बिहार नधाऊ, काठमाडौं आऊ
२० माघ २०७२
•
१५ मिनेट पाठ
बिहार नधाऊ, काठमाडौं आऊ
नागरिककर्मी मिथिलेश यादवद्वारा रिपोर्टिङ गरिएको एउटा तस्बिरले भारतीय मनोविज्ञान प्रकट गरेको छ। तस्बिरमा भारतीय राजनीतिका चर्चित पात्र लालुप्रसाद यादव एउटा बेतको आरामदायी कुर्सीमा आसीन छन्। उनको कुर्सीमा गद्धा छ। उनी आरामसाथ प्रवचनको शैलीमा छन्। ठूलो कम्पाउन्डमा आमनेसामने बसेर घाम ताप्दै उनको अर्ति सुन्न हाम्रा नेता प्रतीक्षारत छन्।लालुबाट अलि टाढै राखिएका हरिया, निला प्लास्टिकका कुर्सीमा नेपालको उपप्रधानमन्त्री भइसकेका र मधेस आन्दोलनका अगुवा उपेन्द्र यादव, पटकपटक मन्त्री भएका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव देखिन्छन्। तस्बिर आफँै बोल्छ– लालुको छायाछवि हैकमी शैलीमा छ र हाम्रा स्वनामधन्य नेता अर्ति सुन्न र आज्ञा शिरोपर गर्न आतुर।




एउटा सार्वभौम मुलुकका नेता र सांसदलाई छिमेकी मुलुकका नेताबाट सम्मान र आतिथ्यको अपेक्षा हुन्छ नै। राजनीतिक नेतृत्व भनेको जनताको प्रतिनिधित्व हो। नेतृत्वको आचरण, व्यवहार, संस्कारले उनीहरू जुन समाज वा देशका हुन्, त्यस्तै व्यवहार पस्कन्छ। कुरो भिन्नखाले कुर्सीको होइन। कुर्सी त एउटा आसन मात्र हो। मुख्य कुरो संस्कार र व्यवहारको हो। नेताहरूले बुझ्नुपर्छ, नेपालको राजनीतिक सन्दर्भमा लालुले गर्ने व्यवहार, भारतका प्रधान मन्त्री नरेन्द्र मोदी वा कुनै नेताले गर्ने व्यवहार हो। उनीहरू हैकमवादी मनोविज्ञानबाट ग्रस्त छन् र त्यही मान्यतामा नेपालीप्रति व्यवहार गर्छन्। निश्चय नै हाम्रा मधेसी नेता सहयोग माग्न त्यहाँ गएका हुन्। समाचारमा आएअनुसार मधेसी मोर्चामा आबद्ध तीन दलका शीर्ष नेताले काठमाडौँले आफ्ना माग सम्बोधन नगरेको पोल लगाए। मधेसीप्रति काठमाडौंले विभेद गरेको र दोस्रो दर्जाको नागरिकको हैसियतमा व्यवहार गर्ने गरेका गुनासा लालुहरूसँग गरे।

छ महिना लामो मधेस आन्दोलन क्रममा मोर्चामा आबद्ध नेताहरूको दिल्लीदौडाहा पनि सम्पन्न भइसकेको छ र यसबीच मधेसका मागलाई लिएर संविधान संशोधन पनि भएको छ। दिल्ली र पटनामा जसरी मधेसी मोर्चाका नेता सक्रिय रहेका देखियो, त्यस्तैखाले कार्यक्रम कम्तीमा काठमाडौंमा भएको देख्न/सुन्न पाइएन। कस्तो विडम्बना! अहिले उनीहरू बिहार, युपीका नेतासँग सहयोगको याचना गर्दैछन्। सुनिँदैछ, रोटीबेटीको सम्बन्धका कारण भारतीय नेताहरू मधेसी मोर्चाका आन्दोलनमा सहयोगको आश्वासन बाँड्दैछन्। छ महिना लामो मधेस आन्दोलनको अवतरण कहिले र कसरी? समसामयिक नेपालको राजनीतिमा पेचिलो प्रश्न बनिरहेको पृष्ठभूमिमा बिहार र युपीका नेताहरूसँगको भेटघाटले नेपालको राजनीतिक कूटनीति अझ जटिल बनाउँदै त छैन? मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पछिल्लो राजनीतिक तीर्थाटनमा सहभागी छैन। यसको राजनीतिक अर्थ के हो? समयक्रममा पटाक्षेप हुँदै जाला।

मधेसी मोर्चाले उठाएका सबै माग संविधान जारी गर्ने राजनीतिक दलले पूरा गर्न सक्ने छैनन्। माग राख्ने र त्यसको सम्बोधन गर्ने पक्षबीच लेनदेन हुन्छ नै। छाड्न र सहमत हुने विषयहरू साँघुरिँदै जाने हुन्छ, कुरो मिल्दाखेरि। तर लोकतन्त्रमा आफ्ना माग गर्ने निकाय भनेको जनताको प्रतिनिधित्व गर्ने संसद हो। संविधानसभामा बहिष्कारको राजनीति र अहिले व्यवस्थापिका संसदले संविधान संशोधन गर्ने क्रममा पनि बहिष्कार गर्ने मधेसी मोर्चाको नीतिपछाडिका ध्येय राजनीतिको उपचार संसदबाहिरबाट खोज्ने प्रवृत्ति हो। छ महिनाको मधेस आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ भन्ने आवाज मधेसमै घनीभूत भइरहेको छ। यस्तो अवस्थाको आँकलन मोर्चाले गर्न सक्नुपर्छ।

अनौपचारिक रूपमै भए पनि मध्य र पूर्वी तराई मधेसका बजार खुलेका छन्। स्कुल चल्न थालेका छन् र केही क्षेत्रमा यातायात पनि चल्न थालेको छ तर सबैभन्दा मुख्य र काठमाडौँको चासो भनेको वीरगन्ज नाका खुल्नुसँग सम्बन्धित छ। त्यो नाका खुल्नका लागि मधेसी मोर्चा सहमत हुनुपर्छ। र, के देखिँदैछ भने मोर्चाभन्दा बढी त्यहाँ दिल्लीको दिल सफा नियतसाथ सहयोगमा उत्रन आवश्यक छ। नेपालको संविधान जारी भएको अवस्थामा मौनता साँधेको दिल्लीले संविधान संशोधनको पनि स्वागत गरेको छैन। संविधान संशोधनलाई सकारात्मक भन्न रुचाउने दिल्ली मधेसीका माग पूरा नहुन्जेल नाका नखुल्ने अभिव्यक्ति दिन थालेको छ।

मधेसी मोर्चाका माग, दिल्लीको चाहना र काठमाडौंका स्वार्थहरूको फ्युजन भएपछि मात्र आन्दोलनले विश्राम लिनेछ। वीरगन्जको नाका खुल्नेछ। आशा गरौँ, त्यो दिन चाँडै आओस्। भोलिका दिनमा अहिले प्रस्तावित २ नम्बर प्रदेशको भूगोलमा परिवर्तन हुनेछ वा छैन ? जे पनि हुनसक्छ। तर, मधेसको नेतृत्व गरेको दाबी गर्ने नेताहरूले भोलिको राजनीतिबारे सोचेको देखिएन। दिल्ली, बिहार र युपीका नेतासँग याचना गरेर काठमाडौंलाई गलाउने नीति तत्कालका लागि लाभकारी हुनसक्ला। दुई देशका बासिन्दाबीचको सामाजिक सम्बन्ध, आर्थिक, सांस्कृतिक सम्बन्धका आयाम छन्। रोटीबेटीका सम्बन्ध छन् तर ती सम्बन्धलाई राजनीतिक रङ दिनु कति उचित हुन्छ, हुँदैन? बेलैमा सोच्न आवश्यक थियो। अहिले ढिलो भइसकेको छ। आफ्नो घरका मामलामा छिमेकीको साथ र समर्थन लिन थालेपछि उसले आन्तरिक मामलामा हस्तक्षेप गर्न थाल्छ। हामी त्यस्तो अवस्थाका लागि राजमार्ग बनाउँदैछौं।

प्रदेश २ को नक्सा बदलिएको अवस्था वा अहिलेकै स्थितिमा पनि भोलिका दिनमा प्रदेश राजनीतिक मामलामा अहिले काठमाडौं र दिल्लीसँगको स्वार्थ बाझेजस्तै यो प्रदेश र बिहारको राजधानी पटनाका स्वार्थबीच टकराब हुने निश्चित छ। छ वर्षअघि वीरगन्जदेखि विराटनगरसम्मको यात्राका क्रममा सीमावर्ती गाउँहरूका नेपालीको तीतो अनुभव सुन्ने अवसर मिलेको थियो। काठमाडौँले सोच्न पनि नसक्ने र पहाडका नेपालीले कल्पना पनि गर्न नसक्ने पीडा र सास्ती भोग्ने ठूलो संख्याका नेपाली सीमा नाकामा बस्छन्। उनीहरूको जीवनयापन कसरी चल्दैछ? त्यसको लेखाजोखा सिंहदरबारको राजनीति गर्ने केपी ओली र मधेसी मोर्चाको राजनीति गर्ने राजेन्द्र महतो दुवैले गर्न सक्तैनन्। काठमाडौँबाट टाढा र छिमेकी भारतीयबाट हेपिएका ती मधेसीमूलका नेपालीको भोगाइका आफ्नै व्यथा/कथा छन्। नुन, चिनी, दाल, चामलमा पारिपट्टि निर्भर हुनुको पीडा, सुरक्षाकर्मीले गर्ने व्यवहारका भुक्तभोगाइका आफ्नै पीडा छन्। यताका अपराधी उता गएर अपराध मच्चाउने, उताका अपराधीले यता आएर सुरक्षित हुने धन्दा मुलुकका अन्य क्षेत्रका नागरिकले भोग्नुपर्दैन।

अहिले मधेसी मोर्चाका नेताले बिहार र युपीका नेताहरूसँग याचना गरेजस्तै भोलिका दिनको संघीय राजनीतिमा सौहार्द सम्बन्ध कायम रहला? प्रश्न गहिरो छ। अहिले मधेसको ठेक्का लिएको शैलीमा राजनीतिमा रमाइरहेका मधेसी नेताहरूको चरित्र, भारतीय नेतृत्वको चाहना र स्वार्थबीच सौदाबाजी हुनसक्ला तर तराई मधेसका जनता हिजोजस्ता थिए, आज त्यस्ता छैनन्। त्यहाँ ठूलो जागरण आएको छ। जातीय, वर्गीय, लिंगीय विभेदले जरा गाडेको तराई मधेसको सामाजिक, राजनीतिक स्थितिमा आएका जबर्जस्त परिवर्तनका कारण अहिलेका मधेसी राजनीतिकर्मीले लामो समय राज गर्ने देखिँदैन। मुलुकले अख्तियार गरेको समानुपातिक, राजनीतिक प्रणाली र आरक्षणका कारण सीमान्तीकृत समुदायको राजनीतिमा महŒवपूर्ण उपस्थिति हुने निश्चित छ । त्यसैले भोलिका दिनमा भारतसँगको सम्बन्ध परिभाषित गर्ने नयाँ अनुहार आउनेछन्।

अब बिस्तारै मधेसमा डुबान र बाढीका कारण र समस्याको जड खोजिनेछ। चुरेदोहन, यहाँका ढुंगा, गिट्टी र काठ निर्वाध निर्यात हुने अहिलेको अवस्था सहज हुनेछैन। के देखिन्छ भने वर्षौंको भोगाइ, हेपाइविरुद्धका आवाज बुलन्द हुन थालेको स्थितिमा मधेस र पटना वा मधेस र दिल्लीसँगको सम्बन्धका अहिलेका आयाम परिवर्तन हुने निश्चित छ। त्यस्तो अवस्थामा सम्बन्धमा गतिरोध आउनेछन्। तराई मधेसको विकासको मेरुदण्ड भनिएको हुलाकी राजमार्ग हाम्रालागि हो तर भारतका लागि त्यो बाँध पनि हो। पानीढलो उत्तरबाट दक्षिणतर्फ छ। मनसुनका पाँच महिनामा अत्यधिक वर्षा हुन्छ, त्यही बेला नेपाली गाउँ डुबानमा पर्छन्, कटानमा झेल्छन्। भारतले सिमानामा धमाधम बनाएका बाटा र बाँधबारे अब नेपालका सीमावर्ती गाउँहरूमा बहस हुने निश्चित छ। ती दिन अब टाढा छैनन्। त्यस्तो बेला रोटीबेटीको भावनात्मक सम्बन्ध भन्दा राजनीतिक/कूटनीतिक पक्ष प्रबल भएर उठ्नेछ।

सिंहदरबार सत्ता टिकाउन कालो बजारीलाई प्रश्रय दिँदैछ। ऊ कालो अर्थतन्त्रलाई मलजल गर्दैछ। मधेस आन्दोलनको आडमा तराई मधेसमा अपराध मौलाएको छ। मानवताविरुद्ध निषेधको राजनीति अख्तियार गरिएको छ। विरोधी पार्टी र नेता/कार्यकर्तामाथि जाइलाग्ने घोर अधिनायकवादी चरित्र प्रदर्शन भइरहेको छ। अराजकता र अनियन्त्रित आन्दोलनको आडमा अपहरण र हत्याका सिलसिला सुरु भएका छन्। मुलुकको धरातलीय यथार्थ आँकलन गर्दै मधेसी मोर्चाले आन्दोलनका स्वरूप परिवर्तन गर्नुपर्छ। जनतालाई दुःख दिने आन्दोलनबाट मुक्त हुनुपर्छ। उनीहरूले बिहार र युपीका नेतासँग होइन, काठमाडौंकै नेतासँग घनीभूत वार्ता गर्नुपर्छ। काठमाडौंको सत्ताले दिल्लीलाई दुत्कार्दै स्वाभिमानी प्रदर्शन गर्ने र अभाव, पीडा र सास्ती भोगिरहेका नेपालीलाई आत्मनिर्भर बनेको संज्ञा दिने ढोग त्याग्नुपर्छ। आआफ्नै स्वार्थबाट प्रेरित राजनीति अति भो, अब त्यसको अन्त्य हुनुपर्छ। काठमाडौं र मधेसी मन मिलेपछि दिल्ली आपसेआस ठेगानमा आउँछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस