माटोमा आधारित लोकतन्त्रको खोज
०१ असोज २०८३
•
८ मिनेट पाठ
माटोमा आधारित लोकतन्त्रको खोज
विश्व लोकतन्त्र दबाबमा छ। भि–डेमको २०२६ प्रतिवेदनअनुसार २०२५ को अन्त्यसम्म मूल्यांकन गरिएका १७९ राष्ट्रमध्ये ८७ लोकतान्त्रिक र ९२ अधिनायकवादी शासनतर्फ वर्गीकृत थिए।  यसले लोकतन्त्रको गुणस्तर, संस्थागत टिकाउपन र सामाजिक आधारमाथि गम्भीर प्रश्न उठाएको छ।




लोकतन्त्रको मूल प्रश्न केवल निर्वाचन हुन्छ कि हुँदैन भन्ने होइन।  कसले शासन गर्छ ? भन्दा पनि कसरी शासन गरिन्छ,  कसका लागि गरिन्छ र शासन गर्ने शक्तिमाथि कसको नियन्त्रण हुन्छ ?  भन्ने प्रश्न आज अझ महत्त्वपूर्ण छ। नेपालमा लोकतन्त्र असफल भएको होइन, यसको संस्थागत रूप र नेपालको सामाजिक–ऐतिहासिक जीवन–धरातलबिच अझै पर्याप्त मेल हुन सकेको छैन। यहींबाट नेपालको माटो, इतिहास, संस्कृति, समुदाय र भविष्यसँग जोडिएको लोकतान्त्रिक अभ्यासको खोज आवश्यक हुन्छ।

नेपालमा व्यवस्था फेरिए, प्रश्न बाँकी: नेपालले २००७ सालदेखि आजसम्म अनेक राजनीतिक मोड पार गरेको छ– प्रजातन्त्र, राजकीय हस्तक्षेप, पञ्चायती व्यवस्था, बहुदलीय पुनःस्थापना, सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधानसभा र गणतन्त्र।  व्यवस्था बदलिँदै गए तर लोकतन्त्रको गुणस्तर, राजनीतिक संस्कार र राज्यको निर्णय क्षमतासम्बन्धी प्रश्न अझै बाँकी छन्।  

नेपालको पछिल्लो अनुभवले अर्को प्रश्न उठाउँछ– संविधानले निर्धारण गरेको सीमा र राजनीतिक आवश्यकताबिच द्वन्द्व हुँदा कुनलाई प्राथमिकता दिने? संविधानको धारा १३२ (२) ले पूर्वप्रधानन्यायाधीश वा सर्वोच्च अदालतका पूर्वन्यायाधीशलाई संविधानले अन्यथा व्यवस्था नगरेसम्म सरकारी पदमा नियुक्त हुन अयोग्य मानेको छ।

यही संवैधानिक व्यवस्थाको पृष्ठभूमिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम प्रधानमन्त्री नियुक्ति संवैधानिक व्याख्या, राजनीतिक आवश्यकता र संस्थागत मर्यादाबिचको सम्बन्धबारे बहसको विषय बन्यो।  यस्ता विषयको निरूपण व्यक्तिको पक्ष वा विपक्षभन्दा संविधानको स्पष्टता, विधिको शासन, संस्थागत विश्वसनीयता र नागरिक मनोविज्ञानलाई समेत ध्यानमा राखेर हुनुपर्छ।

अर्कातर्फ, प्रतिस्पर्धी दलहरूबिच निर्वाचनअघि सहकार्य र निर्वाचनपछि सत्ता–साझेदारी लोकतन्त्रमा अस्वाभाविक होइन तर विचार र मूल्यमा भिन्न देखिने दलहरू नै निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने र त्यसपछि सत्तामा शक्ति बाँडफाँट गर्ने क्रम बढ्दै जाँदा मतदाताले रोज्ने वास्तविक विकल्प कति बाँकी रहन्छ ? भन्ने प्रश्न उठ्छ।

अस्ट्रियाको दीर्घकालीन बृहत् गठबन्धन र जापानको लामो प्रभुत्वशाली दल (डोमिनेन्ट पार्टी) अनुभवले पनि स्थायित्व र राजनीतिक प्रतिस्पर्धाबिचको सन्तुलनको महत्त्व देखाउँछन्। राजनीतिक सहकार्य वा स्थायित्व आफैं लोकतन्त्रको समस्या होइन तर त्यसले वास्तविक विकल्प, प्रभावकारी प्रतिपक्ष र मतदाताको छनोटको अर्थ कमजोर पार्न थालेमा लोकतन्त्रको गुणस्तर प्रभावित हुन सक्छ।

नेपालको इतिहास अझ जटिल छ। बहुमतका सरकार आफ्नै दलभित्रको शक्ति–संघर्षले ढलेका उदाहरण छन्, सशस्त्र द्वन्द्वका क्रममा राज्यविरुद्ध हिंसात्मक संघर्ष भयो र पछि त्यही राजनीतिक शक्ति शान्ति प्रक्रियामार्फत राज्यसत्ताको मूलधारमा आयो। वैचारिक रूपमा भिन्न ठुला दलहरूसमेत चुनावी र सत्ता–समीकरणमा सहकार्य गर्दै आएका छन्। त्यसैले यस इतिहासलाई केवल विजय वा पराजयको भाषामा होइन, राजनीतिक विचार, साधन, नैतिकता र राज्यसत्तासँगको सम्बन्ध कसरी बदलियो ? भन्ने प्रश्नबाट पनि हेर्न आवश्यक छ।

नेपालको आफ्नै धरातल: नेपालले भारत र चीनबाट धेरै कुरा सिक्न सक्छ तर उनीहरूको राजनीतिक वा विकास–मोडल जस्ताको तस्तै अनुकरण गर्न सक्दैन। भारतको संघीय संरचना, बहुदलीय लोकतान्त्रिक अभ्यास, सामाजिक विविधता र आर्थिक–सामरिक क्षमता आफ्नै ऐतिहासिक विकासक्रमका उपज हुन्। चीनको राज्य प्रणाली, राजनीतिक नियन्त्रण र विकासको मोडल पनि नेपालको भन्दा भिन्न ऐतिहासिक, सभ्यतागत र राजनीतिक धरातलमा विकसित भएको हो तर सिक्नु र अरूको प्रतिरूप बन्नु फरक कुरा हुन्।

नेपालको विशिष्टता हिमाल–पहाड–तराईको भौगोलिक विविधता, मौलिक सभ्यतागत स्मृति, सनातन संस्कृति, बहुल सामाजिक संरचना र विश्वशक्ति उन्मुख दुई छिमेकी भारत–चीनबिचको संवेदनशील अवस्थिति मात्र होइन, आफ्नो सार्वभौमिकता जोगाउँदै विकास, सुरक्षा र समृद्धिका लागि बाह्य सम्बन्धलाई सन्तुलित ढंगले सञ्चालन गर्नुपर्ने बाध्यता पनि हो। त्यसैले रणनीतिक स्वायत्तताको अर्थ बाह्य संसारबाट अलग हुनु होइन, राष्ट्रिय हितअनुसार साझेदारी रोज्ने र आफ्ना निर्णय आफैं गर्न सक्ने संस्थागत क्षमता हो।

पछिल्ला वर्षमा श्रीलंका, बंगलादेश र नेपालमा जेनजी केन्द्रित आन्दोलनले राजनीतिमा नयाँ पुस्ताको असन्तुष्टि, सहभागिता र परिवर्तनको आकांक्षालाई अगाडि ल्याएका छन्। भारतमा उठेको ‘कक्रोच’ आन्दोलनले पनि नागरिक असन्तुष्टि र सुधारको प्रश्नलाई सार्वजनिक बहसमा ल्याएको छ।

भारतमा राष्ट्रिय धरोहर, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा त्यस्तो व्यापक क्षति पुगेन, थप मानवीय क्षति नहोस् र बाह्य चलखेल नहोस् भनेर राष्ट्रिय सेना ब्यारेकमा सजग रहेर राष्ट्रप्रमुख र सरकार प्रमुखलाई हेलिकोप्टरबाट सुरक्षित स्थानमा लैजानुपर्नेजस्तो अवस्था आएन।

यसले साझा प्रश्न उठाउँछ– राज्यले नागरिकको आवाज कति सुन्छ, असन्तुष्टिलाई कति ग्रहण गर्छ र परिवर्तनलाई कति संस्थागत गर्छ? तर हरेक देशको परिणामलाई आफ्नै सामाजिक, ऐतिहासिक र राज्य–संरचनाको सन्दर्भमा बुझ्नुपर्छ।

चीनको राजनीतिक संरचना बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रभन्दा फरक छ। २०२२ को ‘श्वेतपत्र आन्दोलन’ले असन्तुष्टि देखाए पनि त्यसको राजनीतिक रूपान्तरणलाई नेपाल वा भारतसँग तुलना गर्न मिल्दैन।

नेपालको लोकतन्त्रको खोज न भारतको प्रतिरूप हुन सक्छ, न चीनको।  लोकतन्त्रका सार्वभौम मूल्यलाई स्वीकार गर्दै नेपालको इतिहास, समाज, भूगोल, संस्कृति र राष्ट्रिय हितसँग लोकतन्त्रको सम्बन्ध स्थापित गर्नु आवश्यक छ। यही धरातलबाट नेपालको लोकतान्त्रिक अभ्यासलाई हेर्ने दृष्टि नै माटोमा आधारित लोकतन्त्रको आधार बन्न सक्छ।

अब प्रश्न अझ उठ्छ– राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा सीमित साधन–स्रोत तथा राष्ट्रिय शक्तिहरूको समयानुकूल उपयोग, व्यवस्थापन, समन्वय र सञ्चालन कसरी प्रभावकारी गर्ने? राष्ट्रिय स्वायत्तता र स्वाधीनता, सामाजिक एकता र नागरिक सहभागितालाई लोकतन्त्रको आफ्नै धरातलसँग कसरी जोड्ने?

नेपाल जस्ता साना राष्ट्रले बहुध्रुवीय विश्वका दबाब र अवसरबिच आफ्नो अस्तित्व, स्वाधीनता र राष्ट्रिय हित सुरक्षित गर्न आफ्नै धरातलअनुकूल लोकतन्त्र, राष्ट्रिय शक्ति र रणनीतिक स्वायत्तताको समन्वय गर्न आवश्यक छ।

लोकतन्त्र मतपेटिकादेखि जीवन धरातलसम्म: लोकतन्त्रमा मतदान सहभागिताको सुरुआत हो, अन्त्य होइन। मतपेटिकाले जनतालाई शासन गर्ने अधिकार दिन्छ, त्यसपछि प्रश्न उठ्छ– नागरिकले राज्यलाई कति विश्वास गर्छन्, न्याय कति समान रूपमा पाउँछन्, निर्णय प्रक्रियामा सहभागिता कति अर्थपूर्ण हुन्छ र राज्यले जिम्मेवारी कति प्रभावकारी रूपमा पूरा गर्छ ? यहींबाट लोकतन्त्रको वास्तविक गुणस्तर मापन हुन्छ।

न्याय लोकतन्त्रको आत्मा हो। संविधान र संस्थाको औपचारिक अस्तित्व मात्र पर्याप्त हुँदैन। कानुन सबैका लागि समान हुनु, निर्दोष नफस्ने र दोषी नछुट्ने अवस्था कायम हुनु, योग्यताको कदर, पारदर्शिता, जवाफदेहिता र परिणाम नागरिक विश्वासका आधार हुन्।

आजको पुस्ताले प्रतिनिधि चुन्ने मात्र होइन, उनीहरूले कसरी काम गर्छन् भन्ने प्रश्न पनि उठाइरहेको छ।  यसलाई लोकतन्त्रविरोधी असन्तुष्टिभन्दा लोकतन्त्रलाई अझ उत्तरदायी बनाउने चेतनाका रूपमा बुझ्नुपर्छ।

अमेरिका, बेलायत, भारत, रुस, बंगलादेश र नेपालका निर्वाचन अनुभवले निर्वाचन मात्र लोकतन्त्रको पर्याप्त मापदण्ड नभएको देखाउँछन्। प्रश्न उठ्छ– मतदाताले वास्तविक विकल्प पाए कि पाएनन् ? मतले सत्ता तथा नीतिमा अर्थपूर्ण प्रभाव पार्न सक्यो कि सकेन?

नेपालको पछिल्लो निर्वाचनमा नयाँ शक्तिको उदयलाई पनि यही सन्दर्भमा हेर्नुपर्छ।  परम्परागत राजनीतिक शक्तिप्रतिको अविश्वास, भ्रष्टाचार र अनुत्तरदायित्वप्रतिको असन्तुष्टि तथा नयाँ पुस्ताको परिवर्तनको चाहनाले मतमार्फत स्पष्ट सन्देश दिएको छ। अब चुनौती त्यस सन्देशलाई उत्तरदायी शासन र परिणाममा रूपान्तरण गर्नु हो।

यहीं माटोमा आधारित लोकतन्त्रको अवधारणा जोडिन्छ। यसको अर्थ सार्वभौमिक लोकतान्त्रिक मूल्यलाई अस्वीकार गर्नु होइन, नेपालको भूगोल, इतिहास, संस्कृति र सामाजिक संरचनासँग तिनको सम्बन्ध स्थापित गर्नु हो। संविधान बिउ हो, लोकतान्त्रिक संस्था बिरुवा। नागरिक विश्वास, न्याय र सहभागिताको संस्कृति त्यसलाई हुर्काउने सामाजिक माटो हो।

आफ्नो माटोमा जरा, विश्वसँग सम्बन्ध– लोकतन्त्रको भविष्य शासनको स्वरूपमा मात्र होइन, नागरिक जीवन, राष्ट्रिय स्वायत्तता र भावी पुस्ताप्रतिको उत्तरदायित्वमा निर्भर हुन्छ।

माटोमा आधारित लोकतन्त्र अतीततर्फ फर्किने पद्धति होइन, आफ्नो इतिहास, संस्कृति, प्रकृति र सामाजिक अनुभवमा जरा गाडेर आधुनिक ज्ञान, विज्ञान, प्रविधि र विश्वसँग जोडिने खोज हो।

२१औं शताब्दीको प्रविधि युगमा नेपालको लोकतन्त्रलाई आफ्नै धरातलमा अझ उत्तरदायी, सक्षम र जीवन्त बनाउँदै विश्वसँग जोड्नु आवश्यक छ। आफ्नो माटोमा जरा गाडेर विश्वसँग जोडिने लोकतन्त्र, यही नेपालको लोकतान्त्रिक यात्राको अर्को अध्याय हुन सक्छ।

–श्रेष्ठ सुरक्षा तथा राजनीतिक विश्लेषक तथा राप्रपाका केन्द्रीय कार्यसम्पादन समित सदस्य हुन्।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस