युवराजको ‘यु–टर्न’
०३ माघ २०७६
•
११ मिनेट पाठ
युवराजको ‘यु–टर्न’
काठमाडौं – विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ।




नेपाल राष्ट्रबैंकको गभर्नर छँदा र अर्थमन्त्री भएपछि पनि उद्योगी, व्यवसायीलाई पहुँच नै नदिएका खतिवडाले एक–डेढ महिनायता भने सबैसँग नरम र भद्र व्यवहारसँगै त्यसैअनुसार भाषण गरिरहेका छन्। निजी क्षेत्रका संघसंस्था तथा सरकारी संस्थानहरूमा जाँदा उनी समस्या समाधान गर्ने सहयोगीका रूपमा प्रस्तुत भइरहेका छन्।

नेपाल चेम्बर अर्फ कमर्सको यही साता भएको ७०औं वार्षिकोत्सवमा खतिवडाले भने, ‘सरकार धरपकडमा जाँदैन, विगतमा केही गल्ती भएकै हुन्। अब यो गर्नुहुँदैन भनेर मैले सार्वजनिक रूपमा भनेकै हुँ। व्यवसायीलाई निरुत्साहित गरेर सुशासन कायम गर्न नसकिने रहेछ। स्वेच्छाले राज्यको कानुन पालना गराउनु नै लोकतान्त्रिक सरकारको पहिलो प्राथमिकता हो।’

निजी क्षेत्रसँग मात्र होइन, विगतमा सेयर बजारविरुद्ध चर्को स्वरमा बोल्ने खतिवडा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यक्रममा नरम रूपमा प्रस्तुत मात्र भएनन्, सेयर बजारमा समस्या भए आफू समाधान गर्न तयार भएको समेत बताए। उनले करसम्बन्धी समस्या भए आगामी बजेटबाट समाधान गर्ने आश्वासन दिँदै पुँजी बजारको विकासमा थुप्रै काम भइसकेको र अरू थप काम पनि प्रक्रियामा रहेको जानकारी दिए।

‘आज (मंगलबार) को खतिवडाको भाषणले पहिलेका अर्थमन्त्री यिनै हुन् र भन्ने पो बनायो,’ एक्सचेन्जका एक अधिकाीले भने, ‘सेयर बजारको विरोधीका रूपमा देखिएका खतिवडा आज हितैषीका रूपमा प्रस्तुत भए।’ यी तिनै खतिवडा हुन् जसले गत वर्ष लगानीकर्तालाई भेट दिन अस्वीकार गर्दै उनीहरूलाई अर्थ मन्त्रालयको ढोकाबाटै फर्काएका थिए।

नेप्सेमा मात्र होइन, बुधबार अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पदाधिकारीसँगको भेटमा पनि अर्थमन्त्री खतिवडाले यो क्षेत्रको समस्या समाधानमा खुलेर सहयोग गर्ने बताए। सवारीसाधनमा सम्भवतः विश्वमा नै सबैभन्दा धेरै प्रतिशत कर उठाउने खतिवडाले ‘नेपाल विश्व व्यापार संगठनको सदस्य भएको हैसियतले सवारीसाधनमा लाग्ने करको दरमा पुनर्विचार गर्छु’ सम्म भने। उनले यो वर्ष सुस्ताएको अटोमोबाइल व्यवसायलाई उठाउन व्यवसायीले महसुस गर्नेगरी आगामी वर्ष कार्यक्रम ल्याउने वाचा पनि गरे।

यी केही उदाहरण हुन् अर्थमन्त्री खतिवडाको फेरिएको व्यवहारका। खतिवडाको यस्तो ‘युटर्न’लाई अर्थ मन्त्रालयभित्रको उनको सहयोगी टिमका सदस्य र उद्योगी व्यवसायीले अर्थमन्त्रीको निरन्तरतासँग जोडेर हेर्ने गरेका छन्। खतिवडाको राष्ट्रियसभा सदस्यको म्याद फागुन २० मा सकिँदैछ। पहिलो चरणमा अवधि सकिने १८ सदस्यमध्ये खतिवडा राष्ट्रपतिबाट चुनिएका एकमात्र सदस्य हुन्।

१७ रिक्त पदमा निर्वाचनका लागि मतदानको मिति तय भइसकेको छ भने राष्ट्रपतिबाट हुने एकजनाको मनोनयन बाँकी छ। त्यसैले खतिवडा अर्थमन्त्रीमा रहने कि नरहने भन्ने चर्चा चलिरहेको छ। विगतमा रुखो व्यवहार देखाएका कारण निजी क्षेत्र खतिवडासँग सन्तुष्ट छैन। उद्योगी व्यवसायी, सेयर बजारका लगानीकर्तालगायत सम्पूर्ण निजी क्षेत्रले खतिवडाको विकल्प खोजिरहेको छ।

त्यसैअनुसार उनलाई निरन्तरता दिन नहुनेमा निजी क्षेत्रले सक्दो लबिङ गरिरहेको छ। सबै क्षेत्रबाट विरोध भए अर्थमन्त्रीमा निरन्तरता पाउन कठिन हुने देखेपछि खतिवडाले पछिल्लो समय नरम व्यवहार देखाउन थालेको निजी क्षेत्रको बुझाइ छ।

खतिवडा राष्ट्रबैंकको गभर्नर भएपछि समय लिएर भेट्न पुगेका बैंकरहरूलाई आफू सबैभन्दा जान्ने भएजस्तो गरी रुखो व्यवहार देखाएको भन्दै त्यसबेला उनको आलोचना भएको थियो।

‘तपाईंहरूले मलाई कुनै सुझाव दिनुपर्दैन, समस्या छन् भने राख्न सक्नुहुन्छ,’ गभर्नर खतिवडाले त्यसबेला बैंकरहरूलाई भनेका थिए। अध्यापन क्षेत्रबाट राष्ट्रबैंकमा आएका खतिवडामा आफू सबैभन्दा जान्ने भन्ने अहं छ। निजी क्षेत्र मात्र नभएर सरकारी कर्मचारीको हकमा पनि खतिवडाको रबैया उस्तै हो।

खतिवडाले गत वर्ष धितोपत्र बोर्डको वार्षिकोत्सवमा पनि बैंकरहरूलाई जस्तै लगानीकर्तालाई होच्याउने गरी भाषण गरेका थिए। कार्यक्रममा सहभागीहरूले दुई तिहाइको सरकार गठन भए पनि सेयर बजार लगातार घटिरहेको भनेपछि त्यसको उत्तरमा खतिवडाले ‘तपाईंहरूले सेयरबारे कखग सिक्दा मैले यसमा पिएचडी गरेको थिएँ’ भन्दै होच्याएर भाषण गरेका थिए।

निजी क्षेत्र जोडिएका विषयमा खतिवडाको व्यवहार सहयोगी अर्थमन्त्रीको जस्तो नभएर एउटा कठोर शासकको जस्तो देखिन्छ। सेयर बजारको सबालमा खतिवडालाई खलनायककै रूपमा हेरिएको छ। केपी ओली नेतृत्वमा सरकार बनेपछि लगातार सेयर घटेको विषयलाई अर्थमन्त्रीले सम्बोधन गर्नुपर्छ भन्ने आवाज लगानीकर्ताले उठाउँदा खतिवडाले अर्थमन्त्रीलाई देखाएर सेयरमा चलखेल गर्न खोजिएको आरोप लगाएका थिए। संसारभर सेयर बजारसँग अर्थमन्त्री जोडिने भए पनि नेपालमा खतिवडा जोडिन चाहेनन्, उल्टै आरोप लगाएर पन्छिने काम गरे।

गत वर्ष खतिवडाले नै प्रस्तुत गरेको बजेटमा समावेश पुँजीगत लाभकर गणनाको विषय विवादित बन्दा उनी वर्षभरि बोलेनन्। लगानीकर्ताले लामो समयसम्म विरोध गरे। फलस्वरूप चालु वर्षको बजेटमार्फत त्यसलाई सुल्झाउने काम गरियो। मातृका यादव उद्योगमन्त्री हुँदा निजी क्षेत्रले सधैं एउटा गुनासो गरिरहन्थ्यो, ‘अर्थमन्त्री कुरै सुन्दैनन्। उद्योगमन्त्री कुरै बुझ्दैनन्।’ अर्थमन्त्री खतिवडाले कार्यकालको सुरुका दिनमा निजी क्षेत्रले समस्या लिएर जाँदा पनि भेट दिने गरेका थिएनन्। निजी क्षेत्रले बजेटमा दिने सुझावसम्म अर्थमन्त्रीले लिएका थिए। ‘हामीले प्रधानमन्त्रीलाई भने सजिलैसँग भट्न सक्छौं तर अर्थमन्त्री खतिवडालाई भेटन सकिँदैन,’ नेपाल उद्योग परिसंघमा आबद्ध एक उद्योगीले भने, ‘खतिवडाका नजरमा उद्योगी व्यवसायी अवसरवादीमात्र देखिन्छन्।’

खतिवडाले जस्तो व्यवहार देखाए पनि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष व्यक्ति भएको र ओलीकै समर्थनमा अर्थमन्त्री बनेका कारण उद्योगी व्यवसायीले सिधै उनको विरोध गर्न सकेका छैनन्। खतिवडाले ल्याएको नीति र उनको भाषणप्रति टिप्पणी वा विरोध गरेमात्र पनि कोपभाजनमा परिने डर उद्योगी व्यवसायीमा छ। व्यवसायीहरूका अनुसार सञ्चारमाध्यममार्फत वा कार्यक्रममा भाषणका क्रममा खतिवडाको विरोध गरे उनले त्यसलाई व्यक्तिगत ‘इगो’का रूपमा लिने गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्वअध्यक्षले कुनै उद्योगी व्यवसायीले अर्थमन्त्री खतिवडाको विरोध गर्न सक्ने अवस्था नभएको जानकारी दिए। ‘उद्योगी व्यवसायीका संघसंस्थामा रहेका पदाधिकारीहरूले अर्थमन्त्रीको विरोध गरे पनि ‘हल्ला रूपमा’ गर्नुभएको छ,’ नागरिकसँग बिहीबार उनले भने, ‘मजस्ता पूर्वपदाधिकारीले विरोध गर्न सक्ने वातावरण छैन।’

विगतमा सरकारी नीतिको खुलेर विरोध गर्दै आएका ती पूर्वअध्यक्षका अनुसार अहिले विरोध गर्ने व्यापारीलाई अर्थमन्त्री खतिवडाले सिधै बोलाएर हपार्ने गरेका छन्। ‘समस्या पर्दा उनकै कार्यकक्षमा जानुपर्छ। नीतिगत विरोधलाई पनि व्यक्तिगत रूपमा लिएपछि कसरी विरोध गर्न सक्नु,’ उनले लाचारी प्रकट गरे।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
यो पनि पढौँ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस