क्यान्सर उपचारमा नयाँ प्रयोग
१७ जेष्ठ २०७९
•
७ मिनेट पाठ
क्यान्सर उपचारमा नयाँ प्रयोग
संसारमा प्रतिवर्ष १ करोड मानिस अर्बुद रोगका कारण मर्छन्। दशकौँको अन्वेषण अनि रोग निको पार्न खरबौँ अमेरिकी डलर खर्चिँदा पनि क्यान्सरका कारण मृत्यु हुनेको संख्या घट्न सकेको छैन। अर्बुद रोगको जटिलताबारे विज्ञानले भेद पाउन नसकेको यथार्थ क्यान्सर वैज्ञानिक स्वीकार गर्छन्। महारोग पूर्ण बिसेक पार्न असंभव ठान्छन् विज्ञ। अर्बुद रोग निर्मुल पार्न असंभव देखिएपछि अनुसन्धानको पाटो फेरिएको छ।




रोग निको पार्ने दिशामा केन्द्रित हुनुको बदला क्यान्सरका कारण मर्नेको संख्या कसरी घटाउने, अर्बुद रोगीको आयु के गरे बढ्ला, अनि बिरामीले कसरी स्तरीय जीवन व्यतीत गर्न सक्छन् त भन्ने कुरामा अन्वेषणकर्ता घोत्लन थालेका छन्। एउटा क्यान्सरका लागि विकास गरिएको ओखतीले रोगी पिच्छे फरक–फरक नतिजा देखाउने गरेका कारण महारोगको अनुसन्धानमा सबै हिच्किचाउन थाले।

विकसित राष्ट्रहरू नै नतिजा नदिने क्यान्सर अनुसन्धान प्रति उदासीन भए। मुनाफा निश्चित भएमात्र लगानी गर्ने फर्मास्युटिकल कम्पनीहरूसँग प्रतिफलको संभाव्यता थोरै भएको अर्बुद रोगको अनुसन्धानमा धेरै अपेक्षा गर्नुभएन नै। त्यसैले धेरै रकम लगानी गरेर नवीन अन्वेषण गर्नुको बदला विगतमा हासिल भएका वैज्ञानिक उपलब्धिलाई परिमार्जन गरी अर्बुद रोग निदानमा केही राम्रो गर्न सकिन्छ कि भन्ने धारणा आयो। पुरानो औजारलाई परिमार्जन गरी क्यान्सरको निदानमा हासिल भएका तात्कालीन उपलब्धिको चर्चा गर्नु यो लेखको उद्देश्य हो।

क्यान्सर उपचारका लागि रेडिएसन थेरापी अथवा रेडियो थेरापी (विकिरण चिकित्सा) लामो समयदेखि प्रयोगमा छ। बिकिरण चिकित्सामा एक्स रेलगायतका विभिन्न किसिमका रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थ प्रयोग गरिन्छ। विकिरण चिकित्सामा प्रयोग हुने रेडियोधर्मी पदार्थले प्राकृतिकरूपमै शक्तिशाली रेडियो इमिसन (रेडियो उत्सर्जन) पैदा गर्छ।

रेडियो उत्सर्जनको शक्तिका कारण समिपमा रहेका वस्तुहरू क्षतविक्षत हुन्छन्। रेडियो इमिसनको संसर्गमा जीव पर्दा कोस (सेल)का अणुवांसिक पदार्थ (डिएनए) छिन्नभिन्न हुन्छ। अणुवांशिक पदार्थ नास भएपछि कुनै पनि कोस बाँच्न सक्दैन। खरबौँ कोस मिलेर मानव शरीर बन्ने भएकाले रेडियोधर्मी पदार्थको संसर्ग हाम्रा लागि हानिकारक हुन्छ।

अब क्यान्सरको चरित्र हेरौँ। हाम्रो शरीरमा खराब चरित्रका कोसहरूको उत्पत्ति हुनु नै क्यान्सरको मुख्य कारक हो। शरीरमा यसै कारणले अर्बुद रोगका कोसहरू उत्पादन हुन्छ भन्ने सत्य तथ्य विज्ञानसँग हालसम्म उपलब्ध छैन। यद्यपि क्यान्सरका कोसहरू उत्पादन हुन सक्ने हजारौँ मार्गबारे भने वैज्ञानिकहरू सचेत छन्। तर, सबै बाटा थुनेर क्यान्सरको निराकरण संभब छैन। 

धेरै छिटो झांगिने वनमाराले केही समयमै सारा जंगल विनाश गरेझै क्यान्सरजन्य कोसहरूसँग पनि अत्यधिक गतिमा बढ्न सक्ने क्षमता हुने भएकाले शरीरका असल सेललाई खराब कोसले दबाउन थाल्छ। हामीले खाएका खाने कुरा असल कोसले लिन नपाउँदै क्यान्सरजन्य सेलले हडप्न पुग्छ। त्यसका अतिरिक्त क्यान्सरस सेलले हाम्रो शरीरका नियमित बायोलोजिकल पद्धतिलाई हस्तक्षेप गर्छ। जैविक विधिमा प्रहार भएपछि हामी मर्छौँ। तसर्थ, क्यान्सर लागेको मानिसलाई रोगको सास्ती कम गर्न अर्बुद रोगका कोसलाई अविलम्ब विनाश गर्न आवश्यक हुन्छ। क्यान्सर विनाशका लागि बीसौँ शताब्दीको पूर्वाद्र्धमै रेडियो थेरापीको प्रयोग सुरु भयो।

क्यान्सर कोसका अणुवांशिक पदार्थलाई रेडियोधर्मी पदार्थले उत्पादन गर्ने शक्तिशाली उत्सर्जनले विनाश गर्ने भएकाले विषाक्त सेलहरू मासिन्छन्। तर क्यान्सरका कोस शरीरका अड्गमा छुट्टै बस्दैनन् बरु असल सेलसँग घुलमिल भएर रहन्छन्। फोक्सो क्यान्सर लागेको खण्डमा विषाक्त र असल कोसहरू सराबरी हिसाबले फोक्सोमा हुन्छन्। क्यान्सर कोसलाई मात्र लक्षित गरी मार्न कठिन हुन्छ। लामो समयदेखि नै क्यान्सरको इलाजमा रेडियो थेरापी प्रयोग गरियो। यो उपचार विधिमा फोक्सोको क्यान्सर लागेको मानिसको छातीबाट रेडियोधर्मी पदार्थले सेकिन्छ। उक्त प्रक्रियामा खराब र असल दुवै किसिमका कोस मर्छन्।

बाहिरबाट रेडियो एक्टिभ पदार्थले प्रशोधन गर्दा अन्धाधुन्ध हिसाबले कोस मरे, बिरामीको शरीर जीर्ण भयो। अनि, पछिल्ला दिनमा रेडियोधर्मी पदार्थ रक्तसञ्चार, खान्कीलगायतका विभिन्न विधिमार्पmत शरीरमा हाल्ने प्रयास थालियो। तर ती विधिले समेत क्यान्सरका कोसलाई छानेर मार्न सकेन। रेडियोधर्मी पदार्थलाई नियन्त्रितरूपले क्यान्सरका कोसलाई मात्र प्रहार गर्न सक्ने गरी शरीरभित्र पठाउन सके क्यान्सर इलाजमा ठूलै सफलता हासिल हुन्थ्यो भन्ने सोच आयो। त्यसै क्रममा धेरै वर्षको अन्वेषणपछि वैज्ञानिकहरूले रेडियो कन्जुगेट उपचार विधि प्रचलनमा ल्याए। यो उपचार विधिले रेडियोधर्मी पदार्थलाई छानेर क्यान्सरजन्य कोसमा पुर्याउने काम गर्ने भएकाले सामान्य कोसलाई बेदाग राखी अर्बुद रोगलाई मात्र मास्ने भएकाले महारोगको इलाजमा नवीन आयाम थपिने आशा गरिएको छ। अब रेडियो कन्जुगेटले कसरी काम गर्छ त?

क्यान्सरका कोसहरू अन्य सामान्य सेल भन्दा फरक चरित्रका हुन्छन्। अर्बुद कोसले विषाक्त एन्टिजिन उत्पादन गर्छ। एन्टिजिन र एन्टिबडीको सम्बन्ध साँचो र ताला जस्तो हुन्छ। एक एन्टिजिनलाई विशेष चरित्रको एन्टिबडीले मात्र चिन्छ, संसर्गमा आउँछन्। हाम्रो शरीरमा प्राकृतिकरूपले नै हजारौँ किसिमका विषाक्त एन्टिजिन अनि असंख्य एन्टिबडी हुन्छन। त्यस्तै अर्बुद रोग लागेको मानिसको शरीरमा फरक चरित्रको क्यान्सरजन्य एन्टिजिन हुन्छ। उदाहरणका लागि फोक्सोको क्यान्सरले उत्पादन गर्ने र कलेजोको क्यान्सरले उत्पादन गर्ने एन्टिजिन फरक फरक हुन्छन् अनि तिनीहरूलाई पहिचान गर्न सक्ने एन्टिबडी पनि फरक भए। 

रेडियो कन्जुगेट उपचार विधिमा एन्टिजिन, एन्टिबडी तथा रेडियोधर्मी पदार्थको चरित्रलाई उत्खनन गरिएको छ। ओखतीको एउटा छेउमा रेडियोधर्मी पदार्थ हुन्छ भने अर्को भागमा क्यान्सर कोसले उत्पादन गर्ने एन्टिजिनलाई चिन्ने चरित्रको एन्टिबडी राखिन्छ। जसै रेडियो कन्जुगेट मेडिसिन रोगीको शरीरमा हालिन्छ एन्टिजिन एन्टिबडीको विशेष संबन्धका कारण ओखती सिधै क्यान्सरजन्य कोसमा गएर टाँसिन्छ।

जब ओखती अर्बुद कोसको समिपमा पुग्छ मेडिसिनको अर्को छेउमा रहेको रेडियोधर्मी पदार्थले उत्सर्जन विधिमामार्फत क्यान्सर सेलको अणुवांसिक पदार्थलाई नास पार्छ। डिएनएमा क्षति पुगेपछि क्यान्सर सेलहरू मर्छन्। यसरी रेडियो कन्जुगेट विधिमार्फत क्यान्सरको उपचार गर्दा असल कोसलाई कुनै आघात नपुर्याइकन बिरामीलाई अर्बुद रोगबाट मुक्ति दिन सकिन्छ।

प्रकृतिमा धेरै किसिमका रेडियोधर्मी पदार्थ छन्। भिन्न रेडियोधर्मी पदार्थले फरक चरित्रको विकीरण पैदा गर्छन्। कुनै रेडियो एक्टिभ पदार्थले बेटा अनि कुनैले अल्फा नामको विकिरण उत्पादन गर्छ। बेटा र अल्फा रेडिएसनको ऊर्जा शक्ति फरक हुन्छ। बेटा रेडिएसन उत्पादन गर्ने रेडियोधर्मी पदार्थ प्रयोग भएको रेडियोकन्जुगेटले ठूलो संख्यामा कोसहरू मार्छ भने अल्फा उत्पादन गर्ने मेडिसिनले सानो संख्यामा कोसहरू विनाश गर्छ। कस्तो किसिमको क्यान्सरको इलाज गर्ने हो त्यसै हिसाबले विकिरणको छनोट गरिन्छ। तुलनात्मकरूपमा सानो भागमा फैलिएको आँखाको क्यान्सरको इलाजमा अल्फा विकिरण लाभप्रद् हुन्छ भने शरीरको ठूलो हिस्सामा फैलिएको छालाको क्यान्सरको इलाजमा बेटा रेडिएसन प्रभावकारी हुने देखियो।

संयुक्त राज्यको औषधि अनुगमन निकाय फुड एन्ड ड्रग्स एडमिन्सट्रेसनले हालैका दिनमा रेडियो कन्जुगेट विधिमा आधारित दुई ओखती लुटाथेरा र पल्भिक्टो क्यान्सरको इलाजमा प्रयोग गर्ने स्वीकृति दियो। सीमित रोगीमा गरिएको परीक्षणले रेडियो कन्जुगेट विधिमा आधारित ओखतीले सामान्य कोसमा कुनै प्रतिकूल असर नपारी क्यान्सरजन्य सेललाई विनाश गरेको देखियो। प्रारम्भिक चरणमा आएका नतिजा आशालाग्दो देखिए पनि रेडियो कन्जुगेट ओखतीले के सबै किसिमको क्यान्सरलाई काम गर्ला त भन्ने प्रश्नको उत्तर सहज छैन। 

सयौँ किसिमका क्यान्सरले मानिस समाजलाई संक्रमण गरेको देखियो। प्रत्येक क्यान्सरले फरक फरक किसिमको एन्टिजिन उत्पादन गर्छन्। तसर्थ, प्रत्येक क्यान्सरको इलाजका लागि फरक फरक एन्टिबडी भएको रेडियो कन्जुगेट ओखती बनाउनुपर्ने हुन्छ। अझ त्यो भन्दा पनि जटिल कुरा त एउटै क्यान्सरका कोसहरूले समेत कहिलेकाहीँ फरक–फरक किसिमको एन्टिजिन उत्पादन गरेको देखियो। उदाहरणका लागि फोक्सोको क्यान्सर लागेको बिरामीको अर्बुदजन्य कोसको परीक्षण गर्दा तिनीहरूले विभिन्न किसिमका एन्टिजिन उत्पादन गरेको देखियो।

त्यस्तो अवस्थामा एउटा एन्टिजिनलाई मात्र लक्ष गरी ओखती परीक्षण गर्दा सीमित संख्यामा मात्र क्यान्सरका कोसहरू मर्छन्। परिणाम त बिरामीलाई केही सन्चो भए जस्तो देखिए पनि रोगबाट मुक्ति पाउन गाह्रो हुने देखियो। यद्यपि एकै किसिमको एन्टिजिन मात्र उत्पादन गर्ने चरित्रको क्यान्सरको उपचारमा भने रेडियो कन्जुगेट विधि लाभप्रद् हुने देखियो।

क्यान्सरलाई पूर्णरूपमा नियन्त्रण गर्न सकिन्छ भन्ने आशा खासै छैन। अहिलेको अपेक्षा भनेको क्यान्सरका रोगीलाई स्तरीय जीवनसहित अलिकति आयु थप्नु नै हो। रेडियो कन्जुगेट विधिले केमोथेरापी तथा रेडियोथेरापी जस्तो असल कोसलाई दख्खल नदिइकन विषाक्त अर्बुद कोसलाई मात्र प्रहार गर्ने भएकाले यो उपचारका क्रममा बिरामीले प्रतिकूल स्वास्थ्य समस्या खेप्नुपर्दैन। यो उपचार विधिमा केमोथेरापीपछि कपाल झर्ने, शरीर शिथिल हुने जस्ता समस्या देखिँदैन। रेडियो कन्जुगेट उपचार पद्धतिले क्यासर उपचारमा नया आयाम थप्ने संभावना देखिएको छ।
अर्को समाचार
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
०५ फागुन २०८१
•
२ मिनेट पाठ
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ। नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि आइतबार प्राप्त गरेको हो।




स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको जानकारी दिए। विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो। नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो।

सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओको संयुक्त पहलमा संसारभरका क्यान्सर पीडित बालबालिकाको जीवनरक्षक औषधिमा पहुँच सुनिश्चित गर्न ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स सन् २०२१ मा स्थापना गरिएको हो। सरकारले गत मङ्सिर १ गतेबाट लागू हुने गरी चारवटा अस्पतालबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ।

यी औषधिले भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाले निःशुल्क पाउने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए। डब्लुएचओका अनुसार नेपालमा हरेक वर्ष करिब नौ सय नयाँ बालबालिकामा क्यान्सर देखापर्ने गरेका छन्। औषधि अभाव र विभिन्न चुनौतीका कारण एकतिहाइ बालबालिकाले मात्र उचित उपचार पाउने गरेको बताइएको छ।  

सन् २०२० मा नेपाल डब्लुएचओको ‘ग्लोबल इनिसीएटिभ अफ चाइल्डहुड’ क्यान्सरको प्राथमिकतामा परेको थियो।  सन् २०२२ मा नेपाल ग्लोबल प्लेटफर्ममा सहभागी हुन छनोट भएका विश्वभरका छ देशमध्ये एक र विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एक मात्र राष्ट्र बनेको थियो।

स्वास्थ्य मन्त्रालयले सन् २०२४ को मार्चमा उक्त कार्यक्रम सञ्चालन गर्न सहमतिपत्रमा हस्ताक्षर गरेको थियो। सहमतिअनुसार नेपालले बालबालिकाको क्यान्सर उपचारका लागि पाँच वर्षसम्म निरन्तर रूपमा ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधि निःशुल्क प्राप्त गर्नेछ।

डब्लुएचओका अनुसार नेपालमा क्यान्सर पीडित बालबालिकाको बाँच्ने सम्भावना दर हाल ३० प्रतिशतभन्दा कम छ।  जबकि उच्च आय भएका देशमा दर ८० प्रतिशतभन्दा बढी छ। रासस
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस