त्रिवि पुनर्संरचनाका न्यूनतम सर्त
०९ भदौ २०८२
•
१० मिनेट पाठ
त्रिवि पुनर्संरचनाका न्यूनतम सर्त
त्रिभुवन विश्व विद्यालय तमाम नेपालीको भरोसा केन्द्र हो। यो संस्था ऊर्जाशील विद्यार्थीको सुनौलो भविष्य, अन्तर्राष्ट्रिय प्रतिष्ठा प्राप्त मन्दिर र नेपालको ऐतिहासिक आधारशीला पनि हो।




त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएकासमस्याको उत्पत्ति पञ्चायती प्रणालीमा राजा कुलपति र शिक्षामन्त्री सहकुलपतिभै त्रिविलाई राज्य सत्ताकै छत्रछाँयामा राख्ने  व्यवस्था २०४६ को परिवर्तन गरेर प्रधानमन्त्री कुलपति हुने व्यवस्था गरिएपछि भएको हो। यस्तो व्यवस्था गरिरहँदा कुनै नयाँ सोच र योजना नबनाइएकोले यस्तो अवस्था सिर्जना भएको हो।यो व्यवस्थाले उन्नति र जिम्मेवारीको केही झलक दिन सकेन।

आवश्यक परे अन्तर्राष्ट्रिय र  राष्ट्रिय विज्ञसमेत प्रतिनिधि रहेको त्रिवि भित्रै गठित प्राज्ञिक नेतृत्वबाट आफ्ना तहगत पदाधिकारी छनोट गर्ने र तिनको  सिफारिसको आधारमा औपचारिक नियुक्ति राष्ट्रस्तरबाट अनिवार्य रूपमा गरिने सोच समेत हामीमा आएन। कस्तो ढाँचामा त्यस्तो सशक्त बोर्ड बनाउन सकिन्छ भन्ने खोजी नहुँदा अहिलेको अवस्था आएको हो। त्यसताका त्रिविभित्रका अगुवा प्राध्यापकको मान्यता जनताको सन्तान यसको कुलपति हुनासाथ त्रिविले फट्को मारिहाल्छ भन्ने थियो तर त्यस्तो सम्भव भएन। उल्लिखित निर्णय पारिगत गरिएपछि आजसम्म  त्रिविले  पूर्ण स्वतन्त्र, सक्षम र योग्य शिक्षाविद्लाई व्यवस्थापक बनाउन बिरलै पायो। खोज समिति भनियोस् वा मेरिटोक्रेसी भनियोस्, अधिकांश समयमा त्रिविका अंगहरूले पूर्ण प्राज्ञिक स्वतन्त्रता पाउन सकेनन्।

अर्को मूल समस्या भनेको पञ्चायतकालमा प्राज्ञिक स्वतन्त्रता र पेशागत हितका खातिर भनेर स्थापित पेशागत र विद्यार्थी संघसंस्थालाई २०४६ को परिवर्तनसँगै राजनीतिक दलको भातृ संगठनका रूपमा विकास गर्नु हो। कुशल विचारक उत्पादन गर्ने थलो बन्नुपर्ने त्रिवि गलत राजनीति, लक्ष्य, स्वार्थपन, संकीर्णता, व्यक्तिवाद, अहंवाद, अल्छिपन, अराजकता, असमानता, अवैज्ञानिक र गैरशैक्षिक गतिविधि गर्ने थलो बन्दै गयो।

विशेष गरी संसारको साझा भनिने, अनुसन्धानको मुहान,  विद्यार्थी र राष्ट्रको भविष्य,  ज्ञानको ज्योति, समाज कल्याणरूपी कतिपय प्राध्यापकहरू नै गुट, उपगुट र फुटका बिच अरुकै स्वार्थमा  दिग्भ्रमित हुँदै, पदीय भागबन्डामा डुबुल्की मार्न थाले। आफ्नो कार्य र मूल कर्तव्य बाट बिमुख हुन पुगे। बाँकी कैयन सक्षम प्राध्यापक र  कर्मठ कर्मचारी आफ्नै पहलमा अनुसन्धान, कुशल सिकाइ र कार्यकुशलतामा नै तल्लीन रहन थाले। यसले भने आजको त्रिविको साख जोगाउने प्रयत्न गरिरह्यो।

त्रिविको जीवनमा अनगिन्ति महत्त्वपूर्ण, अर्थपूर्ण र तारिफ गर्न लायक, सार्थक प्रयास हुँदै नभएका होइनन्। तथापि यसको मुख्य श्रेय यसका नीति निर्माता र पदाधिकारीलाईभन्दा बढी समयक्रमको जबर्जस्त विकासक्रमलाई दिनुपर्ने हुन्छ। समयसँगै, यहाँ जन्मेहुर्केका कैयौँ सबल निष्ठावान मित्र र विद्यार्थीले अनेकन दुःख–दर्दका बाबजुद गरेको प्रयासको प्रशंसा गर्नैपर्छ।

हुन त, समय सन्दर्भमा नीतिगत तहबाट भएका  निर्णयहरू सीमित भए पनि सार्थक नबनेका होइनन तर त्रिवि आजको अवस्थामा आइपुग्नु संतोषजनक पक्ष हुँदैहोइन। त्रिविमा सक्षम पक्षको पहुँच र जिम्मेवारी दिइएको भए यसले निकै फड्को मार्न  सक्थ्यो। अन्तर्राष्ट्रिय तहमै प्रतिस्पर्धा र योगदान गर्न सक्थ्यो।

अब कसरी आगाडि बढ्न सकिन्छ त? उत्तर स्पष्ट छ– नपछुताई  विगतबाट  सिकेर। शक्ति र भक्ति केन्द्रबाट वरदान खोज्नुको  सट्टा आफ्नो बलवान ऊर्जाशील ज्ञान, सिप, प्रविधि र दक्खललाई आफैंले चिनेर आत्मबोध गर्दै अघि बढ्ने  संकल्प गरेर। एउटा निश्चित वर्ग र तप्काको स्वार्थपूर्तिका खातिर उसको बाहक र त्यसकै  प्रवक्ता नबनी आफूलाईराष्ट्र, समाज र विश्वव्यापी योगदानका खातिर पूर्ण रूपमा समर्पित गर्न सके त्रिविको मुहार फेर्न र यसलाई परिणाममुखी बनाउन सकिन्छ।

त्रिविले चाल्नुपर्ने कदम यस्ता हुन सक्छन्ः

संकल्प –  त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी यसलाई राष्ट्र निर्माणको मूल आधारस्तम्भ तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बलियो बनाउन सक्षम शैक्षिक संस्था बनाउने साझा संकल्प सबै राजनीतिक दलहरू र प्रत्येक सरकारले गर्न आवश्यक छ। यसको लागि नीतिगत  राष्ट्रिय सहमतिको सार्वजनिक घोषणा  गरिनुपर्छ। यस उद्देश्यलाई सफल बनाउन विद्यमान संघ–संस्थाहरूलाई गैर–शैक्षिक तथा गैर–वैज्ञानिक दायित्वबाट तत्काल मुक्त गर्नुपर्छ। यसो गर्न सम्भव नहुने अवस्था सिर्जना भए सम्बन्धित संघ–संस्थाहरूलाई क्रमशः निस्क्रिय पार्दै औपचारिक रूपमा बन्द गर्नु उपयुक्त ठहरिन्छ।

नियुक्ति –  आफ्ना जीवनका उपलब्धिको पूर्ण मूल्यांकन गरिएको साँचो अर्थको मेरिटोक्रेसीका आधारमा नियुक्त उच्च पदस्थ पदाधिकारी र यस मातहतका पदाधिकारी एवं प्रमुखहरूबाट मात्र त्रिविका लक्ष्य पूरा गर्न सकिन्छ। अन्तर्राष्ट्रिय स्तरको मापदण्ड बनाएर निर्धारित मेरिटोक्रेसीकै आधारमा तयार गरिने त्रिवि भित्र र बाहिरका विज्ञ सदस्य र  प्रतिनिधिसम्मिलित मूल्याङ्कन र मतबाट सिफारिस पदाधिकारीको नियुक्ति आलंकारिक कुलपतिबाट हुन सक्छ।

त्रिविमा सम्पूर्ण तहका पदाधिकारी हुन चाहने जोसुकै  विज्ञले आफ्नो दीर्घकालीन उद्देश्य र वार्षिक कार्यदिशा लिखित एवम मौखिक रूपमा प्रस्तुत गरेकै हुनपर्छ। कार्यपत्रहरू सार्वजनिक गर्नुपर्छ। नियुक्त पदाधिकारीको वार्षिक कार्य प्रगति नियुक्ति दिने अधिकारीको उपस्थितिमा सिफारिस समिति समक्ष वार्षिक रूपमा प्रस्तुत गरिनुपर्छ।

राजनीतिक वा व्यक्तिगत चिनजान र पहुँचका आधारमा नियुक्त कुनै पनि पदाधिकारी र  व्यक्तिको  संस्थाको हितमा काम गर्ने न त औकात हुन्छ न त इच्छा शक्ति नै। नतिजामा  संस्थालाई सही अर्थमा बुझेका, क्षमतावान  मेरिटोक्रेटिक धरोहरहरू विना  विश्वविद्यालय अघि बढ्दैन। तिनीहरू छाँयामा पर्छन्, तिनका क्षमतालाई उपयोग गर्नुको बदलामा हुर्मत लिइन्छ  र विश्वविद्यालयको अधोगतिलाई  रोक्न सकिँदैन। उल्टो परिणाम, प्रतीभा सम्पन्न प्राध्यापक, वैज्ञानिक र उत्कृष्ट विद्यार्थीको मस्तिष्क पलायन बढ्नेछ।

३. आर्थिक–  त्रिविको तत्कालीन संरचना विकराल देखिए पनि यो आफैंमा अत्यन्त सबल हुन सक्छ। यसका सरकारी भूमि, भवन, फैलावट, आम समुदायको अथाह प्रेम र विश्वास, सक्षम प्राध्यापक,  कर्मठ कर्मचारी र ऊर्जाशील विद्यार्थी नै यसका पुँजी हुन्। परिणाममुखी  पारदर्शी वातावरणमा विद्यार्थीले उचित शुल्क तिर्न सक्छन् र अन्तर्राष्ट्रिय स्तरका नेपाली  प्राध्यापकले अनुसन्धान परियोजना सञ्चालन गरी थप अर्थ संकलन गर्न सक्छन्।

प्राज्ञिक स्वतन्त्रता र आर्थिक पारदर्शिता बिना त्रिवि आर्थिक रूपमा सम्पन्न हुन सक्दैन। त्रिविले आफ्ना संरचनालाई सही परिचालन गरी प्रशस्त आर्थिक स्रोत जुटाउन सक्छ, बरु यसमा जथाभावी गलत ढंगबाट प्रयोग गरिएको अकुत सम्पतिको खोज र लेखाजोखा तुरुन्त गरिनु पर्छ,  बिना कुनै प्रवाह र पहुँच। पदाधिकारीको दृष्टि–मिशन अनुसार कुन कस्तो आर्थिक स्रोत आन्तरिक स्रोतबाट जुटाउन सकिन्छ भन्ने स्पष्ट योजना तयार हुनुपर्छ।

उत्कृष्ट केन्द्र र प्राज्ञिक स्वायत्तता –  त्रिविका केन्द्रीय विभागसहित केही अंगहरूलाई उत्कृष्ट केन्द्र बनाउने चाहना निकै लामो समयदेखिको हो। यो  के हो, कस्तो हुनुपर्छ, यसका पदाधिकारी र प्राध्यापक कुन स्तरको हुनुपर्छ? तिनका काम कर्तव्य, अधिकार, सुविधा र जिम्मेवारी कति कष्टकर वा आनन्ददायी  हुन्छन् भन्ने पत्तै छैन। हाल त्रिविभित्र स्पष्ट दूरदर्शी योजना बिना ‘स्कूल’को अर्को बहस अघि सारिएको छ, जबकि उत्कृष्ट केन्द्रको नाममा  भएको दशकौंको प्राज्ञिक लगानी र बहस  बिर्सिइएको छ।

अबको लक्ष्य चलिआएका विभागहरूको ऐतिहासिक स्वायत्तता तोड्ने होइन, बरु विभागहरूमा आफ्ना अन्तरविषयक शैक्षिक–अनुसन्धान कार्यक्रम थप गर्दै सहकार्य र आत्मनिर्भरतालाई प्रवद्र्धन गर्ने साझा प्रयास हुनु पर्ने हो। हुन सक्छ कहीं कतै एकीकरण या विलयको अवस्था, विद्यार्थीको अभाव वा अरु कुनै प्राज्ञिक कारण, जुन  सम्बन्धित विभाग कै जिम्मेवारी हो।

उत्कृष्ट केन्द्र अथवा स्कुल भनेको यसको  प्राज्ञिक शैक्षिक स्वायत्तता, कार्यरत  अनुसन्धानमुखी प्राध्यापकको बाहुल्य, तिनको वृत्ति–विकासको पूर्ण अवसर र कार्य क्षमता हो। यसमा कार्यरत वा सेवानिवृत्तप्राध्यापकहरूको उद्योग, सरकार, समाज, अन्तर्राष्ट्रिय र अत्याधुनिक शिक्षा–अनुसन्धानसँग अन्तरसम्बन्ध स्थापित गर्ने क्षमताको प्रचुरता बिना यी केन्द्र खुल्न  सक्दैनन्। सम्पूर्ण बिद्यार्थीलाई अनुसन्धानमा प्रेरित गर्न नसक्ने केन्द्र उत्कृष्ट हुन सक्दैन। उत्कृष्ट केन्द्र वा स्कुल अनुसन्धानमुखी स्वायत्त एकाइ हो, जसको लक्ष्य खर्च घटाउनु होइन, स्रोत जुटाएर लगानी बढाउनु हो। आत्मनिर्भरताको नाममा आर्थिक रूपमा सम्पन्न विद्यार्थीबाट अर्थ संकलन गर्नु, र विपन्न तर रचनात्मक विद्यार्थीलाई केन्द्रबाट विमुख बनाउनु कदापि उचित होइन। बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट विद्यार्थीको पहुँच पढाउनु र केन्द्रका विद्यार्थी, शिक्षकहरूको उच्च स्तरीय  क्षमताको अधिकतम उपयोग गरी विश्वविद्यालयको आर्थिक अवस्थामा टेवा दिनु हो।

वृत्तिविकास र सेवाशर्त–  कार्यरत कर्मठ कर्मचारी र स्तरीय अनुसन्धानरत शिक्षकको उचित वृत्तिविकास र उत्तरदायित्वमुखी सेवाशर्तको अभावमा सोचिने उत्कृष्टता केन्द्र वा स्कुलका  अवधारणा केवल कल्पना लड्डु हुने छन्। स्तरीय अनुसन्धान र शिक्षण केन्द्रित प्राध्यापकहरूको निक्र्योल गरी निर्वाह गर्नुपर्ने अनिवार्य  जिम्मेवारी, कार्यकक्ष, यातायात, शैक्षिक  सामग्री, तालिम–अध्यापन–अनुसन्धान काज तथा सुविधा, प्रोत्साहन  भत्ता, ठोस मूल्यांकन, पुरस्कार र सजायसहितको व्यवस्था  भएको वृत्तिविकासको खाकाले मात्र त्रिविलाई लक्ष्यमा पुर्‍याउन सक्छ, उत्कृष्ट र अधिकतम उपलब्धि दिन सक्छ।

उल्टै वृत्ति विकासको दुरुपयोग गरी कामचलाउ अनुसन्धानका नाममा चाहे जतिलाई टालटुले पिएचडी वितरण गर्दै जाने, समकक्षता दिँदै जाने, सफल र परिणाममुखी अनुसन्धान नगर्नेलाई पनि बिदा र काजको सुविधा दुरुपयोग गराउँदै जाने, अनुसन्धानमा निपुण नभएका प्राध्यापकलाई त्रिविका अनुसन्धान समिति र पदाधिकारीका पदहरूबाट लाभान्वित गर्दै र तिनलाई अनुसन्धान वृत्ति उपलब्ध गराउँदै जाने अनि उच्चस्तरीय अनुसन्धान दातालाई बारम्बार निरुत्साहित गर्दै जाने हो भने त्रिवि अरु बेथितिको थलो बन्ने छ। नाम मात्रको हल्का  अनुसन्धान र गहन  उपलब्धिबीचको मूल्यांकन पनि सम्भावना छैन  र हालको अवस्थामा सुधार हैन बरु त्रिविको साख अरु गिर्ने अवस्था हुनेछ।

पदोन्नति र सेवा प्रवेश– चाहे विगत २०४६–४७ को जनआन्दोलनपछि स्वतः सेवा प्रवेशको अवस्था होस् वा विभिन्न कालखण्डमा अनेकन बहानामा पदाधिकारी भएरै पदोन्नतिको लाभ लिने, आन्दोलन, भनसुन र धम्कीबिच सेवा आयोगलाई प्रभाव पार्ने, आयोग आफैं प्रभावमा पर्ने र संस्थालाई कमजोर बनाइ सामाजिक रूपमा बदनाम गराउने काम भएका  हुन्, त्यी मूलरूपमा आफैंभित्र हुर्काइएका विकृति–विसंगति, चरम भागबन्डा, र बाह्य राजनैतिक प्रभावक कारण हुन्।

त्रिविलाई सही अर्थमा प्राज्ञिक थलोको रूपमा पुनर्गठन गर्ने हो भने यी समस्या समाधानका लागि कुनै संगठात्मक प्रभाव नभएका, अनुसन्धानमा अब्बल, निष्पक्ष, स्वतन्त्र, दूरदर्शी, साहसी, अनुभवी जेष्ठ प्राध्यापकहरू यसका पदाधिकारी, सदस्य  र मूल्यांकनकर्ता हुनुपर्छ।

आज चर्चामा रहे जस्तो विश्वविद्यालयका शिक्षकहरुको कार्यविधि, योग्यता र आवश्यकताका शर्त उम्मेदवार आफै, बिद्यार्थी  वा बाह्य प्रभाव र निर्णयका आधारमा हुने हैनन। चाहे शीघ्र  प्रक्रिया, खुला, आन्तरिक, स्थायी अथवा करार–अस्थायी नियुक्ति हुन् ती सबै निश्चित स्तरीय र युक्तिसंगत पारदर्शी मापदण्डका आधारमा  हुने हुन्।

नयाँ विज्ञापन हुनासाथ बिना कुनै बृहत् विज्ञ टोली फरक मापदण्ड आउने, मूल्यांकनका अंकका आधार फेरिंदै जाने र  उम्मेदवारलाई पारदर्शिता बिना गुमराहमा पर्दै जाने हो भने समस्या जस्ताको तस्तै धमिलो नै रहने छ। तत्कालीन विज्ञापनमा समेत शीघ्र प्रक्रियाको  मूल्यांकनका आधारमा पर्याप्त शिक्षण अभ्यास  नपर्नु, तिनको विषय–विशेष अनुसन्धानात्मक परीक्षाको सोच नहुनु, जुनसुकै स्तरको  प्रकाशनलाई उस्तै–उस्तै  अंकभार दिनु र सुरुवाती सेवा प्रवेशको  प्रतियोगितामा सामान्य ज्ञान भन्दा विषय–विशेषज्ञतालाई प्राथमिकता नदिनु यसका प्रमाण हुन्।

लेखक त्रिभुवन विश्वविद्यालयको गणित र कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका पूर्व प्रमुख।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस