हीनभावको महामारी
३० पौष २०७२
•
१९ मिनेट पाठ
हीनभावको महामारी
खाटा बसिसकेको घाउलाई कोट्याएर बल्झाउने, त्यसमा नुनचुक दलेर परपीडक प्रवृत्ति दर्शाउने क्रम गणतन्त्र घोषणापश्चात् केही कम भएको जस्तो लागे पनि पूर्णतः रोकिएको छैन। राजा पृथ्वीनारायण शाह बहादुर र निपुण लडाका एवं पराक्रमी सैनिक अभियन्ता थिए भन्ने कुरामा शंका गर्नु पर्दैन। तर, गोर्खालीहरूको विजय अन्य धेरै 'नेपाली' हारेकाले मात्रै सम्भव भएको हो।

पृथ्वी जयन्ती मनाएर वर्षैपिच्छे विजित समुदायहरूको खिसी गर्ने कामलाई अरू जे भनिए पनि राष्ट्रिय एकता दिवस कदापि मान्न सकिँदैन। यति कुरा त सहज बुद्धि भएको जोसुकैले बुझ्नुपर्ने हो। अनि किन पटकपटक उही विवाद सार्वजनिक वृत्तमा उछाल्ने गरिन्छ? सम्भवतः गोर्खालीमूलका सांस्कृतिक सम्भ्रान्त राजा पृथ्वीको प्रेत जगाएर देशको दुर्दशाको आफ्नो जिम्मेवारीबाट मुक्त हुन चाहन्छन्। उनको सम्झनामा आफ्नो सम्मान खोज्ने गर्छन्।

दक्षिण एसियाको सबभन्दा पुरानो भनिने राज्यका सञ्चालकहरू देश भने संसारमै दरिद्री रहिरहनुपर्ने अवस्थाका लागि पक्कै पनि जिम्मेवार छन्। विरूदावली परम्पराका इतिहासकारहरूले जेजस्ता वीरगाथा सृजना गरेका भए तापनि यथार्थ के हो भने, तथाकथित 'दिव्योपदेश' कुनै किसिमले पनि 'दिव्य' छैन। एउटा विजेताले ठूलो दुःखले 'आर्जेको मुलुक' आफ्ना शाखासन्तानको निरन्तर नियन्त्रणमा राख्नका लागि लेख्न लगाएको सैनिक शासनको हातेपुस्तिका मात्र हो त्यो दस्तावेज।

देशलाई 'चार जात, छत्तीस वर्णको फूलबारी' यस कारण भनिएको हो कि भारदार मालीहरू एवं राजपरिवार मालिकका लागि चुँडिनु वृक्ष र फूलको नियति स्थापित होस्। 'घुस लिन्या र दिन्या' पाप हुने नै भयो, किनभने त्यस्तो अभ्यासले राजकोष कम हुन्थ्यो। बाँकी भाइभैयाद एवं लडाका भारदारलाई आआफ्नो जागिरमा रैति र दुनियाँलाई कमाराकमारी बनाइ खुल्ला लुट मच्चाउने छुट छँदैथियो। अहिले पनि स्थिति लगभग त्यस्तै छ।

कुरा यति स्पष्ट हुदाँहुँदै बहसको आवश्यकता नै देखिँदैन। पटकपटकको लडाइँ जिते पनि अन्ततः गोर्खालीहरूको छलकपटले गर्दा युद्ध हार्नुपरेका नेपाल उपत्यकाका नेवारहरूले आफ्नो स्वत्व हरण गर्नेको पूजा गर्नुपर्ने अवस्था कुनै किसिमले युक्तिसंगत लाग्दैन। कुरा कीर्तिपुरको मात्र होइन। धोका ललितपुरका प्रधानहरूलाई पनि दिइएको थियो। ज्यान जोगाउन भक्तपुर राजपरिवारका मल्लहरू थर फेरेर प्रधानांग बनेका थिए। कान्तिपुरका सैनिक अधिकारी एवं योद्धा परिवारहरूको नामनिशान इतिहासवाट मेटियो। वैश्य नेवारहरूले मात्र आफ्नो अस्तित्व जोगाउन सके।

दासता स्वीकार गर्न बाध्य बनाइएका नेपाल उपत्यका वरिपरिका मेहनती जनजाति होऊन् वा गोर्खालीहरूको जग्गा हडप्ने प्रवृत्तिका सिकार किपट परम्परा मान्ने किराँतीहरू, राजा पृथ्वीको उत्थानसँगै तिनको सामूहिक पतन सुरू हुन्छ। सिंगै चारकोसे झाडीमा स्वतन्त्र विचरण गर्ने थारूलाई कमाराकमारी बनाउने प्रचलन पनि गोर्खालीहरूले नै संस्थागत गरेका हुन्। बिसे नगर्चीका शाखासन्तान त्यसै बौलाउनुपर्ने स्थितिमा पुगेका होइनन्। बिहार वा बंगालका नवावहरूलाई सांकेतिक नजराना चढाएर लगभग स्वायत्त शासन चलाउने गरेका तराई–मधेसका जमिनदारलाई समेत कि रैति बनाउने वा सम्पत्ति जफत गरेर लखेट्ने काम पनि गोर्खालीहरूले गरेकै हुन्। तिनका लागि राष्ट्रनिर्माताको अवधारणा नै त्राशपूर्ण लाग्नु अस्वाभाविक होइन।

राजा पृथ्वी अवश्य पनि आफ्नो गोर्खाली समुदायका लागि पूजनीय व्यक्तित्व हुन्। उनको सैन्य अभियानकै फलस्वरूप गण्डक क्षेत्रमा फेरी लगाएर गुजारा गर्नेहरू कालान्तरमा कोशी–कमला भेगका जमिनदार कहलिन पाए। चन्डिपाठका भरमा चुलोचौका चलाउने सुब्बा–सरदार भए। सालको पात गाँस्नेहरू सेठ–साहुकार कहलिए। खस लडाकाहरू राजारजौटासँग बिहेवारी गर्ने हैसियतमा पुगे। गोर्खालीहरूले चुरे–महाभारत एवं चारकोसे झाडी क्षेत्रको अर्थराजनीतिलाई पूर्ण नियन्त्रणमा लिएर यस भूखण्डको सामाजिक एवं सांस्कृतिक सम्बन्धहरूमा व्यापक परिवर्तन ल्याएको पनि पक्का हो। तर, गोर्खालीहरूको इस्टदेव बाँकी नेपालीका लागि पनि आराध्य नै हुनुपर्छ भन्ने त छैन।

राष्ट्रनिर्माता उसै पनि एकलजातीय राज्यलाई उपयोगी हुने आदर्श हो। त्यस अवधारणाको सान्दर्भिकता इतिहासको कुनै कालखण्डका लागि उपयुक्त रहेको भए तापनि अब भने प्रत्युत्पादक ठहरिन सक्छ। नेपाल नाम गरेको अहिलेको राज्य इतिहासको विभिन्न प्रक्रिया एवं संयोगले गर्दा निर्माण हुन पुगेको हो। त्यसक्रममा भएका अत्याचारहरूको जिम्मेवारी राजा पृथ्वीको टाउकोमा थोपरेर उम्किन नसकेजस्तै राज्यनिर्माणको यशका लागि पनि उनी एक्ला हकदार होइनन्।

जंगबहादुर कुँवरका पत्नीहरूले गुठी राखेकाले बर्सेनि उनको क्रियाकर्म हुन्छ। राजा पृथ्वीको विजय अभियानले गर्दा उल्लेख्य हैसियत बनाउन सफल सम्भ्रान्तहरूको जमात पनि ठूलै छ। तिनलाई धुमधामका साथ आफ्ना पुर्खाहरूको अन्नदाताको जयन्ती वा श्राध्द मनाउने पूर्ण स्वतन्त्रता छ। सर्वश्री लक्ष्मणसिंह खड्का, मोदनाथ प्रश्रित, कमल थापा, रूक्मांगद कटवाल, सीपी मैनाली एवं भरत बस्नेतजस्ता स्वनामधन्य गोर्खाली राष्ट्रवादका अनुयायीहरूले त्यस स्वतन्त्रताको निर्बाध उपयोग पनि गर्दै आएका छन्। त्यस्तो कर्मको सम्मान गरिनुपर्छ। तर, पृथ्वी जयन्तीलाई एकता त के, अरू कुनै पनि राष्ट्रिय दिवसको संज्ञा दिनु बहुसंख्यक नेपालीको पीडाको खुल्ला अपमान हो।

पाखण्डको पराकाष्ठा

समुदाय विशेषको स्वार्थलाई राष्ट्रवादको बर्को ओढाएर सम्मानित गर्न खोजिए झैँ सार्वभौमिकताको आवरणभित्र मनपरी गर्न पाउने स्वतन्त्रताको अभ्यास पनि पाखण्ड नै हो। मानव सभ्यताको इतिहासमा राष्ट्रिय स्वाधीनताको परम्परा उसै पनि खासै पुरानो छैन। परिवार, समुदाय, कबिला, धर्म, राजा र साम्राज्यका लागि लड्दै आएका योद्धाहरूलाई राष्ट्रको पहिचान सिकाइएको युरोपमा पनि इस्वीको सत्रौँ शताब्दीताका मात्रै हो।

राजा पृथ्वीका लडाकाहरू विजित क्षेत्रमा पाइने लुट र जग्गाको लोभका साथै निमकको सोझो नगरे पाप ठहरिने वा सजायको भागी भइने डरले गर्दा लड्ने गर्थे। गोर्खाली लडाकाहरूको साम्राज्यलाई आधुनिक अर्थमा राज्यको मान्यता दिएको सुगौली सन्धिले (सन् १८१४–१६)मात्रै हो। इस्ट इन्डिया कम्पनीको आवासीय राजप्रतिनिधिलाई काठमाडौँमा राख्नैपर्ने शर्तका कारण नेपालको स्वाधीनता केही संकुचित गरिएको भए पनि नेपालका राजाको स्वायत्तता सुगौली सन्धिले सुनिश्चित गरेको हो।

जंगबहादुरले सन् १८५७ ताका सिपाही विद्रोह दबाउन इस्ट इन्डिया कम्पनीप्रति दर्शाएको बफादारीका कारण नेपालको स्वाधीनताका साथै भूभाग पनि केही विस्तारित भयो। चन्द्र शमशेरले बेलायतको चाकरी गरेर सन् १९२३ को नेपाल–बेलायत सन्धिमार्फत् राजप्रतिनधि तहको अधिनस्थ सम्बन्धलाई उपराजदूत (एनब्वाई) स्तरको आश्रित मेलजोलमा रूपान्तरित गर्न सफल भए। प्रथम विश्वयुद्धले गर्दा त्यस्तो उन्नति सम्भव भएको भए पनि नेपाल–बेलायत सम्बन्ध भारतको स्वतन्त्रताकालसम्म पनि मूलतः सेवक–स्वामीकै थियो भन्ने कुरा स्वीकार्न गाह्रो मान्नु पर्दैन। नेपाल उपनिवेश नभएर बेलायतका तावेदारहरूले स्वामीभक्त भएर सञ्चालन गरेको आश्रित राज्य थियो। अंग्रेजहरूको सेवा गरेवापत् बकसमा पाएको नेपालको स्वतन्त्रतालाई पूर्णता दिएको सन् १९५० को नेपाल–भारत मैत्री तथा शान्ति सन्धिले हो।

सम्भाव्य अलोकप्रियताबाट रत्तिभर नडराइ साँचो बोल्न नहच्किने नेपालका थोरै व्यक्तिमा दमननाथ ढुंगाना पनि पर्छन्। उनको आकलनमा नेपालको स्वतन्त्रता सन्धिसर्पणले बाँधिएको छ। अहिलेको युगमा निरपेक्ष स्वाधीनता उसै पनि सम्भव छैन। बेलायत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्यको हैसियतमा विशेषाधिकार प्रयोग गर्न पाउने भए पनि आफ्नै पूर्वउपनिवेश संयुक्त राज्य अमेरिकाको विरूद्ध लाग्नुअघि उसलाई कम्तीमा चारपटक सोच्नुपर्ने हुन्छ। सबै सम्बन्ध समसामयिक विश्वमा जेलिएका छन्। ताइवानलाई आफूखुसी 'एकीकरण' गर्न पाइएन भनेर चीनले बिलौना गर्नु अशोभनीय र सम्भवतः जोखिमपूर्ण पनि ठहरिने छ।

नेपाल–बेलायत सम्बन्ध सेवक–स्वामीजस्तो भएकाले काठमाडौँका शासकहरूले बेलामौकामा घुर्कीलाई पनि सार्वभौमिकताकै रूपमा अर्थ्याउन पाउँथे। नेपाललाई स्वतन्त्र छाडेर बेलायतलाई बित्ने कुरो केही थिएन, बरु खर्च जोगिन्थ्यो। सन् १९५० को सन्धिले भने नेपालको स्वतन्त्रता सुनिश्चित गर्नुसँगै दायित्वको पनि सृजना गरेको छ। दायित्व पूरा नगर्ने, तर सन्धिले प्रत्याभूत गरेका सुविधाहरूलाई अधिकारका रूपमा अर्थ्याउने प्रवृत्तिका कारण नेपाल–बेलायत सम्बन्ध भारतको स्वतन्त्रतापश्चात् असमञ्जसपूर्ण बन्न गएको हुनुपर्छ। घुर्कीको भरमा बराबरीको सम्बन्ध चल्न सम्भव पनि हुँदैन। यति कुरा त कूटनीतिलाई केट्यौली खेल सम्भि्कने नेपालका राजनीतिकर्मीहरूले पनि बुझेकै हुनुपर्छ। अनि किन त फेरि नेपाल–भारत सम्बन्धमा उस्तै प्रकृतिको असमझदारी सन् १९७० पछि पटकपटक दोहोरिने गरेको छ? व्याख्या माले–मण्डले–मसाले (मामम) मनोवृत्तिको विकासक्रममा पाइन सक्छ।

दयनीय दम्भ

राजा महेन्द्रको गहिरो हीनभावका बारेमा उनका समकालीन राजनीतिकर्मीहरूले टिप्पणी गर्ने गरेको कुरा नयाँ होइन। उनी राजा हुन जन्मिएका भए पनि सक्रिय राजनीतिकर्मीको जीवन स्वेच्छाले रोजेका थिए। राजनीतिक जीवनमा सबै कुरा सोचेजस्तो नै हुन्छ भन्ने छैन। सन् १९६० दशकको सुरूताकासम्म 'जब अमेरिका मेहरवान, तो गधा पहलवान' भन्ने उक्ति पाकिस्तानका सैनिक शासकहरूका लागि प्रयोग हुने गर्थ्यो। राजा महेन्द्रको 'मण्डल' राजनीति शीतयुद्धताकाको त्यस्तै भूराजनीतिक शक्ति सन्तुलनको परिणति थियो।

परिस्थिति त्यसपछि फेरिँदै गयो। भियतनाम युद्ध गुजुल्टिँदै गएपछि अमेरिकी मेहरवानीको क्षेत्र खुम्चिँदै गयो। बंगलादेशको स्वतन्त्रतापछि 'गधा पहलवान' रहिरहने प्रत्याभूति पनि बाँकी रहेन। चीन सुस्तरी आत्मकेन्द्रित हुँदै जाने चरण सुरू भयो। तर, राजा महेन्द्रले तयार पार्न लगाएको एकल जातीय आन्तरिक राष्ट्रवाद एवं सेवक–स्वामी अन्तर्राष्ट्रिय सम्बन्धको प्रारूपका जराहरू गोर्खाली सम्भ्रान्त मनोवृत्तिभित्र यति गहिरा छन् कि त्यसले नेपाल र नेपालीलाई सितिमिति पिरोल्न छाड्ने छाँटकाँट छैन। कथंकदाचित गोर्खाली सम्भ्रान्तको बर्चस्व कमजोर भयो भने यो देश भुटान, सिक्किम, फिजी, अफगानिस्तान, रूवान्डा वा अरू नै केहीजस्तो हुन्छ भन्ने भयदोहन गर्दै गोरखा भुइँचालोको छेको पारेर गोर्खाली संविधान भन्न मिल्ने मूल कानुन 'अति तीव्र गल्ली' प्रक्रियाद्वारा जारी गरिएको हो। देश त जे हुनु छ, त्यो हुन्छ नै। देशवासीको भविष्यलाई भने भड्खालोमा पुर्यालएको यही 'मामम' हीनग्रन्थीले हो। आत्मविश्वाशको अभावबाट जन्मिएको दम्भ अन्ततः अभिशाप ठहरिन्छ।

भारतीय सल्लाहको निरन्तर बेवास्ता पनि कम दयनीय तर्कमा आधारित छैन। मालिक–अमेरिका र अन्य पश्चिमा शक्ति गुहार्ने, अर्को छिमेकी (चीन) तिर ढोका खोल्ने वा आफ्नो फोहोर आँगनमा छर्केर महामारी फैलाउने (राज्य संरक्षित तस्करी)जस्ता कामहरू खुलेआम गरेर 'मामम' सत्ताले नेपाल–भारत सम्बन्धलाई जेजस्तो आयाम दिन सक्थ्यो, त्यो दिइरहेकै छ। देशको दिगोपन भने दिनानुदिन कमजोर हुँदै गइरहेको छ। यो पनि यदि राष्ट्रद्रोहजस्तै कर्म होइन भने मामम राजनीतिक शब्दकोष बेग्लै हुनुपर्छ।

राष्ट्रिय खर्चमै भए पनि एकपटकका लागि राजा महेन्द्रको अन्त्येष्टि विधिविधानपूर्वक गर्न जरूरी छ। लाग्छ, उनको आत्माले शान्ति नपाएसम्म नेपाल 'मामम' प्रेतको अभिशापबाट मुक्त हुन सक्ने छैन। हीनभावले ग्रस्त देशले केहीगरी आफ्नो अस्तित्व जोगाइहाले पनि उन्नति भने कदापि गर्न सक्दैन। र, उन्नतिबेगरको अस्तित्व निरन्तर धरमर रहिरहन अभिशप्त हुन्छ। जारी तेस्रो मधेस विद्रोहले यतिमात्र राष्ट्रिय आत्मानुभूति जगाउन सक्यो भने त्यो सफल ठहरिने छ। बाँकी दाबी त तपसीलका कुरा हुन्। आत्मविश्वास भएकाहरू जस्तोसुकै जोखिमपूर्ण लेनदेन र सम्झौता सजिलै गर्न सक्छन्।
अर्को समाचार
हीनभावको महामारी
०४ माघ २०७२
•
६ मिनेट पाठ
हीनभावको महामारी
नागरिक (१ माघ २०७२) मा सिके लालको लेख छापिएको छ जसमा उनले पृथ्वीनारायण शाह र नेपालको एकीकरणबारे लेखेका छन्। नेपालमा अहिले लोकतन्त्र छ र सबैलाई अभिव्यक्तिको स्वतन्त्रता छ। उनले लेखेका केही बुँदाका केही विचारबाट भने अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त हकको दुरूपयोग भएको प्रतीत हुन्छ।लालले नेपालका पुराना भनिने राज्यका सञ्चालकलाई संसारभर 'दरिद्री' रहनुपर्ने अवस्थाका लागि जिम्मेवार रहेको लेखेका छन्। उनी थप्छन्– 'दिव्य उपदेशबारे आफ्नो धारणा प्रकट गर्दै एक विजेताले ठूलो दुःखले आर्जेको मुलुक आफ्नो शाखा सन्तानको निरन्तर नियन्त्रणका लागि लेख्न लगाएको सैनिक शासनको हातेपुस्तकमात्र हो।' वास्तवमा दिव्य उपदेश वि.सं. १८३२ मा लेखिएको थियो जुन युरोपमा फ्रान्सेली क्रान्तिभन्दा अगाडि थियो। नेपाललाई 'चार जात छत्तीस वर्णको फूलबारी' भन्नु, जनताको पत्यार भएको व्यक्ति कालु पाण्डेलाई आफूलाई मन परेको व्यक्ति विराज बखतीको सट्टा प्रधान मन्त्री बनाउनुलाई प्रजातान्त्रिक अभ्यास भन्नुपर्ला। वि.सं. १८२५ को इन्द्रजात्रामा पृथ्वीनारायणले पहाडे, नेपालीभाषी हिन्दु धर्मावलम्बी पुरुष थिए, कुमारी जो नेवारभाषी, बुद्ध धर्म मान्ने महिला थिइन्, आशीर्वाद र टीका ग्रहण गरेको घटना बहुजातीय, बहुभाषिक र बहुधार्मिक नेपालको एकीकरणको पहिलो महत्वपूर्ण घटना थियो। पृथ्वीनारायणपछि उनका वंशजले पनि यो परम्परा कायम राखे। गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले समेत कुमारीबाट टीका ग्रहण गर्ने यस परम्परालाई निरन्तरता दिए। काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा, घोडेजात्रा जस्ता धार्मिक र सांस्कृतिक पर्वमा बिदा दिने चलन अझैसम्म पनि एकीकरणपछि कायम छ।

पृथ्वीनारायण शाहको दिव्योपदेशमा घूस लिने र दिने दुवैविरुद्ध लेखिएकामा पनि सिके लाल आलोचना गर्छन्। यस्तो आलोचना त हालको युगमा भ्रष्टाचार विरोधी र पारदर्शीका समर्थक ट्रान्सपरेन्सी इन्टरनेसनलले राखेको मापदण्डको पनि विपरित छ।

सिके लालले 'बिहार वा बंगालका नबाबहरूलाई सांकेतिक नजराना चढाएर तराई मधेसका जमिनदारलाई समेत कि रैती बनाए अथवा सम्पत्ति जफत गरी लखेट्ने काम गरेको' अभियोग गोर्खालीमाथि लगाएका छन्। एकीकरणअगाडि मकवानपुरको नेपालीभाषी सेन राजाअन्तर्गत मधेसको बारा, पर्सा र रौतहट पर्थे। विजयपुरअन्तर्गत कोशी क्षेत्रको सुनसरी, मोरङ र झापा पर्थे। पाल्पाको सेन राजाअन्तर्गत लुम्बिनी अञ्चलको तराई पर्थ्याे। यिनले बिहार र बंगालका नबाबलाई नजराना चढाएर स्वायत्त शासन चलाएको कुरा निराधार हो।

यसैगरी डोटीका राजाको अधिनमा कैलाली र कञ्चनपुर थिए। सिके लाले भनेजस्तो बिहार र बंगालका नबाबलाई नजराना चढाउने प्रश्नै उठ्दैन। सुगौली सन्धि हुनुअगाडि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालकै अन्तर्गत थियो तर त्यसपछि लखनउमा नबाबले अंग्रेजलाई लडाइँमा ऋण दिई सहायता गरेकाले भेट्टाए। सन् १८५७ को विद्रोहमा जङ्गबहादुरले अंग्रेजलाई सहायता गरेकाले ती चार जिल्ला (नयाँ मुलुक) नेपालले फिर्ता पायो। नेपालको मधेस तराई क्षेत्रमा स्वाधीन राज्य रहेको कुरा इतिहासमा देखिएको छैन।

के जातीय विभेद पहाडमा मात्र छ, तराईमा छैन? तराईको जनसंख्यामा न्यून प्रतिशत त्यहाँका उच्च जाति (तराई ब्राह्मण, राजपुत, भूमिहार र कायस्थ) को छ। तराईको जनसंख्यामध्ये पिछडा वर्ग र दलितको संख्यामा धेरै प्रतिशत छ। नेपालमा पृथ्वीनारायण शाह र उनका वंशजको शासन हुँदा उनीहरूले बनारसकी नरेन्द्रलक्ष्मी (पृथ्वीनारायण शाह) मैथिली ब्राह्मणी (रणबहादुर शाह) अवधीभाषी राजपुत (राजेन्द्रविक्रम शाह, त्रिभुवन) सँग विवाह गरी बडामहारानी बनाएको देखिन्छ। सम्पूर्ण भारत वर्षमा मुगल, तुर्कहरूको शासन रहँदा नेपालमात्र यस्तो भूभाग रह्यो जो एक हजार वर्षसम्म स्वतन्त्र रह्यो। हुन त चौधौं शताब्दीमा बंगालका सुल्तान समसुद्धिनले आएर पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरमा तोडफोड गरे, उनी धेरै दिन यहाँ टिकेनन्। पृथ्वीनारायणले बंगालका मिर कासिम तथा किनलकको अंग्रेजी सेना हराउन सफल भए। त्यसकारणले पनि उनलाई सम्मान गरी उनको जन्मदिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने देखिन्छ। पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण नगरेको भए अहिले हामी भारतको एउटा प्रान्त हुन्थ्यौं सायद।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस