राजनीतिक नियुक्तिका आधार
२१ मंसिर २०७२
•
१७ मिनेट पाठ
राजनीतिक नियुक्तिका आधार
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति पदमा निर्वाचित हुनेबित्तिकै पार्टीसँगको आफ्नो सम्बन्ध त्यागिन्। उपराष्ट्रपति नन्दबहादुर पुनले पनि एनेकपा माओवादीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरे।पार्टीको पदमा रहँदा निष्पक्षतापूर्वक दायित्व निर्वाह गर्न गाह्रो हुने ठहर गदैै दुवै जनाले पार्टीबाट आफूलाई अलग राख्ने निर्णय गरे। रामवरण यादवले नेपालको प्रथम राष्ट्रपति बन्नेबित्तिकै नेपाली कांग्रेसको महामन्त्री पदबाट राजीनामा गरेकाले उनकै पदचापमा पछिल्ला दुई व्यक्ति हिँड्नुलाई स्वाभाविक मान्नुपर्छ। यद्यपि, नेपालको अन्तरिम संविधान तथा प्रचलित संविधानको राष्ट्रपतिको योग्यतासम्बन्धी धारा ६४ले राष्ट्राध्यक्ष हुनुअघि तथा भइसकेपछि पनि कुनै दलको सदस्य हुन नसक्ने कानुनी व्यवस्था गरेको छैन। तर, भण्डारी तथा यादवले झैँ सफल राष्ट्रपति बन्नका लागि कुनै पनि दलमा असंलग्न व्यक्ति आवश्यक पर्छ कि पर्दैन भन्ने एउटा नयाँ बहसको विषय बन्न सक्छ।

यादवको कार्यसम्पादन मूल्यांकनले देशको प्रमुख व्यक्ति राजनीतिक दलको कार्यकर्ता बन्नु हुन्छ या हुँदैन भन्ने प्रश्नको उत्तर खोज्न मद्दत गर्छ। उनी राष्ट्रपति भएको एक वर्ष पनि नपुग्दै प्रधान मन्त्री पुष्पकमल दहालले प्रधान सेनापतिलाई पदच्युत गरे। अन्तरिम संविधानले प्रधान मन्त्रीको सिफारिसभन्दा अन्यथा गर्न राष्ट्रपतिलाई स्वतन्त्रता दिएको थिएन। तर, प्रधान मन्त्री दाहाललाई समर्थन गर्ने एमाले तथा मधेसी जनअधिकार फोरमलगायतका पार्टीले सेनासम्बन्धी उक्त कदमलाई अस्वीकार गरेको अवस्था थियो। प्राविधिकरूपमा बहुमत सांसद प्रधान मन्त्रीको कदमको बिरुद्धमा थिए। त्यस्तो अवस्थामा संविधानअनुसार प्रधान मन्त्रीको कदमको समर्थन गर्ने अथवा संसद्को गणितलाई सर्वोपरि ठान्दै प्रधान मन्त्रीको कदमलाई निस्तेज गर्ने दुई विकल्पमध्ये दोस्रो बाटो रोजे राष्ट्रपति यादवले। कदाचित राष्ट्राध्यक्षको कुर्सीमा एमाओवादीले प्रथम राष्ट्रपति चुनावमा समर्थन गरेका रामराजाप्रसाद सिंह रहेका भए के पुष्पकमल दाहालले गरेको निर्णय बदर हुन्थ्यो होला त? त्यसमाथि राष्ट्रपतिले प्रधान मन्त्रीको सेनाध्यक्षलाई बर्खास्त गर्ने निर्णयको बिरुद्धमा सर्वोच्चमा परेको मुद्दाको प्रथम सुनुवाइका क्रममा दुई न्यायाधीश विपरीत कित्तामा उभिई फरकफरक निर्णय गर्नुले कानुनीरूपमा राष्ट्रपतिको उक्त कदम सर्वसम्मत थियो भन्ने अवस्था रहेन। कदाचित दाहालको स्थानमा आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालाले सेनाबर्खास्त गर्ने निर्णय गरेका भए यादवको निर्णय फरक हुने कुरामा धेरै विश्लेषक सहमत देखिन्छन्। यसले राजनीतिक व्यक्ति मुलुकको सर्वोच्च पदमा पुग्दा उनले गर्ने निर्णयमा दलीय प्रभाव देखिने निश्चित छ। यसो हँुदा मुलुकको राष्ट्राध्यक्षमा दलको सदस्यता नलिएको व्यक्ति हुनसके राम्रो हुने देखिन्छ।

यादव राष्ट्राध्यक्ष बनेपछि रिक्त भएको संविधान सभाको स्थानमा उनैका पुत्रलाई नेपाली कांग्रेसले उम्मेदवार बनायो। धृतराष्ट्रजस्ता ज्ञानी त पुत्रमोहमा विक्षिप्त भएको सन्दर्भ स्मरण गर्दा राष्ट्रपतिले आफ्ना छोरालाई राजनीतिमा स्थापित गर्न खोज्नुलाई मानवीय कमजोरीभन्दा अन्यथा मान्ने अवस्था रहेन। तर, राष्ट्रपति पुत्र राजनीतिमा आउनेबित्तिकै आफ्ना अवसरहरू गुम्ने ठहर गर्दै कांग्रेसकै एउटा पक्ष उनको मानमर्दन गर्नतिर लागे। कांग्रेसको राजनीतिबाट स्थापित भएका यादव राष्ट्रपति बन्दा शीलनिवासमा कांग्रेसीको हिमचिम तथा सल्लाह–छलफल हुनु अन्यथा भएन। त्यसले गर्दा अन्य दलसमेत उनीप्रति असहिष्णु बने र शीतलनिवास षड्यन्त्रको तानाबाना बुन्ने अखडा भएको आरोप लगाए। हुँदाहुँदा सर्वोच्च अदालतको आदेशको सबै पक्षले सम्मान गर्नुपर्छ भन्दा पनि राजनीति गरेको आरोप भोग्नुपर्यो। यादवले। यादवको स्थानमा अन्य कुनै गैरराजनीतिक व्यक्ति भइदिएको भए यस्ता तुच्छ आरोपबाट देशको सर्वोच्च संस्था मुक्त हुन्थ्यो।

निर्वाचन गर्ने प्रयोजनको लागि गठन भएको सरकारले गरेका कुनै पनि कार्य चुनाव केन्द्रित हुनुपर्छ र उक्त भावनाको संसारका सबै चुनावी सरकारले पालना गरेका छन्। संविधान सभाको दोस्रो निर्वाचन गराउने उद्देश्यले गठन भएको खिलराज रेग्मी सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तलगायत अन्य २ संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने निर्णय गर्योअ र अनुमोदनका लागि सिफारिस राष्ट्रपतिसमक्ष पुग्यो। सिफारिस भएकामध्ये केही व्यक्तिको विगतलाई खोतल्दै काठमाडौँमा ठूलो नागरिक विरोध भयो। चुनावी सरकारको उक्त नियुक्ति आसन्न निर्वाचनलाई अभिप्रेरित गर्ने भनी पुष्टि गर्ने कुनै आधार थिएन। अन्त्यमा उनले उक्त सिफारिसको अनुमोदन गरे। प्रधान सेनापति बर्खास्त गर्ने प्रधान मन्त्री दाहालको निर्णयको साटो संसद्को गणित हेर्ने राष्ट्रपतिले अध्यक्ष रेग्मीको बेमौसमी संवैधानिक नियुक्तिको बदला जनप्रतिनिधिमूलक संस्था नभएको अवस्थामा समेत जनआवाज सुन्न आवश्यक देखेनन्। यादवको स्थानमा दलइतर व्यक्ति राष्ट्रप्रमुख भएको भए राष्ट्रपतिको निर्णय दलसापेक्ष नभएर कानुनसम्मतमात्र हुने थियो। कानुनी सर्वोच्चतामा विश्वास गर्ने कुनै पनि व्यक्तिले जतिसुकै असल काम भए पनि नियमविपरीत कुनै पनि निर्णयको वकालत गर्नु हुँदैन। त्यस्ता कार्यले कानुनी राज्यको अवधारणालाई नै कमजोर पार्छ।

नेपालको संविधानले संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी बन्नका लागि राजनीतिक असंलग्नतालाई स्वीकार्छ। संविधानको धारा २३८.(६) ख) ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा आयुक्त बन्नका लागि 'नियुक्ति हँुदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्ति...' हुनुपर्ने भन्छ। त्यस्तै प्रावधान देखिन्छ महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोगलगायतका पदाधिकारीको नियुक्तिको हकमा पनि। अब त्यसको कानुनी व्यवस्था हेरौँ– संविधानको अक्षरलाई हेर्ने हो भने दलको कार्यकर्तालाई संवैधानिक परिषद्ले संवैधानिक निकायको पदाधिकारीको लागि सिफारिस गर्न सक्छ। राष्ट्रपतिले नियुक्ति गर्नुभन्दा केही घन्टा पहिला दलको हैसियत त्यागे उक्त व्यक्ति संवैधानिक अंगको पदाधिकारी बन्न सक्छ!

अब संविधानको भावनालाई हेरौँ– दलीय हैसियत बोकेको व्यक्ति संवैधानिक निकायको नेतृत्वमा रहँदा उसले सबैलाई समान नजरबाट हेर्न नसक्ने बरु आफ्नो दललाई केन्द्रमा राख्ने भएकाले दलीय असंलग्नता खोज्यो संविधानले। अख्तियार प्रमुखको हैसियतले सूर्यनाथ उपाध्यायले धेरै राम्रा काम गरे। राजनीतिकर्मी संविधानभन्दा माथि हुन् भन्ने मान्यतालाई भत्काए उनले। त्यसबेला नेपालको सबैभन्दा शक्तिशाली व्यक्ति देखिएका खुमबहादुर खड्काजस्ता पनि जेल जान सक्छन् भन्ने मान्यता स्थापित भयो। त्यसक्रममा धेरै विवादास्पद कांग्रेसी नेता जेल परे। राम्रो कदम हुँदाहुँदै पनि उपाध्यायले कांग्रेसीलाई खोजीखोजी जेल हाले भन्ने आरोप लाग्यो। उनलाई त्यस्तो आरोप लाग्नुको कारण एमाले स्वयंले नेपालकै सर्वाधिक भ्रष्ट घोषित गरेको र जनताले पनि त्यही मान्यता बोकेका बामदेव गौतम अख्तियारको आँखामा नपर्नुले थप पुष्टि गर्योत। ३ दशकअघि विद्यार्थीकालमा कम्युनिस्ट राजनीति गरेका अख्तियार प्रमुख उपाध्यायले कम्युनिस्टलाई छोएनन् भन्ने आरोप लाग्यो। र, उक्त आरोप सत्य हो कि भन्ने भान अद्यापि कायम छ। विद्यार्थीकालमा दलीय राजनीति गरेको व्यक्ति जीवनको उत्तरार्द्धमा पुग्दासमेत निष्पक्ष हुन सक्दैन भने नियुक्तिको अघिल्लो दिन पार्टीको सदस्यता त्यागेर संवैधानिक पदाधिकारी बनेको व्यक्तिमा कुन तहको निष्पक्षता अपेक्षा गर्ने? तसर्थ, कम्तीमा पनि केही दशकदेखि कुनै पनि दलको सदस्य नरहेको व्यक्तिमात्र संवैधानिक निकायमा नियुक्तिका लागि ग्राह्य हुने व्यवस्था आवश्यक देखिन्छ।

दामोदरप्रसाद शर्मा प्रधान न्यायाधीश भएका बखत ठूलै संख्यामा कानुन व्यवसायी पुनरावेदन अदालतको न्यायाधीश नियुक्त भए। नवनियुक्त न्यायमूर्तिको एउटा ठूलै डफ्फा एमाले मुख्यालय गए, आफूलाई नियुक्ति गराएकोमा कृतज्ञता जनाउन। पेशाले नै समदूरी कायम गर्नुपर्ने न्यायाधीश कुनै पनि दलको मुख्यालयमा आशिवादका लागि हाजिर हुन्छ भने उसले समन्याय कसरी कायम गर्ला? कानुनतः संविधानको व्याख्याता हो सर्वोच्च अदालत। तर, त्यही अदालतको न्यायमूर्तिले बेलायती ढाँचाको वेस्टमिन्सटर सिस्टममा प्रधान मन्त्रीले मन्त्रीलाई बर्खास्त गर्दा कारण देखाउ आदेश जारी गर्छ भने उसको क्षमतामा प्रश्न उठाउन मिल्छ कि मिल्दैन?

बहुदलीय व्यवस्थापछि देशका सार्वजनिक उद्योग–व्यवसाय अस्तित्वहीन भए। पञ्चायतीकालमा मुलुककै गौरवको रूपमा स्थापित शाही नेपाल वायुसेवा निगम, जनकपुर चुरोट कारखाना, नेसनल टे्रडिङ लिमिटेड, बाँसबारी छाला तथा जुत्ता कारखानालगायत दर्जनौँ व्यवसाय धाराशायी भए– नामोनिसान मेटिए। सरकारी कारखाना डुब्नुमा धेरै आन्तरिक तथा बाह्य कारण हुन सक्ला, तर सबैभन्दा प्रमुख कारक तत्व ती संस्थामा राजनीतिक कार्यकर्ताको नियुक्ति नै हो। योग्यता तथा क्षमताको पर्वाह नगरी आफ्ना कार्यकर्तालाई संस्थानको कार्यकारी प्रमुख नियुक्त गरेपछि संस्था उँभो लाग्ने कुरै भएन। कार्यकर्ता भर्ना गर्न कुनै पनि दल अछुतो नरहेकाले सबै दल देशका सार्वजनिक संस्था डुबाउने मतियार हुन् भन्न गाह्रो परेन। यद्यपि, मात्रा फरक होला।

देशको अवस्था दिनानुदिन बिग्रँदो छ। देश किन बिग्रियो भन्ने सूची तयार पार्ने हो भने त्यो निकै लामो हुने छ। अशिक्षा, गरिबी, मेहनतको अभाव, दरिद्र मानसिकतालगायतका कुरालाई पनि दोष दिन सकिएला। तर, मुलुक बिग्रनुको मुख्य कारण राज्यका हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेपकै कारण यस्तो अवस्था आएको भन्ने कुरामा कुनै विवाद हुन सक्दैन। दलीय राजनीतिमा चासो र क्षमता भएका तर राज्यसञ्चालनमा कुनै योगदान गर्न नसक्ने व्यक्तिलाई 'कार्यकर्ता रोजगार अभियान'मार्फत् राज्यका संयन्त्रमा समाहित गर्दै जाने हो भने मुलुक कहिल्यै नसुध्रने ठोकुवा गर्न सकिन्छ।

विगतलाई हेर्दा, पार्टीको नेताको बदला निष्पक्ष व्यक्ति राष्ट्रपति बन्दा मुलुकले समन्यायको अनुभूति गर्न सक्ने भएकाले आगामी दिनमा मधेसवादी दललाई राजनीतिको मूलप्रवाहमा फर्काउने क्रममा संविधान संशोधन गर्दा त्यता ध्यान दिनुपर्ने देखिन्छ। त्यस्तै, निर्वाचनमार्फत् पूर्ति हुनेबाहेकका संवैधानिक आयोग, संस्थानका कार्यकारी प्रमुख, राजदूत, न्यायाधीशलगायतका सामान्य प्रक्रिया पुर्यािएर नियुक्ति हुने पदलाई कार्यप्रकृतिका आधारमा राजनीतिक तथा गैरराजनीतिक हिसाबमा विभाजन गरी पूर्ति गर्नु अत्यावश्यक छ। त्यस्तो नियुक्तिका निम्ति केही दशकदेखि कुनै पनि राजनीतिक दल तथा त्यसका भातृ तथा शुभेच्छुक संस्थाको सदस्य नरहेको हुनुपर्ने कानुनी व्यवस्था गर्न आवश्यक देखियो। आफन्त तथा कार्यकर्ता नियुक्तिको लोभ राजनीतिक दलहरूले गरी नै रहने हो भने नेपाल निकट भविष्यमा क्याम्बोडिया, केन्या तथा सुडानभन्दा पनि अत्यधिक भ्रष्ट मुलुक बन्ने पक्का छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस