टोड्के
१३ साउन २०७७
•
१२ मिनेट पाठ
टोड्के
म्याग्दी जिल्लाको पहाडी थुम्को टोड्केबाट देखिएको धौलागिरि हिमसृङ्खला। तस्बिर: अमृत भादगाउँले
म्याग्दीको एउटा सुन्दर पहाडी थुम्को (२,४०० मिटर)। प्रकृति र अध्यात्मको दोभान। शान्त वातावरण, दूधे हिमाल र शीतल हावा। मोहितै तुल्याउने सौन्दर्य। डाँडाबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्। बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुन्छ। बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीले अति राम्रा देखिन्छन् हिमालहरू।  

टोड्केको रोमान्टिक वातावरणमा तन र मन रिचार्ज हुन्छ। ऊर्जा बढ्छ। हिमाली  मुस्कान, चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ। बर्सात्मा भुइँकुहिरोले लुकामारी खेल्छ। जमिन भुइँफूलले रंगीन बन्छ। पुस–माघमा सेताम्मे हिउँ पर्छ। फागुन–चैतमा लालीगुराँसको बैंस चढ्छ। त्यतिबेला मन उज्यालो बन्छ।    

टोड्केलाई योग र ध्यान केन्द्रका रूपमा विकास गर्न सकिन्छ। आध्यात्मिक हिसाबले टोड्के क्षेत्रको ठूलो महत्व छ। पुराणहरूमा कालाञ्जर पर्वतको वर्णन पाइन्छ। टोड्के पनि कालाञ्जर क्षेत्रमै पर्छ। स्वर्गद्वारी महाप्रभु लगायत धेरैले यहाँ तपस्या गरेका थिए। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ। 

म्याग्दी सदरमुकाम बेनी बजार मास्तिरको सुन्दर पहाडी थुम्को ‘टोड्के’ प्रकृति र अध्यात्मको दोभान हो। डाँडामा बसेर धौलागिरि हिमालसँग आँखा जुधाउँदा तन र मनमा ऊर्जा भरिन्छ। त्यसैले मनसुन सकिएपछि टोड्के यात्रा गर्ने कि ! 
बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगममा पर्छ टोड्के। टोड्के डाँडाको काखमा सुन्दर गाउँहरू छन्। पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिणपश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन्। मगर बाहुल्य गाउँमा होमस्टे सुविधा पाइन्छ।  

पहिलापहिला टोड्केमा झीँ र पूर्णगाउँको गाईगोठ राखिन्थ्यो। आलु र मुला खेती गरिन्थ्यो। डाँडाको नाम टोड्के रहनुमा एउटा कथा छ। टोड्केको अर्थ प्वाल हो। जंगलमा ५० मिटर लामो सुरुङ छ। त्यो प्वालमा गाईवस्तु अड्किन्थे। तिनलाई बाघभालुले खाइदिन्थे। गाउँलेले टोड्को भएको ठाउँ भन्दाभन्दै ठाउँकै नाम टोड्के रहन गयो।  

डाँडामा दुई रात बसेर रमाउन सकिन्छ। मधुमास मनाउन टोड्के उत्तम गन्तव्य बन्न सक्छ। त्यसैले डाँडालाई ‘हनिमुन डेस्टिनेशन’का रूपमा ब्राण्डिङ गर्ने कि? टोड्के आफैंमा रोमाञ्चक गन्तव्य हो। आज यहाँ एउटा रिसोर्ट खुलेको छ। भोलि अरू पनि खुल्नेछन्। टोड्केको पर्यटन विकाससँगै वरपरका गाउँको पनि कायाकल्प हुनेछ। त्यसैले बेनीदेखि टोड्के जोड्ने सडक कालोपत्रे गरिहाल्नुपर्ने देखिन्छ।  

शिवालय  

टोड्केको थाप्लोमा तपोवन शिवालय संन्यास आश्रम छ। आश्रममा मन्दिर, गाईगोठ र सन्त निवास छन्। यहाँ नित्य शिव पाञ्चायनको पूजा गरिन्छ। शिवलिंग, त्रिशूल, खराउ लगायतलाई पूजिन्छ। शिवालयमा साउन महिनामा गाउँलेले रुद्री पूजा लगाउँछन्। राम नवमीमा हवन गरिन्छ।  

शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो। यहाँको खराउ स्वर्गद्वारी महाप्रभुको भएको मानिन्छ। विसं १९१६ मा रोल्पाको रुम्टीमा जन्मेका महाप्रभु २० वर्षको उमेरमा जन्मस्थलबाट हराए। विभिन्न ठाउँमा ध्यान र तपस्यामा बसेर उनी ३५ वर्षको उमेरमा गाउँ फर्के। त्यो बीचमा टोड्केमा बसेर उनले साधना गरेका थिए।  

विसं १९६० को दशकदेखि टोड्केमा महाप्रभुका शिष्यले योग तथा ध्यान गर्दै आएका छन्। यहाँ विसं १९७० को दशकबाट महात्माहरू स्थायी रूपमा बस्न थालेका हुन्। महाप्रभुका शिष्य थन्थापे महाराज (महेश्वरानन्द गिरि) र त्रिशूली महाराज (परमानन्द गिरि)को तपस्थल पनि टोड्के हो। तिनै थन्थापेले विसं १९७० को दशकमा कुटी र शिवालय स्थापना गरेका। शिवालयका नाउँमा १५ रोपनी जमिन छ।  

स्वर्गद्वारी आश्रमका आध्यात्मिक चिन्तक ध्रुुवश्रीका अनुसार टोड्केमा मन्दिर बनाउने योजना छ। अनि त्यहाँ महाप्रभु र उनका दुई शिष्यहरू पूजारी महाराज र रखाल महाराजका मूर्ति पनि राखिनेछ। दुवै शिष्य स्वर्गद्वारी महाप्रभु समान सिद्ध थिए। उनलाई थन्थापे र त्रिशूली महाराजले पनि गुरुतुल्य मान्थे। हाल आश्रममा एक बाबा र उनका सहयोगी बस्छन्। गाई पनि पालिएको छ।  

जीवनशैली  

टोड्के क्षेत्रमा ग्रामीण सौन्दर्यको सुवास पाइन्छ। गाउँहरूमा मगर, क्षेत्री, बाहुन र दलित समुदायको संस्कृति पाइन्छ। गाउँको जीवनशैली कृषिकर्म र पशुपालनमा केन्द्रित छ। ढुंगा, माटो र काठबाट बनेका परम्परागत शैलीका घर छन्। कतैकतै घुमाउने घर पनि देखिन्छ।  

गाउँहरूमा जौ, उवा, कोदो, मकै, आलु र सागसब्जी उत्पादन गरिन्छ। गाउँमा गाइभैंसी दुहेको, ठेकीमा मोही पारेको, खेतीपाती गरेको, ढिकीजाँतो चलाएको, डोको, स्याखु, भकारी र नाम्ला बुनेको, भेडाबाख्रा पालन गरेको, ठेकी बुनेको, मौरीपालन गरेको, भांग्रा र झोला बुनेको दृश्य सामान्य हुन्।  

गाउँलेहरू आत्मीय छन्। पाहुनाको सत्कार गर्छन्। धूमधामसँग चाडपर्व मनाउँछन्। उनीहरूले परम्परागत नाचगान संरक्षण गरेका छन्।  

पुख्र्यौली

टोड्के क्षेत्रका मगरको आफ्नै संस्कृति छ। उनीहरूको पुख्र्यौली (सोरठी) नाचले जीवनशैली, संस्कार र संस्कृति झल्काउँछ। यस लोकनाचमा मादल र झ्याली बाजा बजाइन्छ। पुरुष नै महिलाको भेषमा हुन्छन्। महिलाको भेषमा नाच्नेलाई ‘मारुनी’ भनिन्छ भने मादल बजाउनेलाई ‘मादले’।

रमाइलो गर्न पुख्र्यौली नाचिन्छ। खासमा पुख्र्यौली नाचमा गाइने गीतले मगर सभ्यताको अलिखित इतिहास बोकेको हुन्छ। यसमा राजारानी, करबाकेली बाबा, पुर्खाहरू, जीवनशैली, प्राचीन गाउँ, वनजंगल, खोलानाला, पशुपन्छी, वन्यजन्तु आदिको वर्णन गरिन्छ।  

विवाह, व्रतबन्ध, भोजभतेर, भूमे पूजा आदिमा पुख्र्यौली नाच्ने चलन छ। अचेल पाहुनाको माग अनुसार टोड्केका काखमा रहेका गाउँ र टोड्के हिल रिसोर्टमा पुख्र्यौली नाच देखाइन्छ।  

टोड्के ट्रेल

बेनीबाट हिँडेर टोड्के पुग्ने पदमार्गलाई ‘टोड्के टे«ल’ भनिन्छ। बेनीको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के पुगिन्छ। स्थानीय पथप्रदर्शकको सहयोगमा पदयात्रा गर्नु बुद्धिमानी हुनेछ। बेनी–टोड्के १४ किमि पदयात्रा गर्न करीब ८ घन्टा लाग्छ।  

पदमार्ग क्षेत्रको पुलाश्रममा शिवालय छन्। पुलाश्रम लंकापति रावणको जन्मथलो मानिन्छ। रामायणअनुसार पुलस्त्य ऋषिका नाति हुन्, रावण। पुलस्त्यले यहाँ तपस्या गरेका थिए। उनले रावणसहित नाति–नातिना विभीषण, कुम्भकर्ण र शुपर्णखालाई यहीँको आश्रममा हुर्काए। उनीहरू आश्रम क्षेत्रमै जन्मेको विश्वास गरिन्छ।  

पुलाश्रम मास्तिर घतान छ। घतानमाथि ढोलथान। ढोलथान चौबिसे राज्य पर्वत राज्यको बर्से राजधानी थियो। हाल यहाँ दरबारका भग्नावशेष छन्। ढोलथानमा ठकुरी बस्ती पनि छ। ढोलथानबाट हिमालको दृश्य पनि देखिन्छ।  

ढोलथान मास्तिर केभहिल छ। केभहिल हिमाली सौन्दर्यका लागि प्रख्यात छ। यहाँ भ्यूटावर बनाइएको छ। केभहिलको काखमा शिखर शैलीको आकर्षक जगन्नाथ मन्दिर छ।  

केभहिलभन्दा माथि ४ घन्टाको बाटोमा वस्ती छैन। त्यसैले आवश्यक खाना बोकेर हिँड्नुपर्छ। चराको चिर्बिर र जंगली जनावरको आवाज सुन्दै गुराँसे जंगल छिचोल्दै टोड्के पुग्दा आनन्द मिल्छ।  

मालिकाधुरी  

मालिकाधुरी (३,३५० मिटर)मा एउटै थुम्कोमा त्रिदेवीको बास छ–मालिका, कालिका र जालिकाको। त्रिदेवीको दर्शनले मनोकांक्षा पूरा हुन्छ। गणेशको पूजापछि क्रमशः कालिका, मालिका र जालिका(जाल्पादेवी)को पूजा गरिन्छ। मालिकालाई सम्झेर जे भाकल ग¥यो त्यो पूरा हुन्छ। कोही वैदेशिक रोजगारीमा जान पाइयोस् भनेर भाक्छन्। धेरैजसो सन्तान प्राप्ति, समृद्धि र निरोगीताको कामना गर्छन्। उनीहरू भाकल पूरा भएपछि मन्दिरमा पुग्छन्।  

मालिकामा वर्षका तीन पटक वैशाखे पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकामा मेला लाग्छ। हजारौं भक्तजन मेला भर्छन् । तीर्थालुहरू कालिकालाई बोका, परेवा, पाठी र नरिवल चढाउँछन्। मालिका र जालिकालाई ध्वजा, अक्षता र धूपबत्ती चढाउँछन्।

मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ। कथा अनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो। कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ। एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।  

मालिका गाउँपालिका–७, म्याग्दीमा पर्छ मालिकाधुरी। यस क्षेत्रको विकासमा मालिका क्षेत्र विकास समिति क्रियाशील छ। यस पावन भूमिबाट हिमालको सुन्दर दृश्य पनि देखिन्छ। चुरेन, धौलागिरि, अन्नपूर्णदेखि कुमारी माछापुच्छ्रे हिमालसम्मको लर्कन देख्दा मनमा ऊर्जा बढ्छ।    

टोड्केबाट मालिकाधुरीको पदयात्रा रोचक बन्छ। पदयात्रा दूरी ९ किमि मात्र हो, उकालो भएकाले मालिका पुग्न ६ घन्टा लाग्छ। टोड्के मास्तिर मालिकासम्म कुनै वस्ती छैन। त्यसैले आवश्यक पानी र खानेकुरा बोकेर पदयात्रा गर्नुपर्छ। मालिका पुगेर टोड्के फर्कन ५ घन्टा लाग्छ। मालिकाबाट अर्कोतिर विम गाउँसम्म पनि पदयात्रा गर्न सकिन्छ, त्यहाँ पुग्न पनि ५ घन्टा नै लाग्छ।  

तातोपानी कुण्ड  

बेनी बजारबाट ९ किमि पश्चिम म्याग्दी खोलाको किनारमा सिंगा तातोपानी कुण्ड छ। प्राकृतिक कुण्डमा पानीको तापक्रम ४५ देखि ४८ डिग्रीसम्म हुन्छ। पानीको मूलमा चाहिँ ५४ देखि ५७ डिग्री सेल्सियससम्म हुन्छ।  

तातोपानीमा हुने गन्धक एन्टिबायोटिक मानिन्छ। यस्तो कुण्डमा डुबुल्की मार्दा  श्वासप्रश्वास, रक्तसञ्चार र नसाको चाल सजिलो हुन्छ। विशेषतः ग्यास्टिक, ढाडको दुखाइ, बाथ, नसा च्यापिएको र चोटपटकको दुखाइमा आराम मिल्छ।   

मंसिरदेखि चैतसम्म तातोपानी कुण्डमा मेला लाग्छ। त्यहाँ दुइटा कुण्ड छन्। ठूलोमा ३०० जना अटाउँछन् भने सानोमा २० जना। तातोपानीमा घाँटीसम्म मात्र डुबाउनुपर्छ। टाउको डुबाउनु हुन्न। अर्को कुरा, क्षयरोगी, जन्डिस, ब्लड प्रेसर हाइ र महिनावारी भएकाले डुब्नु हुँदैन।

खाना र बासका लागि तातोपानी क्षेत्रमा होटल र होमस्टे सुविधा छ ।  

गलेश्वरधाम  

कालीगण्डकी किनारको गलेश्वरधाम श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ। कथाअनुसार श्रीमहादेवले मृत सतीदेवीलाई बोकेर कालीगण्डकी किनारैकिनार हिमालय पर्वततिर जाँदा उनको गला पतन भएको ठाउँमा ज्योर्तिलिंगेश्वर महादेव उत्पन्न भए। सतीदेवीको गला पतन भएर महादेव उत्पन्न भएकाले गलेश्वर भनिएको। कालीगण्डकी नदीमा नुहाएर गलेश्वरको दर्शन गरेमा मोक्ष प्राप्त हुने हिन्दू समुदायको विश्वास छ।  

अचम्मको कुरा, नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै गोलाकार चक्रशिलामा गलेश्वर मन्दिर छ। प्यागोडा शैलीको शिवालयमा दुइटा छाना छन्। मन्दिरभित्र प्राकृतिक शिवलिंग, त्रिशूल, घण्ट आदि छन्। बाहिर चक्रशिलामाथि लक्ष्मी–नारायण, पाञ्चायन, १०८ शिवलिंग, यज्ञमण्डप, बुढानिलकण्ठ, हवनकुण्ड, राधाकृष्ण, जडभरतका मूर्ति लगायत मठमन्दिर छन्।  

शिवालय क्षेत्र ६० रोपनीमा फैलिएको छ। यहाँ वृद्धाश्रम, धर्मशाला, पाहुनाघर, संस्कृत विद्यालय, गौशाला, पुस्तकालय, बगैंचा लगायत सम्पदा छन्। गलेश्वरधामको व्यवस्थापन गलेश्वर शिवालय क्षेत्र विकास कोषले गर्दै आएको छ।  

यहाँ वर्षैभरि रुद्राभिषेक, पाठपूजा, भाकलअनुसारका यज्ञ गरिन्छ। विशेषत ः साउने सोमबार, बालाचर्तुदशी र महाशिवरात्रिमा भव्य मेला लाग्छ। गलेश्वर दर्शन गरेर मुक्तिनाथ जाने चलन छ। बेनी बजारबाट ३ किमि उत्तर मुक्तिनाथ जाने सडकसँगै गलेश्वरधाम छ।  

बेनी बजार

बेनी बजार म्याग्दी जिल्लाको सदरमुकाम हो। कालीगण्डकी नदी र म्याग्दी खोलाको किनारमा उत्तरपश्चिम फैलिएको छ बेनी बजार। मिश्रित जातिको साझा फूलबारी बेनीमा क्षेत्री, मगर, नेवार, छन्त्याल, बाहुन, विक, थकाली लगायत जातजातिको बसोबास छ।  

बेनी आफैंमा पर्यटकीय गन्तव्य हो। बेनी नगरपालिका क्षेत्रमा ढोलथान, कोट भण्डार, सिंगा तातोपानी कुण्ड, ज्यामरुककोट, हिमाली सौन्दर्य, केभहिल, लभ्लीहिल, टोड्के लगायत सम्पदा छन्। धार्मिक सम्पदाहरूमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, महारानी थान, बेनी चैत्य, नवदुर्गा मन्दिर, भद्रिवम शिवालय, पुलत्स्य पुलाश्रम र लक्ष्मीनारायण मन्दिर लगायत छन्।    

बेनी बजार मुक्तिनाथ, लो–मन्थाङ, धौलागिरि पदमार्ग, ढोरपाटन, गुर्जा पदमार्ग, खोप्रा पदमार्ग र गुरिल्ला पदमार्गको प्रवेशद्वार पनि हो। बजारमा पर्यटकीय सुविधाका होटल तथा रेष्टुराँ छन्।  

कोसेली

कतै घुमेर फर्कनुअघि परिवार र इष्टमित्रका लागि कोसेली किन्नुपर्छ। मुला र आलुका लागि टोड्के प्रख्यात छ। टोड्केहिल रिसोर्ट र बेनी बजारमा अर्गानिक परिकार र हस्तकलाका सामाग्री पाइन्छ। त्यहाँ फापर, कोदो र मकैको पीठो, सिमी, मास, भटमास, बोडी, मुरली मकै लगायत गेडागुडी पाइन्छ। त्यस्तै टिम्मुर, भाँगो, मह, स्याउको जुस, ब्राण्डी, स्याउ, ओखर, स्याउको सुकुटी, गुन्द्रुक, च्याउको सुकुटी, चुक अमिलो, तोरीको तेल, जिम्बु, बेसार, सातु, बदाम पनि पाइन्छ। साथै अल्लोबाट बनेका कपडा पनि किन्न सकिन्छ।  

टोड्केहिल रिसोर्ट  

डाँडामा सामुदायिक हिसाबले एउटा ‘टोड्केहिल रिसोर्ट’ संचालित छ। रिसोर्टका तीन दर्जनभन्दा बढी शेयर होल्डर छन्। छ रोपनी जमिनमा खोलिएको रिसोर्टमा अट्याच बाथरुम सहितका १० कोठा र केही टेन्ट सुविधा छ। एकैपटक ६० जनासम्म बास बस्न सक्छन्। सेमिनार हलको पनि सुविधा छ। रिसोर्टले अर्गानिक तरकारी आफैं उत्पादन गर्छ। यहाँको रेष्टुराँमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ। रिसोर्टले २ रात ३ दिनका विभिन्न प्याकेज बनाएको छ–हनिमुन प्याकेज, फ्यामिली प्याकेज, कर्पोरेट प्याकेज र एजुकेशनल प्याकेज। प्याकेज किन्नेलाई उसले बेनी बजारबाट टोड्केसम्म निःशुल्क यातायात सुविधा दिन्छ।  

कसरी पुग्ने ?

काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट। पोखरा–बेनी ८२ किमि, बसमा ३ घन्टा। बेनीबाट टोड्केसम्म पदयात्रा गर्न ८ घन्टा लाग्छ। बेनी बजारको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के १४ किमि। केभहिलभन्दा माथि ४ घन्टा पदयात्रामा कुनै वस्ती छैन। बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन्। सडक मार्गबाट जीप तथा मोटरबाइकमा पुग्न सकिन्छ, जीपमा डेढदेखि दुई घन्टा लाग्छ।  

रुट १–बेनी, अर्थुङे, झीँ गाउँ हुँदै टोड्के १९ किमि।  

रुट २– बेनी, अर्थुङे, पात्लेखेत, वाखेत गाउँ हुँदै टोड्के १५ किमि।  

रुट ३–बेनी, अर्थुङे,, पुलाचौर, डढुवा, पूर्णगाउँ हुँदै टोड्के १४ किमि।  

रुट ४–बेनी, सिम, कुहुँ गाउँ हुँदै टोड्के २९ किमि।  

रुट ५–बेनी, गलेश्वर, पात्लेखेत, वाखेत, टोड्के १९ किमि।  

सम्पर्क  

राजेश शाक्य–९८५७६२४६०१

भिम शेरचन–९८५१०२३०३२

दिनेशनारायण श्रेष्ठ–९८४१२१२४९७

अर्को समाचार
नयाँ पर्यटकीय गन्तव्यः टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्ग
०६ पौष २०८१
•
६ मिनेट पाठ
नयाँ पर्यटकीय गन्तव्यः टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्ग
कालीगण्डकी नदीको तीरदेखि धौलागिरिको शिरसम्मको भूगोलमा फैलिएको म्याग्दी पर्यटन विकासका अथाह सम्भावनाले भरिपूर्ण छ। हिमाल, पहाड र वेशीको विविधतायुक्त विशाल भूगोलमा रहेका अनगिन्ती सुन्दर दृष्यहरु म्याग्दीका चिनारी हुन्। जिल्लाका चर्चित पर्यटकीय गन्तव्यहरुमध्ये उदाउँदो पर्यटकीय गन्तव्य हो, टोड्के–धौलागिरी पदमार्ग।

रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्र समेटिएको टोड्के हिमशृङ्खला र मनोरम प्राकृतिक दृष्य अवलोकनका लागि चर्चित गन्तव्यको रुपमा परिचित छ।

अग्लो डाँडामा रहेको टोड्केबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। टोड्केलाई केन्द्रविन्दु बनाएर पहिचान गरिएको सातदेखि १० दिनसम्मको पदयात्रा ‘टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्ग’ म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र रघुगङ्गा गाउँपालिकासँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले गत वर्ष अध्ययन अनुसन्धान गरेको यस पदमार्गमा धार्मिक, ऐतिहासिक र नयाँ पर्यटकीय गन्तव्य तथा मगर, छन्त्याल लगायतका जातजातिका परम्परागत गाउँ बस्तीहरुलाई समेटिएको छ।

पछिल्लो समय सडक सञ्जालको पहुँचले परम्परागत पदमार्गहरु मासिएको र पदयात्रा गराउने नयाँ पर्यटकीय गन्तव्यको खोजी भइरहेको सन्दर्भमा यो पदमार्ग लामो र छोटो दुवै विकल्पका लागि उपयुक्त रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।

“पहिलेका अधिकांश पर्यटकीय गन्तव्यमा सडक सञ्जालले जोडिन थालेका छन्, क्याम्पिङ टुरिजम हराएर जाने अवस्थातिर धकेलिएको छ, यस्तो अवस्थामा नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी र अनुसन्धान गरिनुपर्छ, टोड्केदेखि धौलागिरि आधार शिविर हुँदै लेते निस्कने यो पदमार्ग म्याग्दीका लागि सम्भावनायुक्त छ’’, उनले भने।

पछिल्लो समय चर्चित बनेको पर्यटकीयस्थल टोड्केबाट धौलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गको पहिचान गरिएको छ। टोड्केदेखि मालिकाधुरी, ठाडाखानी, कुइनेखानी, चौरखानी, घ्यासीखर्क हुँदै धौलागिरि हिमालको दक्षिणी आधार शिविर भएर कालीबराह ताल, सोबाङ धुरी हुँदै मुस्ताङको लेते जोड्ने गरी टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्गको पहिचान गरिएको हो।

डाँडाकाँडाको यात्रा र हिमालको दृष्य नियाल्न मात्रै होइन नेपाली परम्परागत ग्रामीण जीवनशैलीको अध्ययन र अवलोकनका लागि पनि टोड्के–धौलागिरि पानोरमा पदमार्ग उत्कृष्ट मानिएको छ। मगर, छन्त्याल, दलितलगायतका जातजातिको बसोबास रहेको यस पदमार्गमा पर्ने गाउँबस्तीको मौलिक भू–वनोट र चिटिक्क मिलेका ढुङ्गेघरका लस्कर पर्यटकलाई लोभ्याउने प्राचीन कलाकृति मानिन्छन्। हिमालको आँगनमा मिलेका गाउँबस्ती परम्परागत जीवनशैलिको अध्ययन गर्ने थलोको रुपमा छन्।

मनोरम टोड्के

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित टोड्के सूर्योदय, हिमाल र ग्रामीण भूगोलको अवलोकनका लागि उत्तम मानिन्छ। मिर्मिरको उज्यालोसँगै चम्किला किरण छर्दै आउने सूर्योदयको दृष्यले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ। आँखै अगाडिका हिमालमा सूर्योदयका किरणले भर्ने चमकले फुरुङ्ग हुने पर्यटक अग्लो डाँडाबाट फन्को मारेर विविधतायुक्त ग्रामीण गाउँबस्तीको भूगोललाई नियाल्दा उत्साहित हुने गर्छन्।

गुराँसे जङ्गलले घेरिएको टोड्के छोटो दुरीमा पुग्न सकिने प्रख्यात पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ। थरिथरिका गुराँस फुल्ने यो क्षेत्रमा हिउँदयाममा हिउँमा खेलेर रमाउन पर्यटक उक्लिने गर्छन्। टोड्केमा उत्पादन हुने मुला, आलु र सिमीको स्वाद पर्यटकको रोजाइमा पर्छ।

पर्यटकीय सम्भावनाले मात्रै धार्मिक दृष्टिकोणमा यो ठाउँ उत्तिकै महत्वपूर्ण मानिन्छ। यहाँ स्वर्गद्धारी शाखा आश्रम निर्माण गरिएको छ। प्यूठानमा अवस्थित स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको कारण यस शाखा आश्रममा साधु सन्त र तस्बिरले ध्यान र पुजापाठ गर्दै आएका छन्।

मङ्गला गाउँपालिको पूर्णगाउँ र कुहुँ, रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतबाट सहजै पुग्न सकिने टोड्केमा पर्यटकहरुको खाना र बसोबास सुविधाका लागि निजी क्षेत्रबाट टोड्के हिल रिसोर्ट सञ्चालनमा आएको छ। रिसोर्ट सञ्चालनमा आएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको आगमन बढेको रिसोर्टका सञ्चालक भिम शेरचनले बताए।

“पहिले यहाँ खाजा खाने ठाउँ थिएन, पर्यटकहरु आफैँ खाना खाजा लिएर आउने गर्थे, रिसोर्ट सञ्चालनमा आएपछि सवारी साधनबाट समूहमा घुम्न आउनेहरु बढेका छन्”, उनले भने। टोड्के जाने मुख्य मार्गमा समेटिएका झिँ र पूर्णगाउँमा होमस्टे सञ्चालनमा रहेका छन्। 

मनमोहक मालिका धुरी

यस पदमार्गमा मालिका धुरी अर्को मुख्य गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा रहेको मालिका धुरी रमणीय दृष्यको अवलोकनको लागि प्रख्यात छ। मालीका गाउँपालिका–७ र रघुगङ्गा गाउँपालिका–६ को सीमा क्षेत्रको पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीबाट वरिपरि हिमाल नियाल्दा मनै फुरुङ्ग बनाउँछ।

यहाँको मनमोहकताले उकालो र जङ्गलको थकान भुलाइ दिने गर्छ। मन्दिर परिसरबाट आँखै अगाडि ठोक्किन आउने हिमालको लस्कर नियाल्दा खुसी, आनन्द र गौरवको महसुस गराउँछ। मालिकाधुरीबाट सूर्योदयको दृष्य मनमोहक देखिन्छ। धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङ्खलालाई मालिका धुरीबाट एकैसाथ अवलोकन गर्न सकिन्छ।

प्राकृतिक सुन्दरताले प्रख्यात मालिका धुरी धार्मिक रुपमा महिमा बोकेको ठाउँ हो। यहाँ निर्माण गरिएको मालिकाको थानमा कालिका, मालिका र जालपादेवीको मूर्ति राखिएका छन्। मलिकाको पूजाआजा र भाकल गरेमा सन्तान, अध्ययन, रोजगारीलगायत मनोकाङ्क्षा पूरा हुने भएकाले चण्डी पूर्णिमा, भाइटिका, जेष्ठी पूर्णिमा र बालाचर्तुदशी पर्वमा भक्तजनहरुको भीड लाग्ने गर्छ।

यहाँ म्याग्दीका मात्रै नभएर पर्वत, बागलुङ, कास्की, काठमाडौँलगायत स्थानबाट बर्सेनि हजारौँ भक्तजनको आगमन हुने गरेको छ। विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलीको विकल्पमा नरिवल चढाउने चलन बसाइएको छ।  

यसरी पूरा हुन्छ पदयात्रा 

टोड्केबाट मालिका धुरी–ठाडाखानी–कुइनेखानी–चौरखानीतर्फ भएर घ्यासीखर्क पुगेपछि यस पदमार्गमा मानव बसोबास रहेका गाउँबस्ती सकिन्छन्। यस पदमार्गले समेटिएको चिमखोलाको सेतिनी भ्यालीमा होटल सुविधा भए त्यहाँदेखि अगाडिको यात्रा भने क्याम्पिङ बन्दोबस्तको तय गर्नुपर्छ।

टोड्के–धौलागिरि पानोरमा, धौलागिरि सेञ्चुरी र धौलागिरि आइसफल गरी तीन वटै पदमार्गले समेटिएको सेतिनी भ्यालीबाट नेपाली पर्यटक एक दिन र विदेशी पर्यटक दुई दिनकै यात्रामा धौलागिरि हिमालको दक्षिणी आधार शिविर पुग्न सकिन्छ। रघुगङ्गा नदीको किनारै किनार, वनजङ्गल, भीर पहाड र भञ्ज्याङ हुँदै निर्माण भएको यस पदमार्गको यात्रा साहसिक र रमणीय मानिन्छ।

हिमालसँगै नदीनाला, खोला, झरना, ताल तलैयाकोे अवलोकन गर्न सकिन्छ। आधार शिविर नजिकैसम्म ग्लेसियरको सामाना गर्न नपर्ने भएकाले अन्य आधार शिविरको तुलनामा यो आधार शिविर पर्यटकको बसोबासका लागि सुरक्षित र कम जोखिमपूर्ण मानिन्छ। आधार शिविरमा रहेको निली बराह ताल र पदमार्गका ठाउँठाउँमा रहेका सेतीबराह, कालीबराह, लाटीबराहलगायतका ताल, तलैया पर्यटकका थप आकर्षण हुन।

कालीबराह हुँदै मुस्ताङको लेते जोडिएको यो पदमार्ग एक सातादेखि १० दिनको पदयात्रामा पूरा गर्न सकिन्छ। यस पदमार्गको अध्ययन, खोज र अनुसन्धान भएकलाले नक्साङ्कनसहित पर्यटन पूर्वाधार बनाउन प्रदेश र सङ्घीय सरकारमा पहल थालिएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा विश्वको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुन सम्भावना रहेको उनको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस