हिटलर अझै मरेको छैन
१८ जेष्ठ २०८३
•
९ मिनेट पाठ
हिटलर अझै मरेको छैन
हिटलरहरू शक्तिले उन्मादी र सन्की हुन्छन् । उन्मादले अहंकार निम्त्याउँछ। अहंकार शालीन हुँदैन, यो टुट्न सक्छ तर झुक्न सक्दैन् । विनम्र सल्लाह दिनेलाई दुस्मन सोच्छ । उसको नजरमा केवल शत्रु वा मित्र मात्र हुन्छन्, सहमतिमा हिम्मत र विपत्तिमा विवेक राख्न सक्ने ‘स्वतन्त्रचेता जनमत’ पनि हुन सक्छन् भन्ने कुरै सोच्न सक्दैन।  भित्रभित्रै  आतंकित भएर सम्पूर्ण शक्ति केन्द्रीकृत गर्दा पनि सधैं त्रसित भइरहन्छ। हिटलर व्यक्ति नभै प्रवृत्ति हो। यसको सुन्दर चित्रण ‘द ग्रेट डिक्टेटर’ फिल्ममा चार्ली च्याप्लिनले प्रस्तुत गरे। हिटलरहरू व्यंग्यसँग, स्वतन्त्र मिडियासँग र आफ्नो विवेक बन्धकी नराख्ने बुद्धिजीवीहरूसँग भयभीत भइरहन्छन्।




बुद्धिजीवीहरूलाई तह लगाउन ऊसँग कानुन, प्रशासन र अदालत हुन्छ। त्यति गर्दा पनि नझुक्ने र सलाम नठोक्ने स्वाभिमानी प्रवृत्तिअगाडि भने सधैं आतंकित भइरहन्छ। जर्मनीमा हिटलर जन्मनु र  ‘फ्युहरर’ (सर्वोच्च नेता) बन्नुअघि नै यस धरतीमा अनेकन ‘हिटलर  जन्मिसकेका थिए। इतिहास साक्षी छ– हिटलर एउटा व्यक्ति मात्र होइन, एउटा संक्रामक र घातक प्रवृत्ति हो। पौराणिक कथाको ‘रक्तबीज’जस्तै, एउटा हिटलर शारीरिक रूपमा नष्ट भए पनि उसको प्रवृत्तिको रगत जहाँ–जहाँ वैचारिक रूपमा खस्छ, त्यहाँ नयाँ हिटलरहरू जन्मिरहन्छन्। आजको विश्वमा पनि हिटलरको  छाया मडारिरहेको छ। हिटलर प्रवृत्तिको उदय, चरित्र र स्वरूपलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ:

१. हिटलर सधैं भुइँमान्छेका प्रिय र आकर्षक नाराका साथ उदाउँछ। उसले सुरुमा ‘राष्ट्रिय समाजवादी’ (नाजी) जस्ता जनपक्षीय नारा लगाएर सत्ताको भर्‍याङ चढ्छ। सत्तामा पुगेपछि वा टिकिरहन उसले उग्रराष्ट्रवादलाई अचुक हतियार बनाउँछ। आफ्नो सत्ताको औचित्य पुष्टि गर्न  ‘रगतको शुद्धता’ (आर्य श्रेष्ठता) को मिथक र भ्रम निर्माण गर्छ। समाजमा आफूभन्दा फरक मत राख्नेहरूलाई सिध्याउन अन्य धर्मावलम्बी वा विजातीय समूहप्रति घृणा जागृत गराएर समाजलाई विभाजित गर्छ।

२. हिटलरवादी शासनको पहिलो निसाना स्वतन्त्र सञ्चारमाध्यम बन्छन्। मिडियालाई पूर्ण नियन्त्रणमा लिई आफ्नो प्रशंसामा मिथ्या कथ्य र भजनमण्डली तयार पार्छ। आधुनिक जनसम्पर्कका पिता एडवार्ड बर्नेजले सन् १९२८ को आफ्नो क्लासिक पुस्तक ‘प्रोपोगन्डा’मा सर्वसाधारणको सोच्ने तरिका र भिडको मानसिकतालाई कसरी ‘म्यनिपुलेट’ गर्न सकिन्छ भनी व्याख्या गरे। हिटलरको प्रचारमन्त्री जोसेफ गोयबल्सले बर्नेजकै सिद्धान्तहरूलाई आधार बनाएर जर्मनीमा क्रूर प्रचारतन्त्रको अभ्यास गराए। ‘एउटा झुटलाई सय पटक दोहोर्‍यायो भने त्यो सत्य बन्छ’ भन्ने मान्यताका साथ सिनेमा, कला र प्रचारतन्त्रमार्फत जनताको दिमाग नियन्त्रण गर्ने काम यस प्रवृत्तिले गर्छ।

क. फिल्मलाई जनताको दिमाग पखाल्ने सबैभन्दा ठुलो हतियार बनाउन लेनी रिफेनस्टालले प्रमुख भूमिका खेलिन्। उनको ट्रायम्फ अफ द विल (१९३५) फिल्मलाई इतिहासकै सबैभन्दा प्रभावशाली र खतरनाक प्रोपोगान्डा फिल्म मानिन्छ। यसले हिटलरलाई कुनै मानिस होइन, जर्मनीलाई बचाउन आकाशबाट ओर्लिएको ‘भगवान्’ वा ‘मसिहा’जस्तो देखायो। उनैले निर्देशन गरेको ओलिम्पिया (१९३८) पनि सन् १९३६ को बर्लिन ओलम्पिकमा आधारित फिल्म थियो । यसको उद्देश्य पनि जर्मनी र आर्य नस्ल संसारमै सबैभन्दा उत्कृष्ट छ भनेर देखाउनु थियो। फ्रिट्ज हिपलरद्वारा निर्देशित द इटर्नल जु (१९४०) फिल्मले यहुदीहरूका विरुद्धमा यति धेरै घृणा फैलायो कि यसले हिटलरको नरसंहारलाई जनताको नजरमा सही साबित गर्न मद्दत गर्‍यो।

ख. हिटलरले सत्तामा आउनासाथ विपक्षी मिडियालाई प्रतिबन्ध लगायो र बाँकी मिडियालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। डेर अंग्रिफ पत्रिका जोसेफ गोयबल्सले सन् १९२७ मा सुरु गरेका थिए। भोल्किसर बियोबास्टर नाजी पार्टीको आधिकारिक राष्ट्रिय दैनिक अखबार थियो। जुलियस स्ट्राइचरद्वारा प्रकाशित डेर स्टुर्मरले समाजमा डर र घृणा फैलाउने काम गर्थ्याे। यसले ‘यहुदीहरू नै जर्मनीका दुःखका कारण हुन् र हिटलर मात्रै मुक्तिदाता हो’ भन्ने भाष्य स्थापित गर्‍यो। गोयबल्सले बजारमा एकदमै सस्तो रेडियो उपलब्ध गराएर जर्मनीको हरेक घरमा हिटलरको आवाज पुर्‍यायो। यस रेडियोमा विदेशी च्यानलहरू सुन्न प्रतिबन्ध लगाइएको थियो।

ग. प्रसिद्ध विचारक, लेखक र वैज्ञानिकहरूले देश छोडे। केही यस्ता स्थापित बुद्धिजीवी भने आफ्नो विवेक नाजी सत्तालाई बुझाए– मार्टिन हाइडेगरलाई बिसौं शताब्दीका प्रसिद्ध दार्शनिकहरूमध्ये एक मानिए पनि नाजी पार्टीको सदस्य बनेर फ्राइबर्ग विश्वविद्यालयको उपकुलपति हुँदा हिटलरको खुलेर समर्थन गरे। उनले  हिटलरको आदेश नै जर्मन कानुन हो भनी पढाए। कार्ल स्मिटलाई नाजी जर्मनीको प्रमुख कानुनी सल्लाहकार भनिन्छ। उनले हिटलरको तानासाही, संकटकालीन अधिकार र कानुनभन्दा माथि रहने प्रवृत्तिको समर्थनमा दार्शनिक र कानुनी आधारहरू तयार पारिदिए। फिलिप लेनार्ड र जोहानेस स्टार्क  (नोबेल पुरस्कार विजेता भौतिकशास्त्री)  दुवै वैज्ञानिकले हिटलरको ‘आर्य श्रेष्ठता’ को सिद्धान्तलाई विज्ञानको जलप लगाउने प्रयास गर्दै आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई यहुदी विज्ञानभन्दै अस्वीकार गरेर जर्मन भौतिकशास्त्रको वकालत गरे। वर्नहर भोन ब्राउन (वैज्ञानिक/इन्जिनियर) ले हिटलरको लागि विनाशकारी भि–२ रकेट’ बनाए।

हिटलरहरू मिडिया र बुद्धिजीवीहरूसँग डराउँछन् त भनिन्छ तर सुरुवाती चरणमा उनीहरूले डर, लोभ, राष्ट्रवादको नक्कली अफिम र शक्तिको उन्माद देखाएर मिडिया र बुद्धिजीवीहरूको एउटा ठुलो तप्कालाई आफ्नो ‘यस–म्यान’ बनाउँछन् । बुद्धिजीवीहरूले विवेक बन्धकी राखुन्जेलसम्म तानासाह शक्तिशाली देखिन्छ तर जब स्वतन्त्रचेताहरूले सलाम ठोक्न छोड्छन्, तानासाहको पतन सुरु हुन्छ।

३. हिटलरहरू विवेकशील नागरिकलाई विचारहीन रैती वा भिडमा फेदै राष्ट्रिय आवेग र भावनाको दुरुपयोग गर्छन्। पूर्ववर्ती शासकहरूले गरेका गल्ती, कमजोरी वा भ्रष्टाचारका अंशलाई अतिरञ्जित गरेर  समग्र लोकतान्त्रिक विधि र प्रणालीमाथि नै प्रहार गर्छन्। बिस्तारै राज्यका सबै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई आफ्नो मुठीमा लिई शक्तिको चरम केन्द्रीकरण र जवाफदेहीहीन शासनको अभ्यास सुरु गर्छन्।

४. हिटलरहरू बिस्तारै काल्पनिक र अन्धविश्वासी संसारमा जिउन थाल्छन्। हिटलरले पनि एकदिन सपनाकै भरमा शुद्ध आर्य नस्लको खोजी गर्न तिब्बती पठारमा अध्येताहरूको टोली (एनेनेर्बे संस्था) पठाएको थियो। ऊ चरम शंकालु स्वभावको भएकाले छायादेखि पनि डराउँथ्यो। ‘एसएस’ सेनाका पाँच जना कोर टिमको सल्लाहमा मात्र ऊ चल्थ्यो। कालान्तरमा चरम अहंकारका कारण उसले आफूलाई कुनै दैवी शक्तिद्वारा निर्मित ‘मसिहा’ सोच्न थालेको थियो।

५. हिटलरको व्यक्तिगत जीवन अनौठो विरोधाभासी थियो। ऊ संगीतप्रेमी थियो, शाकाहारी थियो र यौनवासनाबाट दूर रहन्थ्यो। आत्महत्या गर्नुभन्दा केही घण्टाअघि मात्र  प्रेमिका इभा ब्राउनसँग विवाह गरेको थियो। यद्यपि, व्यक्तिगत रूपमा अनुशासित देखिए पनि ऊ निकोलो म्याकियाभेलीको उद्देश्य प्राप्तिका लागि जे गरे पनि हुन्छ भन्ने सिद्धान्तबाट प्रेरित थियो। सत्तामा पुग्न, टिक्न र त्यसलाई निरन्तरता दिन जस्तोसुकै क्रूरता अपनाउनु जायज हुन्छ भन्ने उसको विश्वास थियो।

६. ‘नेतृत्वलाई विश्वास गर, उसले तिम्रा सबै अभाव र तनावबाट मुक्ति दिलाउँछ’ भन्ने भ्रम बाँडेर हिटलरले जर्मनीका सम्पूर्ण समस्याको जड यहुदीहरू हुन् भन्ने भाष्य बनायो। परिणामस्वरूप, लाखौं निर्दोष यहुदीहरूलाई ग्यास च्याम्बरमा हालेर अमानवीय कत्लेआम गरियो। यस क्रूर वैचारिक र नस्लीय दमनका कारण जर्मनीका सबैभन्दा उत्कृष्ट दिमागहरू देश छोड्न विवश भए। त्यसलाई इतिहासकै ठुलो बौद्धिक पलायन मानिन्छ।

आधुनिक भौतिकशास्त्रका पिता र नोबेल विजेता अल्बर्ट आइन्स्टाइन नाजी दमनकै कारण अमेरिका पलायन भए। उनीसँगै क्वान्टम मेकानिक्सका प्रणेता म्याक्स बर्न, वैज्ञानिक इर्भिन श्रोडिंगर, परमाणु संरचना बुझाउने बोर र लियो जिलार्ड जस्ता प्रमुख वैज्ञानिकहरू ज्यान जोगाउन जर्मनी र नाजी नियन्त्रित क्षेत्र छोडेर पलायन भए। नाजीहरूले मे १९३३ मा ‘जर्मन भावना विपरीत’ भन्दै लाखौं पुस्तकहरू सार्वजनिक रूपमा जलाएपछि लेखकहरू विस्थापित भए। उपन्यासकार थामस मान, आधुनिक नाटककार तथा कवि बर्टोल्ट ब्रेख्त, प्रख्यात लेखक स्टेफान ज्विग र इरिच मारिया रेमार्क देश निकालामा परे। जुन बुद्धिजीवीहरू जर्मनीमै रहे, तिनीहरू नाजी सत्ताका अगाडि नतमस्तक र मौन नाजीभक्त हुन विवश भए।

७. गणतान्त्रिक लोकतन्त्रको सबैभन्दा सुन्दर उपहार भनेको मुट्ठीभर अभिजातवर्गको पन्जा र एकाधिकारबाट समग्र जनताको भाषा, साहित्य, कला र संस्कृतिलाई मुक्त गरी राज्यको केन्द्रीय तहसम्म पुर्‍याउनु र स्थापित गर्नु हो तर इतिहासको सबैभन्दा दुःखद र विडम्बनापूर्ण पाटो हो– जब हिजोका उत्पीडित र सीमान्तकृतहरू नै संघर्ष गरेर सत्ताको बागडोर सम्हाल्न पुग्छन्, तब बिस्तारै उनीहरू आफैं पुरानै उत्पीडकका नयाँ रूपमा फेरिन्छन्। सत्ताको मातले उनीहरूमा हिजो  भोगेको पीडा भुलाइदिन्छ र उनीहरूभित्रै अर्को एउटा तानासाह ब्युँतिन्छ।

यसको सबैभन्दा ठुलो र डरलाग्दो अन्तर्राष्ट्रिय उदाहरण अहिलेको यहुदीवाद हो । हिजो नाजी जर्मनीमा हिटलरको होलोकास्ट र चरम यातना भोगेका यहुदीहरूको ‘जायोनिष्ट’ सत्ता आज आफैं हिटलरको क्रूर चरित्रमा फेरिएको छ । हिजो आफू उत्पीडित हुँदा संसारको सहानुभूति बटुलेको त्यही शक्ति आज मध्यपूर्वमा युद्धको आगो फैलाएर प्यालेस्टाइनका हजारौं निर्दोष नागरिक, महिला र बालबालिकाहरूमाथि त्यही नाजी शैलीको दमन र नरसंहार गरिरहेको छ।

८. हिटलर केवल जर्मनीमा मात्र जन्मँदैन, बरु विचारको शून्यता, शक्तिको उन्माद र घृणाको राजनीति मौलाएको खण्डमा संसारको जुनसुकै कुनामा पनि जन्मिन सक्छ । हिटलरका आधुनिक सन्तानहरू फरकफरक मुखुण्डोमा विश्वमञ्चमा देखा परिरहेका छन्– संसारलाई बलपूर्वक इसाईकरण गर्ने दाउमा रहेका इभान्जेलिकल चर्चका उग्र गतिविधि, अमेरिकी यहुदीलबीको आडमा मध्यपूर्वमा नरसंहार मच्चाइरहेका इजरायलको दक्षिणपन्थी सत्ता, इसाई सर्वसत्तावादी हंगेरीका भिक्टर ओर्बानजस्ता अति–राष्ट्रवादी तथा अनुदारवादी शासक, विश्वभर तीव्र रूपमा फैलिरहेका अति–दक्षिणपन्थी समूहहरूले अहिले सत्ता कब्जा गर्दैछन्। यसको प्रत्यक्ष प्रभाव दक्षिण एसियामा पनि देखिएको छ। भारतमा राष्ट्रिय स्वयंसेवक संघको राजनीतिक चेहरा बनेर भारतीय जनता पार्टीले गरिरहेको बहुसंख्यकवादी राजनीति र कर्पोरेट मिडियामार्फत चेतना कब्जा खेल देखा पर्दैछ। त्यो दूषित र असहिष्णु हावाको पराकम्प अहिले नेपालको राजनीतिमा पनि बग्न थालेको छ।

इतिहासबाट पाठ नसिक्ने समाजमा तानासाहहरू पटक–पटक ब्युँतने खतरा रहिरहन्छ। हिजोका उत्पीडितहरू नै आज उत्पीडक बन्ने यो दुष्चक्रलाई तोड्न र लोकतन्त्र, मानवीय गरिमा एवं सामाजिक सद्भावको रक्षाका लागि नागरिक समाज सधैं सचेत र प्रतिपक्षी भूमिकामा रहनुपर्छ। हिटलर शारीरिक रूपमा मरे पनि उसको प्रवृत्ति अझै मरेको छैन। ऊ भूगोल र रूप फेरेर हाम्रै वरिपरि सल्बलाइरहेको छ।

बौद्धिक वर्ग मौन बस्दा वा सत्ताको भजनमण्डली बन्दा समाज कसरी बर्बादीतर्फ जान्छ भन्ने कुरा नाजी इतिहासले सिकायो । जर्मन धर्मशास्त्री मार्टिन निमोलरले नाजी शासनको क्रूरता र बौद्धिक वर्गको मौनतामाथि लेखेको यो संसारप्रसिद्ध कविता पढौं त– ‘पहिले उनीहरू आए...।’

पहिले उनीहरू कम्युनिस्टहरूलाई समात्न आए तर म बोलिनँ किनकि म कम्युनिस्ट थिइनँ। त्यसपछि उनीहरू समाजवादीहरूलाई समात्न आए तर म बोलिनँ किनकि म समाजवादी थिइनँ। त्यसपछि उनीहरू ट्रेड युनियनका नेताहरूलाई समात्न आए तर म बोलिनँ किनकि म ट्रेड युनियनमा थिइनँ । त्यसपछि उनीहरू यहुदीहरूलाई समात्न आए तर म बोलिनँ किनकि म यहुदी थिइनँ। जब उनीहरू मलाई नै उठाउन आए, त्यहाँ मेरा लागि बोलिदिने कोही पनि बाँकी थिएन।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस