साउनको महिना थियो । चारपाँच दिनदेखि झमझम पानी परिरहेको थियो । आँगन, खेत, बारी, बाटो जताततै पानीपानी देखिन्थ्यो । मलाई पानी परेको हेर्न र त्यसको आवाज सुन्न खूृब मन पथ्र्यो । सुरुसुरुमा त म खूब रमाएँ । तर, अब धेरै दिनसम्म पानी परेकाले मलाई पनि झर्को लागिसकेको थियो । खेतका गराहरू पानीको पोखरीजस्ता देखिएका थिए । घर अगाडिको कुलो बढेर आँगनसम्म आइपुग्ला जस्तो भएको थियो । गाउँमा अब ठूलो बाढी आउने भयो भनेर सबैले चिन्ता गरेका थिए । मैले ठूलो बाढी देखेको थिइनँ । सोचेँ – बाढी आयो भने कस्तो हुन्छ होला ?
त्यो दिन खाजा खाएर बुबा खोला कत्रो भएको छ भनेर हेर्न जानुभयो । आमा गोठमा गाईलाई घाँस पानी दिँदै हुनुहुन्थ्यो । म भने बाख्राका पाठापाठीलाई मकै छोडाएर खुवाउँदै थिएँ । हेर्दाहेर्दै बिस्तारै आँगनको पानी पिँढीमा उक्लियो र ढोकाबाट भित्र पस्न थाल्यो । पाठापाठी डराएर कराउन थाले । म पनि डराएर आमालाई बोलाएँ । गोठमा पानी पसिसकेको रहेछ । आमाले भुइँमा भएका सामानहरू उठाएर हतारहतार टेबलमाथि राख्न थाल्नुभयो । उहाँले डराएको आवाजमा भन्नुभयो – ‘लौन बाढी आयो ।’ यतिबेलासम्म बुबा पनि दौड्दै आइसक्नुभएको थियो । उहाँले सबैभन्दा पहिले गोठमा गएर गाई र बाख्राको दाम्लो फुकाइदिनुभयो र मलाई पाठापाठी लिएर माथि चोटामा उक्लन भन्नुभयो । अब भने मलाई असाध्यै डर लाग्न थाल्यो ।
म बाख्रा र पाठापाठी लिएर माथि उक्लिएँ । बुबाआमा मिलेर तलका सानासाना सामानहरू सबै माथि उकाल्नुभयो । यतिबेलासम्म घरभित्र घुँडाघुँडा पानी भइसकेको थियो । गाउँभरि खैलाबैला मच्चिएको थियो । कोही रुन थालेका थिए भने कोही आत्तिएर चिच्याइरहेका थिए । भुइँघर हुनेहरू सामान पोको पारेर दुई तला भएको छिमेकीको घरमा सर्दै थिए । ससाना केटाकेटीहरू डराएर रोइरहेका थिए भने वृद्ध हजुरबाहजुरआमा पनि आत्तिरहनुभएको थियो । ठूलाठूला दाइ, दिदी र अंकलहरू भने घरका सामान, बाख्रा, कुखुरा र मान्छेहरूलाई सुरक्षित स्थानतर्फ सारिरहनु भएको थियो । यसरी सामान सारिरहँदा उहाँहरूको कम्मरसम्म पानी थियो भने आकाशबाट पनि पानी परिरहेको थियो । माथिको झ्यालबाट यो सबै गतिविधिहरू हेरिरहँदा मलाई सपनाजस्तो लागेको थियो ।
बाढीको चर्तिकलाहेर्दाहेर्दै घरभित्र पानीको सतह बढ्दै गयो । परपरबाट बाढीले जब सामानहरू, गाई, भैँसी, भाँडा, दराज बगाएर ल्याउन थाल्यो अनि म अति डराएँ । म रुन थालें । बाढीले हामीलाई पनि बगाएर लैजान्छ जस्तो लाग्यो । हाम्रो घरबाट पनि तलको खाट, कुर्सी र बेन्च बगाएर लगिसकेको थियो । बिस्तारै रात पर्दै थियो । पानी झन् जोडजोडले दर्किरहेको थियो । बुबाले मलाई काखमा राखेर सम्झाउनुभयो । हामीलाई केही हुँदैन नडराऊ । तलको झ्यालढोका सबै खुला छ । पानी त्यहीँबाट सलल बगेर जान्छ घरलाई केही हुँदैन । बुबाले मलाई बाहिर नहेर भन्नुभयो । बाहिरको दृश्य कहालीलाग्दो थियो । त्यसैले म पाठापाठीलाई अँगालो मारेर आमाको काखमा सुतेँ ।
म उठ्दा भोलिपल्ट बिहान भइसकेको रहेछ । बाढी स्वाट्टै घटेको रहेछ । घरभित्र देखि जताततै हिलो माटो थुप्रिएको थियो । गाईवस्तु केही बगाएर लगेको थियो भने केही हिलैहिलै भएर उभिइरहेका देखिन्थे । हरियाली कतै थिएन । जताततै हिलो माटो मात्र थियो । हिँडडुल गर्नका लागि कतै पनि बाटो थिएन । छिमेकीहरू उदास र चिन्तित देखिन्थे । हिजोअस्तिको त्यति सुन्दर गाउँ अहिले हिलैहिलो थुप्रिएको बगरजस्तो भएको थियो । तैपनि, हामी बाँच्यौँ भनेर हाम्रो मन खुसी थियो । मैले त्यतिबेला बल्ल थाहा पाएँ कि – यति उपयोगी र हितकारी पानी पनि कति सारो विनाशकारी बन्न सक्दोरहेछ । अहिले पनि धेरै दिनसम्म पानी प¥यो भने मलाई ती दिनहरूको याद आउँछ र भित्रैदेखि डर लाग्न थाल्छ ।
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्।
भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।
त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।
यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।
उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।
वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।
शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।
लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।