अर्धनिर्मित राज्यका सीमितता
१८ वैशाख २०७२
•
१७ मिनेट पाठ
अर्धनिर्मित राज्यका सीमितता
नेपालमा राज्यविहीनता नयाँ विषय होइन। अड्डा अदालत जानु नपरोस्, अस्पताल धाउनबाट मुक्ति मिलोस्। हाकिम हुक्मान वा सिपाही प्रहरीजस्ताहरू भेट्नै नपरे हुन्थ्यो। डाक्टरका कुरा सुन्दा कहिल्यै उसको अनुहार फेरि हेर्नै नपरे हुन्थ्यो। वकिल बिचौलियाबाट टाढै बस्नु जाती। यी र यस्ता चाहना मधेस पहाडतिर जताततै आआफ्नै प्रकारले मुखरित भइरहेका हुन्छन्। प्रत्यक्ष लाभान्वित हुने एउटा अत्यन्त सानो साम्प्रदायिक समूहबाहेकका लागि नेपाली राज्य सेवा, सुरक्षा एवं सामाजिक न्याय सुनिश्चित गर्ने संस्था नभएर शासन र शोषणको संयन्त्रमात्र हो। सायद, त्यसैले होला गत शनिबारको प्राकृतिक विपदापछि प्रभावित समुदायहरू राज्यको प्रतीक्षामा नबसेर एकआपसको सहयोगमा बाँच्ने जोहो गर्न थालेको थिए।खाली ठाउँमा त्रिपाल ठड्याइए। मोटरसाइकल छोप्ने प्लास्टिकसमेत सानो आश्रयस्थल बन्यो। चिउरा, बिस्कुट र दालमोठ बाँड्न थालियो। पुराना अखबार प्लेट बने। आगो बाल्ने उपाय हुन थाल्यो। सामान्यतः प्रकोपले गर्दा खाली गरिएका घर वा पसलमा लुटपाट बढ्छ भन्ने मान्यता छ। भूकम्पपछिका तीन दिनभित्रको अनुभवका आधारमा भन्ने हो भने अपवादबाहेक त्यस्ता विपद काठमाडौंमा यहाँका बासिन्दाकाृ विपत्तिमा थपिएको छैन। स्वस्फूर्त शान्ति सुव्यवस्थाले राज्यविहीनताको स्थितिलाई सह्य बनाएको छ।
प्रश्न भने अब उठ्छ। केही कुरा शिष्टताका सीमा नाघेर पनि भन्नै पर्ने हुन्छ। प्रधानमन्त्री सुशील कोइराला वृद्ध, अस्वास्थ र लगभग अशक्त छन्। उप्रधानमन्त्री वामदेव गौतमको क्षमतामा कम्तीका बितेका २० वर्षदेखि प्रश्न उठाइँदै छ।  अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वराजनीति वा दृढ इच्छाशक्तिभन्दा पनि पारिवारिक पृष्ठभूमिका कारण स्थापित भएका हुन्। तीन अगुवाको यस्तो हालत छ बाँकी मन्त्रीको साखका बारेमा कुरा गरिराख्नै परेन। राज्यविहीनताका अवस्थामा राजनीतिक नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ। सामान्यजनलाई सबभन्दा बढी खाँचो भएका बेलामा ती परिदृश्यबाट लगभग गायबै थिए , अरुजस्तै ज्यान जोगाउने ध्याउन्नामा थिए सायद!
कहिले काहीँ फगत उपस्थिति पनि महत्वपूर्ण हुन्छ। एउटै औपचारिक वक्तव्यले पनि आश्वस्त तुल्याउन सक्छ। राज्यको खोजी गर्दै केही सचेत जनले प्रधानमन्त्री निवासअगाडि गएर मौन याचना नगरेसम्म सरकारका प्रमुख सल्लाहकारहरुलाई राष्ट्रका नाउँमा सम्बोधन गर्नुपर्ने आवश्यकता पनि महसुस भएन। भद्र याचना टोलीका आलोचकहरु के बिर्सिन्छन् भने तिनले सरकारको खोजीनिती बालुवाटारमा याचना गरेर थपनाका प्रधानमन्त्रीको इज्जत जोगाइदिएका हुन्। नभए स्थायी सत्ता आजभोलि भद्रकाली मुख्यालयबाट सञ्चालन हुन्छ भन्ने कुरा त नेपालका द्विपक्षीय तथा बहुपक्षीय दातालाई पनि थाहा छ। उद्धार एवं सहायता युद्धस्तरकै क्रियाकलाप हुने हुँदा त्यसको सञ्चालनमा मन्त्रीगण वा नागरिक प्रशासनको संलग्नता नाममात्रको हुन्छ भन्ने त स्वतः स्पष्टै छ।
राज्य संरचना त जे छ छँदैछ, औसत सञ्चारकर्मीले पनि विपदका बेला सामान्यजनलाई आश्वस्त तुल्याउने क्षमता प्रदर्शन गर्न सकेनन्। वाध्यताले पत्रकारितामा फस्नु परेकाले होला अधिकांश मिडियाकर्मी आक्रोशले लबालब हुनेगर्छन्। सायद, राजनीतिक नेता बन्न नसकेको कुण्ठा छ। लोकसेवा आयोगको जाँच पास गर्न नसकेकोमा हीनताबोध छ। छोराछोरीलाई डाक्टर इन्जिनियर बनाउने मध्यमवर्गीय आमाबाबुको सपना पूरा गर्न नसकेकोमा ग्लानि छ। व्यापारीले जस्तो धन थुपार्न नपाएकोमा चुकचुक छ। अनि, अप्ठेरो परिस्थितिमा पनि हिलो छ्याप्नेबाहेक अरू कामै गर्दैनन्। हुनत, समाचार भनेकै अँध्यारोमा ऐना देखाउनु हो भन्छन् तर निराशा फैलाउने होडबाजी हेर्दा कहिल्यै भेट्न नपरे हुन्थ्यो भन्ने सूचीमा अब पत्रकार पनि थपे हुने भएको छ।
नाफा क्षेत्रको त उद्देश्य नै बढीभन्दा बढी नाफा कमाउनु हो। त्यसैले औषधिमुलोजस्तो अत्यावश्यक पसल पनि अप्ठेरो बेलामा खोलिएन भन्ने गुनासो गर्नुको कुनै तुक छैन। बिचरा तिनले आफ्नो ज्युज्यानको सुरक्षालाई व्यापारभन्दा प्राथमिकतामा राखेका मात्र न हुन्। राज्यले नाफाखोरी नियन्त्रण गर्न सकेन भन्ने गनगन पनि त्यस्तै हो। लाभको लोभले नियामक निकायकै समेत नियमन गरिदिने गरेका प्रसङ्गहरु जापान र अमेरिकाजस्ता देशमा पनि सुनिन्छन्। नेपाल अपवाद होइन।
अँध्यारोमा छामछुम गरेरमात्र राज्य र समाज चलिराखेको त देखिएकै हो। शनिबारको प्रकोप र त्यसपछिको अवस्थाले राज्यविहीनताको भयावह अवस्थालाई अझ उजागर गरिदिएको छ। केही दिनभित्र अन्तर्राष्ट्रिय ध्यान अन्त कतै अर्को सङ्कटग्रस्त क्षेत्रतिर मोडिनेछ। ‘प्यारासुट पत्रकार' क्यामेरा बोकेर त्यतै दौडनेछन्। विद्युत् आपूर्ति सुचारु राख्न र टेलिफोन नियमित बनाउन सघाउने भारतीय इन्जिनियरहरु आआफ्ना काममा फर्कनेछन्। पाकिस्तान र इजरायलका चिकित्सकहरु फिर्ता हुनेछन्। बालुवाटारमा सरकारको खोज ीगर्न पुगेका सचेत जन सायद त्यसपछिको परिस्थितिका बारेमा सोचेर अल्तालिएका हुन्। अहिले त सहनुको विकल्प छैन। त्यसपछिको चिन्ता लिनु अरु जे भए पनि अपराध भने होइन।
राज्य रचना
कुनै बेला बीपी कोइरालाले नेपाल राज्य बन्न सकेको छैन भन्ने अभिव्यक्तिका लागि तथाकथित राष्ट्रवादी एवं स्वघोषित साम्यवादीको खुब गाली खाएका थिए। नेपाल सही अर्थमा राज्य त अझै बन्न नसकेकै रहेछ। भूगोल, सीमा, जनसंख्या र शासकीय संरचना हुनुमात्र राज्य भएको प्रमाण होइन। राज्य हुनका लागि सबैभन्दा पहिले जनतामा ‘राज्य छ' भन्ने भरोसा कायम हुनुपर्छ।
जनविश्वास जित्ने कुनै चमत्कारी बुटी हुँदैन तर केही आवश्यक अवयव भने औँल्याउन सकिन्छ। ‘यो राज्य मेरो हो' भन्ने भावना समरुप एवं एकल संस्कृति इकाइमा अपेक्षाकृत सजिलोसँग आउने रहेछ। बहुराष्ट्रिय राज्यमा भने त्यस्तो भावना जगाउन राज्यसँग संलग्न व्यक्तिहरु अल्पसंख्यक, तिरस्कृत एवं बहिष्कृतलाई निरन्तर आश्वस्त गरिरहनुपर्छ।
अप्ठेरो बेलामा संवादको महत्वलाई जति नै दर्शाए पनि कम नै हुन्छ। कसले लेखेको थियो प्रधानमन्त्रीको सम्बोधनको पाठ? प्रतिवेदनजस्तो रुखो सुनिने त्यस लेखोटभित्र सान्त्वना दिने वा उत्प्रेरित गर्ने किसिमका एउटा वाक्य पनि छैन। टेलिभिजनमा अनुहार देखाउन पुग्ने नेपाल सरकारका मन्त्रीहरु सामान्य अवस्थामा गरिने जुझारु बहस चर्काउने मनःस्थितिमा देखिन्छन्। तारन्तार नकारात्मक सन्देश प्रवाहित गरिरहनुभन्दा त ती आआफ्नै खोपीमा बसे जाती हुनेछ।
सङ्कटका बेला राज्य सोपानतन्त्रको तल्लो तहमा रहेकाहरुले समेत जीवन र मृत्युसँग सम्बद्ध निर्णय लिनुपर्ने हुन्छ। आफ्नै कर्मचारीलाई नपत्याउने सरकारले जनताको विश्वास जित्ने अपेक्षा राख्नु हुँदैन। पारदर्शिता, जवाफदेही एवं अनुगमनजस्ता कुरा महत्वपूर्ण हुन्। तर कथंकदाचित निर्णय गलत हुन पुग्यो भने प्रतिरक्षा गरिदिने कोही हुँदैनन् भन्ने मानसिकता व्याप्त भएकाले सरकारी अधिकारीहरुको अग्रसरता समाप्त प्रायः भएको छ। निजी फाइदा वा अतिरिक्त लाभको लोभजस्तो अवस्थामा बाहेक निर्णय लिने जोखिम नउठाउनु नेपाली प्रशासनयन्त्रको अकर्मण्यताको मुख्य कारण बन्न गएको छ।
राजनीतिक वैधानिकता सम्बन्धमा एउटा विडम्बना बरोबर उल्लेख गर्ने गरिन्छ। कमजोर वा धरमर राज्यको सेवा उपलब्ध गराउने क्षमता न्यून हुन्छ। त्यसले जनतामा आक्रोश र वितृष्णा जन्माउँछ। व्यापक असन्तुष्टि व्यवस्थापनमै राज्य अल्भि्कनु परेपछि उसै पनि कमजोर रहेको सेवा उपलब्ध गराउने वा सामाजिक न्याय सुनिश्चित गर्ने क्षमता झन् झन् क्षय हुँदैजान्छ। र, अन्ततः राज्य असफल बन्न पुग्छ।
औपचारिकरुपमा घोषणा नभए पनि नेपालजस्तै दक्षिण एसियाका अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का लगभग असफल राज्य हुन्। केही विज्ञहरु भारतलाई पनि धरमर राज्यकै श्रेणीमा राख्छन्। अफगानिस्तानमा राज्यको आवश्यकतालाई गोत्रवादी समूह वंशगत संगठनहरुले पूरा गरेका छन्। राजनीतिकरुपमा थला परेको बङ्गलादेशलाई गैरसरकारी संगठनहरुले थामेका छन्। श्रीलङ्का सैन्य राज्य हो भने भारत आजभोलि साहु महाजनको भरमा चलेको छ। सबै प्रारुपका वाध्यता एवं जोखिम छन्। नेपालको राज्य रचना भने राजनीतिक तवरले हुने भएमात्र दिगो रहने देखिन्छ।
दलहरुको सक्रियता
सरकारमा सामेल दलहरुमा केही कालपछि बोसो लाग्छ। स्वाभाविक हो। हेलिकप्टर चड्ने बानी बसेपछि साँखुभन्दा विदेशी पत्रकारको हुल भएको लाङटाङ नजिक लाग्ने नै भयो। दलका युवा समूहको सुस्ती भने तोड्न जरुरी छ।
राष्ट्रिय भएको दाबी गर्ने तरुण दल, युथ फोर्स, वाईसीएल, संघ, संगठन र अखिल जोडिएका क्रान्तिकारी युवा उद्धार एवं सहायतामा सुस्त देखिनु डरलाग्दो अराजनीतिकरणको अवस्था हो। तिनले खाली छाडेका ठाउँ अन्ततः अपराधी जत्थाले हत्याउँछन्। सङ्कटका बेला दालमोठ, चिउरा बाँडर हासिल गरेको वैधानिकताको राजनीतिक समायोजन भएन भने परोपकारले किनिएको बफादारी अपराधी दिशामा मोडिन सक्छ। इन्दिरा गान्धीले सन् १९७५–७७ तिर लागु गरेको आन्तरिक सङ्कटकाल अन्त्य भएपछि भारतका ठूला सहरमा भएको त्यही हो।
राजनीतिक दलका युवा विद्यार्थी एवं मजदुर इकाइले सार्वजनिक स्वीकृति हासिल गर्ने सेवा कर्मबाटै हो। भत्केको घरसँग सेल्फी खिच्ने, चाउचाउको प्याकेट वितरण गर्ने वा खानेपानीको साटो आँसु बाँड्ने सेता कमिजवाला दुईचार दिनमै आआफ्ना पेसा व्यवसायमा फर्केर विपत्तिलाई थप नाफा कमाउने अवसरका रुपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने लेखाजोखामा लिप्त हुनेछन्। सहायता एवं सान्त्वनाको आवश्यकता त तत्कालै समाप्त हुने छाँटकाँट छैन। फेसबुक र टि्वटरमा तस्बिर पोस्ट गर्नेहरु गएपछि सहायता, सान्त्वना एवं पुनःस्थापनाको मिहिनेत पर्ने तर जस नपाउने चरण सुरु हुनेछ। राजनीतिक दलहरुले आआफ्ना इकाइलाई त्यस्तो परिस्थितिका लागि तत्काल तयार गर्ने बेला भयो।
संकटले त्रासदी त ल्याउँछ नै सँगसँगै सुषुप्त जीजीवीषालाई पनि पुन जगाउने गर्छ। त्यस्तो सामाजिक ऊर्जाको संकलन, समायोजन र सदुपयोग भने राजनीतिक नेतृत्वको दूरदर्शिता एवं इच्छाशक्तिमा भरपर्ने कुरा हो। सरकारको गतिहीनतालाई राजनीतिक दलका इकाइहरुको अनुशासित, सौम्य, विनित एवं सहयोगी व्यवहारले थोरै भए पनि परिपूर्ति गर्नसक्छ। त्यस सँगसँगै सत्ताको प्रतिस्पर्धामा सेवा कार्यमा अग्रता देखाउन सक्नेले उच्च स्वरमा दाबी गर्न पाउनु त छँदै छ। सत्ता अन्ततः सबै राजनीतिको केन्द्रविन्दु हो। र, त्योबेगर जटिल प्रकृतिका आधुनिक समाजहरु चल्न पनि सत्तै्कनन्।
राज्यको सीमितताको अर्थ असान्दर्भिकता नभएर पुनर्जीवन दिने आवश्यकताको हो। त्यो जिम्मेवारी वहन गर्न मधेसवादी दलका युवाले पनि अग्रसरता देखाउन सक्छन्। राष्ट्रिय उपयोगिता  एवं सम्मानको दाबी परस्पर जोडिएका विषय हुन्। राष्ट्रिय भनाउँदा दलहरुकै बेहाल भएका बेला साना एकाइबाट अपेक्षा पनि सांकेतिकमात्र हुन्छ। महत्व भने त्यसको पनि कम हुँदैन। निष्पट अँध्यारोमा बालिएको टुकीले उज्यालै त नहोला तर विश्वास भने पक्कै पलाउला।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस