चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्धमा विजयोत्सवको ८० वर्ष
१५ भदौ २०८२
•
७ मिनेट पाठ
चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्धमा विजयोत्सवको ८० वर्ष
चिनियाँ राष्ट्रपति सी चिनफिङले भनेका छन्, “इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ ।  त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा भएका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरूलाई पुनः नदोहोर्‍याउनका निम्ति हो ।” 




सन् १८४० पछि साम्राज्यवादी शक्तिहरूको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छीङ राजवंशको शासनका कारण चिनियाँ  जनताले ठूलो सङ्कटको सामना गर्नु परेको थियो । त्यसैबेलादेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय  सुरु भएको थियो । त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको आक्रमण थियो ।  सन् १८९४ मा जापानी प्रतिगामीहरूले आक्रमण  गरी चीनको थाइवान र  फङह द्वीपसमूह माथि कब्जा जमायो । सन् १९००  मा अरू विदेशी आक्रमणकारीसँगै पेइचिङमा आक्रमण भयो । 

सन् १९०४ मा जापान–रुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भागमा अतिक्रमण भयो । सन् १९१४ मा छीङ ताओ सहरमा आक्रमण गरी कब्जा जमायो । सन् १९१५ मा चीनको अधिकार हनन हुने एक्काइस दाबी प्रस्तुत गर्‍यो । सन् १९३१ को सेप्टेम्बर १८ मा  चिनियाँ सेना र जापानी सेनाबिच द्वन्द्वको घटना भयो । यो दिन चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा जापानले आक्रमण गरी कब्जा जमायो । सन् १९३५ मा मध्य उत्तर चीन घटना र सन् १९३७ जुलाई ७ मा युयान्फीङ् काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुलमा  आक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ गर्‍यो । त्यसवेला उनीहरूले पुरै चीनलाई उपनिवेश बनाएर त्यसपछि सम्पूर्ण एसियालाई नियन्त्रणमा लिई विश्व शक्ति बन्ने सपना देखेका थिए ।  यी शृङ्खलाबद्ध कार्यले चिनियाँ जनता माथि अभूतपूर्व सङ्कट आइलाग्यो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य साहस पनि जगायो ।

देश र देशवासी जीवन मरणको दोसाँधमा पुगेका बेला चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो असाधारण नेतृत्व र सही रणनीति एवं रणकौशलद्वारा  जापानी आक्रमणविरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोधलाई दिशा निर्देश गर्‍यो ।  विभाजन र युद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध , एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो ।  

त्यसबेला सोभियत सङ्घ ,  अमेरिका , कोरिया , भियतनाम , क्यानडा , भारत , न्युजिल्याण्ड , पोल्याण्ड , डेनमार्क , अष्ट्रिया , रोमानिया , बुल्गेरिया फासिस्ट विरोधी योद्धाहरूले पनि चीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्ष रूपमा सम्मिलित  भएर चीनलाई सहयोग गरेका थिए । त्यसबखत नेपाली वीरहरू पनि युरोप , उत्तर अफ्रिका र दक्षिणपूर्वी एसियाका युद्धस्थलमा सहयोगी सेनासँग  मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए ।  केही दिन अघि मात्र मैले काठमाडौँस्थित बेलायती राजदूतावासले जापानी सेनाले सहयोगी सेनासमक्ष आत्मसमर्पण गरेपछि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ । त्यस अवसरमा पोखरास्थित ब्रिटिस गोर्खा सेनाले परेड पनि गरेको थियो ।  दोस्रो विश्व युद्धमा ब्रिटिस सेनामा  नेपालीको गोर्खा सैन्यले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई पराजित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको  सुनेर म प्रसन्न भएको छु ।  विश्वशान्तिका निम्ति नेपालले पुर्‍याएको यो अद्वितीय योगदान हो , साथै चिनियाँ र  नेपाली जनताले आलो  रगतका माध्यमबाट गाँसेको अनमोल मैत्री पनि हो।  

धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वका जनतासँगै चिनियाँ जनताले फासिस्टहरूलाई पूर्ण रूपले परास्त गरे भने जापानी सैन्यवादी आक्रमणकारीलाई पनि हराए ।  चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिस्टहरूविरुद्धको युद्धमा विजय प्राप्त भयो।  अन्ततः अन्धकारमाथि उज्यालोको , प्रतिगमनमाथि प्रगतिको  विजय भयो ।  आफ्नो शवबाट ‘ग्रेटवाल’ निर्माण गर्न पनि पछि नपरेका वीरहरूको आत्मालाई शान्ति मिल्यो ।  

यो कहालीलाग्दो सङ्कट र वीरतापूर्ण प्रतिरोधको इतिहासले हामीलाई के सन्देश दिएको छ ?
कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको भावना हो । जापानी आक्रमणविरुद्धको युद्धमा चिनियाँ जनतामा प्रतिरोधको भावनाको विकास भयो ।   चिनियाँ जनताले विश्वसमक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेवारी  हुन्छ भन्ने राष्ट्रवादलाई आफ्नो अन्तिम गन्तव्य सम्झेर प्राणको आहुति दिनुपरे पनि  आत्मसमर्पण नगर्ने स्वाभिमान , अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने र जति समस्या परे पनि नहट्ने जति दुःख सहनु परे पनि नछोड्ने विजयप्रतिको आत्मविश्वास प्रस्तुत गरे ।  फासिस्टहरूको शक्तिशाली हतियारको अगाडि चिनियाँ जनताले सबै जुक्ति सोचे तर कहिले पनि आत्मसमर्पण सोचेनन् ।  

दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ (आक्रमणमा परेकाहरूले आत्मसमर्पण गरे पनि आक्रमणकारीहरूले नरसंहार गर्न सक्दैनन् । युद्धका निम्ति साहस गर्नु , युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनेर चमत्कारिक रूपमा सफल हुनुको एकमात्र उपाय हो । देश समृद्ध, जनता सबल हुनु नै देशको सुरक्षाको भौतिक आधार हो ।  

राष्ट्रपति सीले भनेका छन् , “पछाडि पर्नेहरूले पिटाइ खान्छन्, विकास गरेर मात्र बलियो हुन सकिन्छ । फासिस्ट युद्धवादले बिना हिच्किचाहट छिमेकी देशहरूमा आक्रमण गर्ने साहस गर्नु तिनीहरूको आर्थिक अवस्था र सैन्यबल अरुकोभन्दा सुदृढ भएर नै हो । आजसम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तर्राष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरू देशहरूसँग  व्यापार गर्नु पर्ने कुराको प्रचार गरेको पाइन्छ । यसबाट युद्धको भूत अझै पनि विश्वबाट हराइ नसकेको प्रमाणित हुन्छ । चिनियाँ जनताले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महत्त्व गहन रूपमा बुझेको छ ।  आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामर्थ्यमा छ ।  चीनका हरेक पुस्ताले मेहनत गरी अनुपम उपलब्धि हासिल गरी आफ्नो आत्मविश्वास प्रकट गरेका छन् ।  मैले बारम्बार भन्ने गरेको छु , नेपालले अहिले सामना गरिरहेका  विकाससम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान छ , चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वास युक्त हुन सक्नेछ ।  

साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो ।  सन् १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नानचिङमा आक्रमण गरी छ साताभन्दा लामो अवधिसम्म आगजनी , बलात्कार , लुटपाट नरसंहार गरे ।  त्यसमा परेर कम्तीमा तीन लाख जनाको ज्यान गयो ।   हालै चीनमा नानचिङ नरसंहारको दुखद् इतिहासलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको ऐतिहासिक चलचित्र हेरिसकेपछि दुःख र रिसले धेरै दर्शकहरूले आँसु बगाए। । यस प्रकारको पीडाले मानिसहरूलाई सास फेर्नसमेत गाह्रो भएको अनुभव गराउँछ ।  चिनियाँ जनताले जापानी आक्रमणको दुःख सङ्कट झेलिसकेको हुँदा शान्ति कत्तिको महत्त्वपूर्ण छ , समानताको आधारमा अरूको सम्मान गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ । 

चीनले आफूले भोगिसकेको युद्धको आघात कदापि अरू कुनै देशमाथि  लाद्ने छैन । कहिले पनि आफ्नो वर्चस्व स्थापना गर्ने छैन । विस्तारवादी नीति अपनाउने छैन । प्रभावक्षेत्र बनाउन खोज्ने छैन ।  चिनियाँ शैलीको आधुनिकीकरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो । उपनिवेश बनाएर लुट्ने पुरानो तरिका र देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्ने छ भन्ने गलत सोचाइवाट यो पूर्ण रूपले मुक्त छ । यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो । हामी नेपाललगायत विश्वका सम्पूर्ण देशहरूसँग  संयुक्त रूपमा मानवजातिको साझा भविष्य निर्माण गर्न चाहन्छौँ  , विश्वमा शान्ति , विकास र उन्नतिका निम्ति सघाउन चाहन्छौँ ।  

फ्रान्सेली इतिहासकार अन्इटोन प्रोस्टले आफ्नो पुस्तक ‘इतिहासका बाह्र पाठ’ मा एक विचारणीय कुरा लेखेका छन्: इतिहासको अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाई बढाउनका निम्ति होइन , त्यो त विगतमा के घटना भए र के कारणले घटे , त्यसबारे बुझ्नका निम्ति हो । इतिहासलाई बिर्सनेले अवश्य पनि पहिले कै गल्ती दोहोर्‍याउने छ ।  इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन । र, भविष्य पनि ।   

यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध विजय र विश्व फासिस्टविरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव धुमधामका साथ मनाउँदै छौँ।  यसबाट हाम्रो शान्तिप्रतिको उत्कट अभिलाषा प्रकट भएको छ ।  हामी विश्वभरका युवा पुस्तामा शान्तिपूर्ण मूल्य मान्यताको निर्माणका निम्ति सहयोग गर्ने छौँ ।  यो अवश्य पनि एक पवित्र एवं महान् कार्य हो ।   हामीलाई विश्वास छ, हाम्रा युवा प्रतिभाले अवश्य पनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मेवारी पूरा गर्ने छन् ।

लेखक नेपालका लागि चीनका राजदूत हुन्। 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस