भोटेकोसी विपद्: उद्धारसँगै तथ्यपूर्ण सूचनाको खाँचो
१२ भदौ २०८३
•
६ मिनेट पाठ
भोटेकोसी विपद्: उद्धारसँगै तथ्यपूर्ण सूचनाको खाँचो
नेपालले आफ्नो हिस्साका धेरै विपद्हरू भोग्दै आएको छ। २६ अगस्ट २०२६ मा भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढी मुलुकले देखेका सबैभन्दा ठुला विपद्मध्ये एक हो, विशेषगरी २०१५ को भूकम्पपछिको यसको प्रभावका दृष्टिले। प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशी आगन्तुकहरूको मृत्यु हुने संख्या बढ्दै गएको छ। सिँचाइयोग्य जमिन, व्यक्तिगत सम्पत्ति तथा निजी र सार्वजनिक पूर्वाधारमा भएको क्षति पनि बढ्दै गएको छ।  यसको कुल क्षति यति ठुलो हुन सक्छ कि नेपालजस्तो मुलुकका लागि त्यसको भार व्यवस्थापन गर्न कठिन हुनेछ।  




घटनापछिको प्रारम्भिक स्तब्धता बिस्तारै कम हुँदै जाँदा अब यो विपद् किन र कसरी भयो भन्ने प्रश्न उठ्न थालेका छन्।  नेपाल र चीन दुवैसँग हुनुपर्ने पूर्वसूचना प्रणालीको अवस्था के थियो ? भोटेकोसी यस्तो नदी हो, जहाँ बाढीका कारण विगतमा पनि पटकपटक विपद् सिर्जना भएका छन्। यसको नदी प्रणालीसँग जोडिएका क्षेत्र हुँदै यसको प्रभाव भारतको बिहारसम्म पुग्न सक्छ। त्यसो भए चीनको तिब्बत स्वायत्त क्षेत्रमा रहेको पूर्वसूचना प्रणालीले यस्तो घटनाको सम्भावनाबारे जानकारी दिन किन सकेन? नेपालको आफ्नै पूर्वसूचना प्रणालीको अवस्था के थियो ? त्यस्तो प्रणालीमार्फत समयमै सूचना आएको भए विपद्लाई पूर्ण रूपमा रोक्न नसकिए पनि ज्यान जोगाउन आवश्यक सावधानी अपनाउन सकिन्थ्यो।

यो घटना किन र कसरी भयो भन्ने विषयमा विभिन्न अनुमान र प्रश्नहरू उठिरहेका बेला नेपाल सरकारले उल्लेखनीय ढंगले तुरुन्त राहत र उद्धारको कार्य गरेको देखिएको छ। यस कार्यमा नेपालको निजी क्षेत्रले नेपाल सरकारलाई तत्काल राहत तथा सहयोगका काममा मद्दत पुर्‍याएको छ। अन्य देशहरूबाट पनि सहयोग आइरहेको छ, विशेषगरी भारतका सशस्त्र बलबाट प्राप्त सहयोग उल्लेखनीय छ।

जब विपद् आउँछ, त्यतिबेला तथ्यपूर्ण सूचनाको निरन्तर प्रवाह हुनु अत्यन्त आवश्यक हुन्छ तर डिजिटल प्लेटफर्मको विस्तारसँगै आजको विश्वमा सूचना प्रवाह दर्ता भएका मूलधारका सञ्चारमाध्यममा मात्र सीमित छैन।  डिजिटल उपकरण र इन्टरनेटको पहुँच भएका मानिसहरूले आफूले खिचेका तस्बिर र भिडियोको प्रभावबारे नसोची सार्वजनिक गर्न सक्छन्।

अर्कातर्फ, कतिपय मानिसहरूले वर्तमान विपद्सँग सम्बन्धित नै नभएका पुराना वा अन्य घटनाका तस्बिर र भिडियो पनि पोस्ट गर्न थाल्छन्।  त्यसैले आज नेपालमा सूचनाको नैतिक र जिम्मेवार सम्प्रेषणको आवश्यकता झन् बढेको छ। ‘कसैको पीडा कन्टेन्ट होइन।  कसैको क्षतविक्षत शव भाइरल बनाउने विषय होइन। दुःखमा परेको मानिसको पीडामाथि भ्यु, लाइक र सेयरको हिसाब नगरौं।  मृतकको शरीरका अंग र पीडितको आँसुलाई ‘कन्टेन्ट’ बनाउनु पत्रकारिता वा सामाजिक सञ्जालको उपलब्धि होइन। यसका लागि आचारसंहिताका दफा खोजिरहनु पनि नपरोस्। कानुनले के भन्छ भनेर सम्झाइरहनु पनि नपरोस्।  हामीसँग नियम कानुनभन्दा अघि एउटा कुरा हुनुपर्छ, न्यूनतम मानवीय मर्यादा।  आज त्यो पीडा अरू कसैको हो।  भोलि त्यही पीडा हाम्रो आफ्नै घरको हुन सक्छ।  समाचार दिऔं तर संवेदना नमारौं।  सत्य देखाऔं तर मान्छेको सम्मान नखोसौं।  बिन्ति, मान्छे हौं, मान्छे बनौं,’ प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ भन्छन्।

प्रेस काउन्सिल नेपालले यसअघि कहिल्यै नदेखेको जस्तो परिस्थितिबाट गुज्रिरहेको बेला सबैलाई नैतिक र जिम्मेवार ढंगले सूचना प्रवाह गर्न अपिल गरेको छ।  भोटेकोसीको बाढीले प्रभावित क्षेत्रमा अभूतपूर्व विनाश निम्त्याइरहेका बेला त्यहाँका परिवारको जीवन र घरबार तहसनहस भएका छन्।  प्रभावित क्षेत्रबाहिर नेपालका अन्य भाग तथा संसारका विभिन्न ठाउँमा रहेका परिवारजन पनि आफ्ना आफन्त र साथीभाइको समाचार सुनेर पीडित बनेका छन्।  प्रभावित क्षेत्रमा काम, तीर्थयात्रा वा अन्य कुनै उद्देश्यले पुगेका आफ्ना परिवारजन र साथीभाइको अवस्थाबारे सही जानकारी पाउन उनीहरू व्यग्र छन्।

यस्तो अवस्थामा प्रभावित क्षेत्रबाट तथ्यपूर्ण समाचार बाहिर आउनु अत्यन्त आवश्यक छ।  साथै, उद्धार तथा राहतसँग सम्बन्धित सूचना प्रभावित जनसमुदायसम्म पुग्नुपर्छ। आफ्ना परिवारजन र साथीभाइको अवस्थाबारे सही जानकारी खोजिरहेका मानिसहरूसम्म पनि विश्वसनीय सूचना पुग्नु उत्तिकै महत्त्वपूर्ण छ।

भोटेकोसीको आकस्मिक बाढीका कारण नेपालका विभिन्न जिल्लामा परेको प्राकृतिक विपद्लाई सम्बोधन गर्न सरकार र उपलब्ध स्रोतसाधन भएका निजी क्षेत्र लागिरहेका छन् तर अर्कातर्फ सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा सूचनाको बाढी पनि आइरहेको छ।  तीमध्ये कतिपयमा प्रभावित मानिसहरूका अनुपयुक्त तस्बिर र भिडियोहरू सार्वजनिक गरिएका छन्। यसले उनीहरूका परिवारजन र साथीभाइमा थप नकारात्मक प्रभाव पार्न सक्छ।

वर्तमान विपद्सँग सम्बन्धित नभएका तर अन्य घटनासँग सम्बन्धित पुराना भिडियो क्लिपहरू पनि प्रसारित भइरहेका छन्।  यसले गलत सूचना र भ्रामक सूचना फैलाउन मद्दत गर्छ, जसबाट कसैलाई फाइदा पुग्दैन, विशेषगरी प्रभावित र बाँच्न सफल मानिसहरूलाई त झन् होइन।

विभिन्न विज्ञ र आधिकारिक स्रोतहरूका अनुसार २६ अगस्ट २०२६ मा भोटेकोसी नदीमा आएको बाढी सम्भवतः लेन्दे नदीमा भएको हिमपहिरोका कारण भएको हुन सक्छ।  उक्त हिमपहिरोले सुरुमा लेन्दे नदी थुनिएको र त्यसपछि ठुलो मात्रामा पानी जम्मा भएको हुन सक्ने अनुमान गरिएको छ। अन्ततः त्यो थुनिएको पानी फुट्दा बाढी आएको हुन सक्ने सम्भावना छ।  यस घटनासँग हिमताल विस्फोटको सम्भावनालाई पनि जोडेर हेरिएको छ।

अधिकारीहरूले बाढी आएको समयमा वर्षा नभएको जानकारी दिएका छन्।  त्यसैले यो घटना तत्कालीन मौसमका कारण मात्र भएको नभई केही समयदेखि विकसित हुँदै आएको प्राकृतिक प्रक्रियाको परिणाम हुन सक्ने सम्भावना देखिन्छ। वैज्ञानिकहरूले हालसम्म प्राप्त प्रमाणले नदीको माथिल्लो क्षेत्रमा भएको सम्भावित अवरोधतर्फ संकेत गरेको बताएका छन्।  सोही समयमा तिब्बती क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प गएको पनि रेकर्ड गरिएको छ।  वैज्ञानिकहरूले उक्त भूकम्पले हिमपहिरो निम्त्याउन भूमिका खेलेको हुन सक्ने सम्भावनालाई पनि नकारेका छैनन्।

वर्तमान भोटेकोसी विपद्जस्ता घटनाका पछाडि विभिन्न कारणहरू हुन सक्छन्।  विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनमा त्यसको नकारात्मक प्रभाव वैज्ञानिक प्रमाणहरूबाट स्थापित भइसकेको छ।  हिमालय क्षेत्रमा हिउँ र हिमनदी पग्लिनु तथा हिमताल विस्फोटका घटनालाई पनि विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिँदै आएको छ तर यही मात्र कारण भने होइन। आजको विपद्बाट प्रभावित क्षेत्र भौगोलिक र पारिस्थितिक रूपमा अत्यन्त संवेदनशील क्षेत्रको हिस्सा हुनु पनि महत्त्वपूर्ण पक्ष हो।  त्यसैले यस्ता क्षेत्रमा पूर्वसूचना प्रणाली सही ढंगले स्थापना गर्ने र त्यसलाई प्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा विशेष ध्यान दिन आवश्यक छ।

नेपाल र चीनका सरकारले पूर्वसूचना प्रणालीमा के भयो भन्ने विषयमा गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ तर यससँगै नेपाल उच्च कार्बन उत्सर्जन गर्ने मुलुकमध्ये पर्दैन भन्ने तथ्यलाई पनि ध्यान दिनुपर्छ।  त्यसैले सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने औद्योगिक राष्ट्रहरूलाई पनि यस्ता विपद् आउँदा उनीहरूको जिम्मेवारी के हुन्छ भन्ने प्रश्न उठाउनु आवश्यक छ।

अब दक्षिण एसियाली देशहरूले हातेमालो गर्ने समय आएको छ।  भविष्यमा मानिसको जीवन र स्रोतसाधन यस्ता विपद्का कारण जोखिममा नपरोस् भन्नका लागि प्रभावकारी पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापन संयन्त्र स्थापना गर्न यस क्षेत्रका देशहरूले साझा प्रतिबद्धता गर्नुपर्छ।

त्यसैगरी गलत सूचना र भ्रामक सूचना रोक्न पनि संयुक्त रूपमा काम गर्नु उत्तिकै आवश्यक छ। तथ्यमा आधारित पत्रकारिता, जिम्मेवार सूचना प्रवाह र मानवीय संवेदनालाई केन्द्रमा राखेर सूचना साझा गर्नु नै यस्ता विपद्का बेला सबैभन्दा आवश्यक जिम्मेवारीमध्ये एक हो।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस