नेतृत्व हस्तान्तरणको परम्परा र देउवाको पदमोह
०१ असोज २०८३
•
१० मिनेट पाठ
नेतृत्व हस्तान्तरणको परम्परा र देउवाको पदमोह
भर्खरै शेरबहादुर देउवाले एउटा वक्तव्यमा भनेका छन्, ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन, अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन, तर १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक दायित्व हो। पार्टी कमजोर र विभाजन हुँदा म मूकदर्शक हुन सक्दिनँ।’




शेरबहादुर देउवाको यो वक्तव्य तरंगहीन रह्यो। सुन्दा यो भनाइमा त्यागको भाव देखिन्छ। तर अहिले नेपाली कांग्रेसभित्र उठेको विवादले एउटा स्वाभाविक प्रश्न जन्माउँछ, नेतृत्व हस्तान्तरण गर्न देउवाले पहिले आफैँ सभापति हुनैपर्ने किन?

गगन थापाको सभापतित्वमा सम्पन्न विशेष महाधिवेशनले, अन्यथा नभएसम्म, वैधानिकता पाइसकेको छ। गगन थापाको सभापतित्वलाई निर्वाचन आयोगले संसदीय निर्वाचनअघि नै मान्यता दिइसकेको छ। त्यस मान्यतालाई सर्वोच्च अदालतले समेत अनुमोदन गरिसकेको छ। मुलुकमा दलीय विवाद निरूपणका अख्तियारप्राप्त यी दुवै निकायले मान्यता दिइसकेपछि सभापति पदका निर्मोही शेरबहादुर देउवाका लागि स्वयंको बहिर्गमनको एउटा सम्मानजनक बाटो हुने थियो। यस अवसरलाई देउवाले गुमाएका छन्। र, सम्भवतः नेपाली कांग्रेसको परम्परामा सर्वाधिक खिचलोको एउटा अध्याय थपिदिएका छन्।

नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको कस्तो परम्परा रहेको छ त ? यस प्रश्नको उत्तर खोज्न नेपाली कांग्रेसको इतिहासतिर फर्किनुपर्छ। किनकि नेपाली कांग्रेसको इतिहासमा नेतृत्व हस्तान्तरण केवल विधानको विषय थिएन। त्यो एउटा राजनीतिक संस्कार थियो। आफूभन्दा ठूलो पार्टी, आफूभन्दा ठूलो विचार र आफूभन्दा ठूलो लोकतान्त्रिक परम्परा हुन्छ भन्ने चेतना थियो। आजको विवादलाई त्यसै ऐतिहासिक परम्पराको ऐनामा हेर्नुपर्ने हुन्छ।

नेपाली राष्ट्रिय कांग्रेसको प्रारम्भिक काललाई यहाँ नछोऔँ। वि.सं. २००७ पछिको नेपाली कांग्रेसमा मातृकाप्रसाद कोइरालाको सभापतित्व काललाई एउटा अपवादका रूपमा राख्ने हो भने, नेतृत्व हस्तान्तरणको परम्परा लामो समयसम्म उल्लेखनीय रह्यो। नेपाली कांग्रेसको प्रारम्भिक इतिहासमा मातृकाप्रसाद कोइराला सभापति रहनुभएको र त्यसपछि बी.पी. कोइरालाले नेतृत्व सम्हाल्नुभएको तथ्य पार्टीकै अभिलेखमा पनि देखिन्छ।

नेपाली कांग्रेसका चार चाणक्य कहलिएका बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायबीच अनेकौँ विषयमा गम्भीर मतभिन्नता थिए। तर सभापतिको पदका लागि एकअर्कालाई समाप्त पार्ने तहको हानथाप थिएन। उनीहरूबीच विचारको संघर्ष थियो, व्यक्तित्वको टकराव थियो, तर पार्टी नेतृत्वलाई व्यक्तिगत स्वार्थको बन्धक बनाउने प्रवृत्ति थिएन।

यो कुरा विशेष गरी बी.पी. र सुवर्ण शमशेरको सम्बन्धमा देखिन्छ।

वि.सं. २०१७ पुस १ गतेको राजाको कदमपछि बीपी जेल पर्नुभयो। सुवर्ण शमशेर प्रवासमा हुनुहुन्थ्यो। त्यतिबेला अनेकौँ शक्ति केन्द्रबाट उहाँलाई पार्टी सभापतिको दाबी गर्न उक्साइएको हुनसक्थ्यो। तर उहाँले त्यसो गर्नुभएन। बरु झण्डै दुई वर्षसम्म बीपी, गणेशमानजी लगायतका नेताहरूको रिहाइका लागि प्रयत्न गरिरहनुभयो।

रिहाइको सम्भावना नदेखिएपछि वि.सं. २०१८ मा भारतको पटनामा भएको सम्मेलनपछि राजाको निरंकुश शासनविरुद्ध सशस्त्र प्रतिरोध सञ्चालन गर्न सुवर्णजीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइयो। त्यो पद उहाँले व्यक्तिगत आकांक्षाबाट लिएको थिएन; परिस्थितिले मागेको जिम्मेवारीका रूपमा स्वीकार गर्नुभएको थियो। पटना सम्मेलनको सर्वसम्मत निर्णय थियो। सुवर्णजीले सभापतित्वको त्यो जिम्मेवारीलाई कहिल्यै पनि कार्यवाहकभन्दा भिन्न रूपमा हेर्नुभएन।

सुवर्णजी यस तथ्यका जानिफकार हुनुहुन्थ्यो, पद लिनु र जिम्मेवारी लिनु एउटै कुरा होइन।

लामो समयपछि बीपी कोइराला उपचारका लागि अमेरिका गएर सन् १९७७ नोभेम्बरमा स्वदेश फर्कने क्रममा कलकत्ता पुग्नुभयो। त्यहाँ उहाँले अतिशय रोगग्रस्त सुवर्ण शमशेरलाई भेट्नुभयो। सुवर्णजीले बीपीको हात समाएर आफ्नो जिम्मामा रहेको नेपाली कांग्रेसको नेतृत्व उहाँलाई फिर्ता बुझाएको प्रसङ्ग नेपाली कांग्रेसको इतिहासमा नेतृत्व हस्तान्तरणको अनुपम उदाहरणका रूपमा रह्यो। सुवर्ण शमशेरको निधन ९ नोभेम्बर १९७७ मा कलकत्तामै भयो।

पटनाको त्यो प्रसङ्गसँग मेरो आफ्नै प्रत्यक्ष स्मृति पनि जोडिएको छ।

पटनामा आयोजित सभामा किसुनजी अर्थात् कृष्णप्रसाद भट्टराई पनि हुनुहुन्थ्यो। बीपी नेपाल फर्किनुअघि उहाँले त्यही सभामा आफू नेपाल फर्किएपछि पक्राउ पर्न सक्ने बताउँदै भन्नुभएको थियो । आफू जेल परेपछि साथीहरूले हाम्रा प्रिय साथी किसुनजीबाट निर्देशन पाइरहनु हुनेछ।

बीपीले धेरै शब्द खर्च गर्नुभएको थिएन। तर त्यो छोटो वाक्यभित्र एउटा स्पष्ट राजनीतिक सन्देश थियो, कृष्णप्रसाद भट्टराईले पार्टीको कार्यवाहक नेतृत्व सम्हाल्नुहुनेछ।

इतिहासले त्यसलाई पछि पुष्टि गर्‍यो। बीपीले सन् १९७६ मै कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसक्नुभएको थियो। यस तथ्यको ऐतिहासिक अभिलेख पनि उपलब्ध छ।  

नेपाल फर्किने क्रममा बीपीले योजनाबद्ध रूपमा आफ्ना एक सहयोगीलाई पटना–काठमाडौं हवाई यात्राको सहयात्री बनाउनुभयो, जसलाई नेपाल फर्किएपछि पक्राउ पर्ने सम्भावना थिएन। उहाँलाई एउटा खामबन्दी पत्र दिइयो, जुन काठमाडौंमा सार्वजनिक भएपछि सबैले थाहा पाए । बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति र परशुनारायण चौधरी तथा गिरिजाप्रसाद कोइरालालाई महामन्त्रीको जिम्मेवारी दिनुभएको रहेछ।

यहाँ मैले एउटा कुरा उल्लेख नगरे इतिहासप्रति बेइमानी हुनेछ । बीपीले यो निर्णय गर्दा महान् उदारमना र निस्पृह मानव गणेशमानजीको सहमति पनि थियो भन्ने मेरो बुझाइ छ। नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको त्यो अर्को अतुलनीय उदाहरण थियो।

विश्वास, सद्भाव र सहकार्यको यही परम्परा कलवलगुडीमा आइपुग्यो, जहाँ विराटरूपधारी गणेशमानजीको सदिच्छा र गिरिजाबाबुको प्रसन्नताबाट किसुनजी नेपाली कांग्रेसको निर्विरोध सभापति हुनुभयो। १९९२ को आठौँ महाधिवेशनमा कृष्णप्रसाद भट्टराई सभापति निर्वाचित हुनुभएको ऐतिहासिक विवरण पनि अभिलेखित छ।

त्यस दिनको समारोहमा आजका धेरै ‘भगवानहरू’ भावातीत भएर ताली पिटिरहेका थिए। भावातीत भएर!

तीमध्ये कतिपय आज भन्दै गरेको सुनिन्छ; देउवाबिना कांग्रेस जीवित रहन सक्दैन।

इतिहासको विडम्बना यही हो।

हो, किसुनजीपछि गिरिजाबाबु सभापति हुने बेलाबाट नेपाली कांग्रेसमा नेतृत्वका लागि चुनावी प्रतिस्पर्धाले प्रवेश पायो। तर त्यो प्रतिस्पर्धा पनि आफ्नो ठाउँमा शिष्ट थियो। किसुनजीलाई गिरिजाबाबुको नेतृत्व मन परेको थिएन भने पनि उहाँ आफैँ गिरिजाबाबुको विरुद्ध उम्मेदवार बन्नुभएन। उहाँले चिरञ्जीवी वाग्लेलाई सभापतिमा समर्थन गर्नुभयो। त्यो पनि संसारको राजनीतिक इतिहासमा बिरलै देखिने उदाहरण हो।

‘मानिस मन परेको छैन, तर मानिस गैर–नेपाली कांग्रेस होइन।’

उमेरमा किसुनजी गिरिजाबाबुभन्दा एकाध वर्ष कान्छो हुनुहुन्थ्यो। राजनीतिक संलग्नता पनि सँगसँगैको थियो। तर ज्येष्ठता वा कनिष्ठता बाधक रहेन। किसुनजीको स्वीकार्यता अद्भुत थियो।

किसुनजी त्यस्तै हुनुहुन्थ्यो-निलकण्ठ। सत्यमा निलकण्ठ। अद्वितीय, एकल र अद्वैत।

गिरिजाबाबुपछि नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया पूर्णतः विवादरहित रह्यो भन्ने होइन। शीर्ष नेताहरूको आपसी सहमतिबाट मात्र नेतृत्व हस्तान्तरण हुने पुरानो परम्परा पनि कायम रहेन। तर एउटा कुरा कायम रह्यो-महाधिवेशनको समयभित्रै लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व हस्तान्तरण भयो। प्रतिस्पर्धा पार्टीको वैधानिक प्रक्रियाभित्र थियो। त्यसैले प्रतिस्पर्धा आफैँ समस्या थिएन।

समस्या त्यतिबेला हुन्छ, जब प्रतिस्पर्धालाई पराजयको भयले संस्थागत प्रक्रियालाई नै आफ्नो अनुकूल बनाउन खोजिन्छ।

यहीँ आएर शेरबहादुर देउवाको प्रसङ्ग उठ्छ।

नेपाली कांग्रेसको नेतृत्वमा देउवाको लामो राजनीतिक यात्रालाई कसैले अस्वीकार गर्न सक्दैन। उहाँले पटक–पटक पार्टीको नेतृत्व गर्नुभएको छ, सरकारको नेतृत्व गर्नुभएको छ। तर उहाँको सभापतित्वकाललाई हेर्दा नेतृत्व हस्तान्तरणको प्रश्न बारम्बार विवादको विषय बनेको देखिन्छ। गुटहरू खडा गर्ने, विभिन्न गुटका स्वार्थहरूसँग मेल गरेर आफ्नो अनुकूल गठबन्धन बनाउने कामलाई देउवाले प्राथमिकता दिँदै रहनुभयो। आजको विवाद पनि त्यही प्रश्नको नयाँ रूप हो।

देउवा पक्षको धारणा छ-१४औँ महाधिवेशनबाट निर्वाचित संरचनाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुनुपर्छ। त्यसैले देउवाको नेतृत्वमा महाधिवेशन हुनुपर्ने तर्क अघि सारिएको छ। अर्कोतर्फ, गगन थापाको नेतृत्वमा रहेको वर्तमान पक्षले आफ्नै प्रक्रियाबाट १५औँ महाधिवेशन अघि बढाएको छ। विवाद अदालतसम्म पुगेको छ र दुवै पक्षले आ–आफ्ना वैधानिक दाबी प्रस्तुत गरेका छन्। सार्वजनिक विवरणअनुसार गगन थापाले प्रस्तुत गरेको समयसारणीअनुसारको १५औँ महाधिवेशनलाई रोक्न देउवाले सर्वोच्च अदालतमा दिएको निवेदन अदालतले खारेज गरेको छ।

पार्टीभित्र राजनीतिक समझदारी बनाउनुपर्ने विषयलाई देउवाले अदालती झैझगडाको विषय बनाएको देखिन्छ। तर कानुनी प्रश्नभन्दा ठूलो प्रश्न राजनीतिक संस्कारको हो।

यदि कुनै सभापतिले ‘म नेतृत्व हस्तान्तरण गर्न चाहन्छु’ भन्छ, तर नेतृत्व हस्तान्तरणको पूर्वशर्त नै ‘पहिले म नै सभापति हुनुपर्छ’ भन्ने हुन्छ भने त्यसलाई नेतृत्व हस्तान्तरणको उदार परम्परा भन्न कठिन हुन्छ।

नेतृत्व हस्तान्तरण भनेको पदलाई अर्को व्यक्तिको हातमा सार्नु मात्र होइन। नेतृत्व हस्तान्तरण भनेको आफूले समातेको पदमाथिको मोह छोड्नु हो। आफूले बनाएको संरचना, आफूले उठाएको गुट र आफूले पाएको राजनीतिक प्रभावभन्दा पार्टीलाई माथि राख्नु हो।

बी.पी.ले सुवर्णजीबाट नेतृत्व फिर्ता लिनुभयो। सुवर्णजीले आफ्नो हातमा रहेको जिम्मेवारी बीपीलाई फिर्ता गर्नुभयो। बीपीले आफू जेल पर्न सक्ने थाहा हुँदाहुँदै किसुनजीलाई जिम्मेवारी सुम्पनुभयो। गणेशमानजीले आफ्नो विशाल राजनीतिक कद हुँदाहुँदै किसुनजीको निर्विरोध नेतृत्वलाई बाटो दिनुभयो। किसुनजीले गिरिजाबाबुलाई मन नपराउँदा पनि आफैँ उम्मेदवार भएर पार्टीलाई विभाजनको अर्को तहमा धकेल्नुभएन।

यी घटनामा एउटा साझा सूत्र छ, पदभन्दा पार्टी ठूलो।

आज नेपाली कांग्रेसभित्र देखिएको संकटको मूलमा यही संस्कार हराउँदै गएको प्रश्न पनि जोडिएको छ।

देउवाको पदप्रतिको आग्रहले मात्र कांग्रेसको आजको सम्पूर्ण संकट सिर्जना भएको हो भन्नु इतिहासलाई अत्यन्त सरल बनाउनु हुनेछ। कांग्रेसको संकटका आफ्नै अनेक कारण छन् । नेतृत्वको पुस्तान्तरण, संगठनको क्षय, गुटगत राजनीति, वैचारिक अस्पष्टता, नयाँ पुस्तासँगको दूरी र बदलिएको राजनीतिक वातावरण। तर देउवाको लामो सभापतित्व र नेतृत्व हस्तान्तरणसम्बन्धी विवादले यी समस्यालाई झन् गहिरो बनाएको छ भन्ने प्रश्नलाई भने टार्न मिल्दैन।

मेरो दृष्टिमा, देउवाको सबैभन्दा ठूलो राजनीतिक कमजोरी यहीँ देखिन्छ, उहाँले नेतृत्व हस्तान्तरणलाई सहज लोकतान्त्रिक प्रक्रियाका रूपमा भन्दा आफ्नो नेतृत्वको निरन्तरतासँग जोडेर हेर्नुभयो।

अनि यहीँबाट कांग्रेसले आफ्नो पुरानो संस्कार गुमाउँदै गयो।

मलाई एउटा शाश्वत कथाको सम्झना हुन्छ।

ठूला र सिद्ध योगीहरूको मृत्यु भएपछि उनीहरूको शरीरलाई पञ्चतत्त्वमा विलीन गराइन्छ। त्यसपछि शिष्यहरूले गुरू योगीको कुटीमा आगो लगाएर त्यसलाई भस्म पार्छन्। यस्तो परम्परा छ।

किन? कुटी किन जलाउने?

जवाफ आउँछ; त्यो कुटीमा मृत्युपर्यन्त पनि सिद्ध योगीको प्रभाव र स्मृति बाँकी रहन्छ। नयाँ योगीले त्यही प्रभावको छायाबाट मुक्त भएर आफ्नो बाटो बनाउन कुटी जलाउँछ। स्वच्छन्द हुनका लागि।

मलाई लाग्छ, राजनीतिक नेतृत्वको पनि त्यस्तै एउटा सत्य हुन्छ।

पूर्ववर्ती नेतृत्वको प्रभावबाट मुक्त हुन नयाँ नेतृत्वले पुरानो कुटी जलाउनुपर्दैन; पुरानो नेतृत्वले नै समयमै कुटीको चाबी हस्तान्तरण गर्न सक्नुपर्छ।

बी.पी.ले त्यो चाबी सुवर्णजीबाट लिनुभयो। सुवर्णजीले फिर्ता दिनुभयो। बीपीले किसुनजीलाई जिम्मेवारी दिनुभयो। गणेशमानजीले किसुनजीलाई बाटो दिनुभयो। किसुनजीले प्रतिस्पर्धाको मर्यादा जोगाउनुभयो।

त्यो कांग्रेस थियो-जहाँ नेतृत्व हस्तान्तरण पराजय थिएन, उदारता थियो।

आज प्रश्न देउवा कति समय सभापति बन्नुहुन्छ भन्ने मात्र होइन। प्रश्न यो हो, के नेपाली कांग्रेसले फेरि आफूभन्दा ठूलो पार्टी, पार्टीभन्दा ठूलो लोकतन्त्र र लोकतन्त्रभन्दा ठूलो कुनै व्यक्तिगत पद हुँदैन भन्ने आफ्नो पुरानो संस्कार फर्काउन सक्छ?

शेरबहादुर देउवाले अहिले ‘मेरो कुनै स्वार्थ छैन, म नेतृत्व हस्तान्तरण गर्न चाहन्छु’ भन्नुभएको छ। अब इतिहासले उहाँसँग एउटा सरल प्रश्न सोधिरहेको छ; यदि साँच्चै स्वार्थ छैन भने, नेतृत्व हस्तान्तरणको बाटोमा आफ्नो पदलाई किन पूर्वशर्त बनाउने?

कांग्रेसको इतिहासमा महान् नेताहरूले पद छोडेर आफू साना भएका होइनन्। बरु पद छोड्न सक्ने सामर्थ्यले उनीहरूलाई इतिहासमा अझ ठूलो बनाएको हो।

नेतृत्व लिन सक्नु राजनीतिक क्षमता होला।

तर समय आएपछि नेतृत्व हस्तान्तरण गर्न सक्नु राजनीतिक संस्कार हो। र नेपाली कांग्रेसलाई आज सबैभन्दा बढी आवश्यक परेको कुरा शायद यही संस्कार हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस