अवमाननाले उब्जिएका जटिलता
२१ असोज २०७२
•
१८ मिनेट पाठ
अवमाननाले उब्जिएका जटिलता
आजभोलि नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली साह्रै छटपटीमा छन्। उनको व्यग्रताका कारणहरू केलाउन कठिन छैन। जुनसुकै कारणले भए पनि यसपटक उनले आफ्नो तस्बिर सिंहदरबारमा झुन्ड्याउन पाएनन् भने त्यो अवसर यस जुनीमा अर्कोपटक पाउने सम्भावना अत्यन्त कम छ। आफ्नो महत्वाकांक्षाका लागि जे पनि भन्न र गर्न पछि नहट्ने राजनीतिकर्मीका लागि मुखको गाँस गुमाउनुपर्ने जस्तो त्रासदी अरू केही हुन सत्तै्कन। त्यसैले पनि उनी अत्यन्त व्याकुल छन्। उनको मनःस्थिति परितापले ग्रस्त छ।व्याकुलता सँगसँगै अवसादको मात्रा पनि ओलीमा कम छैन। भारतीय संस्थापनको परम्परागत प्रियपात्र उनी थिए। तर जब भारतीय अग्रसरतामा सरकार गठन गरिने अवस्था उत्पन्न भयो त्यसको नेतृत्व गर्ने अवसर भने माधव नेपालले पाए। पहिलो संविधान सभाको निर्वाचन त दुवैले हारेका नै थिए। मनोनयनको ढोका भने ओलीका लागि खुलेन। र, उनी बाहिर परे। पछुतो मानवीय प्रवृत्ति हो।

काठमाडौंको स्थायी सत्तासँग पनि झलनाथ खनालका तुलनामा ओलीकै सामिप्य बढी थियो। सरकार बनाउने बेलामा भने उद्यमीव्यापारी, सुरक्षा संयन्त्र तथा प्रशासनिक अधिकारीहरूसँगको उनको घनिष्ठ उठबस कुनै काम लागेन। सत्रपटकको प्रधानमन्त्री निर्वाचनको नाटक मञ्चनपछि पनि उनले खेलमा सामेल हुने मौकासमेत पाएनन्।

संविधान सभाको दोस्रो निर्वाचनपछि ओलीलाई पुष्पकमल दाहालले पत्याइदिएका भए प्रधानमन्त्रीका रूपमा सुशील कोइराला निर्विकल्प छटोट हुनसक्ने अवस्था थिएन। आफूलाई होच्याइएको तुस ओलीले वामदेव गौतमलाई गृहमन्त्री बनाएरै मेटाए। त्यस निर्णयका अनपेक्षित प्रभावहरूबाट भने ओली अझै मुक्त हुनसकेका छैनन्। शङ्कास्पद व्यापारीहरूसँगको सम्बन्धले गर्दा गौतमको छवि सफा छैन। विवादास्पद राजनीतिकर्मीलाई गृह मन्त्रालयजस्तो संवेदनशील जिम्मेवारी सुम्पनुपर्ने अड्डीमा अन्ततः उनी सफल भए पनि त्यसको अपयशको भागीदारसमेत एमाले अध्यक्ष ओली स्वतः हुने नै भए। त्यो बोझ उनको पिठ्युँमा अझै छ।

पटकपटक मुखमा पर्न लागेको गाँस खोसिएकाले होला अध्यक्ष ओलीको कुण्ठा पराकाष्ठामा पुगेको छ। उनका हाउभाउ, भाषा, बोलीवचन र व्यवहारमा परपीडक प्रवृत्ति स्पष्ट झल्किरहेको हुन्छ। अरूलाई होच्याउन पाउँदा उनी रमाउँछन्। उपहास उनका अभिव्यक्तिहरूको विशिष्ठ शैली हुनगएको छ। स्थायी सत्ताको विरोधमा उनी बिर्सेर पनि मुख खोल्दैनन्। मधेसी, महिला एवं दलितको खिसी गर्ने मौका भने सकभर छुटाउँदैनन्। उनको 'माका फुइँ' तुक्का सम्भवतः जनजातिप्रति लक्षित थियो। इतिहासकै सबैभन्दा विशाल मानव साङ्लोलाई उनले 'माखे सांग्लो'का रूपमा खिल्ली उडाएको भने मधेसीलाई अपमानित गर्नका लागि हो।

औपचारिक शिक्षा कम भएको कारण देखाई कसैकसैले ओलीको अज्ञान भन्दै उनलाई शङ्काको लाभ दिने गर्छन्। तर उनका तीता टिप्पणीहरू तात्क्षणिकजस्ता लागे पनि सुविचारित हुन्छन्। अङ्ग्रेजीमा 'लुम्फेन बुर्जुवा' भनिने उद्दण्ड निम्न मध्यम वर्ग उनका असंयमितजस्ता सुनिने अभिव्यक्तिहरूको लक्षित समूह हुने गर्छ। मूलतः पहाडी बाहुनहरूको त्यो समूह उनका प्रत्येक टिप्पणीमा थपडी बजाउँछ। र 'माका फुइँ' एवं 'माखे साङ्लो'जस्ता स्पष्टतः अपमानजनक अभिव्यक्तिहरूको प्रशस्ती गाउँछ। आजभोलि ओलीको 'राष्ट्रवादी छवि' एकथरी प्रतिबद्ध भजन गायकहरूको मनपर्ने किर्तन बन्न पुगेको छ।

ओलीकै कृपाले मन्त्रीसमेत बन्न पुगेका एक जना नामुद बाहुबलीले त पृथ्वीनारायणपछिको दोस्रो सबैभन्दा राष्ट्रवादी नेपालीसमेत भन्न भ्याए। एकथरी बुद्धिजीवीहरूको स्वरबद्ध गायन सुन्ने जो कोहीलाई लाग्नसक्छ देशमै नभए पनि कम्तीमा एमालेभित्र ओलीबाहेकका सबै राजनीतिकर्मी राष्ट्र विरोधी, अक्षम, अडान नभएका वा निर्णय लिन नसक्ने प्रवृत्तिका मात्रै छन्। त्यस्तो जनोत्तेजक (डेमोगोगिक) छविले अन्ततः प्रजातान्त्रिक नेतालाई पनि फासीवादतर्फ डोर्यारउन सक्छ। सायद, गिरोहतन्त्रका हिस्सेदारहरू त्यही चाहन्छन्। त्यसैले ओलीलाई प्रधानमन्त्री कोइरालाको निर्विकल्प उत्तराधिकारीका रूपमा चित्रित गरिँदैछ।

नेपाली कांग्रेसलाई समाप्त पार्न अध्यक्ष ओलीजस्तो प्रभावशाली गोटी अरू कुनै हुन सत्तै्कन भन्ने पुष्पकमल दाहालको निर्क्योल आधारहीन छैन। अन्ततः एनेकपा (माओवादी) सुस्तरी एमालेमै विलिन हुनुपर्ने परिस्थिति निर्माणमा लागेका दाहाल सायद आफूलाई ओलीको स्वाभाविक राष्ट्रवादी उत्तराधिकारीका रूपमा नेपालको स्थायी सत्ताका अगाडि प्रस्तुत गर्न चाहन्छन्। आफ्नो सम्पूर्ण कार्यसूची विसर्जन गरिसकेकाले दाहालका लागि अब अरू कुनै राजनीतिक बाटो बाँकी पनि छैन।

देशभित्र त जे भइरहेछ छँदैछ नयाँ दिल्लीमा समेत ओलीका पक्षमा वातावरण बनाउन एक से एक हस्ती लागिपरेका छन्। एमालेको मनोनयनमा सभासद्समेत भएका अर्बपतिहरू भारतका लागि चाहिएको सर्त पूरा गराउन सकिने आश्वासनका साथ विभिन्न ढोका चाहारिरहेका छन्। विश्व हिन्दु परिषद्सँग सम्बद्ध रहेका प्रतिष्ठित व्यक्तिहरू भने राष्ट्रिय स्वयं सेवक संघलाई खुसी पार्न व्यस्त छन्। भारतीय जनता पार्टीलाई मनाउने जिम्मा सीमा क्षेत्रका कारोबारीलाई दिइएको छ। नयाँ दिल्लीको स्थायी सत्तालाई आश्वस्त तुल्याउने भूमिकामा पूर्वप्रशासकहरू छन्। ओलीका दूतहरूले गर्दा नयाँ दिल्लीमा माओवादी सशस्त्र संघर्ष ताकाजत्तिकै नेपालीहरूको चहलपहल छ।

राजनीतिक वातावरण हेर्दा लाग्छ, ओलीको औपचारिक अभिशेष अब साइतको कुरामात्रै हो। त्यसपछि के हुन्छ एकिन त केही भन्न सकिँदैन। रत्नाकरबाट महाकवि बाल्मीकि इतिहासमा र माओवादीबाट बाहुनवादी पुष्पकमल वर्तमानमा पढिएको एवं देखिएकै कुरा हुन्। सम्भावित परिदृश्य भने आशालाग्दो देखिँदैन। एउटा बिराउने, शाखा पिराउने डर कायमै छ।

मर्यादा मर्दन

अंग्रेजी 'ह्युमिलिएसन' शब्दको भाव ठ्याक्क समात्ने पदावली संस्कृत परिवारको कुनै पनि भाषामा सायद छैन। त्यसको कारण छ। वर्ण एवं जातअनुसार भूमिका निर्दिष्ट हुने पितृसत्तात्मक समाजमा सम्मान र सौहार्द स्थापित सोपानतन्त्रबमोजिममात्र हुनेगर्थ्यो। निरादर, बेइज्जती, अपमान, मानमर्दन एवं उपहास समान हैसियत भएकाहरूबीच पौरख देखिने जुँगाको लडाइँमात्र हुने भयो। तिरस्कार, उपेक्षा र घृणा पनि सम्बन्ध बिग्रिएको बुझाउने अभिव्यक्तिमात्र हुन्। सम्भवतः अवमाननाका रूपमा उल्था गर्न सकिने 'ह्युमिलिएसन' अरू छवि निर्माणपछि हुन्छ। प्रथम विश्वयुद्धपछिको जर्मनीमा यहुदी, स्वतन्त्रतापछिको भारतमा मुसलमान तथा सांस्कृतिक राष्ट्रवाद व्याप्त रहेको जुनसुकै मुलुकमा अल्पसंख्यकहरू जुन राजनीतिक प्रताडनाबाट त्रस्त भए त्यसलाई अवमानना भन्न मिल्छ। अमानवीय हुनपुग्नु त्यसपछिको परिस्थिति हो।

मधेसीलाई 'मानव हैन' भन्नु ओलीको चारित्रिक दोष नभएर राजनीतिक हिसाबकिताबको अभिव्यक्ति हो। झोला बोक्ने र बिकाउबाहेक खासै मधेसी समर्थक नरहेकाले ओलीको बोलीले घाटा गठबन्धन सहयात्री नेपाली कांग्रेसलाई हुन्छ भने नाफा उद्दण्ड निम्न मध्यमवर्गको पहाडी मताधार सुदृढ गरेर एमालेले सोहोर्छ।

मधेसीलाई विहारी वा भारतीय चित्रित गरेर पनि एमालेको केही बिग्रने होइन। त्यसले गर्दा नेपालको स्थायी सत्ताले एमालेलाई झन् पत्याउँछ। स्थायी सत्तालाई आफ्नो वर्चस्वको निरन्तरता जोगाइराख्न निरन्तर एउटा वैरीको आवश्यकता हुन्छ। राणाका पालमा त्यस्ता शत्रु भारतका स्वतन्त्रता सेनानी हुनेगर्थे। शाह शासकका लागि नेपाली कांग्रेस 'अराष्ट्रिय तत्व' थियो। नेपाली कांग्रेसले माओवादी दुस्मन फेला पार्यो्। भारतलाई सोझै औंला ठड्याए दानापानी बन्द हुने डर हुन्छ। त्यसैले अमर्यादित तवरले अवमानना गर्ने समूहका रूपमा एमालेले मधेसीहरूलाई पहिचान गरेको छ। दशकौं अगाडि सुरु भएको 'माले, मण्डले, मसाले' प्रवृत्ति जारी नै छ।

अवमाननामा परेको समूहले सधैँ सहेरै बस्नुपर्छ भन्ने छैन। ओली जति नै चतुर भए पनि उनको एक एक वाक्य केलाएर बस्ने मधेसीहरुको सञ्जाल आजभोलि संसारभर छ। उनका झोला बोक्नेहरुले नचिन्ने पुस्ता नारा घन्काउने भइसकेको छ। अवसरका लागि अटुटरूपले काठमाडौँमै गणेश परिक्रमा गरिरहने एमालेका मधेसी कार्यकर्ताले गाउँतिर जान छाडेका झन्डै एक दशक भयो। आखिर प्रधान मन्त्री जो भए पनि सरकार त सन् २००६ देखि एमालेले नै चलाइरहेको छ। सायद त्यसैले होला, गोली नलागेसम्म प्रत्येक मधेसी प्रदर्शनकारी एमालेलाई बिहारी नै लाग्ने गर्छ।

ओलीको प्रधानमन्त्रित्वले मधेसीहरूको स्नेहनिवृत्ति (एल्युनेसन) झन् गहिरिँदै जाने पक्का छ। उनको आत्मआलोचनाले सुनपानी छर्केर एमालेलाई चोख्याउन सकिने अवस्था तत्काल मधेसमा छैन। चाणक्य माओवादी अध्यक्ष दाहाल रहेका भए पनि मधेसीलाई अधिकारविहीन बनाइएको कीर्ति दाबी गर्नेले झन्डै चार दर्जन निरापराध नेपालीको उत्सर्ग एवं ५० दिनभन्दा बढीको आमहड्तालसमेत नसुनेको अपयश पनि बोक्नैपर्ने हुन्छ। थपनाका प्रधानमन्त्रीतिर औंला तेर्स्याएर ओली मधेसीहरूको अवहेलना एवं अवमानना एकसाथ गरेको दोषभागी हुनबाट जोगिन सत्तै्कनन्। मधेसीहरू धेरै सहन्छन्, तर सधैँभर जे पनि सही नै रहनेछन् भन्ने एमालेको निर्क्योल सायद सही होइन।

प्रधानमन्त्रीमा फर्किनै नसक्ने गरी हट्नुपरेको क्षोभले गर्दा दाहाल मौका देख्नासाथ नयाँ दिल्लीको अवमानना गर्ने बहानामा हुन्छन्। उनीसँग गुमाउनलाई खासै केही बाँकी छैन। ओली भने आफ्नै महत्वाकांक्षाको तापले दाहालका औजार बन्न पुगेका हुन्। तिनका कुण्ठाहरूको असर भने देशले बेहोर्नुपरिरहेको छ। नाकाबन्दी शब्दले गर्ने स्थिति चित्रण युद्धको भयाबह अवस्था बुझाउँछ। तर, नाका नियमन वा नाकाकस्सीजस्ता अस्त्र कूटनीतिमा अग्राह्य मानिँदैनन्। त्यसैले नेपाल अहिले अन्तर्राष्ट्रिय समुदायमा लगभग एक्लिएर मित्रविहीन देखिँदैछ। दोष त फेरि पनि ओलीकै हो। त्यो कुरा उनका दूतहरूले सुनाइसकेको हुनुपर्छ।

व्याख्या गर्ने तरिका आआफ्नो हुन सक्छ। कुरा नचपाई भन्ने हो भने, प्रधानमन्त्री कोइरालाको उत्तराधिकारी अध्यक्ष ओली बन्ने अनुकूल आन्तरिक वा बाह्य वातावरण अहिले छैन। गोरखा महाभूकम्पपछि पुनर्निर्माणमा लाग्नुपर्नेमा यदुवंशीहरूको वंश नाश गर्ने मुसल प्रवृत्तिको संविधान जन्माउनमा झन्डै ७ महिना खेर गइसकेको छ। मधेसको मुद्दा सर्वस्वीकार्य तवरले सम्बोधन नगरी हुने सरकार परिवर्तनले दाहालको अहम् एवं ओलीको अतृप्त आकांक्षाको तुष्टि त होला, देश भने मधेसीहरूको वितृष्णा तथा भारतीय संस्थापनको वक्रदृष्टिको लामो दुश्चक्रमा फस्न पुग्नेछ।

मधेसको मुद्दा सम्बोधन गर्न संविधान संशोधन उसै पनि गर्नु नै छ। त्यससँगै राज्यका उच्च पदाधिकारीहरूको निर्वाचन तत्काल नै गर्नुपर्ने समयसीमा पनि हटाइदिए हुन्छ। अन्ततः ताजा मतादेशको अब विकल्प छैन। ओलीको अडानलाई सम्मान नै गर्ने हो भने एमालेका लालबाबु पण्डित वा अष्टलक्ष्मी शाक्यजस्ता पात्र प्रधान मन्त्री पदका सशक्त दावेदार हुन सक्छन्। ती व्यक्ति बाँड्ने नभएर जोड्ने शक्ति हुन्। शीतल निवासमा आसीन गराउन सकिने थारू वा दलित व्यक्तित्व पक्कै पनि नेपाली कांग्रेसभित्र प्रसस्त छन्। दाहालद्वारा प्रशिक्षित एकसेएक महिला माओवादी कार्यकर्ता सदन चलाउने र सभामुख बन्ने क्षमता राख्छन्। मधेसवादी दलहरूले अहिले कुर्सीको लोभ छोडेर, कार्यसूचीमै ध्यान दिए हुन्छ। सर्वस्वीकार्य समाधान सम्भव छ।

दोस्रो संविधान सभा निर्वाचनपछि देशको परिस्थिति तीव्ररूपमा ओरालो लागेको छ। त्यसलाई सच्याउन ओलीको नेतृत्वभन्दा पनि सबै राजनीतिक शक्तिको गोलबद्धता चाहिएको छ। इतिहास त आफ्नो गतिमा बढ्छ नै। ऐक्यबद्धता निर्माणमा जति ढिलाइ भयो त्यति नै धेरै कुरा पछाडि छुट्दै जानेछन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस