मलाई टेन्सन छ
१२ साउन २०७४
•
१३ मिनेट पाठ
मलाई टेन्सन छ
हिजोआज सबैको मुखमा एउटै शब्द झुण्डिने गरेको छ– मलाई टेन्सन छ । मानिसहरु कति सजिलै आफ्नो तनावलाई ठ्याक्कै भन्न सकेका होलान् तर भन्न सहज हुने, व्यवस्थापन गर्न गाह्रो हुने तनावकै कारण संसारभरि गम्भीर किसिमका रोगीको संख्या थपिदै गएको छ । पेटमा हुने अल्सरदेखि अन्य धेरै किसिमका गम्भीर रोगको कारण बन्ने उच्च रक्तचाप, चिनी रोगदेखि मतिष्कघात र पक्षघातको प्रमुख कारण तनाव बन्न थालेको चिकित्सकहरुले बताउन थालेका छन् ।

मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्ययका अनुसार व्यस्त दैनिकी, अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक र सामाजिक अस्थिरता तथा अनेक प्रकारका झमेलाका कारण मानिसले चैनको जिन्दगी बिताउन नपाउनु तनाव प्रमुख कारण हो । ‘विभिन्न प्रविधिका कारण थपिँदो सुविधाभोग गर्दा मानिसमा तनाव थपिँदो छ,’ उपाध्यायले भने ।

जीवनशैली र दैनिकी बिग्रँदा मानिसमा अनिद्रा, चिन्तारोग, दिक्दारीपन, एक्लोपनाजस्ता समस्या पनि थपिदैे गएको उनको भनाइ छ । यसले प्रत्यक्ष रुपमा उच्च रक्तचाप, अल्सर, चर्म रोग र कम उमेरमै मुटु रोग थपिदिने गरेको छ । यसबाहेक खानेकुरामा प्रयोग गरिने रासायनिक पदार्थ, जबरजस्ती पकाइएका फलफूल, फास्ट फुड, स्वच्छ पिउने पानीको अभाव र दूषित हावाले पनि तनाव बढाउन सघाइरहेको चिकित्सकहरु बताउँछन् ।

खानपान, निद्रा र अन्य आराम गर्ने कुरामा कुनै नियमितता नहुनु, क्षमताभन्दा बढी समय काम गर्नु र गर्न खोज्नु तनाव निम्त्याउने प्रमुख कारण हुन् । पैसा वा कुनै पदको प्रलोभनमा बढी पर्ने र सामाजिक कार्य तथा परिवारलाई समय नदिनेहरु तनावको बढी सिकार हुने गरेको चिकित्सकहरु बताउँछन् । तनाव व्यवस्थापनका लागि ठूलो उपचारको खोजीभन्दा पनि आफ्नै वरिपरि खोजिने खुसी काफी हुने सुझाव दिन्छन् । ‘परिवारलाई समय दिने, केटाकेटीसँग खेल्ने, कुकुर–बिराला लगायतका जनावर पाल्ने वा आध्यात्म लगायत पूजापाठ गरेर पनि तनाव कम गर्न सकिन्छ,’ मुटुरोग विशेषज्ञ डा.भरत रावत भन्छन्, ‘सन्तोष नै तनाव व्यवस्थापनको प्रभावकारी विधि हो ।’

चिकित्सकहरूका अनुसार मानसिक तनाव हुँदा शरीरको एडरेनल नामक ग्रन्थिबाट कर्टिसोन नामक हार्मोन निस्कन्छ । पाचन थैलीबाट ग्यास्टिक एसिडसहित विभिन्न हार्मोन र रासायनिक पदार्थ निस्कन्छन् । यस्तो अवस्थामा रगतमा चिनीको मात्रा बढ्छ । शरीरमा यी परिवर्तन हुँदा डरको अनुभव, शरीरमा असजिलोपना र छटपटीसमेत हुन्छ,’ डा. रावत बताउँछन् ।

डा. उपाध्ययका अनुसार लामो समयसम्म मानसिक तनाव भइरहँदा शरीरमा रोग प्रतिरोधक क्षमतामा ह्रास आउँछ । ‘यसले संक्रमण र रोग बढाउँछ,’ उनले भने । निजी, पारिवारिक र व्यवसायजन्य समस्या देखिएपछि मानिस तनावको अवस्थामा पुग्छ । बितेका दुःखदायी घटनाले बारम्बार दुःख दिँदा पनि मानिस तनावमा हुन्छ । मनोरोग विशेषज्ञहरुका अनुसार मानसिक द्वन्द्व, आन्तरिक कलह र समस्याले पनि मानिसलाई तनावको अवस्थामा पुर्याउँछ ।

तनाव बढी लिने मानिसलाई पेटको समस्या, अनिद्रा, छालाका समस्या, हृदयरोग, शरीरका विभिन्न भागमा दुख्ने समस्यालगायत मदिरा एवं लागू औषधको कुलतमा परेर अन्य गम्भीर खालका स्वास्थ्य समस्या देखिने डा.उपाध्याय बताउँछन् ।

‘ग्यास्टिक बढेको अवस्थामा तनाव घटाउन नसक्दा पेटको अल्सर हुन्छ,’ उनले भने । अनिद्राको समस्या बढेपछि दैनिक क्रियाकलापमै असर पर्ने र बढी थकाई लाग्ने हुन्छ । चिकित्सकका अनुसार तनावका कारण मुखभित्र घाउ निस्किने, अनुहार घाउ खटिरा निस्किने, शरीर चिलाउनेजस्ता समस्या समेत देखिन्छ ।

तीबाहेक तनावकै कारण हृदयरोग, धड्कन बढ्ने, छाति दुख्ने, रक्तचाप, शरीरका विभिन्न भागमा दुख्ने समस्यादेखि कसैलाई कम्मर दुख्ने र कसैकसैमा हड्डी खिइने समस्या पनि देखिन्छ । ‘लागू पदार्थ, धूमपान मद्यपानको कुलतमा जाने र तनावकै कारण डिप्रेसन र एन्जाइटी न्यूरोसिसजस्ता मानसिक रोगहरु देखिन्छन्,’ उनले निष्कर्ष सुनाए ।

कामैकाम भन्ने र परिवारलाई समय नदिने मान्छे बिस्तारै तनावको बाटोतर्फ आकर्षित हुने डा. रावत बताउँछन् । डा. उपाध्ययका अनुसार मानसिक तनाव बढ्दै जाँदा काममा ध्यान दिन नसक्ने, उत्पादकत्व घट्ने, रिस उठ्ने, मुड खराब हुने र झगडासमेत हुन सक्छ ।

तनाव कम गर्न मैत्रीपूर्ण कार्यस्थल र समन्वय मिलेको समूह, अर्कालाई विश्वास गर्ने बानी र वातावरण चाहिन्छ । ‘सबैभन्दा सजिलो तरिका उपयुक्त कामका लागि सही समय छुट्याउने, समयमै काम सक्ने र अनावश्यक कुरामा छुट्याइएको समय उपयोग गर्दा मानिस भित्रैदेखि खुसी हुनसक्छ,’ उपाध्याय भन्छन् ।

तनाव कम गर्न चिकित्सकहरु सकेसम्म हाँस्ने अवसर नछोड्न सुझाउने गर्छन् । कतिपय चिकित्सकले मनबाट प्राकृतिक हाँसो ननिस्कने अवस्थामा पनि कृत्रिमै भए पनि हाहाहा गरेर हाँस्नखोज्दा बिस्तारै शरीरमा त्यसले सकारात्मक प्रभाव छोड्ने बताउँछन् । क्षणिक आनन्दका लागि, धूमपान, मदिरा र लागू पदार्थको लतमा पर्दा तनावको क्षणिक समाधान पाएपछि दीर्घकालीन रुपमा तनावको व्यवस्थापन गर्ने क्षमतालाई कमजोर पार्दै लाने चिकित्सकहरु बताउँछन् ।

उपाध्यायका अनुसार रमाउन सक्ने, हाँस्न सक्ने र जीवनलाई सकारात्मक रुपले लिने मानिसहरुलाई डर, रिस, चिन्ताजस्ता समस्याले प्रायः सताउँदैन ।  

हाँसोले भरिएको दैनिकी मानसिक रूपमा आनन्ददायी हुने मात्रै होइन, शारीरिक रुपमा स्वस्थकरसमेत हुने विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन् । उच्च रक्तचाप, मुटु, मधुमेहजस्ता दीर्घ रोगका बिरामीलाई दैनिक कम्तीमा दस पटक धक फुकाएर हाँस्ने वातावरण बनाउने सल्लाह दिन्छन् ।

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. रावतले मानसिक तनावबाट नै सम्पूर्ण जीवनशैली अस्वस्थकर बन्न सुरुवात हुने भन्दै स्वस्थकर जीवनशैलीका लागि मानसिक तनावबाट मुक्त रहन सक्नुपर्ने बताए । ‘जीवनमा तनाव कम गर्ने र हाँस्न सक्ने हो भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्वस्थ रहन मद्दत गर्छ,’ डा. रावतले भने ।

जर्नल अफ होलिस्टिक नर्सिङमा प्रकाशित अध्ययन अनुसार शल्यक्रियापछि दिइने पेनकिलर भन्दा हाँसो छुट्ने वाक्य पढाउँदा दुखाई कम महसुस हुने गरेको पाइयो । दिनमा दस पटक हाँस्ने मान्छे स्वस्थ र जवान पनि देखिने जर्नलमा उल्लेख छ ।

लोमा लिन्डा विश्वविद्यालय क्यालिफोर्नियाका डा.ली बर्क र अनुसन्धान सहयोगी डा. स्टानली टानले गरेको अनुसन्धानले पनि हाँसोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा धेरै सकारात्मक फाइदा पुग्ने देखिएको छ ।

‘हाँसोले रक्तचाप र तनाव बढाउने हार्मोनलाई घटाउँछ, रोगको संक्रमणसँग लड्ने टी नामक रक्त कोषिका वृद्धि गराउने साथै रोगसँग लड्ने गामा इन्टरफेरन तथा बिटा कोषिकाजस्ता प्रोटिन बढाउँछ,’ सो अध्ययनले निष्कर्ष निकाल्दै भनेको छ, ‘हाँसोले शरीर भित्रैबाट निस्कने प्राकृतिक दुखाइ कम गर्ने रस निकाल्न बल प्रदान गर्छ ।’

हाँसोका कारण उत्पन्न हुने हर्मोनकै कारण बिरामीले आफू स्वस्थ भएको महसुस गर्ने रावतको भनाइ छ । विभिन्न अध्ययन अनुसार उन्मुक्त हाँसोले स्वास्थ्य र सकारात्मक आवेग ल्याउँछ । हँसाउने र हाँस्ने क्रियाकलापमा संलग्न भएका व्यक्तिमा तिनीहरुको रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुन्छ ।

हाँसोले गर्दा रक्त कोषिकालाई साँघुरो बनाउने र संक्रमण रोक्ने गतिविधिलाई गर्ने तनाव प्रदायक हर्मोन घट्छ ।

विज्ञहरूका अनुसार हाँसो एक प्रकारको शारीरिक कसरत हो । यसले शरीरमा अक्सिजनको मात्रा बढाउन छाति र मांशपेशी बीचको भागको व्यायाममा सघाउँछ ।

चर्को आवाज निकालेर हाँस्दा फोक्सो, दिमाग, रक्तचाप र प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग पुग्ने भनाइ डा.रावतको छ ।

तनाव कम गर्ने तरिका

नियमित कामको फलो गर्न सकिने तालिका बनाउने र अनुशरण गर्ने

सकेसम्म सकारात्मक सोच राख्ने र सकारात्मक कोणबाट हेर्ने

नराम्रा घटना र क्षणहरुलाई मनमा सम्झिनराख्ने

कुनै पनि अवस्थालाई स्वीकार गर्ने र सम्भव हुने समाधान खोज्ने

अर्काको काम बिगार्ने सोच राखेर नहिँड्ने

प्रतिशोधको भावना छोड्ने

बिस्तारै लामो श्वास लिने र त्यसरी नै बिस्तारै लिएको श्वासलाई छोड्न

शारीरिक व्यायाम गर्ने

मुठी कस्ने र बिस्तारै छोड्ने क्रम चलाउने  

मानसिक तनावका लक्षण

टाउको भारी हुने वा दुख्ने, परीक्षण गराउँदा कुनै कारण भने नभेटिने ।

राम्रो निद्रा नपर्ने ।

शरीरका विभिन्न मांसपेशीहरु दुख्ने र बढी थकाइ लाग्ने ।

आफ्नो काममा राम्रो गरी ध्यान दिन कठिनाइ हुने ।

मुटुको धड्कन बढ्ने ।

बानी व्यवहारमा परिवर्तनजस्तै बढी रिसाउने, रक्सी चुरोट पिउन सुरु गर्ने वा पहिलेभन्दा धेरै पिउने, आफ्नो काममा ध्यान राम्रो नदिने र आफ्नो स्वास्थ्यमा ध्यान नदिने आदि ।
अर्को समाचार
तपस्यामा तन्नेरी
०६ असार २०७०
•
१९ मिनेट पाठ
तपस्यामा तन्नेरी
तन्नेरी भन्दैमा सबै कहाँ मोजमस्ती र रमाइलोमा मात्रै भुलेका छन् र? अचाक्ली भागदौड र चर्काे प्रतिस्पर्धाले जीवनलाई तनावहरूको भकारी बनाएका छन्। तन्नेरीलाई झन् धेरै टेन्सन छ। पढाइको टेन्सन, करिअरको टेन्सन, प्रेमको टेन्सन...। सबै अशान्त छन्। छटपटी, उकुसमुकुस र ग्लानिले जर्जर भएका युवा मनहरू अचेल ध्यान, योग र विपश्यना केन्द्र धाइरहेका छन्। लागुऔषध दुर्व्यसनीहरू पनि ध्यानबाट लाभान्वित भएका छन्। तन्नेरी पुस्ताको ध्यान, योग र अध्यात्मप्रतिको यो लगावलाई सजना बरालले एकाग्र भएर नियाल्न खोजेकी छिन्। 
...  

  

साँझको ५ बजेको थियो। सिमसिम पानीले वातावरण शीतल बनेकोे थियो। हलभित्रका मान्छे एकाग्र भएर सत्संग सुनिरहेका थिए। गलामा ओशोको चित्रअंकित माला लगाएका र रातो वस्त्रमा सजिएका युवायुवती पलेटी मारेर ध्यानमग्न अवस्थामा बसेका थिए। एकैछिनपछि हलभित्रको शान्त माहोल बिथोलियो। सबैजना यथास्थानबाट जुरुक्क उठे। ब्याकग्राउन्डमा 'गोविन्द बोलो हरि गोपाल बोलो' बोलको भजन घन्किन थाल्यो। उनीहरू नाच्न थाले। माहोल डिस्कोको भन्दा कम तातो थिएन। भजनको बिट जति जति तीव्र हुँदै गयो, नाच्नेहरू उति जोसिँदै थिए। त्यसपछि कोही चिच्याउन थाले, कोही रुन, कराउन, हाँस्न र उफ्रिन थाले। केही बेरको नृत्यपछि उनीहरू पुनः भुइँमा बसे र जमिनमा लम्पसार परे। 

काठमाडौँको नागार्जुनस्थित 'ओशो तपोवन' मा शनिवार साँझ देखिएको दृश्य हो यो। यहाँ प्रत्येक दिन ध्यान र योगासनका यस्ता विधि चलिरहन्छन्। यी विधिलाई स्वामी आनन्द अरुण 'वास्तविकतासँग परिचित हुने माध्यम' भन्छन्। 'तिनले हामीलाई काम, पढाइ, टेन्सन, प्रेसर सबै गन्जागोलबाट मुक्त गराइदिन्छन्,' ध्यानबाट उठेपछि २३ वर्षीया सन्जु महर्जनले अनुभव सुनाइन्, 'दिमाग शान्त हुन्छ, रिल्याक्स्ड फिल हुन्छ। संसारै अर्को लाग्छ।' 

उपत्यकामा विभिन्न संघ, संस्था, केन्द्र, आश्रम र धार्मिक संगठन आदिले ध्यान र योग कक्षा तथा शिविर सञ्चालन गरिरहेका छन्। नेपाल विपश्यना सेन्टर, मनोक्रान्ति, ओशोधारा, ओशो तपोवन, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, जीवन विज्ञान, विश्व जागरण अभियान, पतञ्जलि योग सेन्टर, हिमालयन बुद्धिस्ट मेडिटेसन सेन्टर आदिले ध्यान, योग र प्राणायामका कक्षा, तालिम र शिविर चलाइरहेका छन्। ती स्थानमा बालबालिका, वृद्धवृद्धा, युवायुवती, स्वदेशी, विदेशी सबैको बराबर उपस्थिति हुन्छ। त्यसमा पनि युवा वर्गको संख्या अलि बढी हुने ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बताए। 'हामीकहाँ आउनेमध्ये ९० प्रतिशत व्यक्ति ३० वर्षभन्दा मुनिका युवा छन्,' उनले भने। 

साँझ, बिहान, दिउँसो, जाडो, गर्मी जुनसुकै प्रहर र मौसममा पनि युवा वर्ग ध्यानका लागि तम्तयार बन्न थालेको छ। कोही एकाबिहानै ध्यानकेन्द्रमा पुगी गुरुले सिकाएबमोजिम एकाग्र हुने, लामो सास फेर्ने–छोड्ने, ओमकार जप्नेलगायत ध्यानका अनेक तौरतरिका अपनाइरहेका हुन्छन्। कतिपय केटाकेटी हप्तौँ दिनको शिविरमा सामेल भई तपस्यामा मुग्ध हुन्छन्। कतिले त साधनाकै लागि बिहानको पढाइलाई साँझमा 'सिफ्ट' गरेको पनि बताए। होहल्ला, मोजमस्ती, घुमफिर र नानाभाँती गर्ने उमेरका युवायुवती आखिर किन ध्यान, तपस्या, एकाग्रता वा मेडिटेसनप्रति आकर्षित भएका हुन्? 

'बिहान ध्यान गरेपछि दिनभरि फ्रेस भइन्छ,' बानेश्वर क्याम्पसकी २१ वर्षीया मिथिला विष्ट भन्छिन्, 'पहिला–पहिला जति पढे पनि यादै हुँदैनथ्यो। सानो–सानो कुरामा रिस उठ्थ्यो, काम गर्न मरिगए जाँगर नचल्ने! जतिबेला पनि टेन्सनमात्रै हुन्थ्यो। तर, ध्यान गर्न थालेपछि मेरो आनीबानी पूरै परिवर्तन भयो।' उनी भीमसेनगोलास्थित जीवन विज्ञान नामक ध्यान केन्द्रमा प्रत्येक बिहान ध्यान गर्न पुग्छिन्। केन्द्रले साधकहरूलाई ध्यानका अनेक अभ्यास– जीवन अमृत, ऐश्वर्य विज्ञान, तनाव विसर्जन, कथार्सिस आदि सिकाउने गरेको छ।

ध्यानले एकाग्रता बढाउने मात्रै होइन, काम गर्न जोस, जाँगर र स्फूर्ति पनि दिने कुलेश्वरस्थित जनमैत्री कलेजकी रञ्जिता सुवेदीले बताइन्। लगभग एक वर्षदेखि मध्यबानेश्वरस्थित विश्व जागरण अभियानको सदस्य बनेकी रञ्जिता ध्यानले आफूमा आश्चर्यजनक परिवर्तन ल्याएको बताउँछिन्। 'म त्यतिबेला फ्रस्टे्रटेड थिएँ,' उनी भन्छिन्, 'परिवारमा  समस्यै–समस्या थियो। जिन्दगीमा केही गर्न नसक्ने भएँ भनेर साह्रै टेन्सन हुन्थ्यो । तर, जब मैले ध्यान गर्न थालेँ, १५ दिनभित्रमै ममा परिवर्तन आयो। मेरो सोच बदलियो, आत्मविश्वास बढ्यो। अहिले पढाइ, जागिर, परिवार सबैलाई ब्यालेन्स्ड गर्न सक्ने भएकी छु।' ध्यानकै कारणले यो सम्भव भएको उनको अनुभव छ। 

युवायुवतीहरू विशेषगरी फ्रस्ट्रेसन, स्ट्रेस, रहर, उत्सुकता, परिवारको करबल, लहैलहै आदि कारणले ध्यान र योगमा लाग्ने गरेका छन्। दुर्व्यसनबाट मुक्त हुन र फिटनेसका लागि पनि कतिपयले ध्यान गर्छन्। प्रेममा धोका खाएर विक्षिप्त बनेकाहरू पनि ध्यानको शरणमा पुग्ने गरेको पाइयो। 

ध्यान गरेपछि शरीर, छाला र कपाल आकर्षक हुने पनि धेरैको विश्वास छ। बालाजु, काठमाडौँका १८ वर्षीय रविन ढकालले मोटोपन घटाउन बालुवाटारको ओशोधारा जाने गरेको बताए। 'जे चाहेको थिएँ, त्योभन्दा बढी पाएँ,'  तीन महिनामा १५ किलो तौल घटेको बताउँदै उनले भने, 'फिजिकल फिटनेसको लागि गएको थिएँ। मेन्टल फिटनेस पनि पाएँ। मुख्य कुरा, मैले टेन्सन ह्यान्डल गर्ने तरिका थाहा पाएँ।' 

ध्यान भन्नासाथ बुढापाका वा साधुसन्तले गर्छन् भन्ने आम बुझाइ छ। तर, विश्व जागरण अभियानका सञ्चालक स्वामी आनन्द विनोदका अनुसार १०–१२ वर्षको उमेरदेखि नै मानिसले ध्यानमा लाग्नुपर्छ। 'यसको अर्थ बुद्धले झैँ पीपलको बोटमुनि हातपाउ जोडेर, खानपिन र भोकप्यास नै भुलेर ध्यान गर्नुपर्छ भन्ने होइन,' उनले भने, 'ध्यानलाई व्यायामका रूपमा नाच्दै, गाउँदै र विभिन्न आसनमा पनि गर्न सकिन्छ।' उनका अनुसार जसरी हुन्छ शरिर र मनलाई विश्रान्ति दिनु नै ध्यान हो। ध्यानले मानिसलाई आन्तरिक र बाह्य दुवै रुपमा स्वच्छ र स्वस्थ बनाउने उनको धारणा छ। 

'तर, मानिस साह्र्रै स्वार्थी र अल्छी छ,' उनले गुनासो गरे, 'ऊ आफूलाई रोग लागेपछि वा तनावग्रस्त भएपछिमात्रै धामी, झाँक्री, वैद्य वा डाक्टर खोज्न थाल्छ। 'प्रिभेन्सन इज बेटर द्यान क्योर' भन्ने थाहा हुँदाहुँदै पनि ऊ खानपिन र आचरणमा ध्यान दिँदैन।' प्राकृतिक चिकित्सक समेत रहेका स्वामी विनोदले भने, 'ध्यान गर्न आउने ७५ प्रतिशत युवा डिप्रेसनका रोगी हुन्छन्। रोग लागेपछि वा समस्या उत्पन्न भएपछि मात्रै ध्यान गर्न आउँछन् प्रायः युवायुवती।'  

तपोवनका स्वामी आनन्द अरुणले पनि ध्यान र अध्यात्म रोज्ने अधिकांश युवा  तनावग्रस्त भएको फेला पारेका छन्। 'अहिले मानिसलाई सुख चाहिएको छ,' उनले भने, 'चाहेको कुरा नपाएपछि मानिस अशान्त र दिक्क हुन्छ। त्यो अशान्तिबाट टाढिने एउटै उपाय छ– आइदर वाइन अर डिभाइन। व्यक्ति थोरैमात्र पनि बुद्धिमान छ भने ऊ डिभाइन रोज्छ। हामीकहाँ आउँछ र ध्यान गर्न थाल्छ। होइन भने ऊ नशालाई अँगालेर आफू र आफूलाई घेर्ने पिर, मर्का र तनावलाई भुल्न खोज्छ। प्रायः युवा पछिल्लो विकल्प रोज्ने गर्छन्।'

काठमाडौँका २१ वर्षीय शिव पाखि्रन (नाम परिवर्तन) लाई १२ दिनसम्म मौन बस्नु ठूलो कुरा लागेको थिएन। तर, नमरी स्वर्ग देखिन्न भनेझैँ विपश्यनामा बसेपछि मात्रै उनले त्यहाँको तपस्याबारे चाल पाए। 'हातखुट्टा कटकटी खाने, ढाड दुख्ने, छट्पटी हुने के–के भयो, के–के?' उनले भने, 'त्यहाँ (नेपाल विपश्यना सेन्टर) बसेको तीन–चार दिनपछि मलाई फ्ल्यासब्याकमा गएझैँ लाग्यो। गिल्टी फिल हुन थाल्यो। मैले के गरेछु? किन गरेछु? भन्ने रियलाइज्ड भयो।' विपश्यनाको अनुभव शब्दमा अभिव्यक्त गर्न नसकिने उनले बताए। 'जे होस्, १२ दिन त्यहाँ बसेपछि म अर्कै भएर निस्किएँ,' उनले सारांशमा भने, 'चुरोट र गाँजा खाने मेरो बानी हट्यो।'

के छ ध्यानमा?
ध्यानले मानिसलाई वर्तमान वा यथार्थसँग परिचित गराउने स्वामी आनन्द अरुणको भनाइ छ। 'यसले साधकलाई अनरियलबाट रियलमा ल्याउँछ,' उनले भने, 'जे सत्य र वास्तविक हो त्यसको बोध गराउँछ। जसले गर्दा ऊ स्वेच्छाले आफूमा परिवर्तन ल्याउन सक्छ, जुन दिगो हुन्छ।' 

जिन्दगीमा कसरी अगाडि बढ्ने भन्नेबारे युवा वर्ग अन्योलमा हुने जीवन विज्ञानका प्रवचनकर्ता रमेश नेपालको बुझाइ छ।  'उनीहरूलाई ध्यानले सही मार्ग देखाउन सक्छ,' उनले भने। शारीरिक र मानसिक दुर्बलता कम हुने भएकाले हिजोआज धेरैको ध्यान ध्यानतर्फ मोडिएको उनले पाएका छन्।

स्वामी आनन्द विनोदले भने ध्यानको वैज्ञानिक पक्षबारे जानकारी दिए। 'ध्यान वा प्राणायामले इन्टक्सिकेटेड ब्लड( प्रदूषित रगत) लाई शुद्धीकरण गर्छ,' उनले भने, 'रगत इन्टक्सिकेटेड छ भने तलतल लाग्ने, छटपटी आदि हुन्छ। तर, रगत सफा भइसकेपछि  मान्छेलाई फ्रेस महसुस हुन्छ। उसलाई गाँजा, चुरोट, रक्सी आदिको तलतल लाग्दैन। र, बिस्तारै कुलतबाट छुट्दै जान्छ।'

ध्यानको अुनभव लिइसकेका केही युवा भने ध्यानमा चमत्कार नै हुने बताउँछन्। 'एक किसिमको इनर्जी हुन्छ ध्यानमा,' केही वर्षअघि 'हिमालयन बुद्धिस्ट मेडिटेसन सेन्टर'मा एक हप्ता बिताएका पाल्देन गुरुङ भन्छन्, 'मलाई ध्यानमा बस्दा अचम्मै भएको थियो। रिंगटा लागेर ढल्न आँटेको थिएँ। जमिन रोटेपिङजस्तो फनफनी घुम्यो। डरले हत्त न पत्त आँखा उघार्छु त मलाई केही भएकै रहेनछ! न जमिन घुमेको थियो, न मलाई रिंगटा लागेको थियो। म त्यसै रन्थनिएछु।'

ध्यानको आकर्षण 

विद्यार्थीलाई अनुशासन र नैतिकताको पाठ सिकाउन भन्दै कतिपय क्याम्पस तथा स्कुलले ध्यान कक्षा सञ्चालन गर्न थालेका छन्। ध्यान केन्द्र र प्रशिक्षकहरूलाई पनि स्कुल/कलेजका लागि समय छुट्याउन भ्याई नभ्याई भएको पाइयो। जीवन विज्ञानको सहयोगमा ग्लोबल इन्टरनेसनल कलेज, एपेक्स कलेज, नेपाल कमर्स क्याम्पसलगायतले विद्यार्थीलाई ध्यानको ज्ञान र तालिम दिने गरेका छन्। जीवन अमृत ध्यानबाट प्रेरित भएका ग्लोबल कलेजका प्रोग्राम कोअर्डिनेटर राजन खतिवडाले  कलेजमा पनि यसको अभ्यास थालेका छन्। ‘विद्यार्थीलाई अनुशासित बनाउन, उनीहरूको आत्मबल बढाउन र निर्णय गर्ने क्षमताको विकास गराउन ध्यानले निकै मद्दत पुग्ने रहेछ,' उनले भने, 'त्यसकारण हामीले ध्यानलाई बढी जोड दिइरहेका छौँ।' 

ध्यानमा लागेका धेरेजसो केटाकेटी उत्साहित र ध्यानको प्रतिफलबाट सन्तुष्ट भएको पाइयो। विश्व जागरणमा भेटिएकी रञ्जिता, ओशोधाराका रविन, जीवन विज्ञानकी मिथिला, तपोवनकी सञ्जुलगायत सबैले आफूजस्ता युवालाई ध्यान गर्ने सल्लाह दिएका छन्। 'ध्यानले मनभित्रको उकुसमुकुस, ग्लानि–भाव र मानसिक तनाव हटाउन धेरै सहयोग गर्छ,' रञ्जिता भन्छिन्।

ध्यानलाई धेरैले धर्म ठानेको साधकहरू बताउँछन्। 'ध्यान भनेको शरीर र मनलाई स्वस्थ बनाउँदै आत्मबोध गराउने प्रक्रिया हो,' स्वामी आनन्द विनोद प्रस्ट्याउँछन्, 'यो कुनै धर्म होइन।' 

बानेश्वरकी मिथिलालाई सुरुसुरुमा ध्यानमा लाग्न साह्रै मुस्किल परेको थियो।  ‘'बुढाबुढीले गर्ने काममा लागी, बच्चामै बुढी हुन आँटी, पागलै भई’ भन्थे मान्छेहरू,' उनले ध्यानमा लाग्दाका दिनहरू सम्भि्कइन्, 'कलेजमा साथीहरूले पनि खुब उडाउँथे मलाई। घरमा सबैले गाली गर्थे। पछि कुरा मिल्दै गयो।' 

ध्यान वा तपस्याप्रति सबै युवा सकारात्मक छन् भन्ने चाहिँ होइन। उपत्यकाभित्र खुलेका ध्यान केन्द्र र प्रशिक्षकहरूप्रति कतिपय तन्नेरी आक्रोशित पनि रहेछन्। 'त्यसरी आनन्दले ध्यान गर्न त ढुकुटीभरि सुनका सिक्का हुनुपर्छ,' शंकरदेव क्याम्पसको स्तानक तेस्रो वर्षमा अध्ययनरत अमित चापागाईं 'अनन्त' भन्छन्, 'ध्यानकेन्द्रले सित्तैमा प्याकेज दिने होइनन्। ध्यान गर्न पनि खनखनी पैसा गन्नुपर्छ। ध्यान गर्ने समयमा काम गर्ने वा टुप्पी कसेर पढ्ने हो भने तनाव–सनाब केही पनि हुँदैन।' 
(अम्मर जिसीको सहयोगमा) 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस