मन्त्रीले नबुझेको महामारी
१० वैशाख २०७२
•
१९ मिनेट पाठ
मन्त्रीले नबुझेको महामारी
अफ्रिकाका विभिन्न मुलुकमा फैलिएको इबोलाको महामारी अझै नियन्त्रणमा आइसकेको छैन। सन् १९७८ देखि आकल्लझुक्कलरूपमा देखिरहेको यो भाइरलजन्य रोग ३७ वर्षपछि अफ्रिकामा मृत्युको आँधी बनेर मडारियो। प्रत्येक वर्षजसो हुने एक दुई मृत्युलाई अफ्रिकी देशका सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बेवास्ता गर्दै आएका थिए।कुनै निश्चित ठाउँमा बर्सेनि केही समय देखिने रोगले संसारलाई नै आतंकित बनाउला भन्ने कमैले ठानेका थिए। इबोला संक्रमणले सिकाएको पहिलो पाठ हो – स्वास्थ्य प्रणालीमा गरेको सुधार र प्रगतिबाट संसार ठूला महामारी सामाना गर्न तयार छ भन्ने विश्वास भ्रममात्रै रहेछ। अहिले पनि इबोलाको संक्रमण दर घटेसँगै ध्यान कम हुँदै गएको छ तर महामारी नियन्त्रण गर्न सन् २०१५ सम्म लाग्ने डब्लुएचओले नै स्वीकार गरेको छ।
इबोलाले सिकाएको अर्को पाठ हो – उच्च जनचेतना, राम्रो सरसफाइ, पोषण स्थिति राम्रो र स्वास्थ्य संरचना बलियो भएका अमेरिका र युरोपेली देशले पनि यसलाई भित्रिनबाट रोक्न सकेनन्। तर विकसित देशमा रहेको बलियो स्वास्थ्य संरचना, चेतनाले गर्दा बिरामीले अफ्रिकाको नियती भोग्नु परेन।
यतिबेला इबोलाको सन्दर्भ सम्झनुको कारण हो – एक महिनादेखि जाजरकोटबाट सुरु भएको र छिमेकी जिल्लातिर फैलन थालेको मौसमी फ्लुको संक्रमण नै हो। यसले पनि अफ्रिकाको दुर्दशाको झल्को दिइरहेको छ। अफ्रिका र जाजरकोटमा स्वास्थ्यसँग सम्बन्धित सरसफाइ, स्वास्थ्य संरचना र स्वास्थ्य चेतनाको स्तरमा धेरै समानता छ। र त, सामान्य रोगले महामारीको रूप लिँदा पनि नियन्त्रण गर्नसमेत राज्य संयन्त्र असफल भइरहेकेा छ। इबोलाजस्तो उच्च संक्रामक र उच्च मृत्युदर भएको रोग आएको भए नेपालको  हालत के हुन्थ्यो होला?
विश्व स्वास्थ्य संगठनले त इबोला नियन्त्रणमा आउन कम्तीमा एक वर्ष लाग्ने भविष्यवाणी गरेको थियो। यता स्वास्थ्यमन्त्री खगराज अधिकारीले भने जाजरकोटको फ्लु साता दिनभित्रै नियन्त्रण हुने भविष्यवाणी ठोकिदिएका छन्। मन्त्रीले भविष्यवाणी गरेको साता बित्न चार दिनमात्रै बाँकी छ। के एक महिनासम्म मराडिएको मृत्यु चिकित्सक र औषधि बढाएको एक सातामै नियन्त्रित होला?
विज्ञहरू भने भन्दैछन् मन्त्रीले भनेजस्तो एक सातामा फ्लु नियन्त्रणमा आउन त सम्भवै छैन संक्रमण दर घट्न पनि कम्तीमा मौसमले साथ दिनुपर्छ। घाम लागेपछि फ्लुको प्रभाव कम होला भन्ने आशा गर्न सकिएला तर ढुक्क हुने आधार छैन। अहिले जाजरकोटमा फैलिएको स्वाइन फ्लुका नामले चिनिने (मौसमी फ्लु) भाइरसको विस्तृत अध्ययन नभइसकेको अवस्थामा यसै भन्न झन् गाह्रो छ।
स्वाभाविक हो महामारीमा हचुवा अनुमान काम लाग्दैन। नियन्त्रण होला भन्ने आशा राख्न पनि भरपर्दो आधार हुनुपर्छ। सरकारको कार्यशैली हेर्दा यो भविष्यवाणी हचुवामा आधारित देखिन्छ। गलत तरिकाबाट सुरु भएको नियन्त्रण प्रयास अहिलेसम्म पनि सही बाटोमा आइसकेको छैन। यसैले पनि सरकारी दाबी पत्याउने ठाउँ छैन।
जहाँ सरकार चुक्यो
इबोला महामारीपछि संसारमा जनस्वास्थ्य पद्धतिकै पुनःसंरचनाको बहस जारी छ। इबोला संक्रमणले सिकाएको पाठ अति संक्रामक रोगका लागि संसारका कुनै पनि देश तयारी अवस्थामा रहनुपर्छ भन्ने नै हो। भाग्यवश, नेपालमा इबोला भित्रिएन तर हामीले शिक्षा लिन त हाम्रै विगत काफी थियो। विसं २०६६ मा जाजरकोटमा ७४ दिनसम्म झाडाापखालाको उपचार जारी राखेको राज्यले ७५ औं दिनमा थाहा पायो महामारीको कारण हैजा रहेछ। अनि बल्ल उपचारको विधि (औषधि) फेरियो, मृत्युदर घट्यो। यद्यपि रोग नियन्त्रणमा आउन करिब चार महिना लागेको थियो। अहिले सरकारले बारम्बार दाबी गर्दै आएको सामान्य मौसमी रुघाखोकीले नेपालको स्वास्थ्य संरचनालाई हायलकायल गराइरहेको छ। अझै सरकारी अधिकारीले सबै मृत्यु फ्लुबाट भएको थिएन भन्दैछन्। नेपालका कुन गाउँमा एक महिनामा सामान्य अवस्थामा यति धेरै मान्छे मरेका छन्? यति सामान्य हेक्का पनि राखेनन् तिनले।
विसं २०६६कोे महामारीले जाजरकोटमा मात्रै १ सय ५४ र वरपरका जिल्लामा समेतगरी ३ सय ७८ को ज्यान लिएको थियो।  तर पनि पाठ सिकेन स्वास्थ्य संरचनाले। जाजरकोटको हैजा पनि चैतदेखि नै फैलिएको थियो। प्रतिरोध शक्ति कमजोर भएको र महामारी दोहोरिइरहने ठाउँ हो भन्ने जाँन्दाजान्दै पनि सरकारले पूर्व तयारी गरेन। महामारीमा सबैभन्दा महत्वपूर्ण पक्ष पूर्व तयारी हो तर जाजरकोटमा त के राष्ट्रिय स्तरमै समेत यसको अभाव छ।
स्वास्थ्य जनशक्ति र औषधि तयार थिएन। जतिबेला औषधि पुग्यो त्यतिबेला कतिको सास रोकिइसकेको थियो भने त्यसभन्दा धेरै बढीले फेरेको सासबाट रोग फैलिसकेको थियो। औषधि, उपकरण स्वास्थ्य टोली, प्रायोगशाला प्राविधिक, रोगको कारण पत्ता लगाउने इपिडेमियोलोजिस्ट र महामारीमा सञ्चार गर्न जान्ने हेल्थ एजुकेटर पनि सँगै हुनुपर्छ। टेकुमा रहेको महाशाखामा थुपै नामका शाखा छन्। ती शाखामा न विज्ञ छन् न दरबन्दी। महामारीको धेरैजसो खाना, पानी र भाइरसका कारण फैलन्छ तर तिनै विषयका विज्ञ कार्यरत छैनन्। स्वास्थ्यबाहेकका क्षेत्रमा रहेका अन्य विज्ञले स्वास्थ्यलाई केन्द्रमा राखेर हेर्ने वातावरण सरकारले बनाउन सकेकै छैन। त्यसैले जनस्वास्थ्यसँग महामारीका कारण पत्ता लगाउने र निवारण सुझाउने क्षमता अहिलेसम्म छैन।
केही भएका विज्ञलाई पनि क्षमता भन्दा निकटताका आधारमा महाशाखा सम्हाल्न दिने अभ्यासमा यसअघिको स्वास्थ्य नेतृत्वभन्दा वर्तमान पनि फरक देखिएन। कागजीरूपमा जिल्लाजिल्लामा ‘र्या्पिड रेस्पोन्ड टिम'को अवधारणा छ। कतै पनि यो अवधारणाअनुसार टिम छैन। टिममा भएको जनशक्तिलाई पनि तालिम छैन। जाजरकोटमा बीस जनाभन्दा बढीको मृत्युपछि बल्ल जिल्ला विपद व्यवस्थापन समितिको बैठक बस्यो।
तयारीपछि महामारीको खबर सुन्नासाथ टिम परिचालन गर्नुपर्ने हो। स्वास्थ्य अधिकारीले यसो गरेको दाबी पनि गरेका छन्  तर रोगको स्रोत र अनुसन्धान भने तिनले सँगै थालेनन्। तेस्रो साता हेलिकप्टरमा गएका मन्त्री रगतको नमुना नलिईकनै फर्के। गाउँमा गएका स्वास्थ्यर्मीले अनुमानकै भरमा उपचार जारी राखे।
महामारीको कारणसम्म त सरकार अझै पनि पुगेकै छैन। नियन्त्रणका लागि सबैभन्दा आवश्यक पक्ष यही हो। संभावित महामारी क्षेत्रमा जनशक्तिलाई तालिम, बजेट केही थिएन। आधाभन्दा बढी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी थिएनन् र भएका ठाउँमा पनि कागजी उपस्थितिमात्र थियो। तीन सातापछि सरकारी अधिकारी बजेट छैन भन्दैनन्। गाउँमा खटिएका स्वास्थ्यकर्मी उपचार गर्न सकिन्न भनेर भाग्दैछन्  र केही आफैँ संक्रमित भएर फर्किँदैछन्।
अहिले पनि उस्तै  
अहिले पनि सरकारले भाइरल नियन्त्रण गर्न एकीकृत प्याकेज बनाउनसकेको छैन। सहरमा मात्रै पहँुच भएका सञ्चारमाध्यममा आएका समाचारले भ्रम फैलायो भनेर मन्त्रीले गाली गर्दै हिँडेर ग्रामीण क्षेत्रमा रोगबारेको चेतनास्तर बढ्दैन। यही काम अहिले पनि नहुँदा केही नभएका पनि शिविर धाइरहेका छन् उल्टै संक्रमण बोकेर घर फर्किँदैछन्। महामारीमा सञ्चार माध्यमले सामाजिक खोप (सोसिअल भ्याक्सिन)को काम गर्छन्।
जहाँ जस्ता सञ्चार माध्यमको पहुँच छ त्यहाँ त्यही विधि अपनाउन सक्नुपर्छ। जन सञ्चारका माध्यमको पहुँच छैन भनेसञ्चारका स्थानीय विधि अपनाउन सकिन्छ। राज्यले औषधि र उपचारको भरपर्दो प्रणालीसँगै सही सूचनासमेत दिनसक्नुपर्ने हो। सूचना लुकाउने दीक्षा पाएर आएका स्वास्थ्य अधिकारीले सञ्चार माध्यमलाईसमेत महामारीको वास्तविकता बुझाउन नसकेको सञ्चार माध्यममा आएका प्रस्तुतिहरूबाट देखिन्छ।
भाइरस सामान्य हो, जाजरकोटमा मृत्युदर बढ्यो। त्यसको कारण त्यहाँका मानिसको कमजोर रोगप्रतिरोधात्मक क्षमता मात्रै थिएन जोखिममा भएका समूहका मानिसलाई संक्रमण भइसकेपछि के गर्नुपर्छ भन्ने जानेर पनि सिटामोलको भरमा बाँच्ने आशा राखेर बस्ने स्वास्थ्य पद्धति पनि थियो। अर्कोतिर मृत्युको कारण रोग प्रतिरोधक क्षमता कमजोर हुनु थियो होला तर जोगिन व्यक्ति सक्ने पनि संक्रमणबाट नजोगिनु चाँहि स्वास्थ्य शिक्षाको अभाव थियो।
एक मिटरभन्दा कम दूरीको भेटघाट, सम्पर्कबाट भाइरस सर्छ तर कस्तो अवस्थामा स्वास्थ्य संस्थामा जाने भनेरसम्म पनि सरकारले भन्न सकेन। अहिले त बिरामी र बिरामी नभएकालाई एकै ठाउँमा भेला गराएर रोग झन् फैलिरहेको छ। घरमा बिरामीको स्याहारसुसार गर्ने तरिका, बिरामीले अरूलाई नसार्न अपनाउनुपर्ने सावधानी जस्ता ज्ञान पाउने गरी जनचेतना बढाउने काम अझै भएको छैन।
यस्तो अवस्थामा समेत सरकारले घरघरमा पुगेर, शिक्षण संस्था, आमा समूह, राजनीतिक दलका संयन्त्र वा ग्रामीण क्षेत्रमा भएका सबै संघसंगठन र संरचनालाई परिचालन गर्न सकेन। संक्रमितका हातमा परिक्षणै नगरी विषाक्त टाँमी फ्लु र कडा एन्टिवायोटिक्स थमाइरहेको सरकारले माक्स र पियुष (खाने पानी शुद्ध बनाउन प्रयोग गरिने औषधि) वितरण गर्न रसामाजिक जागरण पैदा गर्नसकेको छैन। मन्त्रालय भने सबै राजनीतिक दलहरू, संघसंगठनलाई साथ लिएर महामारी व्यवस्थापनतिर लाग्नुभन्दो स्वास्थ्यकर्मी र चिकित्सकको पनि पार्टी सदस्यता हेरेर कार्यस्थ्लमा खटाउँदैछ। यस हिसाबले रोग अघिअघि स्वास्थ्यकर्मी पछिपछि हुने उपचार पद्धतिले केही ज्यान त बचाउला संक्रमण भने फैलिँदै जान्छ। अहिले नै कालिकोट पगिसकेको छ। औषधि बाँडेर महमारी अहिले त रोकिन्छ तर सफल नियन्त्रण हुँदैन। चेतनास्तर बढाउन सकेमात्रै भविष्यमा पनि महामारी आउँदैन। दुर्गम गाउँमा स्वास्थ्य संस्थामा बिरामी घटे भनेर स्वास्थ्य टोली फर्किएपछि मौसमले साथ दिएन भने जाजरकोटमै महामारी बल्भि्कन सक्छ।
मन्त्रीकै कुरा पत्याउने हो भने पनि ७५ प्रतिशत अन्य रोगका बिरामी त्यहाँ आइरहेका छन्। तिनमा रोग फैलिरहेको छ कि छैन त? धाँमीझाक्रीसम्म नजाने गरी स्वास्थ्य संयन्त्रप्रति विश्वास त राज्यले जगाउन नसक्नुपर्छ नि।
बारम्बार महामारी बल्भि्करहने सो ठाउँमा पोषण चेतना, स्वास्थ्य र सरसफाइ चेतना र बलियो स्वास्थ्य संरचना बनाउन पनि सरकारले ध्यान दिएको छैन। महामारी नियन्त्रण हेलिकप्टरबाट सुरक्षाकर्मी लिएर जाने अनि लाठीचार्ट, टियर ग्याँस वा हवाई फायर वा परेमा गोली हानेर रोग नियन्त्रणमा ल्याउने भिडको व्यवस्थापन त हैन।। अहिले सरकारले अपनाएको तरिका भिड व्यवस्थापनका लागि उपयोगी हो र महामारीको निवारणमा सरकार प्रवेश गरेकै छैन। घाम लाग्यो र भाइरस कमजोर भएकाले संक्रमण दर घटेमा मन्त्रीको भविष्यवाणी मिल्ला नत्र यही तरिकाले रोग नियन्त्रण हुँदैन।  
अबको बाटो
महामारी नियन्त्रणका लागि पनि तत्काल एकीकृत प्याकेज – प्रयोगशालामा आधारित निदान र सोअनुसारको उपचार – पहिलो प्राथमिकता हुनुपर्छ। उपचारसँग आनिबानी परिवर्तन, भाइरल उपचारसँग आनिबानी परिवर्तन गर्ने कार्यक्रम, भाइरल फ्लु सर्ने तरिका र त्यसबाट बच्ने उपाय पनि सिकाउन स्वास्थ्य शिक्षा अभियान नि एकैपटक लैजानुपर्छ। गाउँका राजनीतिक र सामाजिक अगुवा, विद्यार्थी, शिक्षकहरूलाई भाइरल र यसबाट बच्ने र सर्ने तरिकासहित कस्तो अवस्थामा स्वास्थ्य चौकी जाने भन्ने पनि सिकाउनुपर्छ। अनि स्वास्थ्य संस्था, घुम्ती शिविर र आईसीयुसहितको उपचार चाहिनेलाई हेलिकप्टरबाट अन्यन्त्र पुर्यावउने व्यवस्था गर्नुपर्छ।
त्योसँगै विगतका महामारीमा हुनसनकेको रोगको विस्तृत र वैज्ञानिक कारणको पहिचान आवश्यक छ। दीर्घकालीनरूपमा जिल्ला र अञ्चल तहसम्म सघन उपचारको तयारी, ‘सर्भिलेन्स' संयन्त्रको आनिवार्य व्यवस्था हुनुपर्छ। फलस्वरूप, महामारीले भयवहरूप लिनपूर्व नै संकेत थाहा पाउने र सम्पूर्णरूपमा व्यवस्थित प्रयास गर्न सकियोरस्। अनिमात्र महामारी नियन्त्रण पूर्ण र सफल हुनसक्छ। महामारीका अवस्थामा रोगको पहिचान र सही व्यवस्थापनको अभावमा प्रत्येक मिनेटको महत्व हुन्छ। महामारीको कारणसम्म पुग्न जति ढिलो हुन्छ मानवीय क्षति उति नै बढ्छ र नियन्त्रण अझै जटिल बन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस