांग्रेसलाई हराएर जनताले त्यसभन्दा पहिलेका सम्झौतालाई अस्वीकार गरिदिएकै हुन्। सडकबाटै समाधान खोज्ने मानसिकता 'क्रान्तिकारी' भन्न सकिएला लोकतान्त्रिक हैन। जति नै क्रान्तिकारी 'जनादेश' भए पनि शासनका वैधताका लागि अन्ततः निर्वाचनमा जानै पर्छ। संविधानको निर्माणमा पनि सामन्ती वा अधिनायकवादीबाहेक कसैले पनि जनताले चुनेका प्रतिनिधिले हैन कथित जनादेशका नाममा जनाधार नभएका ठालुहरूले संविधान बनाउनुपर्छ भन्न सत्तै्कनन्। जनताले चुनावमा हैसियत देखाइदिएकाहरू समेत जनतालाई देखाइदिने धम्की दिँदैछन्। संविधान सभाको अपमान नेपाली जनताकै अपमान हो। जनताले पनि कुनै दिन यो अपमानको बदला लेलान् तर जनताको प्रतिशोध बढी नै निर्मम हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस