प्रतिनिधिसभा पुनःस्थापना नै वैधानिक विकल्प
१७ कार्तिक २०८२
•
६ मिनेट पाठ
प्रतिनिधिसभा पुनःस्थापना नै वैधानिक विकल्प
नेपालको राजनीतिक इतिहास तीन दशकयता दुई वटा भिन्न तर आशयमा मिल्दाजुल्दा घटनाको साक्षी बनेको छ-२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रद्वारा निर्वाचित संसद् विघटन र दुई दशकपछि जेनजी आन्दोलनको जगमा राष्ट्रपतिद्वारा नियुक्त गैरसंसद् प्रधानमन्त्री सुशीला कार्कीद्वारा गरिएको संसद् विघटन।




दुवै घटनाको समानता जनताबाट निर्वाचित संसद् भंग गरी सत्तापलटको बाटो अपनाइएको छ भने भिन्नता राजा ज्ञानेन्द्रले २०४७ सालको संविधानलाई नै अपदस्त गरी सत्ताको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका थिए, जबकि अहिलेको सन्दर्भमा संविधान औपचारिक रूपमा जीवित छ तर यसको आत्मा कमजोर पारिएको छ। त्यो बेला संविधान मृत घोषित भएको थियो, अहिले संविधान ‘जिवित तर असहाय’ स्थितिमा छ। यही विरोधाभासले अहिलेको आन्दोलनलाई जनताले राजनीतिक मात्र होइन, नैतिक विद्रोहका रूपमा पनि लिएका छन्।

२०४७ सालको संविधानले संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रको प्रारम्भ गराएको थियो। जनताले ठुलो त्याग र बलिदानपछि प्राप्त गरेको त्यो संविधान जनआकांक्षाको दस्ताबेज थियो तर राजा ज्ञानेन्द्रले ‘राज्य संकट” को नाममा संसद भंग गरी शासन सत्ता आफ्नै हातमा लिँदा जनताको सार्वभौमसत्ता खोसिएको महसुस भएको थियो। त्यसबेला भएको १२ वर्षे राजनीतिक यात्राले नेपाललाई निरंकुशता,  हिंसा र विद्रोहतिर धकेल्यो। अन्ततः नेकपा एमाले, माओवादीलगायत दलसहित नेपाली कांग्रेसको नेतृत्वमा जनआन्दोलन–२०६२/६३ बाट जनताले फेरि संसद् पुनःस्थापना गराए र नयाँ संविधान निर्माणको प्रक्रिया सुरु भयो। त्यो ऐतिहासिक पुनःस्थापना केवल संस्थागत पुनर्जागरण थिएन, यो जनताको राजनीतिक आत्मसम्मानको पुन: प्राप्ति थियो।

आजको जेनजी आन्दोलनले पनि त्यही आत्मसम्मानको रक्षाको स्वर उठाएको छ। फरक केवल माध्यम र पुस्ताको हो तर मर्म एउटै छ, ‘जनताको आवाज संसद्भित्र सुनिनुपर्छ।’ अहिलेको संसद् विघटनले जनताको प्रतिनिधित्व र लोकतान्त्रिक प्रक्रियामाथि पुनः प्रश्न उठाएको छ। संविधान मरेको छैन तर संसद्विहीन लोकतन्त्रले संविधानको शक्ति खोसिएको महसुस गराएको छ।

भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा नियोजित घुसपैठ र निहत्था प्रदर्शनकारीमाथि गोली प्रहार भएपछि देशभर अस्थिरता फैलियो। भदौ २४ गते राष्ट्रिय सम्पत्ति, राजनीतिक दलका कार्यालय, नेताका घर र उद्योग–व्यवसायमा भएको तोडफोड र आगजनी आकस्मिक नभई योजनाबद्ध देखिन्छ। सुरक्षा निकायको कमजोरी र समन्वयको अभावले स्थिति नियन्त्रणबाहिर गयो। शान्तिपूर्ण आन्दोलनमा बाहिरबाट प्रवेश गराइएका समूहले आन्दोलनलाई हिंसात्मक बनाए, जबकि जेनजी प्रदर्शनकारीहरू इमानदार थिए र सुधारको आवाज उठाइरहेका थिए।

यिनै घटनाको पृष्ठभूमिमा सुशीला कार्की नेतृत्वको सरकार गठन, संसद् विघटन र फागुनमा निर्वाचनको घोषणालाई संवैधानिक निकास भनिए पनि घटनाक्रम नियोजितझैं देखिन्छ। चुनावी सरकारका रूपमा गठन भएको सरकारको कार्यशैली र आन्दोलनका क्रममा देखिएको योजनाबद्ध घुसपैठले निर्वाचनप्रति समेत विभिन्न आशंका पैदा भएका छन्। पुलिस प्रशासनको गिर्दो मनोबलबिच निर्वाचन कसरी सम्भव होला? लोकतान्त्रिक दलहरूको चरित्र निर्वाचन बहिष्कार हुन सक्दैन। यद्यपि अहिलेको परिस्थिति भने बेग्लै छ। लोकतान्त्रिक  शासन प्रणालीको सुन्दर पक्ष आवधिक निर्वाचन हो तापनि अहिलेको परिस्थितिमा घोषित निर्वाचनले दलहरूमा उत्साह भर्न नसक्नुको प्रमुख कारण निर्वाचनको आवरणमा विद्यमान पद्धतिमाथि पुनः प्रहार नहोस् भन्ने हुन सक्छ।

तुलनात्मक दृष्टिले हेर्दा २०५९ सालमा संसद् भंग र २०८२ सालको संसद् विघटन दुवै घटनाले एउटा साझा सन्देश दिएको छ - संविधानलाई राजनीतिक स्वार्थअनुसार प्रयोग गरियो भने त्यसले आक्रोश र विद्रोह निम्त्याउँछ। त्यसको परिणाम सकारात्मक मात्र नभई नकारात्मक पनि हुन सक्छ भन्ने विश्लेषण गर्न जेनजी आन्दोलनबिचको घुसपैठले पुर्‍याएको मानवीय र भौतिक क्षति नै पर्याप्त छ।

पछाडि फर्केर हेर्दा २०६२/६३ को आन्दोलनमार्फत संसद् पुनःस्थापना सम्भव भयो। सोही संसद्ले नयाँ राजनीतिक यात्रा तय गरेको थियो, जुन यतिबेलासम्म कायम छ। संसद् विघटनले निम्त्याएको संक्रमणकालीन अवस्थामा संसद् पुनःस्थापनाबाट मात्र देशले लोकतान्त्रिक पद्धतिको निरन्तरता र राजनीतिक स्थायित्व प्राप्त गर्न सक्छ भन्ने मान्यता २०६२/६३ को आन्दोलनले स्थापित गरिसकेको छ।

सोही आन्दोलनको जगमा निर्मित २०७२ को संविधान को रक्षाकवज बनेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा गरिएको छ। यद्यपि उनको कदम असंवैधानिक रहेको कतिपय संविधानविद्हरूको तर्क छ। त्यसैले अहिलेको राजनीतिक द्विविधामा पनि संसद् पुनःस्थापनाको आवश्यकता बोध हुँदै गएको छ तर यो कसरी सम्भव होला?

यो प्रश्नको  उत्तरलाई  केन्द्रविन्दुमा राखी संविधान र जनताको आत्मसम्मान बचाउनु नै नेपालको भविष्य सुनिश्चित गर्ने एक मात्र उपाय देखिएको छ। ठुला दलमध्येको एक नेकपा एमालेको अभिव्यक्तिले घोषित मितिमा निर्वाचन सम्पन्न हुनेमा संशय पैदा गरेको छ। न्यायालयको विवेकपूर्ण निर्णयले आगामी बाटो तय गर्नेछ। संसद् पुनःस्थापनाका लागि दलहरू सडकमा ओर्लने परिस्थिति निर्माण अगाबै सरोकार निकाय समयमै सचेत हुन जरुरी छ।

नेपालको वर्तमान राजनीतिक परिदृश्यले फेरि एकपटक जनतामाझ राज्य र जनप्रतिनिधिको सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ। सडकमा उत्रिएको जेनजी पुस्ताको आवाज कुनै आकस्मिक भावनाको विस्फोट होइन, यो दशकौंको निराशा, अन्याय र जनताको आवाज बेवास्ता गर्ने राजनीतिक चरित्रको परिणाम हो।

जेनजी आन्दोलनले उठाएका मूल मुद्दा भ्रष्टाचार निवारण र नेपोबेबिजमको अन्त  हुन् तर  संसद् विघटनले ती मुद्दाहरू ओझेलमा पर्न सक्ने आशंका यथावत नै छ। संसद् विघटनको निर्णय असंवैधानिक रहेको ठहरका तर्कहरू अहिले देशभर प्रतिध्वनित भइरहेका छन्। यो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने क्रम बढेसँगै नेपालको राजनीति फेरि न्यायालयतर्फ मोडिएको छ।

जेनजी आन्दोलनको बलमा गठित सरकारको नेतृत्वमा चुनावमा जान दलहरूमा खासै उत्साह देखिँदैन। पुलिस प्रशासनको गिर्दो मनोबलका कारण आम नागरिकले त्रासदीपूर्ण जीवन बाचिरहेका छन्।

यो परिवेश रहँदै गर्दा घोषित मितिमा निर्वाचन हुन कत्तिको सम्भव होला? जेनजी आन्दोलन कुनै दल वा नेताको सत्ता प्राप्तिको साधन होइन, यो सुधार र रूपान्तरणको आन्दोलन हो। संविधानमा आवश्यक संशोधनबेगर निर्वाचनमा जाँदा अपेक्षित परिणाम आउने सम्भावना क्षीण बन्दै गएको छ। यतिबेला संविधानमा आवश्यक संशोधनका लागि दलहरूमा व्यापक दबाब बढेको छ। त्यसका लागि संसद्को अभाव महसुस हुन थालेको छ। त्यसैले संसद् विघटनबाट उत्पन्न अन्योलको समयसापेक्ष सम्बोधनको अपेक्षा दिन प्रतिदिन बढेको महसुस हुन थालेको छ।

संविधानको संशोधन लोकतन्त्रको कमजोरी होइन, यसको जीवितता हो। बदलिँदो समाज, समय र पुस्तासँग संविधानले आफूलाई अनुकूल बनाउनैपर्छ। यो मार्ग संसद्मार्फत सम्भव छ, सडकमार्फत होइन। संसद् विघटन गरेर चुनावमा जानुभन्दा संसद् पुनः स्थापना गरेर राष्ट्रिय सहमतिका आधारमा अहिलेसम्म परीक्षण नभएका जनताले आशा र भरोसा गरेका दलकै निर्वाचित सांसदको नेतृत्वमा चुनावमा जानु नै सर्वोत्तम विकल्प हो। यसरी गएमा देशले कानुनी निरन्तरता पाउँछ, संविधानको सम्मान रहन्छ र जनताको प्रणालीप्रति विश्वास पुनःस्थापित हुन सक्छ।

राजनीतिक अस्थिरता, नेतृत्वमा अविश्वास, दलबिचको सत्तालिप्सा र जनताको निराशा– यी सबै समस्याको मूल कारण जिम्मेवारीको अभाव हो। जिम्मेवार नेतृत्वले देशलाई नयाँ दिशा दिन सक्छ। यस्तो नेतृत्व संविधान र संसद्को मर्मबाटै जन्मिनुपर्छ, सडकको दबाबबाट होइन। त्यसैले संसद् पुनःस्थापना गरी संविधान संशोधन गरेर संसद्द्वारा निर्वाचित प्रधानमन्त्रीको नेतृत्वमा चुनावमा जानु नै अहिलेको राजनीतिक, संवैधानिक र नैतिक दृष्टिले उत्तम विकल्प हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस