पुनर्निर्माणको लागि राष्ट्रिय अभियान
२८ वैशाख २०७२
•
१७ मिनेट पाठ
पुनर्निर्माणको लागि राष्ट्रिय अभियान
विपद व्यवस्थापन र पुननिर्माण




विनाशकारी भूकम्पले अकल्पनीयरूपमा मानवीय र खर्बौं मूल्यबराबरको संरचना ध्वस्त पार्योस। समकालीन नेपाली इतिहासमा यति पीडादायी क्षणको अनुभव वर्तमान पुस्ताले कहिल्यै गर्नुपरेन। अहिले उद्धारको चरण सकिए पनि प्रभावित क्षेत्रमा मनोत्रासदी बाँकी नै छ।

यो प्राकृतिक विपत्तिको पीडालाई पुनर्निर्माणमा रूपान्तरण गरी आगामी दिन र भावी पुस्तालाई कसरी आश्वस्त तथा सुरक्षित पार्न सकिन्छ भन्ने चिन्ता अहिलेको प्रमुख विषय हो। र, दिगो तथा असल पुनर्निर्माणका लागि यस विपत्तिलाई अवसरका रूपमा उपयोग गर्ने दायित्व पनि आमनेपालीमा छ। मुलुक तत्काल असल पुनर्निर्माणको अभियानमा जुट्न आवश्यक। बर्षायाम नजिक आइसकेको छ। हजारौँ मानिस भत्केको घरनजिकै प्लास्टिकको ओतमा छन्, समयमै अस्थायी आवासहरू बनाउन सकेनौँ भने मनसुनले अर्को विपत्ति ल्याउनसक्छ। वैशाख–जेठ महिना खेतीपातीको याम पनि हो। खाने अनाजमात्र क्षति भएको होइन, बीउबिजन पनि नाश भएको छ। खेती गर्ने हल गोरुहरू पनि पुरिएका छन्। ठूलो रेक्टर स्केलको कम्पन आएकाले वर्षाले जमिन गलेपछि, पुनः पहिरोले रौद्ररूप लिनसक्छ। यति ठूलो विपत्तिमा के गर्ने भन्ने हामीसँग अनुभव र क्षमता पनि छैन। हालैको दशकमा कास्मिर चक्मा उपत्यका, हाइटी र सिचुआनले भोगेको यस्तै विपत्तिको अनुभव र सानातिना  हाम्रै सिकाइबाट यस विपत्तिको व्यवस्थापनका लागि चरणबद्धरूपमा काम गर्नु आवश्यक छ।
प्रकोप व्यवस्थापनका सन्दर्भमा पहिलो चरणमा गरिने काम उद्धार, खोज र राहतको हो। यस चरणमा सुरक्षा, प्रशासन, स्वदेशी–विदेशी विज्ञ, मानवतावादी समूह र समुदाय परिचालित भयो। यो चरण प्रक्रिया, विधि र व्यवस्थित शृंखलाभन्दा पनि तत्काल धनजनको क्षतिलाई न्यूनीकरण र उद्धार गर्ने चरण हो। जति छिटो र चुस्त यस चरणलाई क्रियाशील बनाउन सकियो, त्यति नै धनजनको सुरक्षा गर्न सकिन्छ। यो नै प्रकोप व्यवस्थापनमा जनविश्वास जित्ने आधार पनि हो। अब महत्वपूर्ण दुई चरणमा हामीले तत्काल काम गर्नुपर्ने भएको छ, प्रारम्भिक पुनरुत्थान र पुनर्स्थापना र पुनर्निर्माण।
प्रारम्भिक पुनरुत्थान वा तत्कालको आवश्यकतामा अस्थायी आवास निर्माण, आधारभूत सेवा व्यवस्थापन र मनोत्रासदी हटाउने कार्य गरिनु आवश्यक छ। यस चरणमा आफ्नो आवास भग्नावशेष भएको स्थान वा यस्तै सम्भाव्य क्षेत्र जहाँ अन्य सेवा प्रबन्ध गर्न सजिलो पर्दछ, त्यहाँ अस्थायी बास निर्माण गरिनुपर्छ। यस्ता संरचना निर्माणमा स्थानीय सामग्री (भत्केका संरचनाका काठ, ढुंगा माटो, बाँस, जस्तापाता, बाबियो, अमरिसो आदि) र प्रविधिको उपयोग गरी निर्माणलाई युद्धस्तरमा सञ्चालन गरिनुपर्छ। यसबाट जनजीवन विपद्बाट सामान्य दैनिकीमा आउन मद्दत पुग्छ। यसरी निर्माण गरिने अस्थायी आवास संरचना कम्तीमा वर्षभन्दा बढी टिक्नेखालका हुनु आवश्यक छ। हाल वितरणमा रहेको प्लास्टिक पालले झरी, बतास र घामलाई खेप्न सक्दैन। यो तत्कालको ओतमात्रै हो। भत्केका विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, विद्युत् संरचना र बाटोको मर्मत गरी तत्काल सेवा दिनसकिने हालतमा ल्याउनु पनि यस चरणको कार्य हो। विद्यालय एवं स्वास्थ्य चौकी पुनर्निर्माण नभएसम्म अस्थायी सिकाइ केन्द्र र घुम्ती स्वास्थ्य चौकीको व्यवस्था गर्न सकिन्छ। भूकम्पले खाने अनाज, लगाउने कपडा र भएका भाँडाकुँडा समेत गुमेको छ। खेती गर्ने समयमा विपद्को सामना गर्नुपरेको छ। यसर्थ, अर्को बाली भित्र्याउने समयसम्मका लागि खाद्यान्न आपूर्तिलाई पनि प्रारम्भिक पुनरुत्थानको अनिवार्य अंग बनाइनुपर्छ। विश्व खाद्य कार्यक्रमलगायतका मानवतावादी अन्तर्राष्ट्रिय निकायलाई यस कार्यमा क्रियाशील बनाउन आह्वान गर्न ढिलो भैसक्यो। अभिभावक गुमाउने वालबालिका र आश्रयदाता गुमाउने वृद्धवृद्धाको मानसिक एवं शारीरिक जोखिमलाई दृष्टिगत गरी ‘काउन्सिलिङ' पनि पुनरुत्थानको प्याकेजमा समावेश गरिनुपर्छ। प्रारम्भिक पुनरुत्थानका कार्यमा स्थानीय पीडितका निम्ति ‘एक परिवार एक रोजगार' अवधारणा कार्यान्वयनमा ल्याइनुपर्छ। कामको अपनत्व, सामाुदायिक सहयोग र स्थ्याीयत्वको लागि समेत यो अवधारणा उपयुक्त हुन्छ।
तेस्रो चरण पुनर्निर्माणको हो। यसलाई नवनिर्माणको रूपमा पनि लिन सकिन्छ। कतिपय अव्यवस्थित र जोखिमपूर्ण आवास स्थललाई सुरक्षित र व्यवस्थित गर्ने अवसर पनि हो यो। ठूला विपद् सामना गरेका धेरै मुलुकले विपत्तिपछिको पुनर्निर्माणलाई नवनिर्माणकै अवसर बनाएका छन्। हाइटीले ‘असल निर्माण' का रूपमा यसलाई लिएको थियो। यस चरणमा निजामती प्रशासन, विज्ञ र योजनाविद्हरूको भूमिका महत्वपूर्ण रहन्छ, जसरी ‘अप्रेसन संकट मोचन' मा सुरक्षा संयन्त्रको रह्यो। भूकम्पको क्षति विवरण संकलन र पीडीएनए (पोस्ट डिजास्टर निड एसेसमेन्ट) गरी भूकम्प प्रभावित सर्वसाधारणलाई भावी दिनमा जोखिममुक्त आवास संरचना र जीवनशैली दिने योजना तर्जुमा गरिनुपर्छ। जस्तो कि, बस्ती व्यवस्थापन योजना, भवन निर्माणका लागि मापदण्ड निर्धारण, अत्यावश्यक सेवा र वस्तीबीचको सम्बन्ध निर्धारण, लगानी प्रबन्ध, प्रविधि विकास र तालिम, बिग्रेभत्केका साँस्कृतिक सम्पदाका लागि विशेष मापदण्ड निर्धारण आदि। नवनिर्माणको कार्ययोजनाले नेपालको समस्त बस्ती व्यवस्थापन र सहरीकरणलाई प्रदर्शन गर्न सक्नुपर्छ। सुरक्षा, सौन्दर्यीकरण र सघनबस्ती संरचनालाई एकीकृत रूप दिने यो एक अवसर हो। नवनिर्माणको यो योजना कार्यान्वयनको निश्चित समयसीमा (३ वर्ष) निर्धारण गरिनुपर्छ।

संस्थागत संयन्त्र
विपद् व्यवस्थापनको प्रथम चरण (उद्धार र खोजी) मा ‘क्राइसिस मेनेजमेन्ट'का रूपमा रहने भएकाले त्यति व्यवस्थित हुँदैन, जस्तो कि हाम्रो ‘संकट मोचन अभियान'। सुरक्षा संयन्त्र नै यस चरणको संस्थागत भूमिका निर्धारण गर्ने संयन्त्र हो। त्यसपछिका चरणका लागि तत्काल अधिकार सम्पन्न संस्थागत संयन्त्र आवश्यक हुन्छ। अन्य मुलकको विपद् व्यवस्थापन हेर्दा विपद्को साता पनि नबित्दै प्राधिकार निकाय गठन भैसकेको पाइन्छ। हामीकहाँ पनि अनौपचारिकरूपमा विभिन्न निकायले उल्लेखनीय काम गरिरहे पनि समन्वयात्मक रूपमा काम गर्न र सामान्यभन्दा विशेष ढंगमा काम गर्न एक आयोग वा प्राधिकरण अथवा समिति गठन गरिनुपर्छ। नाम जे भए पनि यसरी गठन हुने संयन्त्र अति प्रभावित जिल्लाहरूको पुनर्निर्माणका लागि सम्पादन गर्नपर्ने सबै कामको प्राविधिक नेतृत्व लिनसक्ने हुनुपर्छ। संयन्त्रलाई अधिकार, जिम्मेवारी, स्रोतसाधन, कारबाही निगरानी गर्नसक्ने गरी सशक्तीकृत पनि गरिनुपर्छ। यसलाई राजनीतिक प्रभाव र कर्मचारीतन्त्रीय संस्कृतिबाट बिल्कुलै अलग गरिनुपर्छ। यस प्रकारको संयन्त्रलाई मुलुकको कार्यकारी प्रमुख (प्रधान मन्त्री) वा निजकोे अध्यक्षतामा संरचित केन्द्रीय निर्देशक समितिप्रति मात्र जवाफदेही हुने व्यवस्था गरिनुपर्छ। समितिले नीतिगत विषयहरू जस्तो अनुदान, सहयोग परिचालन, मापदण्ड स्वीकृति र मोडालिटी निर्धारणका कार्य गर्नु आवश्यक हुन्छ। अधिकार सम्पन्न संयन्त्रलाई सहयोग गर्न आवश्यकताअनुसारका विषयगत समितिहरूको व्यवस्था गर्न सकिन्छ। स्रोत व्यवस्थापन एवं गैरसरकारी संस्था परिचालन समिति, पुनरुत्थान समिति, पुनर्निर्माण समिति, सम्पदा समिति, जोखिम न्यूनीकरण शिक्षा समिति आदि।  
राष्ट्रिय आह्वान
यस महाविपत्तीबाट क्षतविक्षत संरचना पुनर्निर्माण गर्न नेपाली साधनस्रोत मात्र अपुग होइन कि जनशक्तिको पनि अभाव छ। सबैभन्दा कमी नै जनशक्तिको छ। हाम्रो विपत्तिप्रति मानवीय संवेदना र सहानुभूतिका कारण कलाकारदेखि खेलाडीसम्म, सरकारदेखि राष्ट्रसंघसम्म र पुँजीपतिदेखि मानवतावादी कार्यकर्तासम्म चन्दा सहयोगका लागि लागिपरेका छन्। तर नेपालको निर्माणका लागि नेपाली मन भएका मानिस चाहिन्छ। नेपालको माटोसँग नाता जोडिएको मन चाहिन्छ। विश्वभरि छरिएर रहेका करिब ६० लाख नेपाली छन्, जसको शरीर त्यहाँ रहे पनि मनचाहिँ नेपालमा छ। उनीहरू जहिले पनि नेपालको नवनिर्माण चाहन्छन्। विदेशमा काम गर्ने र विभिन्न मुलकमा छरिएर रहेका यी नेपाली मनहरूले अहिले पनि रगतपसिना बगाएर कमाएको पैसा नेपाल पठाइरहेका नै छन्। अबको नवनिर्माणका लागि उनीहरूलाई खास समय र खास सहुलियत दिनेगरी राष्ट्रिय आह्वान हुनुपर्छ। उनीहरूको सीप, आर्जित आय र मनदेखिका भावनालाई नवनिर्माणमा उपयोग गर्दा जनशक्तिको अभाव त पूरा हुन्छ नै, त्योभन्दा बढी मानवीय संवेदनासहितको कर्मले नवनिर्माणको गतिलाई स्थायी र अपनत्वबोधसमेत बढाइदिन्छ। उनीहरू नेपाल आउने वातावरण बनाइएन भने पुननिर्माण दशकौँ लामो हुनसक्छ।
पुनर्निर्माणको समयसीमा
पुनर्निर्माणलाई कति अवधिमा सम्पन्न गर्ने? स्पष्ट समयसीमा निर्धारण गरिनुपर्छ। करिब ४ लाख आवास र अन्य संरचनाको विनाश तगा ४० लाखभन्दा बढी मानिसको मनोविज्ञानमा पुगेको क्षतिलाई छोटो अवधिमा सामान्य पार्न निश्चय नै सकिँदैन। तर लामो अवधिसम्म यो काम पूरा नभए सर्वसाधारणमा कुण्ठा र विषाद विकसित हुन्छ। त्यसकारण पनि उपयुक्त समयसीमा निर्धारण गरेर तत्कालीन पुनरुत्थान, पुनर्निर्माणको काम सम्पन्न गरिनुपर्छ। कास्मिरको चक्मा उपत्यका नवनिर्माणका लागि ३ वर्षे कार्ययोजना बनाइयो। चीनले सिचुआन पुनर्निर्माणका लागि २४९ अर्ब अमेरिकी डलरसहितको ३ वर्षे कार्य योजना बनायो। नेपालले २०४५ सालको भूकम्पमा भएको क्षतिको पुनर्निर्माण १० वर्षमा पनि सकेन। त्यसैले राष्ट्रिय क्षमता र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरेर छिटोभन्दा छिटो पुनर्निर्माणको राष्ट्रिय अभियान पूरा गर्नुपर्छ। जति ढिला गरियो त्यसको गति, गुणस्तर र प्राथमिकता कम हुन्छ। हाम्रा लागि यो समयसीमा ३ वर्षको उचित हुन्छ।

राष्ट्रिय सहमति र राष्ट्र निर्माण
हामी विचार, दर्शन, स्वार्थ, जात, लिंग, भाषा र संस्कृतिका कुरामा किचलो झिक्न सिपालु छौँ। जसका कारण जनआन्दोलन भाग– २ पछिको झण्डै एकदशक बित्थामा खेर गयो। तर विपद्ले विचार, वर्ग र क्षेत्र नभनी क्रूरता प्रदर्शन गर्योर। नेपाली जनताले महाविपद्को सम्बोधन गर्न सबै दल, वर्ग र सम्प्रदायलाई एक ठाउँमा आउ भनेका छन्। झिनामसिना कुरा भुल र राष्ट्रिय अभियानमा समाहित बन भनेका छन्। त्यसैले दलहरूले राष्ट्र निर्माणमा समवेत स्वर मिलाउने र जनताको दुःख निवारणमा क्रियाशील हुने अवसर यस महाविपद्ले दिएको बुझ्नुपर्छ। संविधानमात्र होइन, राष्ट्र निर्माणमा समाहित हुने, राजनीतिक स्रोत परिचालन गर्ने संकल्प र शक्ति यस पीडाले दिएको छ। समावेशी सामाजिक संस्कृतिको पुनर्निर्माण गर्न त यतिखेर समाजले केही सिकी पनि सक्यो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस