राजनीतिको प्रादुर्भाव युद्धको विकल्पका रूपमा भएको हो। त्यस अर्थमा राजनीति पनि शान्तिपूर्ण तरिकाबाट युद्धकै निरन्तरता हो भन्ने अवधारणा बेठिक होइन। तर राजनीति जित्ने र हार्ने पक्ष निर्धारण गर्ने महाभारत मात्र नभएर समाजलाई सुसंस्कृत तुल्याउँदै जाने महानीति पनि हुन सक्नुपर्छ भन्ने विश्वासबाट प्रजातान्त्रिक अभ्यास सुरु भएको हो।
नीतिलाई छुट्याइसकेपछि बाँकी रहेको 'राज' फगत काजकर्ममा सीमित हुनपुग्छ। व्यापक उद्देश्य बोकेको अर्थ बाँकी रहँदैन।बलियाको मन्त्र 'जसको तरबार, उसको दरबार' मान्यतालाई सबभन्दा पहिले धर्मशास्त्रद्वारा नियन्त्रित गर्ने प्रयत्न भएको हो। धर्मशास्त्रहरूलाई अर्थ्याउने कर्ममा एकैथरी जातीय समूहको एकाधिकार रहेकाले धार्मिक हस्तक्षेपले पनि न्यायसंगत नीतिको जग बसाल्न सकेन। धर्मान्ध हिन्दु इतिहासकारहरूले जति नै मिथ्या दम्भ देखाए पनि छुतअछुत एवं जाति व्यवस्थाजस्ता मान्यताको निरन्तरताले पूर्वीय राजनीतिको विभेदकारी परम्परालाई नै दर्शाउँछ।प्रजातान्त्रिक राजनीति मूलतः सत्ता विमर्शलाई एकातिर तरबार र अर्कोतिर पूज्य ठहर्यारइएका पोथीहरूको शासनबाट मुक्त गर्ने प्रयत्न हो। यस्ता दुवै सत्तालाई बेलायतको इतिहासमा पैसा र पुँजीले पनि चुनौती दिन सघाएको थियो। अब पोथी र तरबारको गठजोडमा तराजु र नाफा पनि जोडिन पुगेपछि प्रताजन्त्रको परिष्करण झनझन् कठिन बन्दै गएको छ। एउटा योद्धाले अर्कोलाई मूल्य युद्धका लागि हाँक दिने वा एउटा महापण्डितले अर्को महापण्डितलाई शास्त्रार्थका लागि निम्त्याउने र त्यस्ता प्रतिस्पर्धाबाट सार्वजनिक नीति प्रभावित हुने चरणबाट मानव सभ्यता धेरै अगाडि बढी सकेको छ। प्रतिस्पर्धा अब प्रभावका लागि हुने गर्छ।
प्रभावका द्वन्द्वहरू आजभोलि बहुआयामिक प्रकृतिका हुन्छन्। आय र करबीचको तालमेल मिलाउन नीति चाहिन्छ। सशस्त्र द्वन्द्व न्यूनीकरणका लागि राज्यले हतियारमाथि एकाधिकार कायम गर्न चाहन्छ। सार्वजनिक हितका लागि गरिने लगानी असन्तुष्टिलाई हिंस्रक हुन नदिने उपाय हो। त्यस्ता सबै काम व्यवस्थित एवं पूर्वानुमानका आधारमा सम्पन्न गर्न कानुन चाहिन्छ। संविधान कुनै पनि देशको मूलकानुन हुने भएकाले त्यसको स्थिरता अरू विधिभन्दा महत्वपूर्ण हुन्छ। संविधानका प्रावधान छुनै नमिल्ने धार्मिक ग्रन्थका पवित्र आज्ञा त होइनन् तर ती अखबारका पानाजस्ता दिनहुँ फेरिने घटना वा विचारका विवरण पनि होइनन्। त्यसैले संविधानका लागि संघर्ष हुने गर्छ। द्वन्द्वबेगर हासिल भएको कानुन संग्रह विधि विधान होला संविधानको सम्बोधन पाउने हैसियत राख्दैन।
स्थिति र परम्पराको निर्क्योल धर्म गुरु एवं पञ्चप्रधानले गर्न पाउँछन्। कानुन बनाउने अधिकार विधायिकासँग हुन्छ। विधिविधानको निर्धारण न्यायिक निरूपणबाट पनि हुन्छ। संविधानको अन्तरवस्तु भने जो सार्वभौम हो, त्यसले मात्र निर्धारण गर्नसक्छ।
सार्वभौमिकताको प्रश्न अल्भि्कएकाले गर्दा नै तत्कालीन महाराज पद्मशम्शेरको पालादेखि गणतान्त्रिक युगमा प्रवेश गरिसक्दासम्म पनि संविधानको व्यापक स्वीकार्यता स्थापित हुननसकेको हो। सन् १९९० सम्मका सबै संविधान राजामहाराजाबाट जारी गरिएका थिए। सन् २००७ को नेपालको अन्तरिम संविधान भने जनताका लागि, जनस्वीकृत व्यक्तिद्वारा बनाइएर जनअनुमोदित प्रतिनिधिहरूद्वारा जारी गरिएकाले नयाँ संविधान नबनेसम्म स्थापित रहिरहने सम्भावना थियो। राजनीतिक सौदाबाजी, न्यायिक अग्रसरता एवं संविधानको साटो अदालतको सर्वोच्चता प्रभावशाली भएकाले नेपाली इतिहासको पहिलो संविधान सभासँगै अन्तरिम संविधानको अर्थ, मर्म र भावनाको पनि अवसान भयो। अहिले त्यसको गातालाई धर्मग्रन्थजस्तो पूजा गरेर तजबिजी तवरले राज्य व्यवस्था चलिरहेछ। नयाँ संविधान पनि त्यसरी नै जारी भयो भने के हुन्छ? कहिले काँही प्रश्नको उत्तर स्वतः स्पष्ट हुन्छ भनेर त्यसै भनिएको होइन।
विधिको विकृति
कुनै बेला कसैको श्राद्धमा बिरालोले पिण्डको दूध जुठ्याइदिँदा त्यस जन्तुलाई बाँध्नुपर्ने पुरेतको आदेश सही थियो होला। यद्यपि, बिरालालाई कुकुरजसरी सजिलै समात्न वा बाँधेर राख्न सकिँदैन। त्यसपछि प्रत्येक श्राद्धमा बिरालो खोजेरै भएपनि बाँध्नै पर्ने प्रचलन भने कठिनाइका साथै कर्मको निरर्थकताले गर्दा पनि समाप्त भएको हुनुपर्छ। परिस्थिति अनुकूल नरहेका प्रथा सुस्तरी हराउँदै जानु स्वाभाविक पनि हो। तर, मूल उद्देश्य सान्दर्भिक रहेसम्म स्थापित विधिको औचित्य सकिँदैन।
अन्तरिम संविधानको घोषित उद्देश्य माओवादी सशस्त्र संघर्ष एवं सन् २००६ को वसन्त विद्रोहका आकांक्षा सम्बोधन हुने मुलुकको मूल कानुन निर्माण गर्न संविधान सभाको निर्वाचनमार्फत् राज्य संचालन रहेको थियो। मधेस विद्रोहका विभिन्न चरणपछि संघीयता, समानुपातिक प्रतिनिधित्व एवं समावेशी राज्य व्यवस्था राष्ट्रिय राजनीतिक कार्यसूचीका रूपमा अन्तरिम संविधानमा प्रतिष्ठापित गरिए।
श्राद्धैपिच्छे खोजेरै भएपनि बिरालो बाँधेजस्तै राजनीतिक सहमति खोज्ने नाउँमा पहिलो संविधान सभाको सान्दर्भिकता घट्दै गएर अन्ततः नेपाललाई गणतन्त्र घोषणा गर्ने ऐतिहासिक सभाको अवसानको तिथिमिति निर्धारण अदालती सर्वोच्चताको अभ्यासबाट भयो। अन्तरिम संविधानले परिकल्पनासमेत नगरेको कार्यपालिका गठन एवं नयाँ विधायिकाको निर्वाचन राजनीतिक सहमतिका नाउँमा गरिएको विधिहीनताको पराकाष्ठा थियो। अहिले संविधानको निर्देशक सिद्धान्त नै भए जसरी चर्चामा ल्याइएको चार ठूला दलबीच भएको भनिने १६ बुँदे सम्झौतालाई तजबिजी परम्पराको निरन्तरताकै रूपमा लिन सकिन्छ।
मुखै कानुनको संस्कार बलियो रहेको समाजमा शक्तिशाली व्यक्तिद्वारा लिखितम गरिएको दस्तावेजको महिमामण्डन हुनु अस्वाभाविक होइन। अदालतको सकारात्मक हस्तक्षेपले भने राष्ट्रका सर्वेसर्वा हामी नै हौँ भन्ने दम्भका साथ शासन गरिरहेको राजनीतिक वृत्तमा तत्कालका लागि भए पनि खैलाबैला मच्चिएको छ। यद्यपि, सर्वोच्च अदालतको एकल बेन्चलेे विधिविधानका सामान्य मान्यता औंल्याउनेबाहेक अरू केही गरेको देखिँदैन। यथास्थितिवादीले त्यस फैसलालाई जसरी भए पनि रोक्नैपर्ने अग्रगामी क्रािन्तका रूपमा औपचारिक तवरले नै अर्थ्याइसकेका छन्। परिवतर्ननको आशामा बसेकाहरूका लागि त्यही फैसला प्रतिक्रान्ति रोक्ने मन्त्रका रूपमा वाचन भइरहेको छ। अदालतले क्रान्ति रोक्न वा गर्न भने सत्तै्कन।
तर्क र बुँदाका परिधि बाहिरबाट हेर्ने हो भने न्यायाधीश गिरीशचन्द्र लालले एकमात्र सारभूत प्रश्न तेर्स्याएका छन्। तोकिएका विधिविधान उल्लंघन गरी जारी गरिएको संविधान स्वीकार्य ठहरिएन भने त्यसपछि उत्पन्न हुने परिस्थितिका लागि जिम्मेवार को हुने? विधि बाहिर गएर जारी गरिएको विधानलाई फगत बहुमतका आधारमा मान्य बनाउन सकिँदैन। बहुमत यथार्थ भए पनि नियति होइन।
न्यायाधीश लालले फैसलाले उब्जाएको राजनीतिक प्रश्न के हो भने संविधान सभाका सदस्य आफ्नो रोजिएको निर्वाचन क्षेत्रको बहुमत मतदाताका राजनीतिक वारिसमात्र हुन् वा देशको समग्र हितलाई प्रवर्द्धन गर्न प्रतिबद्ध जनप्रतिनिधि? वारिसमात्र हुन् भने सायद दलगत संलग्नताले राष्ट्रिय चिन्तालाई जित्छ। होइन, साँच्चिकै जनप्रतिनिधि हुन् भने जुन संविधानको प्रावधानअनुसार निर्वाचित भएका हुन् त्यसको परिधि नाघेर निर्णय गर्न सामान्य राजनीतिक नैतिकताले दिँदैन। वारिस (डेलिगेट) एवं प्रतिनिधि (रिप्रिजेन्टेटिभ) दुवै धारणाका पक्षविपक्षमा तर्क गर्न सकिन्छ। रोज्न भने एउटा पर्छ।
उद्देश्य, संभाव्य प्रभाव एवं नैतिकताका प्रश्न सँगसँगै व्यावहारिकता विषय पनि छन्। सायद १६ बुँदे सम्झौतालाई बाध्यताको परिणामका रूपमा अर्थ्याउन सकिन्छ। खास गरेर एमाओवादी वृत्तबाट त्यस्तै स्पष्टीकरणहरू प्रवाहित भइरहेका छन्। निसन्देह गणतन्त्रको संस्थाकरण पवित्र उद्देश्य हो। कुरा कहाँ गएर अल्भि्कन्छ भने संघीयता, समावेशिता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व एवं नागरिकतासमेतको अधिकार निलम्बन वा संकुचन गरेर कस्तो गणतन्त्रको संस्थाकरण गर्न खोजिएको हो? सहज बुद्धिले ठम्याउन सकिने कुरा के हो भने सारभूत उद्देश्यका विषयमा समर्पण गरिसकेपछि रूपको खासै अर्थ रहँदैन।
सार्वभौम मताधिकार, आवधिक निर्वाचन, नियन्त्रण र सन्तुलन शक्ति पृथकीकरण एवं स्थानीय सरकारजस्ता प्रजातन्त्रका पवित्र अभिव्यक्ति सन् १९८० पछि पंचायतकालमा पनि चलनचल्तीमा आइसकेका थिए। प्रजातन्त्रको पुनर्स्थापना भने परिवर्तन एवं परिष्करणबाट नभएर सडक आन्दोलनको बलमा भयो। सायद सन् १९९०का संविधान पनि समयक्रममा गणतन्त्र उन्मुख हुन्थ्यो कि? त्यसलाई बदर गर्न माओवादीले बन्दुक उठाए। संघीयता नै नभए पनि स्वायत्तताको सपना माओवादीले पनि देखाएकै थिए। त्यो पत्यारलाग्दो नठहरिएपछि मधेसवादी सडकमा ओइरिएका थिए। सार समाप्त पारिएको गणतन्त्रको संस्थाकरण शब्दजाल मात्र नभएर अरू पनि केही हो भन्ने कुरा त १६ बुँदेका हस्ताक्षरकर्ताले देशव्यापी जनसभामार्फत् संपे्रषित गर्नुपर्ने हुन्छ। प्रचण्ड बहुमत भएपछि त्यसको वैधानिक प्रदर्शन सदनमा हुन्छ भने राजनीतिक परीक्षणको ठाउँ त फेरि पनि सडक नै हो। पञ्च भेला प्रवृत्तिका भीड जम्मा गर्न महारत हासिल गरेका नेकपा (एमाले) एवं एमाओवादी महारथीका लागि त्यस्ता देशव्यापी आयोजना कुनै गाह्रो काम पनि होइन।
वाचा उल्लंघन
अन्तरिम संविधानका प्रावधानको अक्षुण्णताको प्रत्याभूति राष्ट्र र राज्य प्रमुख दुवैको संयुक्त हैसियतमा गिरिजाप्रसाद कोइरालाले गरेका थिए। ती प्रावधान अब सान्दर्भिक छैनन् भन्ने अधिकार राष्ट्र प्रमुख रामवरण यादव एवं सरकार प्रमुख सुशील कोइरालासँग छ। त्यसो हो भने त्यही अन्तरिम संविधानको बाँकी प्रावधान नमान्न असहमत जमात पनि स्वतन्त्र हुन पुग्ने छन्। त्यो भनेको विधिहीनतामात्र नभएर अराजकतालाई खुला निमन्त्रण हो। सेना र प्रहरीले राज्यको उपस्थिति जनाउन सक्छ, स्वीकार्यता स्थापित गर्न सत्तै्कन।
ढिलो अझै पनि भइसकेको छैन। संविधानलाई त कागजको खोस्टा सावित गर्न उद्यत् गणतन्त्रका स्वघोषित पहरेदारले हस्ताक्षर गरेको खेस्राका अक्षर देवदूतले ढुंगामा कुँदेका होइनन्। के गरिनुपर्छ भन्ने एकलव्य दृष्टि प्रधानमन्त्री एवं राष्ट्रपतिको कुर्सीमा राखेका राजनीतिकर्मीबाहेक, अरू सबैलाई थाहा छ। थाहा छैन भने अन्तरिम संविधान सर्सर्ती पढे पनि हुन्छ। बुझिने नेपाली भाषामा लेखिएको त्यो दस्तावेज अमूर्त छैन। सार समाप्त भएपछि रूपका लागि गरिने राजनीति दिगो हुँदैन। त्यति कुरा पनि अदालतले नै भनिदिनु पर्ने अवस्था सुखद होइन।