जिम्मेवार बन कांगे्रस प्रतिनिधि
२० फागुन २०७२
•
१७ मिनेट पाठ
जिम्मेवार बन कांगे्रस प्रतिनिधि
साढे चार दशकअगाडि विराटनगर मधुमारामा जुम्ल्याहा दाजुभाइ डेरा गरी बस्थे । निडर थिए, निर्भिक थिए । देशमा निरंकुश राजतन्त्रको समय थियो । राजा महेन्द्र थिए । बिपी कोइरालालगायत अधिकांश कांग्रेस नेताहरु निर्वासनमा थिए । राजनीतिकरूपले 'हिट एन्ड रन' को रणनीति कांग्रेसको थियो।यस्तो अवस्थामा पनि स्कुल कलेजका मध्यम र निम्नमध्यम वर्गका युवाले लोकतन्त्रको दियो निभ्न दिएका थिएनन् । निरंकुश राजतन्त्रलाई चुनौती यिनै युवाबाट थियो । यिनैमध्ये थिए राम र लक्ष्मण नाम गरेका यी जुम्ल्याहा दाजुभाइ ।




२०२८, माघ महिनाको जाडो थियो । अचानक विराटनगरमा खबर फैलियो– राजा महेन्द्रको निधन चित्तोन दियालो बंगलामा भयो भनेर । सरकारी सञ्चारमाध्यमबाट शोकको धून बजाउन थालियो । केही दिनदेखि सञ्चालित प्रवेशिका परीक्षा तेह्र दिनको लागि स्थगित भयो । तर यी जुम्ल्याहा विराटनगरमा 'तानाशाहको मृत्यु भयो अब लोकतन्त्र आउँछ' भन्दै शंखनाद गर्दै गरेका भेटिन्थे सडकमा । बडो दुस्साहसी र प्रतिबद्ध लोकतन्त्रवादी थिए, गणतन्त्रवादी थिए ।

सिरहाको लहानबाट विराटनगर कलेजमा उच्च शिक्षा हासिल गर्न आएका यी जुम्ल्याहा 'झोराकाण्डमा' राजद्रोहको आरोपमा जेल पर्छन् । जेलको निष्क्रिय जीवन दाजुभाइलाई मन पर्दैन । र, कुनै किसिमले यी जेलबाट भाग्छन् र भारत पुग्छन् । निर्वासनमा रहेका कांग्रेस नेताहरुले यिनलाई भारतमा बन्दुक थमाएर ओखलढुंगा कब्जा गरी कांग्रेसको आधार क्षेत्र निर्माण गर्न खटाउँछन् । यी दुवै हाँसिहाँसी कांग्रेसको चारतारे झण्डा बोक्दै नेपाल प्रवेश गर्छन् । र, अन्ततः अनेकन् घात÷प्रतिघातको शिकार भएर सोलुखुम्बुको 'टिम्बुरबोटे' मा तत्कालीन नेपाली सेनाको गोली र बमबाट मारिन्छन् । जुनबेला अधिकांश निम्न र मध्यम वर्गीय परिवारका युवा डक्टर र इन्जिनियर बनेर आफू र परिवारलाई मात्र सोच्थे, यी दाजुभाइ भने देश र इतिहासप्रति आफ्नो जिम्मेवारी रहेको भाषण गर्थे । यही क्रममा यी दुवैले आफ्नो जीवन समाप्त गर्छन् ।

राम लक्ष्मणको समय कांग्रेस हुन सजिलो थिएन । अझ कांग्रेस भएर नेपालमा बस्न झनै गाह्रो थियो । अहिले कांग्रेसको तेह्रो महाधिवेशन जारी छ । प्रधान मन्त्री खड्गप्रसाद ओलीले राम–लक्ष्मणलगायत निरंकुश राजतन्त्रविरुद्ध लडेर मृत्यु वरण गर्ने धेरैलाई यसै हप्ता सहिद घोषणा गरे । कांग्रेसको तेह्रो महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको यो घोषणाको नेपालको इतिहासमा ठूलो महत्व छ । अझ कांग्रेसका लागि यसको महत्व हुनुपर्छ किनकि कांग्रेस सधैँ आफ्नो गौरवशाली इतिहासमा रमाउने पार्टी हो ।

राम र लक्ष्मणका समवयी युवाहरु पार्टीको तेह्रो महाधिवेशनमा सभापति हुन प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसको पर्यावाची बनेको कोइराला परिवारका सदस्य पनि कांग्रेस नेतृत्वमा लड्दैछन । आज कांग्रेसजन जुन उत्साह र उमंगका साथ तेह्रो महाधिवेशन गर्दैछन् त्यसको जग नेपालमा यिनै निरंकुशताविरुद्ध लड्ने युवाहरुको छातीमा लागेको गोलीबाट जन्मेको हो । तसर्थ, अब एकछिन टक्क अडिएर कांग्रेसको महाधिवेशन थलोहरुमा झुण्डाइएका फोटोहरुभन्दा पर कांग्रेसको इतिहास स्मरण गर्ने समय आएको छ अहिले । त्यहाँ धेरै युवा भेटिन्छन् सहिद भएका । त्यहाँ धेरै मधेसी पनि देखिन्छन् दुर्गानन्द झा, कामेश्वर र कुशेश्वर जस्ता । जनजाति र आदिवासीको त्याग र उत्सर्ग पनि कम छैन कांग्रेसमा । तसर्थ सिंहदरवार र पार्टी दरवारभन्दा बाहिर कांग्रेसको चारतारे झण्डामुनि सहिद भएका सामान्य नागरिक स्मरण गर्नुपर्नेछ ती देशभरबाट आफ्नो नेता छान्न आएका प्रतिनिधिले ।

कांग्रेस कसको पार्टी ?

इतिहास स्मरणसँगै सर्वप्रथम कांग्रेस कसको र कहाँको पार्टी हो भनी सोचौं । कांग्रेस विराटनगरका कोइरालाको पार्टी हो भनेर धेरै जना आरोप लगाउँछन् । राम र लक्ष्मणको स्मरण यो कोइरालाको मात्र पार्टी होइन भन्नका लागि माथि गरियो । बिपी कोइरालाले 'कांग्रेस निसन्देह किसानको पार्टी हो' भन्नुभएको छ । आज कांग्रेसको तेह्रो महाधिवेशनमा किसानको नेता को हो ? वास्तवमा किसान को हो आजको नेपालमा पहिचान नै छैन । अनि कांग्रेसमा किसानको हित गर्छु भनेर कुन नेता अगाडि आएका छन् हेरौँ । भूमि र किसानप्रति कांग्रेसले लिने मूर्त नीति के हो भनी प्रतिनिधिले आफ्ना नेतालाई सोध्नुपर्छ । गाउँघरमा खेत बाँझो छ, युवाहरु गाउँमा बस्दैनन् । उत्पादन मात्र नभएको होइन, नेपालको ग्रामीण समाज विखण्डन भएको छ । किन यस्तो परिस्थिति आयो र भोलि कसरी गाउँमा उत्पादन र रोजगारी बढाउने भनी चिन्तन गर्ने समय यही हो ।

कांग्रेसका प्रतिनिधिहरु महाधिवेशनमा चाहिनेभन्दा बढी नै उल्लासमय हुन्छन् र पछि पश्चातापमा जल्छन् । महाधिवेशनको समय उमंग र उत्साहसँगै जिम्मेवारी बोध हुन पनि जरुरी छ कांग्रेस प्रतिनिधिलाई । किन भोट दिने कुनै पनि उमेदवारलाई भन्ने प्रश्न आफ्नै अन्तरआत्मासँग सोध्नुपर्छ । देउवा, कोइराला वा सिटौला गुटको नाममा भोट दिने अनि कांग्रेस संस्थागत भएन, भागबन्डा भयो भनेर बाँकी ४ वर्ष रुने÷कराउने धन्दामा लाग्नु कत्तिको श्रेयष्कर छ ? प्रतिनिधिलाई हेक्का होस्, कांग्रेसमा नेता त्यस्तै छानिन्छन् जस्तो प्रतिनिधिले छान्छन् ।

यहाँनेर कांग्रेस किसानको पार्टी होइन भने के युवाको पार्टी हो भनी सोध्नुपर्ने हुन्छ । यदि त्यसो हो भने युवाहरु नेतृत्व तहमा कहाँ छन् ? के आज पनि ६० नाघेकालाई युवा भन्न सुहाउँछ कांग्रेसमा ? नेपालमा विद्यमान राजनीतिक दलमध्ये बूढाहरुले चलाएको पार्टी कांग्रेस हो । कांग्रेसमा युवाहरु 'रबर स्टाम्प' भन्दा माथि उठ्न सकेका छैनन् । कम्तीमा पनि सबै युवा प्रतिनिधिले आफ्नो समूहगत आवाजलाई भोलिका दिनमा कांग्रेसभित्र उचित स्थान पाउन एउटा उमेदवारलाई समर्थन गर्न सक्थे तर कांग्रेसको 'डिएनए' नै युवा विरोधी भएकाले कम्तीमा यो महाधिवेशनबाट यस्तो आश अब गर्न सकिएन । कांग्रेसका स्थापित नेताहरुले भनेझँै कांग्रेस किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित सबैको पार्टी हो त ? व्यवहारमा त्यस्तो देखिँदैन ।

कांग्रेस कहाँको पार्टी हो ?

कांग्रेसको नेतृत्वमा प्रतिस्पर्धामा उत्रेका अनुहार हेर्दा यो पार्टी अपवादबाहेक गण्डक र काठमाडौंकेन्द्रित देखिन्छ अहिले । सबै पदाधिकारीमा यिनै दुई क्षेत्रको मात्र हालीमुहाली देखिनु किमार्थ राम्रो कुरा होइन । रामचन्द्र पौडैल र शेरबहादुर देउवा नेपालको भूगोलको दुई ध्रुवलाई प्रतिनिधित्व गर्छन् । कृष्ण सिटौला पूर्व झापाबाट उदाएका हुन् । यसरी सभापतिको उमेदवारीमा नेपालको भूगोलले प्रतिनिधित्व गर्छ तर यी सभापतिले बाँकी पदाधिकारी जुन ढंगले वितरण गर्दैछन् र गर्ने योजना बनाएका छन् त्यसबाट त बाँकी कांग्रेसले अर्कै पार्टी खोल्नु नै हितकर देखिन्छ । सबै सभापतिले महामन्त्री र उपसभापतिमा वाग्मती अञ्चललाई कोटा दिएको देखिन्छ । किन ? किनकि यि शक्ति केन्द्रको नजिक छन् ।

सभापतिका उमेदवारले आफ्नो टिमलाई पुनर्मूल्यांकन गर्न जरुरी छ किनकि यो समावेशीमात्र नभएको होइन क्षेत्रीयरूपमा असन्तुलित पनि छ । कांग्रेसको हित यतिखेर पदाधिकारी चयनमा मधेसी, आदिवासी, दलित, जनजाति र महिला प्राथमिकतामा पर्नुपर्ने हो । तर अढाई दशकदेखि सत्ताको केन्द्रमा बस्नेको घेराबन्दीबाट कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गर्ने नेतृत्व पदाधिकारी चयनमा बाहिर आउन सकेको देखिँदैन । महाधिवेशनमा सभापति छान्ने कुरा कांग्रेसका देशभरबाट आएका प्रतिनिधिको हो । तर पार्टी र देशलाई व्यवस्थापन र अखण्ड राख्ने काम भने पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने नेताको हो । कांग्रेसमा सभापतिका सबै उममेदवार यसमा चुकेका छन् ।

कांग्रेस महामन्त्री कृष्ण सिटौलाको सभापतिको उमेदवारीलाई गम्भीरपूर्वक नलिने हो भने मेची, कोशी, सगरमाथा र जनकपुरबाट कुनै पनि पदाधिकारी भोलिका दिनमा कांग्रेस नेतृत्वमा पुग्ने लक्षण अहिले देखिँदैन । यसैबाट बुझिन्छ, कांग्रेस तेह्रो महाधिवेशनमा खुम्चनेछ भनेर । कांग्रेस राष्ट्रिय पार्टी भएकाले यसका सबै नेता एकै जिल्लाको पनि हुन सक्छन् भनेर तर्क दिन सकिन्छ । तर तर्कले देश र पार्टीको व्यवस्थापन हुँदैन । क्षेत्रीय सन्तुलनलाई ध्यान दिएर कांग्रेसको भावी पदाधिकारी चयन होस् भन्ने माग महाधिवेशन प्रतिनिधिहरुले उठाउन सक्नुपर्ने हो अहिले ।

कांग्रेस कस्तो पार्टी हो ?

बिपी भन्नुहुन्थ्यो– 'कांग्रेस टाढैबाट चिनिन्छ ।' कांग्रेसीलाई निरंकुशताका दिनमा पनि चिनाउने आधार उसको स्वभिमानी उठेको टाउको र तन्केको छाती थियो भनी बिपी भन्नुहुन्थ्यो । माथिका राम र लक्ष्मण त्यही प्रतिनिधि पात्र हुन् । के अहिलेका महाधिवेशन प्रतिनिधिहरु बिपी कोइरालाको यो भनाइ आफूमा भेट्छन् ? राणाहरुसँग लडेको, राजासँग नझुकेको, कम्युनिस्टहरुको अनेकन् प्रहारबाट पनि नतर्सेको अनि जनताको सुखदुःखमा घर दैलोमो भेटिने कांग्रेस हो भनेर आजको कांग्रेसलाई बुझ्न सकिन्छ होला ? सम्भव छैन । कांग्रेसमा धेरै विशेषण र इतिहासको गौरवगाथा विगतको पुस्ताले निर्माण गरेका हुन् । आधुनिक कांग्रेसलाई नेपाली जनताले कुनै पनि विशेषणले विभूषित गर्न सकेका छैनन् । आजको पुस्ताले कांग्रेसमा नयाँ पुँजी निर्माण गरेको भए नेपालमा कम्युनिस्टहरुको यत्रो संख्या नै कहाँ हुन्थ्यो होला र ?

कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको अभ्यास भयो । यो खुसीको कुरा हो । पार्टीको आन्तरिक लोकतन्त्रले स्थानीय नेतृत्व मुखरित हुने अवसर मात्र पाउँदैन । व्यक्तिको जीवनमा लोकतान्त्रिक पद्धति र आचरण पनि विकसित गर्छ । तर पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यासमा जुन भद्धा र खर्चिलो प्रस्तुति चुनावका नाममा भइरहेको छ, यो महाधिवेशनमा प्रतिनिधिहरुले एकै स्वरमा यो विषय उठाउने छन् । आमनिर्वाचनमा समेत खर्च र प्रचारप्रसारको आचारसंहिता छ भने पार्टी चुनावमा किन नराख्ने ? इँटा, गिट्टी, बालुवा, वन तस्कर, जग्गा दलाल, नक्कली शिक्षक र भ्रष्ट कर्मचारीसँग कांग्रेसका निष्ठावान कार्यकर्ता कसरी आन्तरिक लोकतन्त्रको नाममा चुनाव लड्न सक्छन् ? क्रियाशीलका नाममा वोगस सदस्यता वितरण तुरुन्त रोक्नुपर्छ । क्रियाशील सदस्यताको नयाँ ढाँचा कांग्रेस महाधिवेशनको विषय हुन सक्छ ।

अन्त्यमा, तेह्रो महाधिवेशनले कांग्रेसका नयाँ नेता छान्ने छ । नयाँ नेता चयन गर्ने गम्भीर जिम्मेवारी बोकेर ३ हजारभन्दा बढी प्रतिनिधि देश÷विदेशवाट काठमाडांै जम्मा भएका छन् । नेता र केन्द्रीय सदस्य छान्दा प्रतिनिधिहरुले विवेक नपु¥याउँदा ३ हजार मात्र होइन, ३ करोड नेपालीले दुःख पाउने छन् । तसर्थ आफू र आफ्नो सन्ततिको भविष्य नेपालमै हामी खोज्छौ भने नेता छान्न विवेक प्रयोग गरौँ । नेता असल भए देश राम्रो हुन्छ । बुझौँ ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस