राजनीतिको नाटकीय मोड
२८ वैशाख २०७३
•
१४ मिनेट पाठ
राजनीतिको नाटकीय मोड
गएको साता नेपाली राजनीतिले नाटकीय तर कठोर सम्भावनाहरूलाई नेपाली जनतामाझ उत्सर्जित गरेको छ । अकस्मात सरकार परिवर्तनको खेल खेलिएको भनिएको त्यो करिब ४८ घन्टासम्म मञ्चित नाटकको पटाक्षेप भए पनि त्यसका तुषहरू यथावत् छन् । ती तुषले नेपालमाथि नयाँ संकटको आमन्त्रण गर्ने सन्देह सबैका मनमस्तिष्कमा अनुभूत भइरहेको छ।त्यसमा पनि सरकारका तर्फबाट अत्यन्त गैरकूटनीतिक, गैरराजनीतिक र दीर्घकालसम्म देशलाई सन्देहको खतरामा धकेल्न गरिएका केही निर्णय र अनावश्यकरूपमा देखाइएको उत्तेजनापूर्ण व्यवहार भविष्यका लागि घातक हुने स्पष्ट छ । बाहिरीरूपमा हेर्दा एमाओवादी नेतृत्व र नेताहरूले सार्वजनिकरूपमै वर्तमान सरकारका कामकारबाहीप्रति तिखो आलोचना गर्दै यो सरकारबाट फिर्ता हुने घोषणा हुनु, नयाँ सरकारको नेतृत्वको प्रस्ताव लिएर अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष पुग्नु र समर्थन पाए आफू सरकारको नेतृत्व गर्न तयार रहेको जानकारी दिनु त्यही ४८ घन्टामा देखिएका र सुनिएका घटना हुन् । कांग्रेस यतिखेर संसद्मा सबैभन्दा ठूलो दल हो र यसरी सत्ता घटकहरूभित्रैबाट सरकार परिवर्तनको प्रस्ताव अएपछि उसले प्रस्तावकलाई उत्साहित गर्नु किमार्थ अन्यथा होइन । तर, कांग्रेसका केही जोशिला युवा नेता अलि बढी नै उत्साहित देखिएको हुनाले यो पार्टी अनावश्यकरूपमा विवादमा तानियो । जतिसुकै बुद्धिमान, परिपक्व र संघर्षबाट खारिएका व्यक्तिको नेतृत्व रहेको भनी दावी गरिए पनि कांग्रेसबाट देखाइएको हतारोका कारण एमालेजस्तो चतुर राजनीतिक दलका सर्वाधिक चतुर अध्यक्षले स्थितिलाई तत्काल आफ्ना पक्षमा पार्ने सफलता पाए ।




एमाअ‍ोवादी नेतृत्वलाई आफ्ना पक्षमा केही क्षणमा पर्लक्क पल्टाउने क्षमता प्रधानमन्त्री केपी शर्मा ओलीमा देखियो । सरकार परिवर्तनको नाटकीय समयमा सबैभन्दा सफल प्रधानमन्त्री नै देखिए । उनले सरकार परिवर्तन गर्न निरन्तर अभ्यासमा जुटेका एमाओवादी अध्यक्ष दाहाललाई आफ्ना पक्षमा मात्र गराएनन्, प्रमुख प्रतिपक्ष कांग्रेसलाई समेत प्रतिरक्षात्मक बन्न विवश वनाए । स्वयं एमाओवादीका नेता गोपाल किराँतीको तत्काल आएको प्रतिक्रियाले पनि यसको पुष्टि गरेको छ । किराँतीले आफ्नो पार्टीका अध्यक्षको त्यस अकस्मातको 'युटर्न'लाई लिएर सार्वजनिकरूपमै टिप्पणी गरेः अध्यक्ष दाहालले एमाओवादीलाई एमालेको जनवर्गीय संगठनमा परिणत गरिदिए । किराँतीको यो टिप्पणीले दाहाल र ओलीमा रहेको नेतृत्व क्षमताको समेत तुलना हुन पुगेको छ । दाहालभन्दा यसअर्थमा अ‍ोली धेरै गुणा बढी नेतृत्व क्षमता र रणनीतिक कौशल भएका हुन् भनेर सिद्ध गरिदिएको छ । राजनीतिमा वैध–अवैध, दृश्य–अदृश्य, कथ्य–अकथ्य अनेक खेल हुन्छन् र त्यसको उपयुक्त जानकारी नराख्ने नेतृत्वले सफलता पाउनु अत्यन्त दुर्लभ हुन्छ । ओलीले सरकार परिवर्तनको खेललाई निस्तेज गराउने जुन क्षमता देखाए त्यसले उनमा यी सबै अवस्थालाई राम्ररी अनुभव गर्ने क्षमता छ भन्ने देखिन्छ ।

तर, यस प्रकरणमा ओलीले अन्तर्राष्ट्रिय मानव अधिकारवादी समुदायको विश्वास गुमाउन पुगेका छन् । खासगरी मानव अधिकार, स्वतन्त्र न्यायपालिका तथा यससँग जोडिएका सिद्धान्तविपरीत ओलीले सरकार जोगाउने नाममा गरेका सम्झौता मानव अधिकारका विश्वव्यापी सिद्धान्तलाई क्षतविक्षत पार्न पर्याप्त छन् । माओवादी पार्टीका अनेक नेता–कार्यकर्ता अहिले सशस्त्र हिंसाकालका घटनामा स्वतन्त्र न्यायपालिकाबाट दोषी प्रमाणित भइरहेको अवस्था छ । सरकार परिवर्तन गर्ने खेलमा एमाओवादी सक्रिय हुनुको यो यौटा प्रमुख कारण थियो । आठ चिरामा विभक्त भएको माओवादीका सबै घटक अहिले स्वतन्त्र न्यायालयबाट त्रसित छन् र उनीहरू न्यायिक प्रक्रियालाई अवरुद्ध गराउन अथवा सशस्त्र हिंसाकालका घटनालाई न्यायिक प्रक्रियामा प्रवेश हुन नदिन जिउज्यान लगाइरहेका छन् । माओवादी सिद्धान्त र साम्यवादी सपना परित्याग गरी नयाँ शक्ति निर्माणमा सक्रिय डा. बाबुराम भट्टराईसमेत यस विषयमा दाहाल र अरु माओवादी घटकसँग सहकार्य गर्न सक्रिय छन् । जसले न्यायिक प्रक्रियालाई अवरुद्ध गर्ने वा सशस्त्रलका मुद्दाहरूलाई सत्य निरुपण आयोगको निष्कर्षमा फाइल बन्द गराउन सहयोग गर्छ, उनीहरूले उसैका पक्षमा समर्थन गर्ने वा समर्थन खोज्ने काम गर्ने निश्चित छ । ओली यसमा माओवादीको पहिलो औजार हुन पुगे । यसअर्थमा सरकार परिवर्तनको हल्ला वा मञ्चित नाटकले सरकारको एक घटक एमाओवादीको वार्गेनिङ क्षमता ह्वात्तै बढाएको छ ।

चौधबुँदे सहमतिमार्फत् एमालेका नेता ओलीलाई प्रतिरक्षात्मक हुन विवश बनाएको छ । उनले जुनसुकै भाषाको, तुक्काबन्दीहरूको, शब्दवाण र व्यंग्यको सहारा लिए पनि मानव अधिकारका सिद्धान्तविरुद्ध हुनेगरी आफ्नो सत्ता सुरक्षा रणनीति अख्तियार गरेकोमा निरन्तर जवाफ दिइरहनुपर्ने हुन्छ । ओलीले कमसेकम सर्वोच्च अदालतले दोषी ठहराएकाहरू र तिनलाई दण्डसजायका विषयमा दिएको आदेश पढ्ने प्रयास गरेको भए र अदालतका कुन निर्णयले सत्य निरुपण आयोगका कुन कामलाई कसरी प्रभावित पार्ने हुन् भन्नेसम्मको हेक्का राखेको भए सायद निरन्तर मानवताविरुद्धको अपराधका पक्षमा उभिन खोजेको आरोप उनलाई लाग्ने थिएन । एमाओवादीले आफ्ना कार्यकर्ता जोगाउन खोज्नु, अदालतको फैसलालाई चुनौती दिनु र सत्य निरुपण वा बेपत्ता छानबिन आयोगको कामकारबाही र तिनले दिने सुझावका आधारमा अघि बढ्न दबाब दिनु स्वाभाविक हो । उसका लागि यसो गर्नु एकप्रकारले बाध्यता हो भने अर्कातिर कर्तव्य पनि हो । तर, सरकार जोगाउने नाममा सरकार प्रमुखले यस्तो समझदारी गर्नु विधिसम्मत, सिद्धान्तअनुरूप र नैतिक हुनसक्छ ? यो प्रश्न निरन्तर उठिरहने छ र यसको सामना निरन्तर ओलीसहित सिंगो एमालेले दिइनै रहनुपर्ने हुन्छ । यसरी हेर्दा एमाओवादीले आफ्नो सीमालाई सबल गराउन पुगेको छ । प्रधानमन्त्री यहाँनेर नराम्ररी चुकेका छन् ।

यस सन्दर्भमा सरकारले चालेको अप्रत्यासित कदम आश्चर्यपूर्ण छ । तय भइसकेको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द वा स्थगित गर्ने निर्णय सरकारले गरेको छ र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई अनेक अप्रमाणित राजनीतिक आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारले भ्रमणको जानकारी दिनुभन्दा पहिले नै राष्ट्रपति आफैले भारत भ्रमणबारे सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्धमा थप बल मिल्ने टिप्पणी पनि गरेकी थिइन् । तर, अनायास ५ दिन बाँकी रहँदा भ्रमण रोक्नुले नेपालको कूटनीति कतातिर उन्मुख हुँदैछ र यसको परिणाम केकस्तो हुने हो सर्वत्र चिन्ता र चासोको विषय भएको छ । राष्ट्रपतिको भ्रमण रोक्ने कामसँगै केही गम्भीर कदम सरकारले चालेको छ र अनेक सार्वजनिक आरोपको वर्षा गर्न थालेको छ । एमालेनिकट कतिपय बुद्धिजीवी र विश्लेषकले त नेपालस्थित भारतीय राजदूत रणजीत रायलाई फिर्ता पठाउने चर्चालाई हावा दिने काम गरे । ओली सरकारलाई विस्थापित गरी दाहाल नेतृत्वको सरकार गठन गर्न भारत, राजदूत उपाध्याय र रायको समवेत भूमिका रहेको सार्वजनिक निष्कर्ष सुनाउँदै प्रतिक्रियामा राष्ट्रपतिको भ्रमण स्थगन, दिल्लीस्थित राजदूत फिर्ताजस्ता निर्णय सरकारले ग¥यो ।

यो निर्णयले सन् ६० को दशकमा महाशक्ति राष्ट्र अमेरिका र सोभियत संघबीचको शीतयुद्धलाई सम्झाएको छ । ती दुवै करिब समान सामरिक शक्तिधारी थिए, तर भूराजनीतिक अवस्था भने फरक थियो । नेपाल र भारतको सामरिक शक्ति तुलना गर्नु आफैमा हास्यास्पद हुन्छ । भूराजनीतिक अवस्था पनि नेपालका पक्षमा छैन । यस्तो आँखाअगाडि देखिने विषयलाई उपेक्षा गर्नु उपयुक्त हुन्छ ? सरकार परिवर्तनको प्रस्ताव बोकेर अरु दलका नेतामाझ पुग्ने एमाओवादी नेतृत्वसँग व्यापक राजनीतिक सौदाबाजी गर्दै देशलाई शीतयुद्धको अवस्थामा पु¥याउनु कति उचित होला ? आज सबै नेपालीले गम्भीरतापूर्वक विश्लेषण गर्नु आवश्यक छ ।

राष्ट्रियता र राष्ट्रवादको सबैभन्दा ठूलो रक्षक आफूलाई मात्र ठान्ने मनोविज्ञानबाट ग्रसित नेताहरूले नै यथार्थमा अहिले नेपालको भविष्यलाई असुरक्षित पार्न लागेका छन् भन्ने प्रमाणित गरिरहनु अब आवश्यक छैन । सरकारको नेतृत्वले अन्तर्राष्ट्रिय सम्बन्धबारे मिहिन विश्लेषण गर्न सकेन । केही महिनापहिले उनैले भारतको भ्रमण गरी फर्कंदा सम्बन्ध सुधार भएको टिप्पणी गरेका थिए, अहिले अकस्मात आक्रमण गर्ने काम गरेका छन् । भ्रमणको दुई महिना पनि नपुग्दै विकास हुने यस्तो अविश्वासको पहाडलाई पृष्ठभूमिमा राखेर प्रधानमन्त्रीको भारत भ्रमण कसरी सार्थक भएको थियो ? के यसको जवाफ दिनु आवश्यक छैन ? असोज ३ ले निम्त्याएको अविश्वासको पहाडमुनि आज पनि नेपाल र नेपाली किचिइरहेका छन् । भूकम्पले छियाछिया पारेको नेपालीको तनलाई करिब ५ महिना कालोबजारी, तस्करी तथा महँगीको मारले उठ्नै नसक्ने बनाएको छ । अहिले जनतामा पुनः अर्को त्रास थपिएको छ । यो त्रासबाट त्राण दिने राजनीतिक कौशल नेतृत्वले देखाउने बेला थियो यो । तर, यसको उल्टो त्रास थप्ने काम भएको छ । यो दुर्भाग्यको सूचक हो ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस