नयाँ अभियानको स्रोत प्रदेश
०५ भदौ २०७२
•
१२ मिनेट पाठ
नयाँ अभियानको स्रोत प्रदेश
संघीयतामा प्रवेश गर्दैगर्दा प्रदेशको संख्या बढाइएको छ। तर पनि सबैको चित्त बुझेको छैन। ८ प्रदेशको कुरामा दलहरूबीच सहमति हुँदा पनि विरोधका स्वर सुनिएकै थिए। ६ प्रदेशको खाका प्रस्तुत हुँदा पनि विरोध कायमै रह्यो।

अहिले फेरि ७ प्रदेशमा जाँदै गर्दा पनि ती स्वर सुस्ताएका छैनन्। यतिबेला त प्रमुख ४ दलमध्येको एउटा घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले निर्णयप्रति असहमति जनाउँदै चलिरहेका आन्दोलनलाई 'नैतिक समर्थन' गर्दै आफू पनि सडक र सदनमा आन्दोलित हुने घोषणा गरेको छ। संघीयताको संख्या र सीमांकन गर्दाका यी प्रतिक्रिया हेर्दा सर्वसम्मतरूपमा छिनोफानो हुन सक्ने देखिँदैन। संघीयता कुनै विज्ञले नभई नेताहरूले बनाएका कारण यसमा वैज्ञानिक आधार कम छन् र किन यसरी सीमांकन भयो भनी प्रश्न गर्दा सन्तोषजनक जवाफ प्राप्त हुन सकेको छैन। त्यसकारण अब सवाल–जवाफको कुराभन्दा पनि संघीयताको व्यवस्थापन र संघप्रति सबै नागरिकको अपनत्व जगाउने अभियानको खाँचो छ।

भारतको संघीयताको कुरा गर्दा, त्यहाँ फरकफरक राष्ट्रियताका बीचमा बलियो संघ निर्माण भएको थियो। यस्तो अवस्थामा संघीयता बनाइरहदाँ त्यहाँ पनि संघीयता सर्वस्वीकार्य हुन सकेन र प्रदेशको संख्या थपिँदै आएको छ। यहाँ त एउटै राष्ट्रियतालाई विभाजन गरिँदै छ। सँगै मिलेर बसेको परिवारलाई अलग बनाइँदै छ। चाडपर्व मनाउने र सांस्कृतिक अन्तरघुलनका आधारमा निर्माण भएको राष्ट्रियताको भावनालाई फरकरूपले सोच्नुपर्ने अवस्था निर्माण गर्ने गरी संघीयता बनाइँदैछ। विश्वमा अब नेपालसहित झन्डै ३० राष्ट्र संघीय प्रणाली अपनाउने देशअन्तर्गत रहेका छन्। त्यसमध्ये नेपाल एउटा यस्तो देश हो, जो अन्य देशभन्दा पूर्णरूपले भिन्दै प्रक्रिया र पृष्ठभूमिका आधारमा संघीयतामा प्रवेश गर्दैछ। विकासमा हुँदै आएका भेदभावका कारण जन्मिएका द्वन्द्व निरूपण हुने विश्वासका साथ एउटै राष्ट्रलाई विभाजन गरेर संघीयतामा प्रवेश गरेको नेपाल एउटा मात्र देश हो। त्यसकारण नेपालको संघीयताको व्यवस्थापनमा अन्यत्रको अनुभव काम लाग्दैन। हामीले आफ्नै विवेक र दूरदर्शिता प्रयोग गरी संघीयताको व्यवस्थापन गर्न सक्नुपर्छ। यस्तो अवस्थामा प्रदेशहरू निर्माण भैरहँदा, त्यसको सीमांकन गरिँदा विरोधका स्वर घन्कनु स्वाभाविकै हो। यी विरोधका स्वरलाई व्यवस्थित र टिकाउ प्रदेश निर्माणका लागि देखाइएका चासोका रूपमा ग्रहण गर्नुको विकल्प पनि छैन। यी स्वर संघीयतामा प्रवेश गर्दाका एउटा चरण सम्पन्न भएको सूचक नै हुन्। सबैको असन्तुष्टिलाई सम्बोधन गर्न थाल्ने हो भने हामी कहीँ पनि पुग्न सक्दैनौ। त्यसकारण अब अविवेकी, अवैज्ञानिक र अदूरदर्शी भए तापनि प्रदेशहरूमा भाइचाराको सम्बन्ध बढाउन, प्रशासनिक व्यवस्थापन मिलाउन, भौतिक पूर्वाधार निर्माणको सोच विकास गर्न र प्रत्येक नागरिकमा ...मेरो प्रदेशलाई बलियो र आत्मनिर्भर बनाउन म योगदान गर्न सक्छु' भन्ने भावनाको विकास गर्नेतर्फ अग्रसर हुने जिम्मा इतिहासले सबै नागरिकको काँधमा सुम्पिएको छ। यो जिम्मेवारी बहन गर्नका लागि सबैलाई समन्वय गर्ने असल संयोजकको आवश्यकताबोध पनि समयले गराएको छ। इतिहासले दिएको दायित्व र समयले उपलब्ध गराएको मौकालाई सदुपयोग गर्दै नयाँ नेपाल निर्माणको अभियानमा उठ्नुपर्ने हातको अभाव नहोस् भन्ने चाहना आमनेपाली मात्र हैन, नेपालका शुभेच्छुक राष्ट्रको रहेको तथ्य जगजाहेर नै छ।

अब तर्क हैन, कर्म गर्ने बेला भएको छ। अब बिभाजनका रेखा कोर्ने हैन, ती रेखा मेटेर हातेमालो गर्ने बेला आएको छ। अब ध्वंश हैन, विकासको मूल फुटाउने समय आएको छ। नेताहरूले वैज्ञानिक आधारमा नभएर आफ्नो राजनीतिक स्वार्थका आधारमा तय गरेको प्रान्तलाई 'पोलिटिकल इन्ज्वाय' गर्ने थलोका रूपमा मात्र रहन नदिएर संमृद्धशाली बनाउनका लागि नागरिकस्तरवाट नवीन सोचको विकास गर्ने समय आएको छ। बलियो नेताको अभावमा कमजोर प्रतित भैरहेका प्रदेशहरूलाई सबैभन्दा सुन्दर बनाउनका लागि बलियो आत्मविश्वास आवश्यक पर्छ। यसका लागि विरोधका स्वरहरूमा रम्नुभन्दा भएका सम्भावनाहरूको खोजी गर्दै तिनको अधिकतम उपयोग गरेर अगाडि बढ्नु श्रेयस्कर हुन्छ। यो आवश्यकताले प्रदेशहरूमा नयाँ नेतृत्व स्थापित गर्ने सम्भावनाको विकास भएको छ। अहिलेको सबैभन्दा आशालाग्दो कुरा भनेको यही हो। विभिन्न नाममा नागरिकलाई विभाजन गरेर राजनीतिक केन्द्रमा आफूलाई राख्ने प्रवृत्तिका अनुयायीबाट प्रदेशहरूको व्यवस्थापन हुन सक्दैन। प्रदेश निर्माणका क्रमका केही चरित्र हेर्न सक्छौँ, प्रधान मन्त्री भैसकेका नेताले अखण्डको नारा लगाए। सोही उच्च ओहोदामा आसिन भैसकेका अर्का नेताले मधेसलाई आफ्ना लागि असहयोगी माने, बहालवाला प्रधान मन्त्रीले अवैज्ञानिक बाँडफाँटलाई रोकेर वैज्ञानिक बनाउनका लागि नेतृत्व गर्न सकेनन्। बलिया नेता भएको क्षेत्रले ठाकठूक सीमाना मिलाएर आफूलाई निर्विकल्प बनाउने प्रयास गर्योभ, यिनै प्रवृत्तिका काण प्रदेशहरूको संख्यासमेत तल–माथि हुन पुग्यो। यी प्रवृत्तिको हालीमुहाली हुँदा र बलियो नेताको उपस्थिति नहँुदा प्रदेश २ र प्रदेश ५ कमजोर बनाइए। ४ वटा जिल्ला टुक्राइयो, त्यसमध्ये ३ वटा टुक्रा ५ नं. प्रदेशमा हालियो। एउटा टुक्रा २ नं. प्रदेशमा। यसरी पहिचान र सामर्थ्यका आधारमा ९ बुँदा तय गरी त्यसैलाई संघीयताको आधार भनेका दलहरूले यतिबेला ती बुँदा स्मरण नै गर्नै चाहेनन्। अखण्डवादले थारूहरूको मागलाई सम्बोधन हुन दिएन। यस्तो सोच बोकेर प्रदेश निर्माण गर्ने नेतृत्वको विकल्प अब प्रदेशहरूमा जन्मने आधार देखिन थालेका छन्।

अब १० वर्ष राजनीतिक नाराबाजी कम गरौँ, सम्भावनाको खोजी, त्यसका आधारमा योजना निर्माण र बलियो इच्छाशक्तिका साथ ती योजनाको कार्यान्वयनका लागि अगाडि बढ्ने काम गरौँ। कतारजस्तो मरुभूमि सबैभन्दा धेरै प्रतिव्यक्ति आयस्रोत भएको मुलक बन्न सक्दो रहेछ, गुजरात आफ्नै बलबुतामा अहिलेको अवस्थामा आउन सक्दो रहेछ, सिंगापुरको रोमाञ्चक अग्रगमनको बाटो हामी पनि पछ्याउन सक्छौँ। हिरोसिमा र नागासाकीको तहसनहसपछि जापान उठेझैँ अवैज्ञानिक प्रदेश निर्माणका क्रममा महसुस भएको तहसनहसका बीचबाट ७ वटै प्रदेश पनि जापानझैँ बन्न सक्छन्। त्यसका लागि बलियो इच्छाशक्ति र त्यो इच्छाशक्तिले निर्माण गरेको विश्वाशिलो वातावरण पहिलो आधार हो। नागरिकको अधिकार प्रयोगको सुनिश्चिततासँगै दण्डहीनताको उन्मूलन गर्ने हिम्मत दोस्रो कुरा हो। तेस्रो कुरा भनेको अबको अभियानको नारा छनौट हो। समयले प्रमाणित गरिदिएको छ, यो शताब्दिको लोकतान्त्रिक नारा भनेको विकास र सुशासन नै हो। यो नाराको मर्म बुझेको र यसबाट मात्रै लोकतान्त्रिक पद्धतिले नागरिक जीवन संस्कृतिको रूप धारण गर्नसक्छ भन्ने कुरामा 'कन्भिन्स्ड' नेतृत्वले मात्र संघीयताको व्यवस्थापन र स्वार्थमा बाँडिएका प्रदेशमा समृद्धिको अभियान थाल्न सक्छ।

प्रदेश विभाजन विकासको मूल फुटाउने र हरेक प्रकारका उत्पीडन तथा द्वन्द्वलाई निरूपण गर्ने महत्वाकांक्षी लक्ष्यका साथ स्वीकारिएको विषय हो। त्यही लक्ष्य प्राप्त गर्नका लागि संघीय संविधान निर्माणमा मुलुक होमिएको हो। जाति, भाषा, भूगोललगायत आर्थिकरूपले समेत उत्पीडनमा परेका जनताको हित गदैं सिंगो नेपालको समान विकासको चाहनालाई मूर्तरूप दिनका लागि संघीयतालाई एउटा माध्यम बनाउन मुलुक तयार भएको हो। नेतृत्वको स्वार्थपूर्तिका लागि प्रदेश विभाजनको पक्ष र विपक्षमा बाँडिएर सडक तताउने, टायर बाल्ने कामलाई सबै नागरिकले अस्वीकार गर्नु जरुरी छ। नयाँ संरचनाका रूपमा रहेका प्रदेशहरू टायरको कालो धुवाँले प्रदुषित नहोऊन्, नयाँ प्रदेशका सडकहरू जुलुसको भार थप्ने आधारमात्र नहोऊन्। यसतर्फ अब नागरिकको अग्रसरता जरुरी छ। नयाँ सोच, नयाँ नेतृत्व र नयाँ अभियानको स्रोतका रूपमा प्रदेशहरूलाई स्वीकार गरौँ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस