प्रेस काउन्सिलको नयाँ दायरा
२० कार्तिक २०८३
•
८ मिनेट पाठ
प्रेस काउन्सिलको नयाँ दायरा
नेपाल सरकारले २०८३ कात्तिक १७ गते मा प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न तयार पारेको ‘प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरी पठाएको छ।




प्रस्तावित अध्यादेशले नेपालको सञ्चार क्षेत्रको बदलिँदो स्वरूपलाई कानुनी दायराभित्र समेट्ने प्रयास गरेको छ। यद्यपि, अध्यादेश जारी गर्ने प्रक्रियालाई लिएर नेपाल पत्रकार महासंघले सरोकारवालासँग पर्याप्त छलफल नगरी संशोधन प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएको छ। महासंघले ऐन संशोधनका विषयमा आफूहरूसँग छलफल नभएको बताएको छ।

प्रेस काउन्सिल ऐन, २०४८ र प्रस्तावित पहिलो संशोधन अध्यादेश, २०८३ को तुलना गर्दा डिजिटल सञ्चारमाध्यमका विभिन्न पक्षलाई ऐनको दायरामा समेट्ने गरी महत्त्वपूर्ण परिवर्तन प्रस्ताव गरिएको देखिन्छ।

पछिल्लो दुई महिनादेखि सरकारले प्रस्तावित मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकका विषयमा सरोकारवालासँग विभिन्न चरणमा छलफल गर्दै आएको थियो। प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ दुवैले मिडिया काउन्सिल विधेयकका सम्बन्धमा आफ्ना सुझाव दिएका थिए।

अहिले राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रस्तावित अध्यादेशमा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत पत्रकारितासम्बन्धी काम गर्ने व्यक्तिलाई समेत छानबिन र कारबाहीको दायरामा ल्याउने व्यवस्था प्रस्ताव गरिएको छ। यो व्यवस्था जारी भएर कार्यान्वयनमा आएमा पत्रकारिताको आचारसंहिता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँग सम्बन्धित विषयमा काउन्सिलले आवश्यक भूमिका निर्वाह गर्न सक्नेछ।

डिजिटल माध्यम आज सूचना प्रवाह र सामग्री उत्पादनको प्रमुख माध्यम बनिसकेको छ तर प्रेस काउन्सिल ऐन निर्माण हुँदा सामाजिक सञ्जाल र डिजिटल सञ्चारको प्रभाव अहिलेको जस्तो थिएन। त्यसैले त्यतिबेलाको ऐनले अहिले देखिएका चुनौती र तिनको सम्बोधन गर्ने उपायको परिकल्पना गर्न सकेको थिएन। अहिले राष्ट्रपतिसमक्ष पेस भएको प्रस्तावित अध्यादेशलाई सूक्ष्म रूपमा हेर्दा सञ्चारमाध्यमको परिभाषा र दायरामा उल्लेखनीय विस्तार गर्ने प्रस्ताव गरिएको छ।

पहिले ऐन मुख्यतः परम्परागत छापा माध्यम अर्थात् पत्रपत्रिकाको प्रकाशन, वितरण र वर्गीकरणमा केन्द्रित थियो। प्रस्तावित संशोधनले अनलाइन तथा डिजिटल सञ्चारमाध्यम, सामाजिक सञ्जालमा सञ्चालित समाचारमूलक पेज तथा च्यानल, मोबाइल एप, इन्फ्लुएन्सर र डिजिटल सामग्री उत्पादकले पत्रकारितासम्बन्धी काम गरेको अवस्थामा उनीहरूलाई समेत आचारसंहिताको दायरामा समेट्ने प्रस्ताव गरेको छ।

समाचार एजेन्सीलाई पनि सञ्चारमाध्यमको परिभाषामा समावेश गर्ने व्यवस्था प्रस्ताव गरिएको छ तर व्यक्तिगत विचार, समसामयिक टिप्पणी, आलोचना, हास्यव्यंग्य, कला, साहित्य र मनोरञ्जनात्मक सामग्रीलाई पत्रकारितासम्बन्धी आचारसंहिताको दायराबाट बाहिर राख्ने प्रस्ताव गरिएको छ। यसले पत्रकार र कन्टेन्ट क्रिएटरबिच सीमारेखा कोर्नुभन्दा पत्रकारितासम्बन्धी कार्य र गैरपत्रकारितामूलक सामग्री उत्पादनबिच भिन्नता स्पष्ट गर्ने प्रयास गरेको छ।

त्यस्तै, प्रेस काउन्सिलको संरचनालाई पनि विस्तार गर्ने प्रस्ताव गरिएको छ। यसअघि काउन्सिलको केन्द्रीय संरचनामार्फत काम गर्ने व्यवस्था रहेकोमा अब आवश्यकताअनुसार प्रदेशमा एकाइ स्थापना गर्न सकिने प्रस्ताव छ।

काउन्सिलको अध्यक्ष बन्नका लागि सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति वा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी पत्रकारिता क्षेत्रमा निरन्तर १५ वर्षको अनुभव र विशिष्ट योगदान भएको व्यक्ति योग्य हुने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रस्तावित अध्यादेशले काउन्सिलको छानबिन गर्ने अधिकारलाई पनि विस्तार गर्ने प्रस्ताव गरेको छ। यसअघि उजुरी प्राप्त भएपछि छानबिन तथा कारबाही अगाडि बढाउने व्यवस्था रहेकोमा अब उजुरी नपरेको अवस्थामा पनि काउन्सिलले आफैं जानकारीमा आएका आचारसंहिता उल्लंघनका विषयमा स्वतःस्फूर्त छानबिन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यो व्यवस्था लागु भएमा सार्वजनिक रूपमा प्रसारित पत्रकारितासम्बन्धी सामग्रीमा आचारसंहिता उल्लंघन भएको अवस्थामा कसैले औपचारिक उजुरी नदिए पनि काउन्सिलले आफ्नो भूमिका निर्वाह गर्न सक्नेछ।

सम्पादकीय जिम्मेवारी र भूल सुधारसम्बन्धी व्यवस्थामा पनि परिवर्तन प्रस्ताव गरिएको छ। सञ्चारमाध्यमका आधिकारिक सामाजिक सञ्जाल खाताबाट प्रकाशित सामग्री, समाचारका शीर्षक, तस्बिर, भिडियो, थम्बनेल, क्याप्सन तथा प्रत्यक्ष प्रसारणसम्मको सम्पादकीय जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमको हुने व्यवस्था प्रस्ताव गरिएको छ।

अनलाइन तथा डिजिटल माध्यममा प्रकाशित सामग्रीमा त्रुटि वा भ्रामक प्रस्तुति भएमा मूल सामग्रीमै भुलसुधार गर्नुपर्ने प्रस्ताव छ। पटक–पटक आचारसंहिता उल्लंघन गर्ने पत्रकार वा सञ्चारमाध्यमलाई उल्लंघनकर्ताको सूचीमा राखी सार्वजनिक गर्न सकिने तथा निश्चित अवधिका लागि सरकारी सेवा, सुविधा वा सहुलियत रोक्न सरकारसमक्ष सिफारिस गर्न सकिने व्यवस्था पनि प्रस्तावित अध्यादेशमा समावेश छ।

त्यसैगरी, उजुरी संकलन, छानबिन, सुनुवाइ र स्पष्टीकरण लिने काम विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था थप्न प्रस्ताव गरिएको छ। उजुरीको विवरण, कारबाहीको अवस्था र निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रावधानले काउन्सिलको कामलाई थप पारदर्शी बनाउने अपेक्षा गर्न सकिन्छ।

डिजिटल युगमा प्रवेशसँगै पत्रकारितासम्बन्धी सामग्री र अन्य डिजिटल सामग्रीबिचको भिन्नता स्पष्ट हुनु झन् महत्त्वपूर्ण बन्दै गएको छ। लगभग हरेक दिन प्रेस काउन्सिल र प्रहरीको साइबर ब्युरोजस्ता संस्थामा गलत सूचना, भ्रामक सूचना तथा अनलाइन दुव्र्यवहारसम्बन्धी उजुरी आउने गरेका छन्।

यी सबै विषय एउटै कानुनी क्षेत्रभित्र पर्दैनन्। पत्रकारितासम्बन्धी सामग्रीबाट हुने आचारसंहिता उल्लंघन प्रेस काउन्सिलको कार्यक्षेत्रभित्र पर्छ भने अनलाइन धम्की, ब्ल्याकमेलिङ, यौन दुव्र्यवहार, ठगी तथा अन्य साइबर अपराधको अनुसन्धान सम्बन्धित अनुसन्धान तथा न्यायिक निकायले गर्छन्। प्राप्त उजुरी आफ्नो कार्यक्षेत्रभित्र परेमा सम्बन्धित निकायले कानुनी प्रक्रिया अगाडि बढाउन सक्छन्।

अब पत्रकारितासम्बन्धी कार्य र अन्य डिजिटल सामग्री उत्पादनबिचको भिन्नता स्पष्ट पार्ने र आवश्यकताअनुसार कानुन संशोधन वा नयाँ कानुन निर्माण गर्ने समय आएको महसुस भइरहेका बेला यो प्रस्तावित अध्यादेश अघि सारिएको छ। सामाजिक सञ्जालका माध्यमबाट सामग्री उत्पादन र आमसञ्चारको अभ्यास व्यापक हुँदै गएको छ।

प्रेस काउन्सिल नेपाल स्थापना हुँदा अहिलेका सामाजिक सञ्जालका प्लेटफर्महरू अस्तित्वमा थिएनन् र तिनको प्रभाव पनि यति व्यापक थिएन। त्यसैले ती माध्यमबाट पत्रकारितासम्बन्धी सामग्रीका रूपमा फैलिने गलत र भ्रामक सूचनालाई सम्बोधन गर्ने अधिकार काउन्सिलको कार्यक्षेत्रमा स्पष्ट थिएन। सामाजिक सञ्जाल अब हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ र यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।

कन्टेन्ट क्रिएटरले आफूले सार्वजनिक गर्ने सामग्रीप्रति थप जिम्मेवार हुनुपर्ने आवश्यकता पनि उत्तिकै छ। उनीहरूले उत्पादन गर्ने सामग्री क्षणभरमै भाइरल भएर मूलधारका सञ्चारमाध्यमबाट प्रसारित समाचारभन्दा धेरै मानिससम्म पुग्न सक्छ।

सरकारले प्रस्ताव गरेको वर्तमान अध्यादेश अप्रत्याशित रूपमा आएको हुन सक्छ तर यसमा डिजिटल युगमा प्रेस काउन्सिलले आफ्नो जिम्मेवारी निर्वाह गर्न सहयोग पुग्ने केही महत्त्वपूर्ण प्रावधान समेटिएका छन्। अध्यादेश जारी भएमा र कार्यान्वयनमा आएपछि यी प्रावधान कति प्रभावकारी हुन्छन् भन्ने अनुभवबाट सिक्दै जान सकिनेछ।

युनेस्कोद्वारा सन् २०२६ मा तयार पारिएको र हालै ललितपुरमा सार्वजनिक गरिएको ‘बिहाइन्ड त स्क्रिनस इन नेपाल’ प्रतिवेदनले नेपालको डिजिटल सामग्री उत्पादनको अवस्थाबारे महत्त्वपूर्ण तथ्य प्रस्तुत गरेको छ। यो देशको डिजिटल कन्टेन्ट क्रिएटर क्षेत्रको संरचित अध्ययनमध्ये एक हो।

प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी कन्टेन्ट क्रिएटरमध्ये ७३.४ प्रतिशत १८ देखि ३५ वर्ष उमेर समूहका छन्। सर्वेक्षणमा सहभागीमध्ये करिब ७२.७ प्रतिशतले टिकटक र त्यति नै प्रतिशतले इन्स्टाग्राम प्रयोग गर्ने गरेको पाइएको छ। गलत सूचना भेट्दा ३६.७ प्रतिशतले कुनै कदम नचाल्ने गरेको, २६.६ प्रतिशतले अनलाइन घृणायुक्त अभिव्यक्ति भोगेको र २५ प्रतिशतले ट्रोलिङ वा डक्सिङको सामना गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले कन्टेन्ट क्रिएटरहरू नेपालको डिजिटल सूचना प्रणालीको महत्त्वपूर्ण हिस्सा बन्दै गएको देखाएको छ तर उनीहरूले आफूले उत्पादन गर्ने सामग्रीको तथ्य जाँच गर्ने, गलत सूचना तथा भ्रामक सामग्रीबाट बच्ने र आफू पीडित हुँदा कानुनी उपचार खोज्ने विषयमा पर्याप्त जानकारी राखेको देखिँदैन।

हाल कन्टेन्ट क्रिएटरलाई मोटामोटी दुई समूहमा हेर्न सकिन्छ– पहिलो र सबैभन्दा सामान्य समूहमा डिजिटल प्लेटफर्ममार्फत सूचना, मनोरञ्जन वा शैक्षिक सामग्री उत्पादन र प्रसारण गर्नेहरू पर्छन्।

लोकप्रियता बढ्दै जाँदा उनीहरूको पहुँच पनि विस्तार हुन्छ र यसबाट नियमित आम्दानीको स्रोतसमेत बनाउन सकिन्छ। विश्वभरका धेरै युवा यस प्रवृत्तिमा आकर्षित भइरहेका छन्। दोस्रो समूहमा पत्रकारिताको अभ्यास गर्ने कन्टेन्ट क्रिएटर पर्छन्। उनीहरू तालिमप्राप्त पत्रकार वा स्वतन्त्र रूपमा पत्रकारितासम्बन्धी सामग्री उत्पादन गर्ने व्यक्ति हुन सक्छन्। उनीहरूले आफ्नो सामग्री प्रकाशन गर्नुअघि तथ्य जाँच गर्छन् र पत्रकारिताका आधारभूत सिद्धान्त पालना गर्छन्। विभिन्न डिजिटल प्लेटफर्ममार्फत सामग्री वितरण गर्दै उनीहरूले ‘क्रिएटर इकोनोमी’को विकासमा समेत योगदान पुर्‍याइरहेका छन्।

- शर्मा प्रेस काउन्सिलकी सदस्य हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस