२९ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

राजनेताको अभाव खड्क्यो

सत्ता प्राप्तिका लागि छिमेकी सामुन्ने लम्पसार पर्ने अनि सत्ता हातलागी हुनासाथ तिनै छिमेकीलाई सत्तोसराप गर्ने प्रवृत्ति कदापि राजनेताको हुनुहुँदैन ।

हामीकहाँ दुई चार सय वा दुई चार हजारलाई नै भनौं पछाडि लगाएर हिँडाउन सक्ने नेतालाई राजनेता भनिने गरेको छ तर वास्तविकता त्यो होइन । नेता जो कोही पनि हुन सक्छ तर राजनेता बन्ने सौभाग्य कसैकसैलाई मात्र प्राप्त हुन्छ । सन् ६० को दशक विश्वभर राजनेता उत्पादन गर्न सक्षम अर्थात भनौं ऊर्वर दशक थियो । एसियाका महानतम् हस्ती महात्मा गान्धी, माओत्सेतुङ, चाउएनलाइ, जवाहरलाल नेहरु अनि नेपालका बिपी कोइराला, सुवर्णशमशेर र गणेशमान सिंहलगायत पश्चिमी विश्वमा पनि विन्सटन चर्चिल, जोन एफ केनेडी, विली व्रान्डहरुलाई उदाहरणका रूपमा लिन सकिन्छ । तत्पश्चात ९० को दशकमा अनायास चीनका देङस्यावपिङ र सन् २००० पछि दक्षिण अफ्रिकाका नेल्सन मन्डेलाले विश्व राजनीतिमा अमिट छाप छाड्न सफल भए । वर्तमान विश्व राजनीतिमा त्यस्तो प्रतिभाशाली राजनेताहरु दृष्टिगोचर भएका छैनन् ।

राजनीतिशास्त्रको विद्यार्थी हुँदा पनि मैले सही अर्थमा राजनेता र नेताबीचको विभेदको सन्तोषजनक भेउ पाइरहेको थिइन । एक दिन सर्वमान्य नेता गणेशमान सिंहसामु जिज्ञासाभावले यो प्रश्न राखेँ । उहाँले बडो सटिक र संक्षिप्त उत्तर दिनुभयो– 'आफ्नो निजी स्वार्थमा नअल्झी समाज, देश र अझ विश्वकै निम्ति समर्पित नेतामात्र राजनेताको निम्ति योग्य ठहर्छ । राजनेताले वर्तमानको चिन्ता गर्दैन ऊ त भविष्यको चिन्तनमा मग्न रहन्छ । त्यसैले राजनेताका निम्ति सत्ता गौण कुरा होे ।' उहाँको सत्ताप्रतिको निष्पृहता देख्दा म भन्थें– यस्ताको पछि को लाग्ला र ? पत्रकार विजय कुमारले गणेशमानलाई एक दिन सोधेछन्– तपार्इँका पछि कति सांसद छन् ? उत्तरमा उहाँले भन्नुभएछ– 'लिडरले पछाडि लाग्नेको टाउको गनेर राजनीति गर्दैन । उसको पछाडि कहिले लाख जनता हुन्छन् त कहिले आफू एक्लै । आफ्ना पछाडि पेशेवर कार्यकर्ता को कति छ भनी टाउको फर्काइ–फर्काइ हेर्ने मानिस लिडर होइन ।' गणेशमानजीले आफूले आफैंंलाई स्टेट्सम्यान भन्न संकोच मानेकाले 'लिडर' मात्र भन्नुभएको हो । वास्तवमा उहाँमा स्टेट्स्म्यानमा हुनुपर्ने यावत् गुण विद्यमान थिए ।

जसरी विद्वान्हरु सर्वत्र पुजिन्छन् भनिन्छन्, त्यस्तै राजनेताहरुको उचित कदर शत्रु देशले समेत गर्छन् । वास्तवमा राजनेताहरु विश्वसम्पदा नै हुन् । नेपालको समकालिक राजनीतिमा राजनेताको अभाव भएकै कारण नेपालीहरु यतिविघ्न प्रताडित छन् । भारतले पाँच–पाँच महिना नाकाबन्दी गरिदिएर हाम्रो अर्थतन्त्रको कम्मरमात्र भाँचीदिएन, नेपाली राजनीतिको अस्मितामाथि नै प्रहार ग¥यो । अनि यस्तो अमानवीय काम गर्ने भारतलाई बुद्धिमत्तापूर्ण ढंगले ट्याकल गर्नुको सट्टा पँधेरामा झगडा गर्ने चोथाले आइमाई जस्तै व्यवहार नेपालको तर्फबाट गर्ने हाम्रा स्वनामधन्य नेताहरुलाई दिल्लीको सुनको पिँजडा (हैदरावाद हाउस) मा थन्काइदिएर कूटनीतिक मर्यादाविपरितको व्यवहार देखाउँदासमेत हाम्रा नेताहरु 'भ्रमण सफल भयो' भन्न लाज मानिरहेका छनैन् । यो सब राजनेताको अभाव खड्किएको अवस्था हो । राजनेताको क्रियाकलाप र उसको सम्मान भनेको के हो भन्ने कुरा हाम्रो नेपालकै सन्दर्भमा भएका केही एतिहासिक उदाहरण तल प्रस्तुत छन् ।

विश्वस्तरको राजनीतिज्ञको कोटीमा गिन्ती हुने गरेका भारतका तत्कालीन प्रधान मन्त्री जवाहरलाल नेहरुले आफ्नो देशको सुरक्षाका विषयमा संसद्लाई जानकारी दिने क्रममा भन्नुभएको थियो– 'भारतको उत्तरतर्फको सुरक्षा घेरा हिमालय पर्वत शृंखला हुन् ।' यो कुरा नेपाललाई हजम भएन । त्यसकारण विश्व राजनीतिमा आफ्नो पाउ जमाइसकेका नेपालका तत्कालीन युवा प्रधान मन्त्री विश्वेश्वरप्रसाद कोइरालाले तत्क्षण नेहरुजीको वक्तव्यको प्रतिवाद गर्दै भन्नुभयो– 'हिमालय पर्वत शृंखला नेपालका अभिन्न अंग हुन् । नेहरुजीले भूलवस् यसलाई भारतको 'सुरक्षा घेरा' को संज्ञा दिनुभयो । समयक्रममा उहाँले आफ्नो वक्तव्य सच्याउनुहुनेछ ।' नभन्दै केही दिनकै अन्तरमा पुनः नेहरुजीले भारतको संसद्मा विशेष समय लिएर आफ्नो वक्तव्य सच्याउँदै भन्नुभयो– 'हिमालय शृंखला नेपालकै हो भन्नेमा कसैको दुई मत हुनै सक्तैन । मेरो अघिल्लो वक्तव्यले सिर्जना गरेको भ्रम म आफैँ सच्याउँछु ।'

बिपी कोइरालाकै प्रधानमन्त्रीत्व कालमा नेपालको कुनै उत्तरी जिल्लाको हरिपुर भन्ने गाउँमा चिनियाँ सेनाको गोलीले एक जना नेपालीको मृत्यु भयो । यो घटनाको पनि कोइराला स्वयंले चीन सरकारसमक्ष प्रतिवाद गर्नुभयो । चीन सरकारले घटनाको गाम्भीर्यता महसुस गर्दै यथाशीघ्र वक्तव्य प्रसारित ग¥यो र भन्यो– 'यो हाम्रै गल्ती थियो । यसका लागि हामी क्षमाप्रार्थी छौं । चीन सरकारले मृतकका परिवारलाई राहत भरण गर्नेछ ।'

त्यही साल प्रधान मन्त्री कोइरालाको नेतृत्वमा तत्कालीन वरिष्ठ मन्त्री गणेशमान सिंहलगायतको टोली चीन सरकारको निम्तोमा पेकिङ गएको थियो । दुई देशबीचको छलफलका क्रममा सगरमाथा (एभरेस्ट) को स्वामित्वको विषयमा छलफल चलेछ । नेपालका टोली प्रमुख प्रधान मन्त्री बिपी कोइरालाले साथमा लगिएको एतिहासिक दस्तावेजहरु, सांस्कृतिक एवं चलनचल्तीका प्रसंग अत्यन्त कुशलताका साथ प्रस्तुत गर्दा पनि चीन सरकारको टोलीको नेतृत्व गरिरहनुभएका चीनका तत्कालीन प्रधान मन्त्री चाउएनलाई टस कि मस हुनुभएन । उहाँको दलिलमा न ऐतिहासिक दस्तावेज थिए न त सांस्कृतिक प्रमाण नै । उहाँ एकोहोरो भनिरहनुभएको थियो– 'तपाईँहरु जेलाई सगरमाथा भनिराख्नुभएको छ त्यो हाम्रो चीनको छोमोलिङ्गु हो ।' बिपीले तत्क्षण भन्नुभयो– छोमोलिङ्गु भनेको त तिब्बती नाम हो । यदि सगरमाथा तपार्इँहरुकै हो भने आफ्नो (चिनियाँ भाषामा) नाम त हुनुपर्छ नि ! त्यो के हो भन्न सक्नुहुन्छ ? जवाफ चाउएनलाईसँग थिएन । उहाँ एकोहोरो रटान लगाइरहनुहुन्थ्यो– छोमोलुङ्गु, छोमोलुङ्गु, छोमोलुङ्गु...।' वार्ता निरर्थक र परिणाममुखी हुने नदेखिएपछि नेपालतर्फका वार्ता टोलीका वरिष्ठ सदस्य गणेशमान सिंहले परिष्कृत कूटनीतिक भाषामा भन्नुभयो – 'हामीले आफ्ना प्रमाण प्रस्तुत गरेका छौं । यहाँहरुको तर्फबाट कुनै तथ्यपूर्ण प्रमाण आएनन् । तर पनि यो बैठक कुनै टुङ्गोमा पुग्न सकिरहेको छैन । समान्य सम्बन्धमात्र भएका देशबीच यस्तो अवस्था आयो भने युध्दले एउटा टुङ्गोमा पु¥याउँछ तर हामी दुवै मित्र राष्ट्रमात्र होइनौं, छिमेकी पनि हौं । हामी युध्दको त कल्पनासमेत गर्न सक्दैनौ । यस्तो अवस्थामा के गर्ने ? बडो असामञ्जस्यपूर्ण अवस्थामा हामी छौं ।' गणेशमानजीको वक्तव्य जति कूटनीतिक थियो त्योभन्दा बढी कठोर पनि । त्यसैले वार्ता टेवलको वातावरण एकछिन चकमन्न भयो । केही छिनको सन्नाटापछि बैठक स्थगित भयो । परिणाम शून्य बैठकप्रति केही सकारात्मक र केही नकारात्मक टिप्पणी चलिरहेका थिए ।

यत्तिकैमा नेपाली टोली बसेको होटलमा राति १२ बजे अनायास चीनका अध्यक्ष माओत्सेतुङ आउनुभयो र बिपीसँग विवादित विषयमा छलफल प्रारम्भ गर्दै भन्नुभयो– 'हेर्नुहोस्, प्रधान मन्त्रीजी ! विवाद जति तन्कायो त्यति लम्बिन्छ । फेरि विवाद कसैको हितमा टुङ्गिदैन पनि । त्यसैले मैले एउटा प्रस्ताव तपाईँसामु ल्याएको छु, कृपया त्यसलाई स्वीकार गरिदिनुहोस् ।' माओत्सेतुङ तिनताका जल्दोबल्दो कम्युनिस्ट राजनेतामात्र हुन्थेन उहाँलाई त पश्चिमा राजनीतिज्ञहरुले समेत 'आतंक' का रूपमा हेर्थे । यो वास्तविकतालाई बिपीले राम्रोसँग बुझ्नुभएको थियो । तथापि आफूले पनि आफ्नो माटोको रक्षा गर्नुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो । माओ जस्ता व्यक्तित्वको आगमन आफू बसेकै ठाउँमा हुनुको कारण हिजोको बैठकमा गणेशमानजीले प्रस्तुत गर्नुभएको कठोर तर तर्कपूर्ण दलिल नै थियो भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । होटलको कोठामा उहाँ रात्रि कपडामै हुनुहुन्थ्यो । तथापि बिपीले अत्यन्त आदरभावले माओत्सेतुङलाई भन्नुभयो– 'अध्यक्ष महोदय ! म अनौपचारिक अवस्थामा छु । तथापि यहाँको प्रस्तावमाथि छलफल गर्न म तयार छु ।'

बिपीको स्वीकारोक्तिपछि आफ्नो प्रस्ताव अगाडि बढाउँदै अध्यक्ष माओले भन्नुभयो– 'सगरमाथा चीनको वा नेपालको भन्ने विवादमा अब अल्झेर नबसौं । मेरो विचारमा यो हामी दुवै देशको साझा सम्पत्ति हो । त्यसैले मेरो प्रस्ताव 'पानीढलो' सिध्दान्त अर्थात पानी जसको पट्टि बहन्छ त्यो क्षेत्र उसैको हुनेगरी यो विवाद सल्टाऔं ।' माओत्सेतुङको प्रस्ताव सुनेपछि बिपीले भन्नुभयो– 'अध्यक्ष माओ ! उमेरले यहाँ मेरो पितातुल्य हुनुहुन्छ । ठूलो देशको राष्ट्राध्यक्ष र छिमेकीको नाताले यहाँप्रति मेरो ठूलो सम्मान छ । फेरि विश्व राजनीतिमा यहाँको योगदानले गर्दा पनि यहाँ हाम्रो गौरव पनि हो । त्यसैले यहाँको प्रस्तावलाई हामीले अन्यथा भन्न हुन्न । तर मेरो देश प्रजातान्त्रिक देश भएको हुँदा म मेरो देशको संसद्प्रति जिम्मेवार छु । तसर्थ यहाँको प्रस्ताव सरक्कै स्वीकार गर्ने अवस्थामा म छैन । तपाईँको प्रस्ताव म मेरो संसद्समक्ष राखौंला त्यसले जे निर्णय गर्ला त्यो म तपाईँलाई यथासमयमा औपचारिक जानकारी गराउनेछु ।'

यस आलेखमा माथि उल्लेख गरिएका एतिहासिक घटनाक्रमहरु समकालीन शाकसहरुलाई इतिहासको पाठ हुन सकोस् भन्ने हेतुले प्रस्तुत गरिएको हो । कोरा राष्ट्रवादले मुलुकको सेवा गर्दैन भन्ने कुरा सम्झाउने प्रयत्न यहाँ गरिएको हो । फेरि सत्ता प्राप्तिका लागि छिमेकी सामुन्ने लम्पसार पर्ने अनि सत्ता हातलागी हुनासाथ तिनै छिमेकीलाई सत्तोसराप गर्ने प्रवृत्ति कदापि राजनेताको हुनुहुँदैन ।

प्रकाशित: २२ फाल्गुन २०७२ २२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App