गौरा पर्व कि ‘देउडा पर्व’ ?
१५ भदौ २०८२
•
४ मिनेट पाठ
गौरा पर्व कि ‘देउडा पर्व’ ?
गौरा सुदूरपश्चिमको मौलिक पर्व हो। गौरा प्राचीन डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि सुदूरपश्चिममा यसको महत्त्व बढी छ। गौरा सुदूरपश्चिम, कर्णालीका केही जिल्ला र भारतका उत्तराखण्ड प्रदेशको कुमाउँ, गडवाल क्षेत्रमा समेत धूमधामसँग मनाइन्छ।  यसबाट के बुझिन्छ भने–यो पर्वको परम्परा डोटेली सभ्यतासँग जोडिएको छ। डोटी जिल्लाको मात्रै होइन, कर्णाली, सुदूरपश्चिमदेखि कुमाउँ, गढवालसम्मको सभ्यता डोटेली सभ्यता हो। अचेल भाषा र भाषिकामा भेद छुट्याउन नसक्ने क्षेत्रीयतावादी विद्वानहरूले जिल्ला, गर्खा र गाउँपिच्छे बोलिने भाषिकालाई भाषामा दर्ज गराएका छन्।




गौरामा खास गरेर प्राचीन डोटी राज्य सञ्चालन, एकीकरणमा महत्त्वपूर्ण भूमिका निभाएका योद्धाका जीवन गाथा गीतका माध्यमबाट वर्णन गरिन्छ। त्यसै गरी यस क्षेत्रका महत्त्वपूर्ण देवीदेवताका गाथा र शक्तिको बखान पनि गौरा गीतमा पाइन्छ। यस पर्वमा गाइने गायनहरूमा चैत, ढुस्का, धमारी र चाँचरीहरूमा वीर वीरंगनाले दिएका योगदानको चर्चा गरिएको हुन्छ। अजयमेरुकोट, कुमाउँ गढवालमा रहेका कोट र किल्ला त्यससँग सम्बन्धित राजा रजौटा, रजबार र देवानका कथा समेत गौरामा गीति लयमा गाइन्छ। यसर्थ परापूर्व कालको राजनीति पनि गौरा गीतमा सुन्न पाइन्छ। जसमा कतिपय दस्तावेजीकरण हुन नसकेको इतिहास पनि गीतका लयमा सुन्न पाइन्छ ।

गौरा भित्र्याउँदा, नचाउँदा र बिर्सजन गर्दाका सगुन गीत लयबद्ध रूपमा गाउने प्रचलन छ। यसै गरी महाभारतमा कृष्ण र अर्जुनको भूमिका, कौरव पाण्डवको युद्ध र राम वनवास जानुका कारण समेत गौरा गीतमा सुन्न मिल्छ। तुलसी पूजन प्रक्रिया र त्यसको इतिहास पनि गौरा गीतमा हुन्छ। 

गौरामा गाइने चैत, ढुस्का, धमारी गीतमा अजयमेरुकोटका चर्चित राजा नागी मल्ल, कटारी मल्ल, विक्रम शाही, नरी शाहीलगायतका राजाहरूको जीवनी गौरा गीतमा भेटिन्छ। यसै गरी त्यस समयका देवानहरू रजबार सुना देउवा, करन देउवा, ललु देउवाका बहादुरीका गाथा, भागेश्वर देवता, मष्ट देवता, तेडी देवता, केदार देवता र बहादुरीका गाथा समेटिएको पाइन्छ। 

अहिले भने गौरा पर्वको मौलिकता हराउँदै गएको छ। खास गरेर गौरामा चैत, ढुस्का, धमारी, तुलसी गाथा, रामलीला र कृष्ण लीलाको स्थान गौरामा गौण हुँदै गएको छ। गौरालाई रमाइलो उत्सवका रूपमा सीमित पार्ने क्रम बढेको छ।  गौरा पर्वमा देउडा खेल्ने र  र्‍याप, पप गीतमा रमाउने क्रम बढेको छ। 

अचेल गौरा पर्व भन्दै देउडामा कुम जोड्नेहरूको भिड हुन्छ। गौरा पर्व सुदूरपश्चिममा मात्रै नभएर यहाँबाट बसाइसरेर अन्यत्र गएका डोटेली भाषी पनि मनाउने गर्छन्। देश परदेशमा समेत डोटेली भाषीले गौरा खेल्छन्। यस पर्वलाई महत्वका साथ लिने गरेका छन्। 

गौरालाई देउडा खेल्ने पर्वको रूपमा मात्रै बुझ्नु समस्या हो। गौरामा गाइने गीत देउडा मात्रै हुँदैनन्। गौरा गीत त नितान्त फरक विधा र गायन शैली हुन्छ। गौरा पर्वलाई देउडा पर्वका रूपमा बुझ्यौ भने समस्या हुन्छ। महत्त्व देउडा र गौरा दुवैको छ,  तर देउडा नै गौरा हो भन्ने बुझाइले गौरालाई अन्याय हुन्छ। 

गौरा पर्वको मौलिकता बुझ्न सबैभन्दा पहिला गौरा पर्वको समग्र पक्षका विषयमा बुझ्न जरुरी छ। होइन भने गौरा पर्व देउडा पर्वमा परिणत हुने खतरा छ। गौराको अन्तरे र वास्तविक अर्थ झल्काउने गौरा गीत, भाका र लय हराउँदा यसको मौलिकता रहने छैन। त्यसले डोटेली भाषीको पहिचान र संस्कृतिभित्रको अनन्य पक्ष हराउने छ। 

गौरा पर्व देउडा पर्वमै सीमित हुनुमा पुरानो र नयाँ पुस्ता सबै दोषी छन्। पुरानो पुस्ताले गौरा पर्वको महत्त्व, महिमा र गरिमा नयाँ पुस्तालाई हस्तान्तरण गर्न चुकेका छन्। वर्तमान सधैँ वर्तमान हुँदैन, त्यो भोलि इतिहास बन्छ। त्यस कारण आफूसँग भएका परम्परा, लोक संस्कृति, ज्ञान सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको दायित्व पनि हुन्छ। आफूसम्म पुगेको परम्परागत संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण नगर्दा ऐतिहासिक अन्याय भएको हुन्छ। त्यसले मौलिक लोककला र संस्कृति हराउनुको दोष त्यो पुस्ताको काँधमा आउँछ। 

नयाँ पुस्ताले पनि आफ्ना पुर्खाले जगाएर ल्याएको लोकसंस्कृति ग्रहण गर्नुपर्छ। तर, अहिलेको पुस्ता ग्रहण गर्न चाहिरहेको देखिन्न। कतिपयको बुझाइमा लोक संस्कृति र परम्परा पछौटेपनका मानक हुन्। त्यसलाई अवलम्बन गरे आधुनिक भइँदैन।  

अहिले गौरामा देखिएको त्यही हो। गौरा पर्व के हो ? यसको महत्त्व के हो ? के कस्ता गीत कस्तो लयमा गाइन्छन् ? अथवा गौरा गीतमा कसरी नाचिन्छ? भन्नेतिर कसैको ध्यान छैन। न पुराना पुस्ताले यसको ख्याल राखेका छन्, न नयाँ पुस्ता सिक्न र ग्रहण गर्न तयार छ। 

यसैले डोटेली लोकसंस्कृतिको धरोहर रहेको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गौरा पर्वको मौलिकता जगाउन विशेष ध्यान दिनु आवश्यक छ।  गौरा पर्वको प्रचार पर्याप्त भइसकेको छ, तर यसको मौलिकता र विशेषताको ख्याल पनि उसै गरी राख्नु जरुरी छ। औपचारिकता वा देखासिकीमा मात्रै गौरालाई नराखेर यसबारे गहन खोज अन्वेषणको पक्षमा पनि सरोकारवालाको ध्यान पुग्नुपर्छ। 
अर्को समाचार
समृद्धिको पर्व गौराः भित्र्याइयो गौरा, खेलिँदै देउडा
१३ भदौ २०७८
•
६ मिनेट पाठ
समृद्धिको पर्व गौराः भित्र्याइयो गौरा, खेलिँदै देउडा
सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा आज गौराको प्रतिमूर्ति भित्र्याइएको छ। भाद्र शुक्ल सप्तमी अर्थात् आजकै दिन गौरालाई खेतबाट गौराघरसम्म भित्र्याइएको छ। आज साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाई गौरा घरमा भित्र्याइएको हो। गौराको प्रतिमूर्तिलाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याएर भित्र्याइएका छन्।  




गौरा आर्थात् शिवकी पत्नी, हिमालयकी छोरीलाई बुझिन्छ। गौरीले कडा उपासना गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको स्मरणमा यस क्षेत्रमा गौरा मनाइँदै आएको छ। ‘गौराका विषयमा पुराणग्रन्थमा अनेकौँ आख्यान–उपआख्यान उल्लेख छन्,’ डोटेली संस्कृतिमा विद्यावारिधि डा. बद्री शर्मा बिनाडी भन्छन्, ‘ती आख्यान–उपआख्यानको सन्देश भनेको गौराको ब्रत बसेर वंशबृक्षको निरन्तरता, सन्तानको दीर्घायू र सुख समृद्धिका साथै सौभाग्यको प्रतीक पतिको दीर्घायूको कामना हो।’ 

गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ। सो दिन विरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात हुन्छ। औँसीमा गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिपदामा लिपपोत गर्ने, द्वितीया/तृतीयामा ब्रतालुले लत्ताकपडा धुने/नुहाउने र चतुर्थीमा विरुडाका लागि गेडागुडी केलाउनेलगायतका काम गरिन्छ। विरुडा पञ्चमीमा भिजाएका विरुडालाई षष्ठीका दिन पखालिन्छ। ती विरुडालाई पूजाआजाका क्रममा प्रसाद तथा अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ।

सप्तमीका दिन गौरालाई खेतबाट गौरा घरसम्म भित्र्याउने गरिन्छ। सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाउने चलन छ। गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भित्र्याउने गर्छन्। अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ। गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ। त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। यसै दिनदेखि ठाउँ–ठाउँमा देउडा समेत खेलिने प्रचलन रहिआएको छ। सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ। पाँच रातसम्म गौरा घरमा देउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ ।

भाद्र शुक्ल सप्तमीको दिन भित्र्याइने गौराले सुदूरपश्चिमका गाउँबस्तीमा भदौमा रौनकता थपिने गर्छ। सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह बिसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता पनि रही आएको छ। त्यहीअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा रहेको गौरामा विद्यावारिधि गरेका डा. टीएन जोशी बताउँछन्। यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। 

यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ लगाउने चलन छ। गौरामा महिलाहरूले ग्रहण गर्ने दुब–धागोको महत्व पुरुषले लाउने जनैसरह नै हुन्छ। ब्रतालुले दुब–धागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन्। दुब–धागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातओटा गाँठोको डोरा) भनिएको छ। शास्त्र अनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुब–धागो पहिरिनुपर्छ भनिएको छ।

गौरापर्व डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन्। ‘गौराको ब्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयू लामो हुन्छ भन्ने विश्वास यस क्षेत्रका बासिन्दा गर्छन्। डा. आर.डि. प्रभात चटौतको डोट्याली बृहत शब्दकोषमा पनि हिमालय राजाले छोरी पार्वतीको विवाहका लागि अमुक्ताभरण सप्तमीका दिन महत्वपूर्ण तिथि भएकाले त्यसैको सम्झना स्वरुप गौरा पर्व मनाइने गरिएको उल्लेख गरिएको छ।

गौराको धार्मिक तथा सांस्कृतिक रुपमा ठूलो मान्यता रहेको जानकारहरु बताउँछन्। ‘गौरा विशुद्ध धार्मिक आनुष्ठानिक पर्व हो,’ डा. बिनाडी भन्छन्, ‘सुदूरमा मनाइने अन्य पर्वहरुको सामाजिक मान्यता बढी छ। तर, गौरा धार्मिक र सामाजिक दुवै किसिमले महत्वपूर्ण छ।’ दसैं तिहारभन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाएपछि मात्र ल्याउन पाउँछन्।

गौरा यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व भएको स्थानीय बताउँछन्। गौरामै देश विदेशमा गएकाहरू समेत फर्केर घर आउने प्रमुख पर्व पनि मानिन्छ। पर्वमा एक आपसमा हात जोडेर डेउडा खेलिने भएकोले पनि आपसी सद्भावको पर्वका रुपमा गौरालाई लिइने गरिएको पण्डितहरू बताउँछन्। गौरा पर्वमा बनाइएका बिरुडालाई प्रसादको रुपमा बाँड्नुका साथै गौरामा घर आउन नसकेका आफन्तलाई समेत पठाउने गरिन्छ। यस पर्वमा चैत, भागेश्वरको ढुस्को, धुमारी, तुलसीका गीत तथा विभिन्न देउडा गीत गाएर खेल खेल्ने गरिन्छ। गौरा पूजा (अष्टमी) देखि नै देउडा खेल्ने चलन रहेको छ। सुख–दुःख, हाँसो–रोदन, हर्ष–विस्मात, माया–प्रेम, समसामायिक परिस्थिति, विकृति विसंगति देउडामा व्यक्त हुने गरेको धारणा सुदूरपश्चिमेलीहरू राख्छन्। गौरा र देउडा पर्वले आपसी भाइचारा, शान्ति, समृद्धि, सह–अस्तित्व तथा सद्भावको सूत्रमा बाँध्ने गरेको छ।

गौरालाई सुदूरपश्चिममा ठाउँ अनुसार ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ पनि भन्ने गरिन्छ। यी सबैको अर्थ पार्वती नै रहेको जानकारहरू बताउँछन्। गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौंदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको जानकार तर्क गर्छन्। कथनअनुसार पनि गौराले यस क्षेत्रको लोकसंस्कृति, लोकसाहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीरगाथा र वेशभूषाको प्रस्तुति गर्ने थलो हो। यस क्षेत्रका यति धेरै पहिचानका बिम्ब एकैसाथ प्रस्तुति हुने अर्को कुनै अवसर नै आउँदैन। यसमा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सुप्रसिद्ध देउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीरगाथा एकैसाथ प्रस्तुत हुन्छन्। 

यस क्षेत्रको कला, संस्कृति, वेशभूषाको अध्ययन गर्न चाहनेहरूका लागि गौराको समय महत्वपूर्ण रहने गर्छ। गौरामा महिला नै ब्रत बस्छन्, तर पुरुष तथा बालबालिकाले पनि गौरालाई उत्तिकै महत्व दिन्छन्। गौराका समयमा ब्रतालुका घरमा माछा, मासु, मसुरोको दाललगायत परिकार बर्जित गरिन्छन्। गौरा समाजमा सात्विक विचार भावनाको विकासमा समेत सहयोग पुर्‍याउने पर्व रहेको जानकारहरू बताउँछन्।

गौरामा खासगरी पौराणिक कथा, धर्म ग्रन्थ र भगवान्का वीर गाथाका बारेमा हात जोडेर गोलबद्ध भई चैत धमारी खेल खेल्ने गरिन्छ। तर, पछिल्लो समयमा भने गौरा पर्वमा युवायुवतीहरू देउडा खेलमा रमाउन थालेका छन्। अहिले गौरा पर्वको प्रमुख आकर्षण देउडा भएको छ। त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन थालिएको छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन्।

गत वर्षदेखि कोरोनाका कारण गौरा पर्वका समयमा देउडाप्रेमीहरुले जमघट भई देउडा खेल्न पाएका छैनन्। तर, पनि थोरै मानिस जम्मा भएर गाउँघरतिर भने देउडा खेल्दै आएका छन्।  

सुदूरपश्चिममा मात्र नभई अहिले डेउडाले राजधानीसम्म आफ्नो लोकप्रियता कायम गरेको छ। बसाइँसराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने देउडा सबैको आकर्षण बन्ने गरेको छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने सुदूरपश्चिम क्षेत्र बाहेकका पनि देउडामा रमाउने गर्छन्  यो पर्व सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै कैलाली कञ्चनपुरका गाउँबस्ती, कुमाऊँ, गडवालमा समेत धुमधामका साथ मनाइन्छ।

आजदेखि सुदूरपश्चिमका गाउँबस्ती देउडामा झुम्न थालेका छन्। कोरोनाका कारण भिडभाडमा केही सजगता अपनाइए पनि समूह बनाएर गाउँगाउँमा देउडाको प्रतिस्पर्धा चल्नुका साथै पुराना संस्कृति मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, वनडेउडा गुञ्जयमान हुन थालेका छन्। गौरामा वृद्धवृद्धा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीतमा मस्त रहन्छन् भने युवायुवती वन देउडा र माया प्रेमका दोहोरी देउडामै झुमिन्छन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस