महारानीको महाप्रस्थान
२७ भदौ २०७९
•
९ मिनेट पाठ
महारानीको महाप्रस्थान
मानवीय धरोहरकी साझा रक्षक एवं सारा बेलायती र कमनवेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ द्वितीय। लन्डनको भीडभाडबाट टाढा रहेर स्कटल्यान्डस्थित बाल्मोरलकाशलमा ग्रिष्मकालीन समय बिताइरहेकी महारानी एलिजाबेथले यति सजिलै यो धराधाम छोड्लिन जस्तो कसैलाई पनि लागेको थिएन। अचानक स्वास्थ्यमा समस्या आएर डाक्टरहरूको निगरानीमै रहेकी महारानीले अन्ततः स्कटल्यान्डस्थित बाल्मोरलकासलमा शान्तिपूर्वक यो नश्वर चोला छाडेर भगवानमा लिन भइन्। यो समाचार भुसको आगोझैँ संसारभरि फैलियो। क्षणभरमै ८ सेप्टेम्बर २०२२ को दिन। विश्वकै महारानी जस्तै अभिभावकीय भूमिकामा रहेकी सात दशकदेखि अभिच्छिन्न राज्यारोहण गरेर संसारका धेरै परिवर्तन साक्षीका रूपमा देखेकी स्वीकारेकी महारानीले आफ्ना पति राजकुमार फिलिप गएको एक वर्ष केही महिनामै उनलाई भेट्ने यात्रामा निस्किइन् सबैलाई रुवाएर।




बेलायत यतिखेर आफ्नी प्यारी महारानीको शोकमा डुबेको छ। बकिङघम प्यालेसको ढोकामा मान्छेको समुन्द्र ओर्लेको छ। फूल र कार्डले भरिएको छ चारैतिर। ग्रिनपार्क, विंसरक्यासल, सान्निग्ह महारानीका सबै दरवार श्रद्धाका फूलले भरिएका छन्। कुनै उर्दी छैन, कुनै औपचारिक बिदा छैन तथापि मानव सागर उर्लेको छ। श्रद्धामा आफ्नी रानीको सम्मानमा। मान्छे डाँको छाडेर रोएका छन्। आफ्नै निकटतम आफन्तको निधनभन्दा बढी सम्झेर। राजतन्त्र पनि यति धेरै सम्मानित हुँदोरहेछ। संसदीय प्रजातन्त्रको जननी मुलुक बेलायत त्यसको साक्षी हो दुनियाँमा।

अन्तिम क्षण

उनीसँगजीवनको त्यो अन्तिम क्षण आफ्ना चारजना सन्तान र उनको उत्तराधिकारी प्रिन्स अफ वेल्ससमेत साथमा थिए। उनका उत्तराधिकारी राजकुमार चाल्र्स तृतीय लाई राजा घोषणा गरिसकिएको छ तर उनको नयाँ भूमिकाको औपचारिक घोषणा शनिबार लन्डन समयअनुसार बिहान १० बजे सेन्टजेम्स प्यालेसमा एक समारोहमा भएको थियो। उनको राज्यकालमा महारानीले १५ जना बृटिस प्रमलाई झेलिन्। अस्तिमात्रै ६ सेप्टेम्बरका दिनमा पन्ध्रौँ प्रम लिज ट्रसलाई पदभार गराएकी थिइन्। ७० वर्ष ७ महिनाअघि राजगद्दीमा आएकी महारानी बेलायतको इतिहासमै सबैभन्दा बढी राज गर्ने महारानी हुन्।

२१ अप्रिल १९२६ मा जन्मिएकी महारानीले सन् १९५२ मा २६ वर्षको उमेरमा गद्दी सम्हालेकी थिइन्। महारानी एलिजावेथ द्वितीयका तीन छोरा चाल्र्स, एन्ड्रु र एडवार्डका साथै एक छोरी आनसहित जम्मा चार सन्तान छन्। त्यस्तै, उनका जम्मा ८ नाति÷नातिना र १२ पनाति÷पनातिना छन्। नवनियुक्त राजा चाल्र्सले एक वक्तव्य जारी गर्दै महारानीको निधन आफू र सिंगो राजपरिवारका लागि सबैभन्दा ठूलो दुःखद क्षण रहेको उल्लेख गरेका छन्। राजा चाल्र्स तृतीयले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि पूर्वरेकर्ड गरिएको भाषणमा राष्ट्रलाई आफ्नो पहिलो सम्बोधनमा भन्नुभयो ‘गहिरो शोक महसुस गर्दै’ आफ्नी आमाको बारेमा बोल्दै उहाँले भन्नुभयो– ‘आफ्नी आमाको माया, मार्गदर्शन, समझदारी र उदाहरणका लागि कुनै पनि परिवारले आमाप्रतिको ठूलो ऋणको मूल्य बुझेको हुन्छ। हामी सबैभन्दा हृदयदेखि यो ममताका लागि ऋणी छौँ। पहिलोपटक टेलिभिजनमा बोल्दै भावपूर्ण शब्दमा भन्नुभयो– म यो भन्न चाहन्छु, धन्यवाद। तपाईँको माया, हाम्रो परिवार र राष्ट्रहरूका परिवारलाई तपाईँले यी सबै लामा वर्षहरू लगनशीलताका साथ सेवा गर्नुभएकोमा धन्यवाद। स्वर्गदूतहरूको उडानले तपाईँलाई तपाईँको विश्रामका लागि गाउँदै स्वर्गमा पुर्‍याउन्।  

राज्याभिषेक

बेलायतको राजपरिवारमा राजा बन्ने रोलक्रममा नभएका उनका बुबालाई तिनताका राजाका रोलक्रमका उत्तराधिकारी उनका काकाले वालिस सिम्पसनसँगविवाह गर्नका लागि १९३६ मा एडवर्ड आठौँले राजगद्दी त्याग गर्दा उनी राजा बने। राजा जर्ज ६ को मृत्युपछि, राजकुमारी एलिजाबेथ अलेक्जान्ड्रामेरी २५ वर्षको उमेरमा फेब्रुअरी ६, १९५२ मा सिंहासनमा आरोहण भइन्। नवनियुक्त रानी एलिजाबेथ द्वितीयको राज्याभिषेक अर्को वर्ष जुन २ मा भएको थियो। यसरी भाग्यले महारानी बन्न पाएकी सानी केटी बेलायती साम्राज्यको सबैभन्दा बढी शासन गर्ने सम्मानित महारानी बनेर यो धर्तीबाट बिदा लिइन्।

ऐतिहासिक भ्रमण

महारानी भएपछि जर्मनीको बोनमा १८ मे, १९६५ मा ऐतिहासिक पहिलो विदेश भ्रमण भएको थियो। विश्वयुद्धले ५० वर्षदेखि बिग्रिएको सम्बधमा त्यो भ्रमण कोशे ढुंगा बन्यो बेलायत र जर्मनलाई जोड्ने। भ्रमणले औपचारिकरूपमा विश्वयुद्धपछि दुई राष्ट्रबीचको मेलमिलापमा सुधार आयो। उनले विश्वका १०० देशमा भ्रमण गरेकी थिइन्। नेपालको भ्रमण दुईपटक गरिन्। नेपालमा राजा महेन्द्र र राजा वीरेन्द्रको निमन्त्रणमा नेपाल आएकी रानी एलिजावेथले नेपालको गणतन्त्रका पहिलो राष्ट्रपति रामवरण यादवलाई बधाई पनि दिएकी थिइन् तर बेलायतका कुनै पनि प्रधानमन्त्री नेपाल आएका छैनन्।

स्वर्ण जयन्ती

सन् २००२ मा महारानीका रूपमा एलिजाबेथको स्वर्ण जयन्ती धूमधामसँग मनाइयो। स्वर्ण जयन्तीको ५० वर्षका रूपमा चिनाउने उत्सवहरू बकिङ्घम प्यालेसमा १२,००० चियरिङ अतिथिहरूको उपस्थितिमा ताराहरूले भरिएको कन्सर्टसहित सम्पन्न भयो। लन्डन वरपर स्थापित विशाल स्क्रिनहरूमा त्यो भव्य कार्यक्रम अनुमानित १० लाख भन्दा बढीले हेरेका बताइन्छ।

जीवनी

एलिजाबेथ द्वितीय (एलिजाबेथ अलेक्जान्ड्रामेरीको जन्म मे फेयर, लन्डनमा २१ अप्रिल १९२६ मा भएको थियो योर्ककोड्युकरडचेस (पछि राजा जर्ज छैटौँ र रानी एलिजाबेथ) को पहिलो सन्तानका रूपमा। ६ फेब्रुअरी १९५२ देखि २०२२ मा उनको मृत्युसम्म युनाइटेड किंगडम र अन्य राष्ट्रमन्डल क्षेत्रकी रानी थिइन्। उनी आफ्नो जीवनकालमा ३२ सार्वभौम राज्यको रानी थिइन्। उनको मृत्युको समयमा तीमध्ये १५ को रानीका रूपमा सेवा गरेकी थिइन्। एलिजाबेथको जन्म भएको थियो, योर्कको ड्युक र डचेस (पछि राजा जर्ज भिआइ र रानी एलिजाबेथ) को पहिलो सन्तानका रूपमा। उनी घरमा निजीरूपमा शिक्षित थिइन्। दोस्रो विश्वयुद्धको समयमा सहायक क्षेत्रीय सेवामा सेवा गर्दै सार्वजनिक कर्तव्यहरू गर्न थालिन्। नोभेम्बर १९४७ मा, उनले ग्रिस र डेनमार्कका पूर्वराजकुमार फिलिप माउन्ट ब्याटनसँग विवाह गरेर तिनीहरूको विवाह अप्रिल २०२१ मा उनको मृत्यु नभएसम्म ७३ वर्ष टिक्यो। तिनीहरूका चार छोराछोरीथिए: चाल्र्स, एनी, एन्ड्रयु र एडवर्ड।

आयरल्यान्डको यात्रा

मे २०११ मा महारानीले आयरिस गणतन्त्रको भ्रमण गरिन्। आयरिस गणतन्त्रको ब्रिटिस राजतन्त्रसँग शताब्दीयौँसम्मको समस्याग्रस्त सम्बन्ध थियो। मेलमिलापका रूपमा गरिएको त्यो शक्तिशाली भ्रमण एलिजाबेथको शासनकालको सबैभन्दा राजनीतिकरूपमा सुझबुझपूर्ण र ऐतिहासिक यात्राहरूमध्ये एक मानिन्छ। जसले दुई राष्ट्रहरूलाई निकट बनाएको थियो। सबैभन्दा लामो समय बेलायतको रानी बन्ने रेकर्ड ब्रिटिस समय सेप्टेम्बर ९,२०१५ मा साँझको ५ बजेर ३० मिनेट जाँदा एलिजाबेथ दितिय बेलायतको सबैभन्दा लामो समय शासन गर्ने रानी बनिन्। उनले रानी भिक्टोरिया, उनकी जिजु हजुरआमालाई पछि पारिन्। त्यतिबेला एलिजाबेथ ८९ वर्षकी थिइन्। उनले २३ वर्ष, २२६ दिन १६ घण्टा र करिब ३० मिनेट शासन गरेकी थिइन्।

विवाहको ७० औँ वर्षगाँठ

नोभेम्बर २० ,२०१७ मा महारानी र राजकुमार फिलिपले आफ्नो ७०औँ वार्षिकोत्सव मनाएका थिए। शाही इतिहासमा सबैभन्दा लामो विवाहितजोडी बनेर। देश र विश्व दोस्रो विश्वयुद्धको अत्याचारबाट ग्रसित भइरहेका बेला सन् १९४७ मा यी दुईले विवाह गरेका थियो।

आफ्नो जीवनसाथीसँगको वियोग

२०२१ अप्रिल ९ मा महारानी एलिजाबेथले आफ्ना पति प्रिन्स फिलिपलाई बिदाइ गर्नुपर्‍यो। कोरोना भाइरसको प्रतिबन्धको बीचमा अन्त्येष्टिमा एक्लै शोक गरिरहेकी रानीको निरास तस्बिरले बेलायतभरि सबै दर्शकको माझ रानीप्रति सबै सहानुभूति खनिएको थियो।

राजकुमारी डायनाको मृत्यु

१९९७ मा डायनाको अन्त्येष्टिअघि एक दुर्लभ टेलिभिजन प्रसारणमा, रानी एलिजाबेथले ३६ वर्षको उमेरमा पेरिसमा कार दुर्घटनामा मर्ने वेल्सकी राजकुमारीलाई ‘एक असाधारण र प्रतिभाशाली मानव’ का रूपमा सम्झनुभयो।

नेपाल भ्रमण राजतन्त्र

उनले दुईपटक नेपाल भ्रमण गरेकी थिइन्। हाम्रो देश भर्खरै राजतन्त्र मासेर गणतन्त्र ल्याउने विश्वका पछिल्ला राष्ट्रमा दरिएका छ। नेपाल नयाँ गणतान्त्रिक राष्ट्रका रूपमा रहेको छ। हाम्रो राजतन्त्र मर्यादित हुन सकेन, यद्यपि हाम्रा राजाहरूले, हाम्रा धेरै नेताहरूले बेलायतबाट शिक्षा लिए, बेलायतलाई नजिकबाट देखे–बुझे तर सिकेनन्। बेलायती राजतन्त्रका मर्यादाको मानक बुझेनन्। संवैधानिक राजतन्त्रको सीमाङ्कन। आफूलाई कानुनभन्दा माथि राख्ने, दुनियाँलाई रैति÷ठान्ने, कर नतिर्ने, व्यापार गर्ने तर बिजुली र पानीको पैसासमेतमा सानो चित्त देखाउँदा आजको दुर्दिन निम्तिएको थियो।

उता २४० वर्षको लामो इतिहासलाई हामीले २४ दिनकै आन्दोलनबाट धपाएको पनि बिसौँ वर्ष भयो। लोकतन्त्र, गणतन्त्रको नयाँ जामा फेरेपछि देशले भोगेको बेथिति हामी सबैले वस्तुनिष्ठ भएर मूल्याङ्कन गर्नेबेला भएको छ।

आफ्नो देशको राजनीतिक फोहोरले पारेको गणतान्त्रिक मोहभंग, बीसौँ वर्षमा बनाउन नसकिएको थिति, अलोकप्रियताका पराकाष्ठामा केही वर्षअघि मिल्काइएको राजतन्त्रका फोहोरी दृश्यहरूले मलाई अमिलो पारिरहे। हजारौँ माइलको यो भौगोलिक दूरतामा पनि म आफ्नो देश खोजिरहेँ। आफ्नो संविधान सम्झिरहेँ।

सबैभन्दा बढी राज्य गर्ने दीर्घजीवी महारानी ७० वर्षलामो आफ्नो अकन्टक राज्यारोहणमा बेलायती महारानीले १५ जना प्रधानमन्त्रीसँग काम गरिन्। विश्वमा यी लामा सत्तरी वर्षमा धेरै परिवर्तनहरू भए। ती सबैकी साझा प्रतिनिधि भएर कमनवेल्थ देशहरू सबैलाई एकतामा बाँध्न सफल एलिजाबेथ अन्ततः यो धराधाम छाडिन्। ढल्यो विश्वकी महारानी सतिसालकी प्रतिमूर्तिको पार्थिव शरीर।

संसदीय परम्पराको जननी मुलुक

बेलायत विगत ३३४ वर्षदेखि १६८८ को गौरवशाली क्रान्तिदेखिको संवैधानिक राजतन्त्र भएको मुलुक हो। जसका कारण रानी÷राजाको गुणगान गाउन जनतालाई संकोच छैन। यो सम्मानमा ओठेभक्ति कम र हृदयको सम्मान बढी मुखरित भएको तथ्य महारानीको महाप्रस्थानमा बेलायतीहरूले देखाएको स्वस्फूर्त सम्मानले देखाउँछ।

अबका राजा चाल्र्ससँग विगतमा डायनाको पारपाचुके अनि डायनाको दुर्घटनामा भएको असामायिक मृत्यु, नाति ह्यारिस र उनकी पत्नी मेगनले गरेको शाही पदवीको परित्याग आदिबाट बेलायतको राजतन्त्र र महारानी विवादित भए पनि बेलायतले पहिला राज गरेका मुलुकसँगको कूटनीतिको सफलतादेखि धेरैबेला यति जनताको राजतन्त्रप्रतिको आस्था र सद्भाव कायम गराउनमा उनको ठूलो देन छ। नेपाली रहेका बेलायतको गोर्खा सेनासँग त उनको विशेष सम्बन्ध थियो नै।

हरेक पत्रिकाले केही दिनअघिदेखि नै आफ्ना प्रकाशनहरूमा महारानीको अभूतपूर्व जीवनी विशेष स्तम्भका रूपमा पस्केका छन्। महारानीको दीर्घ शासनको गरिमामय इतिहासलाई सुन्दर आवरणमा सजाएका छन्। यद्यपि यसमा कसैलाई करकाप छैन। कसैलाई उर्दी र बाध्यता छैन। स्वस्फूर्त यो मानव–सागर आफ्नी महारानीको सुखद् अन्त्येष्टि र बेलायतको स्वाभिमानका लागि, राष्ट्रिय स्वाधीनताको जगेर्नाका लागि उनले गरेका गरिमामय दिनहरूको संस्मरण दिलैदेखि गर्न कम्मर कसेर लागिपरेका देखिन्छन्। संवैधानिक राजतन्त्रको यो अनुपम नमुना–मुलुक बेलायत यतिखेर फेरि महारानीको दुःखद अन्त्यसँगै चर्चाको शिखरमा छ।

सन् १९९६ मा राजकुमार चाल्र्स र डायनाबीच १५ वर्षमै वैवाहिक सम्बन्ध विच्छेदले शाही परिवारप्रति तीव्र आलोचना बढ्न थाल्यो। त्यसलगत्तै डायनाको पेरिस कार दुर्घटनामा निधन भएपछि त झन् मानिस नकारात्मक बन्दै गए। यो नकारात्मकता दुई वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गरेपछि झन् बढ्यो। छोरा एन्ड्रयुलाई यौन दुव्र्यवहारको आरोप लागेपछि शाही पदवी खोसियो र ठूलो धनराशि क्षतिपूर्ति गर्नुपर्‍यो। महारानीले गत वर्ष आफ्ना पति गुमाइन्।

यी सबै घटनाले ९६ वर्षकी महारानीलाई पीर परेको थियो नै। राजकुमार विलियम र ह्यारीको बिग्रेको सम्बन्धलाई शाही शोकले एक ठाउँमा ल्याएको छ। दुई दाजुभाइ र उनका पत्नीहरूसँगै देखिएका छन् यो पारिवारिक दुःखमा। उनको अन्त्येष्टि धूमधामसँग सेप्टेम्बर १९ मा हुँदैछ। विश्वभरिका राजनेताहरू फेरि एकपटक बेलायत आउनेछन् उनको अन्त्येष्टिमा सामेल हुन। उनको परलोक यात्रा सहज बनोस्। शान्तिपूर्वक बितोस्।
अर्को समाचार
प्रिन्स फिलिपको महाप्रस्थान
०४ वैशाख २०७८
•
६ मिनेट पाठ
प्रिन्स फिलिपको महाप्रस्थान
प्रिन्स फिलिप बेलायती राजपरिवारका अहिलेसम्मका सबैभन्दा बढी बाँच्ने शाही सदस्य भएर सय वर्ष पुग्न मात्र दुई महिना बाँकी छँदा (अप्रिल ९ मा) शान्तिपूर्वक आफ्नो नश्वर चोला त्याग गरे। यतिखेर बेलायत मात्र नभएर सिंगो विश्व बेलायती राजदरबारमा भएको यो अपूरणीय क्षतिको समवेदनामा सहभागी भएको छ। विश्वका मिडिया, पत्रपत्रिका प्रिन्स फिलिपका रोमाञ्चक जीवनीले रंगिएका छन्।  




महारानी एलिजाबेथसँग ७२ वर्ष सुखद वैवाहिक जीवनमा बलियो सारथि बनेर रहेका डुक अफ एडिनब्रा बेलायती राजपरिवारका एक सम्मानित धरोहर थिए। सय वर्षअघि उनका अगाडि पछाडि खासै कोही थिएनन्। उनको जन्म सन् १९२१ को जुन १० तारिखका दिन ग्रिसको कोर्फु द्विपमा भएको थियो। ग्रिक राजकुमार एन्ड्र्यु र राजकुमारी एलिसको कान्छो सन्तान थिए फिलिप। उनी मात्र एक वर्षको हुँदा सन् १९२२ मा ठूलो क्रान्ति भयो। सत्तापलटसँगै क्रान्तिकारीले राजतन्त्र हटाए।

फिलिपले ७३ वर्षसम्म महारानीको दुई कदम पछि रहेर जीवनका हरेक उकाली ओरालीमा एउटा बलियो संरक्षण दिए। बेलायती राजतन्त्रलाई विश्वसामु अटल राख्न पर्दा पछाडिको भूमिकामा जुटिरहे। 
अदालतले उनका पितालाई देश निकाला गरिदियो। त्यसपछि आफ्ना आफन्तसँगै बेलायतीको सहयोगमा भागेर इटाली आए सबै परिवार। फिलिप आठ वर्षको हुँदा उनकी आमा एलिसले मानसिक सन्तुलन गुमाइन् र पागलखानामा बन्द गरियो। त्यसलगत्तै बाबुले अर्की श्रीमती बिहे गरेर फ्रान्सतिर भागे। आमाका बेलायती नातेदारले फिलिपलाई बेलायत ल्याएर स्कटल्यान्डको बोर्डिङ स्कुल गोर्डनस्टनमा भर्ना गरिदिए। दुःखद् बाल्यकाल भोगेको एउटा विदेशी केटोले तिनै बेलायती नातेदारको ‘थर’लाई अपनाएर ‘माउन्टबेटन’मा रूपान्तरित भए, उनको पैतृक थर बेटन्बर्ग थियो। त्यसपछि फ्रान्स हुँदै उनको परिवार बेलायतमा आएको थियो। त्यतिखेर विश्व दोस्रो विश्वयुद्धको त्रासदिमा थियो। युवा फिलिप पनि युद्धमा सहयोग गर्ने मनसायले रोयल नेभीमा भर्ना भए।  

एलिजाबेथसँगको प्रेम  

सन् १९३९ देखि एलिजाबेथ फिलिपको प्रेममा पागल भइन्, त्यतिखेर उनी मात्र १३ वर्षकी थिइन्। डर्टमाउथको रोयल नेभल कलेजको परिसरमा दुवैको पहिलो देखभेट भएको थियो। उनले सैनिक तालिममा कलेज ‘टप’ गरे। त्यसकारण उनलाई तत्कालीन ब्रिटिस राजकुमारी एलिजाबेथ र मार्गरेटको सुरक्षा ड्युटी दिइयो। राजकुमारी एलिजाबेथ र फिलिपले एक अर्कालाई मन पराउन थाले। फिलिप २१ वर्षमै ‘ब्रिटिस नेभी’को सबभन्दा कान्छो लेफ्टिनेन्टको रूपमा दोस्रो विश्वयुद्धको लडाइँमा भाग लिन गइसकेकÞा थिए, तर प्रेमिका राजकुमारीसँग नियमित सम्पर्क भइरहन्थ्यो। अहिले जस्तो सम्पर्क गर्ने माध्यम नभए पनि यो बेलासम्म ब्रिटिस दरबारलाई खासै थाहा थिएन, यो गोप्य प्रेम कहानी। एक दिन राजकुमारीका अंगरक्षकले ‘फिलीप’को आर्मी ड्रेसको फोटो राजकुमारीको बेड रूममा फेला पारेपछि राजदरबारमा हंगामा मच्चियो। तर राजकुमार र राजकुमारी आफ्नो सच्चा प्रेममा दृढ थिए।

दोस्रो विश्वयुद्ध जितेर फर्केपछि ‘फिलिप’ ले राजकुमारी एलिजाबेथ द्वितीयकी आमा यानी तत्कालीन महारानी एलिजाबेथ प्रथमलाई चिठी लेखेर छोरीको हात मागे ! पारिवारिक छिन्नभिन्न भई टुक्रिएको, खासै उल्लेखनीय पढाइ नभएको कुरा चले फिलिपका विरुद्ध। उनी युरोपका राजघराना भए पनि उनको परिवारलाई निर्वासनमा खेदिएको थियो। उनी कतै पनि आधिकारिकता नभएका नाम मात्रका राजकुमार थिए। तथापि छोरीको प्रेमलाई हार्दिक रूपमा स्विकार्दै अन्त्यमा रानी एलिजाबेथ प्रथम र राजा जर्ज’ ले आफ्नी छोरी राजकुमारी ‘एलिजाबेथ द्वितीय’ को विवाह फिलिपसँग गराइदिए। २६ वर्षीय फिलिप र २१ वर्षीया एलिजाबेथको सन् १९४७ मा राजकीय सम्मानका साथ विवाह भयो। यसरी विदेशी भूमिमा निर्वासित एउटा टुहुरो केटो बेलायतको राजघरानासँग जोडियो।  

फिलिपले ७३ वर्षसम्म महारानीको दुई कदम पछि रहेर जीवनका हरेक उकाली ओरालीमा एउटा बलियो संरक्षण दिए। बेलायती राजतन्त्रलाई विश्वसामु अटल राख्न पर्दा पछाडिको भूमिकामा जुटिरहे। रानी एलिजाबेथ र राजकुमार फिलिप जोडीका चार छोराछोरी, आठ नातिनातिना र १० पनातिपनातिनी छन्।

वातावरण र पुरातात्विक संरक्षणमा चासो  

‘तपाईंको देश लोपोन्मुख प्रजातिहरूको व्यापारको सबैभन्दा कुख्यात केन्द्रमध्ये एक हो,’ सन् १९९१ मा थाइल्यान्डमा संरक्षण पुरस्कार स्विकार्दा उनले आफ्ना पीडित पाहुनालाई भनेका थिए।  

‘के तपाईं अझै पनि एकअर्कामा भाला फाल्नुहुन्छ ?’ सन् २००२ मा रानीसँग अस्ट्रेलियाको भ्रमणमा आदिवासी एल्डरहरूलाई सोधिएको थियो। उनले आफैँ र महारानी समेत गरेर एक सय ४४ भन्दा बढी देशको भ्रमण गरे।  

आफूलाई रानीको संवैधानिक क्षेत्रमा नघुसाउनेमा फिलिप दृढ थिए। यसको सट्टा करिब आठ सयभन्दा बढी च्यारिटीको संरक्षक भएर उनी सक्रिय रहे। उनको वातावरणीय पर्यावरणीय संरक्षणको चाहना सधैँ स्तुत्य रह्यो विश्वभरि।  

सन् २०१७ मा ९५ वर्षको उमेरमा फिलिपले क्रियाशील शाही भूमिकाबाट अवकाश लिने घोषणा गरे। स्यान्ड्रिङ्घम हाउसमा उनले धेरै किताब पढेका थिए र पानीरंगका पेन्टसँग खेलेका थिए।  

प्रिन्स फिलिपले जीवनभर महारानीको दुई कदमपछि रहेर बेलायती राजतन्त्रलाई सम्मानित बनाउने काम गरिरहे। कमन वेल्थ कन्ट्रीदेखि धेरै वातावरण पर्यावरणसम्बन्धी च्यारिटीका संरक्षक भएर काम गरिरहे।  

नेपाल–बेलायत शाही सम्बन्ध  

नेपाल र बेलायतबीचको सम्बन्ध दक्षिण एसियाकै पुरानो र सुदृढ कूटनीतिक सम्बन्ध हो। जसको सुरुवात सन् १९०६ माघमा नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर कुँवरले पहिलो बेलायत भ्रमण गरेदेखि सुरु भएको पाइन्छ। त्यही भ्रमण नै नेपाल–बेलायतको कूटनीतिक निकटताको उच्च कडी रही आएको देखिन्छ। नेपालले सन् १९३४ मा लन्डनमा दूतावास स्थापना गरेको हो। नेपालको शिक्षा, स्वास्थ्य र विकासमा बेलायतको निरन्तर सहयोग रहेको पाइन्छ। बेलायती महारानी एलिजावेथ द्वितीया सन् १९६१ मा उनले चितवनको जंगलमा बाघ र गैँडाको सिकार गरेकी थिइन्, राजकुमार फिलिपसहित हात्तीमा सवार भएर। 

अर्कोपटक तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा सहभागी हुन सन् १९७५ मा युवराज चाल्र्स नेपालमा आएका थिए। उनी सन् १९८० र १९९८ मा पनि नेपाल आए। उनले नेपालको विभिन्न जिल्ला घुम्दै बेलायती सहयोगका निर्माण भएका परियोजनाको अवलोकन गरे। सन् १९९३ मा राजकुमारी डायनाले पाँचदिने नेपाल भ्रमण गरेकी थिइन्। सन् २०१५ मा भूकम्प गएका बेला प्रिन्स ह्यारीले नेपालको भ्रमण गरेका थिए। यसरी दुई देशबीच सौहार्दपूर्ण सम्बन्धको विकास भएको पाइन्छ। केही समयअघि दुवै देश विश्वका राजतन्त्रात्मक मुलुक भएका नाताले पनि दुई देशका शाही परिवारका बीच मित्रवत सम्बन्ध कायम थियो। राजा वीरेन्द्र र दीपेन्द्रले लन्डनकै इटन कलेजमा पढेका थिए।  

यो पंक्तिकार महारानीको समर दरबार नजिकै बस्छ सपरिवार। कहिले सामान्य ट्रेनमा लन्डनबाट आउँदा होस्, कहिले ससानो च्यारिटीका काममा पनि सामान्य मानिसझैँ झुल्किँदा होस्, धेरैपटक महारानीलाई देख्ने सौभाग्य मिलेको छ। एकपटक मेरी छोरी कान्छी प्रेमाले एम्बुलेन्स पाइलट राजकुमार विलियमलाई उनको स्कुलको चौरमा एउटा इमर्जेन्सी रेस्क्युमा रोकिने क्रममा भेटिन्, सबै साथीहरूसँग। बेलुका त्यो भेटको तस्बिर देखाउदै भनिन्, ‘आज मलाई प्रिन्स विलियमले तिमी को हौ भनेर सोधे।’ यी सबै उदाहरण हाम्रा लागि प्रेरणा बन्नुपर्छ। जनतामा भिज्न, दिलमा सजिन र सम्मानित हुन मात्र एउटा असल कर्म गरे हुन्छ। तडकभडक, रातो कार्पेट र पिर्के सलामीले हामीलाई अन्ततः जनताबाट टाढा पुर्‍याउनेछ। 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस