जलवायु सम्मेलनबाट लाभ
११ पौष २०७२
•
१५ मिनेट पाठ
जलवायु सम्मेलनबाट लाभ
'कसैलाई हानी नपुगोस्' र 'कोही पछि नपरुन्' भन्ने मूल ध्येयका साथ दुई साताको रस्साकस्सीपछि जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको पेरिस विश्व सम्मेलन (कोप–२१) सम्पन्न भएको छ।विश्वका १९५ मुलुकका प्रतिनिधि, विज्ञ, अधिकारकर्मी र पर्यवेक्षक गरी ४५ हजारभन्दा बढीको सहभागिता रहेको सम्मेलनको निष्कर्षका रूपमा एक्काइसौं शताब्दीको दोस्रो आधा अवधिसम्ममा तापमान बृद्धिलाई दुई डिग्री सेल्सियसमा सीमित राख्नेे सहमति भएको छ। यद्यपि, अल्पविकसित मुलुकहरू यसलाई १.५ डिग्रीमा सीमित राख्न चाहन्थे। प्रमुख औद्योगिक मुलुकहरू १.५ डिग्रीतर्फ जान २ डिग्रीभन्दा उल्लेख्य तल (वेल बिलो टु) भन्ने शब्दावली राख्न सफल भए। अल्पविकसित र विकासशील मुललुकहरू पनि २ डिग्रीभन्दा उल्लेख्य तल भन्नु १.५ डिग्रीकै हाराहारी हो भन्ने बुझाइमा रहेकाले यो वार्ता दुवै पक्षको 'जितजित'को सम्झौता बन्न पुगेको छ। वार्तामा लिने र दिनेको हित साम्यबिन्दु खोजिने हो। यस अर्थमा कोप–२१ लाई उपलब्धिको सम्मेलन भने हुन्छ।




प्रमुख विषयहरू यत्तिमै सीमित छैनन्। तापमान घटाउने भन्ने विषय हरितगृह ग्यास (कार्बनजन्य पदार्थ)उत्सर्जनसँग सम्बन्धित छ र त्योचाहिँ विकास र औद्योगीकरणसँग जोडिएको छ। हिजो गरिएको उत्सर्जनका असर आज उत्सर्जन घटाउँदैमा त्यत्तिकै घट्ने होइन, यसको असर पचासौँ वर्षसम्म क्युमुलेटिभ भएर रहने गर्छ, जुन औद्योगिक मुलुकहरूले हिजो गरेको विकास, उत्पादन र प्र्राकृतिक साधनको दोहनको परिणाम वा क्षति जे भनौँ, त्यसको असर हो। यस जोखिमबाट चाहेर पनि कम विकसित मलुकहरू उम्किन सक्दैनन्, किनकि पृथ्वी साझा घर हो र वायुमण्डल पनि एउटै छ। यसर्थमा १.५ डिग्री वा 'वेल बिलो टु' जे भने पनि कम विकसित मुलुकका लागि धेरै हर्ष मान्ने अवस्था भने होइन। यी मुलुक नै जलवायु जोखिममा दिनप्रतिदिन धकेलिएका छन्, तापक्रम बृद्धिसँगै अनुकूलित हुँदै जाने क्षमता पनि यिनै मुलुकसँग अभाव छ। बरु तापक्रम घटाउने अभियानमा स्वेच्छिकरूपमा संलग्न भएर यी मुलुकहरूले विकास र उत्पादनको लागतचाहिँ बढाइरहेका छन्। विभिन्न सर्त, सन्धि, सम्झौता र सहायतामा बाँधिदा विकासको परिभाषा साँघुरिने सम्भावना हुन्छ। तैपनि, मानवमात्रको साझा भविष्य र 'हामीले चाहेजस्तो भविष्य' का लागि यस्ता सन्धि र विश्व मञ्चबाट टाढा रहनु न सम्भव हो, न उपयुक्त नै। बरु यस्ता सन्धिमा संलग्न भएर साझा आवाजमार्फत् उत्सर्जक मुलुकहरूलाई तिनको दायित्व र जिम्मेवारीप्रति नैतिक (र कानुनी?)रूपमा सचेत गराउन सकिन्छ।

पेरिस जलवायु वार्तामा पनि विगतमा जस्तै उत्सर्जन कति कम गर्ने भन्ने सन्दर्भमा दुई पक्ष देखा परे। पहिलो पक्षमा अमेरिका, युरोपिय संघ, चीन, रुस, भारत, जापान, ब्राजिल, क्यानाडा, इन्डोनेसिया, इरान र तेल निर्यातक मुलुकहरू रहे। तिनले विश्वमा हुने उर्त्सजनको ९५ प्रतिशत हिस्सा ओगट्छन्। यी मुलुकले निश्चित तहमा उत्सर्जन घटाउने समयबद्ध प्रतिबद्धता गरेका छन्। दोस्रो पक्षमा अल्पविकसित/विकासशील मुलुकहरू पर्छन्, जसको उत्सर्जनमा खासै हिस्सा छैन। तर पनि स्वेच्छिकरूपमा उर्त्सजन घटाउने नीति कार्यक्रममा नैतिकरूपमा समावेश छन्। पहिलो समूहका मुलुकहरूमा पनि समान स्वार्थ र सोच छैन। औद्योगिक मुलुकहरू चीन, भारत, ब्राजिललगायत उदीयमान अर्थतन्त्रबाट आफूहरूजस्तै ठूलो भूमिका खोजिरहेका छन् भने उदीयमान अर्थतन्त्र त्यसरी आफूलाई नलिई हिजोको अवस्थाको आधारमा मात्र व्यवहार गरियोस् भन्ने चाहिरहेका छन्। त्योभन्दा पनि ठूलो कुरा चीन, भारतजस्ता मुलुक आफ्ना उत्पादन आन्तरिकरूपमा मात्र भन्दा पनि युरोप, अमेरिकालगायतका मुलुकमा खपत हुने र लगानीकर्ता पनि उतैका बहुराष्ट्रिय कम्पनीका सब्सिडियरी भएको, लेबर र लोकेसन एड्भान्टेजका आधारमा मात्र आफ्नो मुलुक उत्पादक रहेको तर्क उठाइने हैसियतमा छन्। उनीहरूको तर्क एक हिसाबमा ठीकै देखिएको छ। चीन र भारत जी–७७ जस्ता मञ्चको उपयोग गरेर आफ्ना तर्कलाई वार्तामा जोडदाररूपमा प्रस्तुत गरिरहेका छन्। पेरिस सम्मेलनमा पनि यही प्रबृत्ति दाहोरियो।

विकासशील/अल्पविकसित मुलुकहरूको चिन्ता र चासो भने औद्योगिक मुलुकले गरेको उत्सर्जनका कारण भएको असर, हानि र नोक्सानीको क्षतिपूर्तिका लागि औद्योगिक मुलुकहरूबाट पैसा, प्रविधि र क्षमता विकासमा सहयोग कसरी हासिल गर्ने भन्नेमा केन्द्रित रहे। कोपेनहेगन, डर्बान, कानकुन आदि जलवायु वार्तामा भएका सहमति र प्रतिबद्धता कसरी कार्यान्वयन गराउने भन्नेमा केन्द्रित रहे। 'मुलुकहरू समान भए पनि फरक दायित्वमा छन्' (सीबीआरडी), त्यो दायित्व पूरा नभएमा जलवायु सम्मेलन र सन्धिको कुनै अर्थ रहँदैन। यो नै जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय खाका अभिसन्धिको मान्यता हो। यो स्थापित दायित्व पूरा गर्न खाका अभिसन्धिले प्रबन्ध गरेका हरित जलवायुलगायत विभिन्न कोषमार्फत् वा कोषबाहिर रहेर पनि अनुकूलन क्षमता विस्तार, सहायता प्रवाह र प्रविधि हस्तान्तरण गर्न सकिन्छ। र, गर्नु पर्छ पनि। हरित जलवायु कोषमा सन् २०२० सम्म प्रतिवर्ष सय अर्ब अमेरिकी डलर औद्योगिक मुलुकहरूले जम्मा गर्ने सहमति पेरिस सम्मेलनले गरेको छ। तर, भुल्न नहुने कुरा के हो भने कोषमार्फत् प्रवाहित हुने रकम ५० प्रतिशत अनुकूलन र ५० प्रतिशत न्यूनीकरणमा जानेछ। कम विकसित मुलुकहरूको माग र आवश्यकता अनुकूलनमा हो, न्यूनीकरण औद्योगिक मुलुकहरूकै आफ्नो दायित्वको विषय हो। अर्को असजिलो पक्ष, कोषबाट सहायता प्रवाहित हुँदा कोषप्रतिको सहज पहुँचको फाइदाबाट गरिब मुलुकहरू स्वाभाविकरूपमा पछि देखिने छन्। अर्को पक्ष, सहयोगका साथ रहने शर्तले पनि गरिब मुलुकको विकास र नतिजालाई प्रभाव पार्छ। त्योभन्दा पनि ठूलो कुरा जलवायु वित्तको पहुँचका लागि तयारी र क्षमता विकासका लागि पनि गरिब मुलुकहरू विकसित मुलुकले चाहेका र मन पराएका विज्ञ/संस्थामाथि निर्भर रहन्छन्। त्यसैले जलवायु सम्मेलनमा 'विज्ञताको बजार' गर्न पनि भीड लाग्दै आएको छ। पेरिसमा पनि त्यो पुनरावृत्त भयो।

जलवायु परिवर्तनका असरबाट संकटापन्न मुलुकहरूले फाइदा लिन विकासशील मुलुकको वार्ता क्षमता बढाउनु जरुरी देखिएको छ। विकसित मुलुकहरूले प्रदान गर्दै आएका विकास सहायता (ओडीए)मा अब जलवायु वित्तको नयाँ ढोका प्रयोग गर्ने सम्भावना बढेको छ। ठूला अर्थतन्त्रबाट फाइदा लिन राजनीतिक, प्राविधिक र कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्छ, त्यो पनि देशगतभन्दा पनि सामूहिकरूपमा। नेपालजस्ता मुलुकले आन्तरिक तयारीका साथ समूह सतहत्तर (जी ७७ चीन) र अल्पविकसित मुलुक (एलडीसी) समूहमार्फत् आफ्नो कुरा राखेर फाइदा लिने हो, यसलाई सहयोग गर्ने एलडीसी एक्स्पर्ट ग्रुप (लेग) प्राविधिक आधार हो। साथै, कोपेनहेगनदेखि नै चर्चामा रहेको पर्वतीय मुलुकहरूको समूह (एमजी) बनाएर जलवायु परिवर्तनबाट पर्वतीय मुलुकहरूमा पर्न सक्ने असर र बाढी, पहिरो, डुबानबाट हुने क्षतिबाट उठ्न साझा आवाज तयार गर्नुपर्छ। तर, अल्पविकसित मुलुकभित्र अफ्रिकी बोली बिस्तारै ठूलो बन्दैछ, विकसित मुलुकहरू पनि त्यतातिर नजिक देखिएका छन्। चीन, भारतजस्ता उदीयमान अर्थतन्त्र भने दुई नाउमा खुट्टा राखिरहेका छन्, आफूलाई फाइदा लिन जी ७७ र एलडीसीमा समावेश हुने र आफूले क्षतिपूर्ति भर्न नपरोस् भनी औद्योगिक मुलुकतिर। बिस्तारै यी मुलुकको औपचारिकरूपमा नै तेस्रो समूह बन्नेजस्तो देखिएको छ। त्यसो त एसिया–प्यासिफिक मुलुकहरू पनि यस्तो समूह बनाउन सक्छन्।

जेहोस् पेरिस जलवायु वार्ता अर्को ५ वर्षका लागि केही अर्थमा कोशेढुंगा बन्न पुगेको छ। पहिलो तापमान घटाउने सन्दर्भमा (१.५–२ डिग्री), दोस्रो, हरित जलवायु कोषमा वार्षिक सय अर्ब डलर पुर्यािउने सन्दर्भमा र तेस्रो, ५–५ वर्षमा जलवायु परिवर्तनमा भएका प्रयासहरूको विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटेक) गरी थप प्रयास गर्ने सन्दर्भमा। विकसित मुलुकहरूले जलवायु वित्तमा आफ्नो अतिरिक्त योगदान बढाउने घोषणा पनि गरेका छन्। जस्तो कि अस्ट्रियाले यसअघि गरेको घोषणाका अतिरिक्त सन् २०१५–२० का लागि ५० करोड, बेल्जियमले एक अर्ब, डेनमार्कले ३० करोड, इस्टोनियाले एक करोड, फिनल्यान्डले ५० करोड, फ्रान्सले एक अर्बभन्दा बढी, युरोपीय संघले २ अर्ब युरो तथा क्यानाडाले २ अर्ब ६५ करोड डलर, हंगेरीले एक अर्बभन्दा बढी फ्रेन्क, जापानले एक खर्ब ३० करोड येन सहायता कोष विनियोजन गर्ने प्रतिबद्धता गरेका छन् । इस्टोनिया, स्लोभाक, लक्जेम्बर्ग, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, स्विडेन, स्पेन, स्लोभेनिया आदि मुलुकले पनि उल्लेख्य रकमको घोषणा गरेका छन्। जर्मनी तथा बेलायतले जलवायु वित्तमा ठूलो रकम यसअघि नै प्रवाह गरिरहेकोमा त्यसलाई बढाउने घोषणा गरेका छन्।

अमेरिका, चीन, अस्ट्रेलियाजस्ता ठूला अर्थतन्त्रले पनि अर्बौं रकम जलवायु वित्तमार्फत् कम विकसित मुलुकलाई सहयोग गर्ने घोषणा गरिसकेका छन्। यसले नेपालजस्ता मुलुकका लागि काम गरिरहन र त्यसका आधारमा फाइदा लिन प्रशस्त अवसर दिएको छ। तर, केचाहिँ भुल्नु हुन्न भने जलवायु परिवर्तनको विषय अन्तरसम्बन्धित हो, वातावरण मन्त्रालयको मात्र होइन। उसले त संयोजनमात्र गर्ने हो। फाइदा लिन र सुरक्षित भविष्यका लागि सबै विषयगत मन्त्रालय र योजना आयोगजस्ता नीति निकाय साथै परिचालित हुनुको विकल्प छैन। भुल्नै नहुने कुरा के हो भने, नेपालजस्तो सानो, जलवायु संकटापन्न मुलुकले फाइदा लिन विश्वमञ्चमा तयारीसाथ प्रस्तुत भई क्षमता प्रदर्शन गर्नैपर्छ। यसका निम्ति अन्तरसम्बन्धित विषय विज्ञहरूको 'कोर ग्रुप' बनाउनु अपरिहार्य छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस