विकल्पहीन बाटामा एमाओवादी
२८ चैत्र २०७१
•
१६ मिनेट पाठ
विकल्पहीन बाटामा एमाओवादी
पूर्व–पश्चिम राजमार्ग जसरी मेची देखि महाकाली यात्राका लागि अहिलेसम्म विकल्पहीन सडक हो त्यसैगरी चुनवाङ बैठकको निर्णयपछि नेकपा (माओवादी)को राजनीति विकल्पहीनरूपमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने हो। तर एउटा बाटो थाहा नभएको मान्छे कसैलाई नसोधी र गुगल म्याप प्रयोग नगरी मेचीबाट महाकालीतिर हिँड्यो भने जसरी हरेक ठूला चौबाटामा गलत बाटो लिएर कुनै सहर, गाउँ वा जंगलमा भौतारिने अवस्था हुनसक्छ नेपालका माओवादीको अवस्था पनि त्यस्तै देखिएको छ। त्यसरी बाटो भुलेर भद्रपुर वा धरान पुग्दा चालकले एक प्रकारको अनुभव गर्ला, राजविराज वा जनकपुर पुग्यो भने झन् अर्कै अनुभव प्राप्त होला। अझ हेटौंडाबाट पश्चिम नगएर काठमाडौंतिर हान्निया ेभने उसलाई केही समयको यात्रामा लागेको विश्रामले मनोरञ्जन पनि देला। भैरहवा वा अझ पश्चिममा डडेलधुरा पुग्दा उसलाई अर्कै ज्ञान र अनुभव होला। तर यति चाहिँ पक्का हो ऊ समयमा आफ्नो गन्तव्य पुग्दैन। अझ बीचैमा सवारी साधन बिग्रियो वा पैसा सकियो भने अझ ढिलो हुनसकछ वा यात्राको नमीठो अन्त्य पनि हुनसक्छ।पुष्पकमल दाहाल ‘प्रचण्ड' र डा. बाबुराम भट्टराईद्वारा सञ्चालित एमाओवादी नामक गाडीको अवस्था अहिले त्यस्तै भएको छ। जुनबेला चुनवाङ बैठकबाट शान्ति र लोकतन्त्रको मार्गमा गाडी कुदाउने निर्णय माओवादीले गर्योु त्यसबेला देखिनै तिनका लागि राजनीति र समाजको नेतृत्व गर्नका लागि धेरै विकल्प थिएनन् तर तिनले त्यसको हेक्कै राखेनन्। यी नेता र यिनका कार्यकर्तालाई अहिलेसम्म पनि आफू विकल्पहीन अवस्थामा पुगेको हेक्का भएको देखिएको छैन। यिनको विकल्पहीनताको अनुमान गरेर मोहन वैद्यले अर्को बाटो खोजिसके। मोहन वैद्यले सके पनि नसके पनि उनको बाटो शान्ति, संविधान र लोकतन्त्र होइन। यिनको बाटो जस्तोसुकै उबडखाबड भए पनि बाटो चाहिँ बेग्लै हो। वैद्यले लिएको बाटोबाट गन्तव्य पुगिन्न भनेर नेत्रविक्रम चन्द ‘विप्लव'ले झन् अप्ठेरो बाटो समाएका छन्। यीबाहेक पनि एमाओवादीरूपी ठूलो वाहनमा बसेका अनेकले अनेक बाटो लिएका छन् र प्रायः सबै कुहिरोमा हराएको काग बनेका छन्। तर धन्न एमाओवादी अझैसम्म १२ बुँदे समझदारी, २५ बुँदे विस्तृत शान्ति सम्झौताकै बाटोमा छ। तर उसले ती उद्देश्य सजिलै प्राप्त गर्ने बाटो लिनुभन्दा हरेक मोडमा विकल्प खोज्ने कोसिसमा आफूलाई अल्झाएको छ। फलस्वरूप, देशको शान्ति प्रक्रिया पनि बल्भि्कएको छ, विकास अल्भि्कएको छ र संविधान निर्माण प्रक्रिया बिथोलिएको छ।
विगतमा एमाओवादी नेताहरू अनेक कारणले शान्ति र लोकतन्त्रको मूल मार्गमा हिँड्न चाहेनन् वा तिनले हिँडन जरुरतै ठानेनन्। कुन ैबेला तिनलाई लडाकु व्यवस्थापनको समस्या थियो र त्यसबाट आफू र आफ्नो दललाई आर्थिक र भौतिकरूपले बलियो बनाउनु पनि थियो। कुनै बेला तिनलाई आफूले भनेजस्तो राजनीतिक व्यवस्था लागु गराउनु थियो र लेनिनले जस्तै संसद्बाटै एकदलीय अधिनायकवादी शासन स्थापित गराउने धोको थियो। कुनै बेला नेपाली सेना भनेकै लडाकुको सेना हो भनेर प्रमाणित गर्ने धोको थियो। यस्ता अनेकौं कारणले तिनले शान्ति प्रक्रियाको बाटोमा हिंडनुभन्दा जता पायो उतै बरालिनुमा आफ्नो फाइदा देखे।
विसं २०७० सालको निर्वाचनसम्म आईपुग्दा एमाओवादीले जति पटक शान्ति र लोकतन्त्रको मूलबाटो छाडेर कुनो पस्ने धृष्टता गर्योत त्यतिनै पटक ऊ दुर्घटनामा पर्योज भन्ने त बुझेको हुनुपर्ने हो। विसं २०६४ सालको निर्वाचनमा नेपाली जनताले माओवाद र सर्वसत्तावादलाई निर्वाचित गराएका हुन् भन्ने भ्रम नपालेको भए र आफ्ना कार्यकर्तालाई खुल्ला लुटको छुट नदिएको भए नेपालको वामपन्थी दलमा एमालेले सायद सधैँका लागि दोस्रो स्थानमा चित्त बुझाउनुपर्ने हुनसक्थ्यो। जनताले शान्ति र लोकतन्त्रको स्थापनाका लागि मात्र उसलाई मौका दिएका थिए भन्ने एमाओवादीले बुझेन।
हतियार व्यवस्थापनका क्रममा दायाँबायाँ नगरेको भए र खोलाले हतियार बगायो भनेर नाटक नगरेको भए अहिले उनका विरोधी माओवादी दलहरू त्यही खोलामा बगेको भनेको हतियारको तुजुक देखाउन पाउँदैनथे। लडाकु व्यवस्थापनमा व्यक्तिगत र पार्टीगत हितका नाममा जथाभावी बालसेना भर्ती नगरेको भए र तिनको नाममा आएका पैसाको अपचलन नगरेको भएपनि माओवादी भित्रबाट तिनैको विरुद्ध धारेहात लगाउनेको संख्यामा यत्रो बढोत्तरी हुनसक्ने थिएन।
झन् सेनामा आफ्नो विश्वासको सेनापति स्थापित गर्ने र बिस्तारै लडाकुको कमान्डरलाई नेपाली सेनाको प्रधान सेनापति बनाउने गलत दुःस्वप्न नदेखेको भए माओवादी सरकारको उमेर अलि लम्मिन्थ्यो। लडाकु समायोजन समयमै गरेको भए रातारात नेपाली सेना लगाएर तिनलाई क्याम्पबाट निकाल्न हतार हुने थिएन। तर जे होस् यति सबै प्रकारका अनेक मोडमा घुम्दै फिर्दै पनि एमाओवादीले अझै मूल बाटोमा बारम्बार फर्कने आफ्नो प्रयास कायमै राखेको छ। त्यसका लागि यिनलाई बधाई दिनैपर्छ। तर समस्या के हो भने यस वाहनका चालक अझै पनि हरेक चौबाटामा गलत मोड लिन उद्यत देखिन्छन्। विसं २०७० सालको निर्वाचनपश्चात यिनले सही मोड लेलान् भनेर धेरैले आशा गरेका थिए। त्यसो पनि हुन सकेन।
विसं २०७० को दोस्रो संविधान सभाको निर्वाचनपश्चात् एमाओवादी सजिलै संविधान बनाउन दिने मनःस्थिति पुग्नै सकेन। उसले फेरि एकपल्ट विकल्पमा खेल्ने प्रयास गर्योा। उसलाई लाग्यो पहिचानका नाममा जातिवादी राजनीति गरियो भने सम्पूर्ण जातजातिी उसको पछि लाग्नेछन्। जातिवादी जनता पछि त लागे तर पछि लागेका जनता हेर्दा तिनलाई पश्चातापबाहेक सायद अरू केही हात लागेन। किनभने अत्यन्त न्यून जनता तिनका पछाडि उभिएका थिए। अर्थात्, आफ्ना निजी स्वार्थले लाग्ने केही व्यक्तिबाहेक अधिकांश जनतालाई जातीयताको नाममा हुने विभाजन स्वीकार्य थिएन।
पहिलो संविधान सभापश्चात विदेशी शक्तिले समेत पैसा दिँदा दिँदा हैरान भएर पैसा खाएर नअघाउने र पैसा खाएरसमेत अह्राएको नगर्ने भने साथ छाडेका केही दल एमाओवादीबाट पनि केही पाइन्छ कि भनेर पछि लागे। पहिले त प्रचण्ड फुरुंग भए तर अहिले आएर तिनले न त त्यस्ताबाट कुनै आन्दोलन सफल हुन्छ न त तिनीबाट आफू उँभो लागिन्छ भन्ने बुझेको देखियो। यद्यपि, त्यति बुझ्न पनि तिनलाई महिनौ लाग्यो र थुप्रै आमसभा र बन्द पनि चाहियो। धेरै समय र पैसा सकिएपछि एमाओवादीले बुझेको हुनुपर्छ – एकपल्ट विकल्पका नाममा उनीहरू फेरी बेवकुफ बने।
एमाओवादीलाई अहिले आन्दोलनमा लाग्नुपर्ने अर्को कारण सत्य निरुपण आयोग पनि हो। सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् एमाओवादीले जुन प्रकारको आममाफीको कल्पना गरेको थियो त्यसमा सर्वोच्च अदालतको निर्णयले चिसो पानी खन्याइदियो। सर्वोच्चको त्यस निर्णयको प्रतिक्रियामा एमाओवादीको राजनीतिक वाहन फेरी गलत बाटोतर्फ मोडियो। कुनै पनि हालतमा सर्वोच्चको निर्णय उल्टाउनुपर्ने माग लिएर अघि बढेका तिनले फेरि के बिर्र्से भने सर्वोच्च अदालतको निर्णयमा राजनीतिक आन्दोलनले केही गर्दैन। अझ प्रधानमन्त्री सुशील कोइरालाले त्यस विषयमा सान्त्वना दिएपछि झनै बटारियो एमाओवादी। तर जसरी राजनीतिक मूलमार्ग तिनका लागि विकल्पहीन छ त्यस्तै सर्वोच्चको निर्णयपनि विकल्पहीन छ। किनभने आममाफीको अवधारणासहितको आयोगले माओवादी र सुरक्षा अधिकारीलाई उन्मुक्ति दियो भने पनि अन्तर्राष्ट्रिय मानवअधिकार समुदायले त्यस निर्णयविरुद्ध संसारभरका लोकतान्त्रिक देशमा अपिल गर्नेछन्। त्यति बेला एमाओवादी नेता र सुरक्षा अधिकारीले संसारको कुनै पनि लोकतान्त्रिक मुलुकको भ्रमण गर्न पाउने छैनन्। गरेका खण्डमा तिनैको जेलमा कुमार लामा बनेर थन्किनेछन्। त्यसैले एमाओवादीले सर्वोच्चको यस निर्णयविरुद्ध आन्दोलन गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नुसरह हो। बरु साँच्चिकै मानवता विरोधी जघन्य अपराधमा संलग्न व्यक्तिलाई नेपालमैै कारबाही हुने बाटो खुला राखेर स्थिति सहज पार्नु एमाओवादीको हितमा हुने देखिन्छ। यो पनि विकल्पहीन बाटोमा एक फन्को घुमाइ भयो एमाओवादीको।
विकल्पहीन बाटोमा विभिन्न मोडमा गलत मोड नलिई हिँड्ने हो भने नेपालको नरम वामपन्थी आन्दोलनको बागडोर सम्हाल्न एमाओवादीलाई सहज मौका प्राप्त हुने देखिन्छ। किनभने एमालेले आफूलाई बिस्तारै वामपन्थी मार्गबाट समाजवादी धारमा सार्दै लगेको देखिएको छ। एमालेले आफूलाई समाजवादी लाइनमा सारेन भने वामपन्थ उसका लागि सानो हुनेछ। अर्कोतिर अधिकाधिक एमाले समर्थक मध्यमवर्गीय जनता पनि वामपन्थबाट समाजवादतिर लागेको अवस्थामा एमाले आफँैलाई पनि यो यात्रा सहज हुन्छ। अहिलेसम्म समाजवादको माला जपेर बसेको नेपाली कांग्रेसका कार्यकर्ता र नेता विश्व राजनीतिमा आएको पुँजीवादी सोचमा पुगिसकेका छन्। नेपाली कांग्रेसले आफूलाई समाजवादी भन्नु पुँजीवादमा समाजवादी विचारको मिश्रण गर्छु भनेको मात्र हो। कडा समाजवादी धार उसले पहिल्यै छाडिसकेको छ।
उता गरमपन्थी अर्थात उग्र वामपन्थी धारमा एमाओवादी बस्न सक्दैन, न त उसका कार्यकर्ताको बदलिएको आर्थिक सम्पन्नताले नै त्यहाँ बस्न दिन्छ, न उसका नेताको सोचले। राजनीतिक धारको देब्रे कुनाको लडाइँ अब वैद्य, विप्लव र मधेसबाट उपेन्द्र यादवका बीच समायोजन हुनेछ। त्यसैले पनि एमाओवादीले आफूलाई राजनीतिक धारको केन्द्रतर्फ उन्मुख गर्नुको विकल्प छैन। अब एमाओवादीले समय र जनमतको सम्मान गर्दै चुनवाङ बैठकबाट उसले लिने भनेको राजनीतिक लाइनमा आउनुको विकल्प छैन। उसले अहिलेसम्म जति विकल्प खोज्यो त्यति नै देशमा अस्थिरता बढ्यो भने उसको राजनीतिक साख पनि क्रमशः घटेर गयो। अब बेला भएको छ – राजनीतिको विकल्पहीन बाटोमा आफूले समाउनुपर्ने धारलाई बिना भ्रम सहजरूपमा अपनाउने र देशलाई राजनीतिक स्थिरता प्रदान गरेर आर्थिक विकासको बाटोमा अघि लाग्ने। सायद प्रचण्डले मनन गरेका छन् यो सत्य तर आज शाश्वत सत्य भनेर घोषणा गर्ने र भोलि त्यही विषय ठूलो भ्रम भन्ने तिनको बानीले गर्दा अझै पनि प्रचण्ड र बाबुराम सही मार्गमा अवतरण गरे भन्नसक्ने अवस्था भने छैन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस