३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

सिंगल फादर : मनोजकुमार

बाबुको माया, बाबुको प्रेम लियामले जति धेरै अरू कमैले महसुस गर्न पाएका होलान् । धेरैका बाबु बेलुकी घर आइपुग्छन्, बिहान सबेरै काममा हिँड्छन् । कति त दुई÷तीन हप्तामा मात्रै बाबुको अनुहार हेर्न पाउने पनि छन् । तर लियाम दुई वर्षको हुँदासम्म बाबुकै काखमा रमाउन पाएका छन्, उनलाई अरूको काखको खाँचो त्यति साह्रो परेको छैन । सबैले केही पाउन केही गुमाउनैपर्छ भन्ने तथ्य लियाममा पनि थोपरिएको छ । उनले बाबुको काख पाएबापत आमाको काख सधैँका लागि गुमाएका छन् । 

देश भूकम्पको परकम्पनमा हल्लिरहेको थियो, २०७२ सालमा । सबैलाई पिरलो थियो आफ्नो सात तले, आठ तले भवनको । मनोज र उनकी श्रीमती प्रेरणालाई भने पेटमा हुर्किरहेको सानो बच्चाको चिन्ता थियो, जतिबेला पेटमा लियाम (मनोजका छोरा) बसेको आठ महिना पुग्दै थियो । 

गितारिष्ट मनोजकुमार केसी र प्रेरणालाई हतार थियो, लियाम भेट्न, त्यसैले उनलाई सकुशल भेट्न छिट्टै अपरेसन गर्ने जिद्दी लियामकी आमाको थियो तर उनको नियमित चेकअप गराइरहेकी डा. अल्काले नर्मल डेलिभरीमा जोड दिईन् । मनोज भन्छन्, ‘डा. अल्का सुमेरु अस्पतालमा र पाटन अस्पताल दुवैमा काम गर्थिन् ।’

जेठ २४ गते अचानक पेटमा बच्चा चलमलाउन छाडेको जानकारी प्रेरणाले मनोजलाई दिइन् । उनीहरु दुवैजना सुमेरु अस्पताल पुगे । डा. अल्काले अब प्रसूतिको बेला भएको बताउँदै पाटन अस्पताल भर्ना गर्ने सुझाव दिइन् । तैपनि, जानुअघि एकपटक अल्ट्रासाउन्ड गर्न लगाइन् । अल्ट्रासाउन्डले दिएको रिपोर्टअनुसार बच्चालाई सालले बेरेको थियो, त्यसलाई नर्स, डाक्टरले यो सामान्य हो, खासै फरक पर्दैन भन्दै फर्काईदिए । उनीहरुको मनमा चिसो पसिसकेको थियो त्यसैले फेरि डाक्टर अल्कालाई अपरेसन गर्न अनुरोध गरे तर डाक्टर मानिनन् ।

त्यही दिन पाटन अस्पताल भर्ना गरियो । अर्को दिन राउन्डमा आएका डाक्टरलाई मनोज र प्रेरणाले फेरि अपरेसनका लागि अनुरोध गरे । तर, उही जवाफ पाइयो, पर्दैन । बेलुकी ४ बजे उनलाई सुत्केरी बेथा लगाउने औषधि दिइयो तर त्यसको प्रभाव राति दस बजेसम्म पनि नपरेपछि फेरि बेथा लगाउने औषधिको अर्को डोज दिइयो । मनोजले आँखाभरि आँसु छचल्क्याउँदै भने १२ बजे रातिबाट दुखाइ सुरु भयो ।

दोस्रो डोजले लेबर पेन गराएपछि बिहान ५ बजेतिर लेबर रुममा लगियो । उनी हतारिएका थिए, आफ्नो बच्चाको अनुहार हेर्न, बच्चा जन्मिएपछि बलेको प्रेरणाको अनुहार हेर्न । आफ्ना फ्यान र आफन्तको बधाई आउन सुरु भइसकेको थियो । मनोज सम्झन्छन्, महिला मात्रै लेखेको कोठा बाहिर बच्चा र आमा कुरेर बसिरहेको थिएँ, त्यसै समय एक बच्चालाई केही नर्सले हतारहतार लगिरहेको देखेँ, कालो कपाल भएको त्यो बच्चा कसको हो थाहा थिएन, उनी भन्छन्, ‘त्यो बच्चा देख्नेबित्तिकै मलाई एक किसिमको छुट्टै अनुभव भएको थियो ।’ हुन्छ नि एक प्रकारको एट्याचमेन्ट, हो त्यस्तै ।

करिब साढे आठ बजेतिर उनले नचिताएको खबर सुने । धेरै रक्तश्राव भएकाले प्रेरणाको पाठेघरै निकालेर फाल्नुपर्ने भएछ । त्यहीँ भित्र रहेकी डा. अल्काले प्रेरणाको जीवन बचाउनकै निम्ति आपतकालीन अपरेसन गर्नुपर्छ भनेर जानकारी दिइन् । यतिञ्जेल अघिको बच्चा आफ्नै रहेको थाहा पाइसकेका थिए मनोजले । यता चिकित्सकहरु प्रेरणाको पाठेघर अपरेसनका निम्ति फारममा सही गरिदिन दबाब दिइरहेका थिए ।

फिल्मको सिनजस्तो जीवन । नगरौं आमाको ज्यान जोखिममा पर्छ, गरौँ जन्मेको बच्चा पनि बाँच्ने टुंगो छैन । उनले तुरुन्तै निर्णय लिइहाले, मलाई जसरी पनि प्रेरणा चाहिन्छ, उनी भन्छन्, ‘त्यसपछि त्यो अपरेसन गर्ने कागजमा मैले हस्ताक्षर गरेँ ।’

गम्भीर निर्णय लिएको केही क्षण नबित्दै फेरि अर्को कुरो उनको कानमा बज्रियो, जो उनी कहिल्यै सुन्न चाहँदैनथे । एक व्यक्तिले उनलाई अपरेसन थिएटरसम्म लगे, जहाँ प्रेरणाको शरीर त थियो, तर प्राण थिएन । यी कुरा बताइरहँदा मनोजका आँखा ओभाना थिएनन् । उनी घरीघरी आँखा वरपर हेरेर आँसु लुकाउने कोसिस गरिरहेका थिए । 

हिजोआज भने माहोल फेरिएको छ । लियाम दुई वर्ष पुगेर अब तीन वर्षमा प्रवेश गर्दै छन् भनेर मनोज, लियाम र संगीतलाई सारथी बनाएर बाँकी जीवन बिताउने तारतम्मेमा लागेका छन् । मनोज भन्छन्, ‘मैले मेरो छोरालाई केही अभाव महसुस गर्न दिएको जस्तो त लाग्दैन, तर पनि प्रेरणाको अभाव त खट्कन्छ नै । 

लियाम अचेल मन्टेश्वरी पनि जान्छन् । उनको दैनिकी नै बिहान उठ्नु, मन्टेश्वरी जानु र पापासँग खेलेर दिन बिताउनु छ । लियाम निकै सोसोलाइज पनि छन् । मनोजले छोराको प्रशंसा गर्दै भने, ‘ऊ मसँग धेरै मानिस भएको ठाउँमा जान्छ र सबैसँग मिठो गफ गर्छ । अरू बच्चाजस्तो मेरो बच्चा कार्टुन र आईप्याडमा झुण्डिएर बस्दैन, उसलाई मानिसहरुसँग भेट्न गफ गर्न निकै मन पर्छ । लियाम बाबुको पेसामा पनि खुब ध्यान दिन्छन्, मनोज भन्छन्, ‘हिजोआज मेरो पहिलो श्रोता, फ्यान जे भने पनि मेरो छोरो नै हो । गीत बन्नेबित्तिकै सुन्ने भनेको मेरो छोरोले नै हो ।

लियाम पनि मनोजको गीत खुब ध्यान दिएर सुन्छन् । त्यति मात्रै होइन, तुरुन्तै ट्युन क्याच गर्नसक्ने खुबी पनि छ उनमा । कुनै पर्फर्मेन्समा वा स्टेज प्रोग्राममा लिएर गए, घर आएर पापाले यस्तो गरेको उस्तो गरेको भनेर क्यारिकेचर पनि गर्छन् उनी ।  छोरोको यही बालापनमा रमाउँछन् मनोज । उनी भन्छन्, ‘सँगै सुतेको बेला छोराले कपाल चलाउँछ, काउकुती लगाउँछ, त्यो समय छुट्टै खालको अनुभूति, छुट्टै खालको माया पलाउँदो रहेछ । त्यो अनुभूति यति मिठो हुनेरहेछ जुन मनोज शब्दमा उतार्र्न सक्दैनन् ।’ 

जाँदैछु टाढा भारी छ मन
धेरै छ गर्नु छोटो जीवन
सम्झन खोज्दा आत्तिन्छु झन्
हजार सपना अधुरै छन् ।

मानिस जन्मन्छ, भोलि मर्नु छ भन्ने सत्य बोकेर । तर खै, मान्छे मर्दा किन रुन्छ होला मानिस, अनि जन्मँदा किन खुसी हुन्छ होला । यसैको उत्तर खोज्दाखोज्दै जन्माए मनोजकुमारले हजार सपनालाई । उनलाई रचनामा साथ दिए, अनुप पहारीले । 

माथिको गीतको भावजस्तै छ, १९७४ एडीका गितारिष्ट मनोजकुमार केसीको अवस्था पनि । उनीसँग हजारौं सपना थिए, र छन् पनि । केही सपना अब उनी कहिल्यै पूरा गर्न सक्दैनन्, केही सपना अपूरै होला कि भनेर आत्ति रहन्छन् ।

मनोजको बाल्यकाल

छोराको बालापनले मनोजलाई आफ्नो बाल्यकाल पनि याद नआउने होइन । उनी भन्छन्, ‘जब म सम्झन र बुझ्न सक्ने भएँ, मेरो हातमा तबला हुन्थ्योे । सानै उमेरदेखि संगीतको माहोलमा हुर्किएको बताउँछन् उनी । भन्छन्, ‘मेरा काका क्लासिकल म्युजिकमा पोख्त हुनुहुन्थ्यो, सानैदेखि सारेगम र अन्य संगीत सुनेर तबलाको तालसँगै हुर्किएँ ।’ 
मनोजको स्कुल जीवनमा म्युजिकसँग खासै लेनदेन छैन । उनी स्कुलमा स्पोर्टसँगै हुन्थे, घरमा आएपछि म्युजिकले उनलाई अँगाल्थ्यो । उनी सम्झन्छन्, म अरनिको स्कुलमा पढ्थेँ, त्यहाँ म्युजिकबारे खासै पढाइ हुँदैनथ्यो तर विभिन्न समयमा विभिन्न स्पोर्टसहरु भने भइरहन्थे । उनी थप्छन्, ‘पढाइमा अब्बल थिएँ, त्यस्तै क्लासमा एक्टिभ पनि । त्यसैले उनी क्लासमा चुपचाप बस्नै सक्दैनथे रे । पढाइमा अब्बल भएकै कारण उनले क्लास जम्प पनि गरेका थिए । 
उनी बाल्यकालमा निकै रमाइला तर रिसाउने स्वाभावका थिए रे । भन्छन्, त्यसैले मेरो नामै रुन्चे राजा थियो । सानै भए तापनि क्लासिकल म्युजिक उनको रुचिको विषय थियो । साथै नारायण गोपाल, दीप श्रेष्ठलगायतका गीत सुनेर उनी हुर्किए । उनका छोरा लियामको भन्दा निकै भिन्न जीवन बिताएको महसुस गर्छन् मनोज । भन्छन्, ‘हामी साथीहरु मिलेर माछा मार्न जान्थ्यौँ, दसैंको बेलामा चंगा उडाउँथ्यौं, भागेर चोभारको डाँडामा ऐँसेलु खान पुग्थ्यौं । अहिले गाडीमै जान पनि जावलाखेलदेखि आधा घण्टा बढी लाग्ने बाटो उनीहरु हिँडेरै आधा घण्टामा पुग्थे ।

स्कुले जीवनमा म्युजिकका खासै क्रियाकलाप नभए पनि उनी घरको वातावरणदेखि टाढा भने हुन सकेनन् । त्यस समयमा रेडियो नेपालमा बाल गीत रेकर्ड गराइरहेका हुन्थे । उनी राम्रो तबलावादक थिए तर इन्टे«स्ट भने गितारमा थियो । उनलाई गितार देख्दैमा निकै मनपरेको थियो । जब एसएलसी दिएँ, एक साथीले दुई हप्ताका लागि गितार उनको जिम्मा लगाएर गाउँ गए । त्यही समयमा उनले दिनरात नभनेर गितार बजाए र बेसिक ज्ञान हासिल गरे ।
उनका बुबा विदेशमा थिए, त्यसैले उनले माग गर्नेबित्तिकै नयाँ गितार हात लाग्यो । त्यो समयको निकै लेटेष्ट गितार टेलेष्कार मोडेलको गितार उनले केही समय बजाए र १९७४ एडीका फिरोज (उनी हाल यो ब्यान्डमा छैनन्) लाई बेचे । गितार बजाउन थालेको नौ महिना पनि नबित्दै उनी उही १९७४ एडीमा गितार बजाउन थाले । उनले भने, ‘मेरो पहिलो गितारको कथा अझै लामो छ । सुरुमा आफ्नो सेन्टिमेन्ट पहिलो गितारमा फिल नगरे तापनि पछि भने उनलाई पहिलो गितारको खुबै याद आउन थाल्यो, फिरोजलाई गितार फेरि आफूलाई चाहिएको बताए तर विडम्बना, फिरोजले पनि त्यो गितार अरू नै कसैलाई बेचिदिएछन् । तर मनोजले हार मानेनन् । अन्ततः सन् २००३ देखि खोज्न सुरु गरेको गितार दुई वर्षअघि सन् २०१६ मा फेला पारे । उनले फेला पार्दासम्म गितारको हालत निकै खराब बनिसकेको थियो । त्यसलाई फेरि रिपियर गरेर राम्रो बनाएका छन् मनोजले । केही कन्सर्टहरुमा बजाइ पनि सकेँ, उनले गर्बिलो आवाजमा भने । 
यसबीचमा उनको हात निकै गितारहरुमा झन्झनाए, निकै कलेक्सनहरु पनि बनाए गितारका तर तिनीहरु त्यत्तिकै राख्दा खिया लागेर हैरान भएपछि भने बेचिदिए । अहिले उनीसँग ६÷ ७ ओटा मात्रै गितार छन् । ती पनि विभिन्न सेन्टिमेन्टहरुसँग जोडिएका । उसो त, उनी नेपालमै बनेका गितारलाई फोकस गर्ने पनि बताउँछन् । 

मनोजको इच्छा गितारिष्ट बन्ने थिएन । उनी डाक्टर बन्न चाहन्थे तर विभिन्न प्राविधिक त्रुटिका कारण उनी व्यवसायी बने । उनले पाटन एरियामा पहिलो म्युजिकल बार खोलेका थिए, त्यस्तै परिवारका व्यवसाय पनि चलाउँथे । मनोज सम्झन्छन्, ‘म बिहान उठेर कलेज पढेर फेरि ११÷१२ का विद्यार्थीलाई पढाएर फेरि ब्यान्डमा गाउन भ्याउँथे । उनले जति काममा हात हाले पनि सफलता भने म्युजिकबाटै मिल्यो, त्यसैले सन् २००२ देखि भने उनी निरन्तर संगीतकै क्षेत्रमा छन् ।

उनी आफ्नो छोरालाई पनि फ्रि छोड्ने दाउमा छन् । भन्छन्, ‘मलाई मेरो परिवारले आफ्नो खुसीको प्रोफेसन रोज्न छुट दिनुभयो, म मेरो छोरोलाई पनि उसको प्रोफेसन चुज गर्न दिनेछु,’ उनले थपे, ‘छोरो अहिले मसँगै म्युजिकमा इन्ट्रेष्ट देखाउँछ, त्यसैले उसलाई सानो गितार किनिदिएको छु, पछि म पनि पापा जस्तै बन्छु वा अरू नै केही बन्छु जे भन्छ, उसकै रोजाइअनुसार हुन्छ ।’ 

लियामको बर्थ डे

लियाम आउने जेठमा तीन वर्षको हुन्छन् । ‘अघिल्लो दुई वर्षजस्तै यो वर्ष पनि उसको जन्मदिन धूमधामसँग मनाइनेछ,’  मनोजले भने, ‘बच्चा खुसी भयो भने हामी पनि खुसी हुनेरहेछौं, बुबा र छोराको एट्याचमेन्ट छुट्टै खालको हुने रहेछ । छोराको खुसीमा खुसी भएको मनोजको मन भने कहिले खुसी हुन्छ, कहिले दुःखी हुन्छ । उनले भने, ‘म प्रेरणालाई खुब मिस गर्छु, ऊ पनि सँगै भइदिएको भए, झनै कति खुसी हुनेथियौं होला भन्ने लाग्छ तर छोरो खुसीका साथ बर्थ डे मनाइरहँदा उसकै खुसीमा आफ्नो पीडा भुल्ने कोसिस गर्छु ।’ 

लियाम अहिले सानै छ । अलि ठूलो भएपछि आमा खोज्दो हो । मनोजको अर्को बिहे गर्ने हालसम्म कुनै सोच छैन । बुझ्ने भएपछि लियाम आमाको पुण्य तिथि र आफ्नो जन्मदिन एक्कैदिन मनाउला या नमनाउला, मनमा धेरै जिज्ञासा छन् । उसको भविष्य राम्रो होस्, नागरिक परिवार उसका आउने दिन सबै राम्रा होऊन् भनी शुभकामना दिन्छ । 

प्रकाशित: २९ जेष्ठ २०७५ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App