समावेशी कि प्रत्यक्ष निर्वाचित कार्यकारी?
१६ साउन २०७२
•
१४ मिनेट पाठ
समावेशी कि प्रत्यक्ष निर्वाचित कार्यकारी?
संविधानको मसौदामाथि सुझाव संकलनको काम सकिएपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा काठमाडौंमा ठूलै लबिङ सुरु भयो। जनताको चाहना प्रत्यक्ष निर्वाचित कार्यकारी पाइयो भनेर एमाओवादी नेता डा. बाबुराम भट्टराईले आफ्नै अग्रसरतामा अन्तरक्रियाहरु पनि चलाए।ती अन्तरक्रियामा एमाओवादीबाहेककाले पनि भाग लिए र कार्यकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको पक्षमा धारणा राखे। यो कुरालाई केही सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ स्थान दिए। प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा नियोजितरूपमा कुरा उठाइएको हो भन्ने बुझ्न भने गाह्रो छैन। किनभने यदि साँच्चिकै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जनमत आएकाले यसलाई महत्वका साथ स्थान दिइएको हो भने त्योभन्दा निकै धेरैले सुझाव दिएको धर्म निरपेक्षताको ठाउँमा हिन्दु राष्ट्र उल्लेख गर्नुपर्छ भन्ने विषयलाई किन महत्व दिइएन? एमाओवादीले संविधानमा १६ बुँदे सहमति गर्दा शासकीय स्वरूपमा राखेको 'रिजर्भेसन' स्थापित गर्नका लागि जबर्जस्त यो बहसलाई जनताका नाममा सतहमा ल्याइएको हो।

समावेशी कि प्रत्यक्ष?

यतिबेला सबैभन्दा प्रखररूपमा उठेको मुद्दा भनेको समावेशी चरित्रको राज्य प्रणाली होस् भन्ने नै हो। समानुपातिक निर्वाचन प्रणालीका आधारमा २ वटा आमचुनाव बेहोरिसकेको देशमा अब समावेशी पद्धतिले वैधानिकता मात्र हैन, राज्यको चरित्र नै समावेशी हुनुपर्छ भन्ने संस्कृति स्थापित गरिदिएको छ। त्यसो त, लोकतन्त्रको एउटा सुन्दर गहना नै हो समावेशीकरण। तर, नेपालको सन्दर्भमा लोकतन्त्रको अभ्यास गर्दा समावेशितालाई एउटा संस्कारका रूपमा ग्रहण गर्नमा केही समस्या उत्पन्न हुन पुगे। जसले गर्दा 'समावेशी लोकतन्त्र' को आवश्यकता महसुस गर्दै सबै नागरिकले आफ्नो पहिचान, अधिकार र राष्ट्र निर्माणमा भूमिका खोजी गर्न थाले। यही कुरालाई व्यवस्थापन गर्नु नै समावेशिता हो। अझ स्पष्ट भन्ने हो भने मुलुकभित्रका हरेक जाति, समुदाय र वर्गको नियन्त्रणमा राज्यका संरचना रहून् भन्ने मान्यता नै समावेशिता हो। अब यो समावेशितालाई नयाँ बन्ने संविधानमा कसरी व्यवस्थित गर्ने भन्ने चुनौती हाम्रा सामु आएको छ।

यस्तो बेलामा प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठाउनु भनेको समावेशिताको यो आममागलाई नजरअन्दाज गर्दै मुलुकलाई एक जना व्यक्तिले सञ्चालन गर्ने पद्धति स्थापनाको माग हो। आजको हाम्रो रोजाइ समावेशिता हो कि प्रत्यक्ष निर्वाचित कार्यकारी? स्पष्ट भएर बोल्नुपर्ने बेला आएको छ। यी विषय एक अर्कासँग मेल खाँदैनन्। प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा समावेशिताको व्यावहारिक अभ्यास हुन सक्दैन। नेपालको सन्दर्भमा हेर्ने हो भने २०१५ सालको आमचुनावपछि बनेको बिपी नेतृत्वको सरकार सबैभन्दा समावेशी थियो। त्यतिबेला कार्यकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था भएको भए तिनै बिपी निर्विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी हुनसक्थे। यदि त्यसो हुँदो हो त त्यसपछिको सरकार ऐतिहासिक समावेशी हुन सक्थ्यो होला त? प्रश्न उब्जन्छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रावधान माग गर्दा समावेशिता कागजी खोस्टोमात्र सावित हुन जान्छ र त्यो सभ्य संस्कृतिका रूपमा स्थापित हुन सक्दैन।

चीनको उदाहरण हेर्न सक्छौँ, त्यहाँ 'ग्रट हल अफ पिपुल' भन्ने संरचना छ। त्यहाँ चीनका सबै समुदायको प्रतिनिधित्व हुन्छ। तिब्बती भोटेदेखि चीनमा रहेका सबै समुदायको त्यहाँ प्रतिनिधित्व छ। सबै आफ्नो मौलिक भेषभूषामा त्यहाँ उपस्थित हुन्छन्। आफ्ना मौलिक भाषा प्रयोग पनि गर्छन्। यसरी हेर्दा त्यहाँ पूर्ण समावेशी देखिन्छ। रंगीचंगी देखिन्छ तर चीनको राज्यसत्तामा त्यो संरचनाको कुनै प्रभाव छैन। योजना बनाउँदैन, कार्यकारीलाई नियन्त्रण गर्न सक्दैन, बजेट पास/फेल गर्न सक्दैन, सरकारमा प्रतिनिधित्व हुन सक्दैन। अब त्यो देखावटी संरचनाको के काम? त्यो संरचना समावेशी छ भनेर कुन समुदायले गर्व गर्न सक्ला? नेपालमा पनि चीनको जस्तै संसद्लाई देख्दा समावेशी बनाएर सबैलाई त्यहीँ अलमलाइदिने र कार्यकारी प्रत्यक्ष निर्वाचित हुनुपर्छ भनी सम्पूर्ण अधिकार एक व्यक्तिमा केन्द्रित गर्ने मनसायबाट यो कुरा उठान भएको बुझ्न गाह्रो छैन। त्यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गरिरहँदा हामी समावेशी सिद्धान्तको पक्षमा छौं कि छैनौँ भनेर आफँैलाई एक पल्ट सोध्नुपर्ने हुन्छ।

अर्को कुरा पनि छ। कार्यकारी प्रत्यक्ष निर्वाचित भएमा स्थायित्व आउँछ र उसले काम गर्न सक्छ भनिन्छ। कार्यकारीमा निर्वाचित पात्रको पार्टीले संसदमा बहुमत ल्याउन सकेन भने उत्पन्न हुने परिस्थितिमा कसरी स्थायित्व हुन्छ? कुर्सीमा एक जना व्यक्ति निश्चित अवधिमा जसोतसो टिकिराख्ने कुरालाई नै स्थायित्व मान्ने हो भने फरक कुरा, नत्र झनै शक्तिको लडाइँ भएर अकल्पनीय परिस्थित निर्माण हुने र कार्यकारी तानाशाही बन्दै प्रस्तुत हुने परिस्थिति उत्पन्न हुने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। मानौँ, कुनै एक दलको उमेदवार कार्यकारी पदमा निर्वाचित भए तर संसदमा उनको दलको बहुमत पुग्ने अवस्था भएन। अब उनले संसदमा नीति तथा कार्यक्रम कसरी पेश गर्लान्? बजेट कसरी पास गर्लान्? विशेष सार्वजनिक महत्वको प्रस्ताव कसरी पास होला? यस्तो अवस्थाको सिर्जना भयो भने प्रत्यक्ष कार्यकारीले कसरी काम गर्न सक्ला? त्यतिबेला फेरि एउटा बहस सिर्जना गरिनेछ कि कार्यकारीले संसदबाट नीति तथा कार्यक्रम, बजेटलगायतका कुनै पनि कुरा पास गराउने बाध्यकारी प्रावधान हटाउनुपर्ने अनुभवले सिकायो। त्यसपछि संसदको प्रभाव र भूमिकालाई खुम्च्याउँदै कार्यकारी सर्वेसर्वा हुँदा कस्तो परिस्थिति उत्पन्न होला? सहज कल्पना गर्न सक्छौँ।

पछिल्लो समयमा स्थानीय स्तरमा सहभागितामूलक कार्यप्रणालीको अभ्यास सुरु भएको छ। विकासदेखि व्यवस्थापनमा समेत सहभागिता विस्तार भएको छ। यो कुरा अब वैधानिक व्यवस्था मात्र नभएर समाजको एउटा सुन्दर चरित्रका रूपमा स्थापित हुँदैछ। विद्यालय व्यवस्थापन समितिदेखि निर्माण उपभोक्ता समितिहरु गठन हुँदा समाजमा देखिने उत्साह र तिनलाई सहभागितात्मक बनाउनका लागि हुने कसरत हेर्दा समाजले सामूहिक नेतृत्वलाई आफ्नो अभिन्न अंग बनाएको देखिन्छ। यो रहरमात्र होइन। यो अभ्यासले परिणाम पनि राम्रो देखाएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितालाई कुनै पनि संरचनाको आधारभूत विषयवस्तु बनाएको छ। देशको नियम कानुन सहज नहुँदाका अप्ठ्याराबाहेक सबै कुरामा सहभागितामूलक नेतृत्व प्रणालीले समाज परिचालनमा सकारात्मक परिणाम देखाइरहेको छ। देश निर्माणको सन्दर्भमा पनि यही कुरा हुन्छ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आवाज उठ्नुको एउटा कारण भनेको जनतामा जागेको निराशा नै हो। देशमा केही हुन सकेन भन्ने निराशाजनक भावनाको विकास हुँदै गर्दा यस्तो भयो भने केही हुन्छ कि? भन्ने भावना जाग्नु अस्वाभाविक पनि होइन। संसदीय प्रणाली खराब कि मुलुकमा राजनीतिक चरित्रको निर्माण हुन नसक्नु समस्या? यो कुरामा बहस हुनै दिइएन। सरकारको अस्थिरता र सरकार टिकाउन हुने अवाञ्छित खेलहरु संसदीय प्रणालीका नकारात्मक पक्ष हुन्। यो नकारात्मकतालाई मात्र प्रयोग गर्ने चरित्र त नेताहरुको नै हो। यस्तो चरित्रमा लडिबुडी गरेका नेतृत्वले प्रत्यक्ष निर्वाचित कार्यकारी पद्धतिको पनि सकारात्मकतालाई मात्र पछ्याउलान् भनेर कसरी विश्वास गर्न सकिन्छ? प्रत्यक्ष कार्यकारी चाहिन्छ भन्ने वकालत गर्नेहरुको बलियो तर्क के छ भने एक अवधि ढुक्कसँग काम गर्न पाइन्छ। यो ढुक्कसँग काम गर्न पाइन्छ भन्ने मनोविज्ञानपछाडिको आशय केलाउने हो भने लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्दै व्यक्तिमा सबै अधिकार केन्द्रित गर्ने आशय प्रष्टै बुझ्न सकिन्छ। सरकारलाई स्थिर बनाउने र सांसद खरिद–बिक्री जस्ता अशोभनीय गतिविधिहरु रोक्ने उद्देश्यले नै संविधानको मस्यौदामा संसदीय प्रणालीमा सुधार ल्याउन केही व्यवस्था गरिएका छन्। पटक पटक अविश्वास प्रस्ताव ल्याउन नपाउने र अविश्वास प्रस्ताव ल्याउँदा वैकल्पिक प्रधान मन्त्रीको नामसमेत प्रस्तुत गर्नुपर्ने प्रावधानले संसदीय पद्धतिका नकारात्मक पक्षलाई अभ्यासमा ल्याउनबाट रोक्ने विश्वास गर्न सकिन्छ। निराशावादी सोचका आधारमा सुझाइएको पद्धति कसरी उत्तम हुन सक्ला? समाजले समावेशीको माग गरिरहेका बेला कसरी एक व्यक्तिकेन्द्रित शासन उचित मानिएला? समाजले सहभागितामूलक अभ्यासलाई बलियो बनाइरहेको अवस्थामा कार्यकारिणी तहमा कसरी असहभागितामूलक पद्धति स्थापित गर्न सकिएला? त्यसैले सोंचौँ। हतारमा निर्णय गर्दा हातको माछो फुत्काएर ठूलो माछा पकड्ने चाहनाले डुबाएको अवस्थामा मुलुक पुग्नेछ। स्थायित्व व्याख्याको आडमा निरंकुशताको ढोका खुला गर्ने मनशायलाई रोक्नु नै उचित हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस