'चीन अहिले नै लगानी गर्न चाहन्छ'
०८ साउन २०६९
•
२६ मिनेट पाठ
'चीन अहिले नै लगानी गर्न चाहन्छ'
जनस्वास्थ्यविज्ञ डा. महेश मास्के नेपाली राजदूत भएर चीन बसेको छ महिना नाघेको छ। नेपालमा उत्तरी छिमेकीको बढ्दो चासो, दुई देशबीच लगानी, पर्यटन र व्यापार प्रवर्द्धन तथा चीनको विकास मोडेलमा केन्द्रीत रहेर नागरिकका पूर्ण बस्नेतले मास्केसँग हालै बेइजिङमा गरेको वार्ताः




चिनिया नेताहरूले काठमाडौँ पुगेरै नेपालको बदलिँदो राजनीतिबारे चासो राख्न थालेका छन्, बेइजिङमा पनि त्यस्तो अनुभूती हुन्छ?
औपचारिक रुपमा त्यस्तो अनुभूती गरेका छैनौँ। संविधानसभा विघटनपछि पनि चीनको मित्रवत व्यावहारमा कमी आएको छैन। नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप नगर्ने चीनको चीरस्थाई नीति नै हो। एउटा देशको जीवनमा यस्तो उतारचढाव आइरहन्छ, नेपाल आफै त्यसलाई सामना गर्न सक्षम छ भन्ने उनीहरूको धारणा छ। चीन नेपालको शान्ति प्रक्रियाको सन्दर्भमा दूरगामी सोचाई राख्ने मित्रको रुपमा चिनिन चाहन्छ। असल छिमेकी मुलुकको नाताले आवश्यक सहयोग गर्न तयार छौँ भन्छन्।
कस्तो सहयोग?
नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा चीनले निरन्तर सहयोग गरिरहेको छ। चिनिया प्रधानमन्त्री वेन जियावाओले नेपाल भ्रमणको क्रममा विशेष सहयोग पनि घोषणा गरे। नेपाल संक्रमणकालमै रहेको बेला थ्री गोर्जेजसँग पश्चिम सेती जलविद्युत परियोजनामा सम्झौता हुनु नेपालको रुपान्तरणमा चीनको प्रतिवद्धताको एउटा उदाहरण हो। राजनीतिक अन्योल र अस्थिरताबीच पनि चीनले नेपालमा धेरै लगानी गर्न खोजेको छ। पर्यटन र व्यापारमा चीनको आकर्षण बढिरहेको छ।
पर्यटनमा आकर्षण कसरी?
चिनिया पर्यटक नेपालमा जसरी बढिरहेका छन् त्यसले नेपालप्रति चीनको आकषर्णलाई प्रतिविम्वित गर्छ। नेपालको प्राकृतिक सौन्दर्य हेर्ने र बुद्ध जन्मस्थल लुम्बिनी जान चाहने चिनिया पर्यटकको संख्या बढिरहेको छ। बुद्ध भारतमा जन्मेका थिए भन्ने भ्रम अहिले चीनमा धेरै हटिसकेको छ। बुद्ध पूर्णिमाको दिन हामीले दूताबासमै कार्यक्रम गरी लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक थालनी गर्‍यौँ। बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने हाम्रो प्रचार अभियानलाई चिनिया मिडियाले राम्रो साथ दिएका छन्।
नेपाल चीन मैत्री भ्रमण वर्ष, लुम्बिनी भ्रमण वर्ष र नेपाल लगानी वर्ष तीन वटै कार्यक्रम चीनसँग सम्बन्धित छन्, कस्तो भइरहेको छ प्रगती?
दूतावासको स्रोत साधनले भ्याएसम्म प्रयत्न गरिरहेका छौँ। तर थपिएका विशेष कार्यक्रम अनुसार बजेट र जनशक्ति नहुँदा अप्ठेरो चाहीँ छ। स्रोत नभएपछि चीनमै आर्थिक सहयोगीहरू खोजेर काम चलाउनु पर्ने बाध्यतामा छौँ। तर जति सहयोगी खोज्न सक्यो त्यति गतिविधि हुने, नत्र नहुने अवस्थामा दूतावास पुग्नु राम्रो होइन। बेइजिङ र सांघाईबाट मात्र यसवर्ष करिब दश करोड रुपैयाँ राजश्व संकलन गरेर पठाउँदैछौँ। दूतावासहरूले जति राजश्व संकलन गर्छन् त्यसको दश प्रतिशत कार्यक्रमका लागि छुट्याइदिने नियम बनाइयोस् भनेर मन्त्रालयलाई औपचारिक अनुरोध गरेका छौँ। त्यो रकम तलब भत्तामा होइन, कार्यक्रममा खर्च गरेपछि राजश्व झन् बढ्दै जान्छ। हामीले संकलन गरेको राजस्वबाट कार्यक्रममा एक करोड लगानी गर्न सक्ने हो भने अर्को वर्ष १४-१५ करोड राजश्व संकलन हुनसक्छ। राम्रो गर्न सक्यो भने कार्यक्रमका लागि थप बजेट आउँछ भन्ने सुनिश्चितताले दूताबासहरूको कार्यदक्षता पनि वृद्धि हुन्छ।
दक्षिण चीन पनि पुग्नु भयो, नेपाल चीन व्यापारको सम्भावना कस्तो देखिन्छ?
चीन दक्षिण एसिया व्यापार सेमिनारमा सहभागी हुने क्रममा म दक्षिण पश्चिम चीनका कुन्मिङ र चेङ्दु पुगेँ। दक्षिण एसियासँग व्यापार गर्न चीनले कुन्मिङ र चेङ्दुलाई व्यापार केन्द्रका रुपमा विकास गरेको रहेछ। दक्षिण एसियासँग व्यापार गर्ने तयारीमा रहेको चीनले एउटा पुलको रुपमा नेपालको रणनीतिक महत्व राम्रोसँग बुझेको देखिन्छ। चीन त बलियो किसिमले यसमा लागेको छ नै चीनसँगको व्यापारमा नेपाल दक्षिण एसियाको व्यापार ट्रान्जिट बन्न सक्नेमा स्वयं दक्षिण एसियाली देशहरू पनि आशावादी भेटिए। दुवै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चीन वाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारी पनि संलग्न थिए। नेपाल चीन व्यापार प्रवर्द्धन गर्न कुन्मिङ र चेङ्दुमा हाम्रो प्रयत्न केन्द्रित गर्नुपर्छ भन्नेबारे हामीबीच सहमती भएको छ।
एउटा साँघुरो कोदारी सडक बाहेक कुनै यातायात मार्ग छैन, नेपाल कसरी व्यापार ट्रान्जिट बन्ला?
कोदारी सडक चालु स्थितिमा छ, त्यसलाई चार लेनमा विस्तार गरी फराकिलो बनाउनु पर्छ। रसुवागढी सडकमार्ग पनि सञ्चालनमा आउँदैछ। अन्य चारवटा उत्तर दक्षिण सडकमार्ग सहित केरुङ-रसुवागढी भएर ल्हासा रेलमार्ग काठमाडौँ जोड्नेबारे छलफल भइरहेको छ। व्यापार र पर्यटन दुवैका लागि उपयोगी हुने गरी काठमाडौँ हुँदै लुम्बिनीसम्म नै रेलमार्ग जोड्नु पर्छ। हवाई मार्गबाट पनि केही न केही व्यापार भइरहेको छ तर चीन सडकमार्ग भएर दक्षिण एसियाली देशहरूसम्म पुग्न इच्छुक देखिन्छ। सडक र रेलमार्ग निर्माण भएको खण्डमा दुई देशको व्यापार सम्बन्धले पनि नयाँ उचाई लिनेछ। भारत र चीनबीच गतिशील पुल बन्ने नीति लिएकाले नेपाल त्यो दिशामा जतिसक्दो छिटो अगाडि बढ्छ भन्ने लाग्छ।
व्यापार ट्रान्जिट बन्ने अलि टाढाकै योजना भयो, चीनसँग तत्कालै व्यापार घाटा कम गर्ने कुनै प्रयास भइरहेको छ?
व्यापार घाटा कम गर्ने एउटा राम्रो उपाय चीनको ठूलो बजारमा निर्यात गर्ने गरी चीनकै सहयोगमा नेपालमा विभिन्न क्षेत्रमा लगानी हो। चीनमा हाम्रो व्यापार बढिरहेको छ तर त्यसमा करिब ४१ अर्ब रुपैयाँ वार्षिक घाटा छ। त्यो भनेको चीनसँगको सम्पूर्ण व्यापारमा ९५ प्रतिशत घाटा हो। चीनबाट सामान आइरहेको छ, हामीले चीन पठाउन सकेका छैनौँ। व्यापार घाटा कम गर्न आफ्नै उत्पादन वा चीनको सहयोगबाट उत्पादन गरेर चीन पठाउन सक्नु पर्‍यो। कुन्मिङ, चेङ्दुको व्यापार सेमिनारमा पनि यसबारे धेरै छलफल भयो। नेपाल मात्र होइन, चीनसँग प्रायः दक्षिण एसियाली देश व्यापार घाटामा छन्। त्यसैले चीनले नै हामी दक्षिण एसियाली देशबाट सामान आयात गर्न तयार छौँ भन्ने सन्देश दिएको छ। निर्यातमुखी उत्पादनमा समस्या बढ्न थालेपछि चीनले आयात-निर्यातमा सन्तुलन गर्न खोजेको देखिन्छ।
भन्सार फ्रि गरिएका सामान नै चीन आउन सकेको छैन।   
हाम्रो पहिलो ध्यान चीनले भन्सार निःशुल्क गरेका सामानको निर्यात बढाउनेतिर जानुपर्छ। क्वारेन्टाइनको मापदण्ड र एग्रो प्रोडक्टको गुणस्तर नियन्त्रण समस्याले गर्दा निर्यात अड्केको हो। चीनमा निर्यातका लागि गुणस्तर सुनिश्चितता हुनैपर्छ। तर गुणस्तर निर्धारण गर्ने ल्याव र त्यसको सर्टिफिकेट प्रणाली नेपालमा व्यवस्थित नभैसकेको हुनाले नेपाली सामान चीन भित्रिन नसकेको हो। चिनिया सहयोगबाटै नेपालको क्वारेन्टाइन क्षमता अभिवृद्धि गरी गुणस्तरीय सामान चीन पठाउने तयारी हुँदैछ।
दूतावासले हालै चिनिया लगानीकर्ताहरूसँग छलफल पनि गर्‍यो, नेपालमा लगानी गर्नेबारे उनीहरूको धारणा के छ?
अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका चीनका ठूला कम्पनी पनि नेपालमा लगानी गर्न अत्यान्तै उत्सुक देखिन्छन्। गणतन्त्र दिवसको सन्दर्भ पारेर हामीले मे २८ मा चिनिया लगानीकर्ताहरूसँग छलफल आयोजना गरेका थियौँ। नेपालमा संविधानसभा विघटन भएको समाचार चीनमा आइसकेको थियो। नेपालमा अझै राजनीतिक अस्थिरता छ भन्ने बुझेर पनि सहभागिता र लगानी क्षेत्रप्रतिको चासो हेर्दा चिनिया लगानीकर्ताहरू निकै उत्सुक देखिन्थे। उनीहरूले सुरक्षाको बन्दोबस्त, कर नीति, लगानीका लागि राम्रा क्षेत्रबारे जान्न चाहेका छन्। त्यसका लागि दूताबासमा सूचना बैँक पनि स्थापना गर्दैछौँ।
चिनिया लगानीकर्ता कुन क्षेत्रमा बढी उत्सुक भेटिए?
जलविद्युतमा लगानी गर्ने रुची देखाएर ४-५ वटा ठुला कम्पनी आएका थिए। त्यस्तै कृषि क्षेत्रमा पनि निकै रुची बढेको देखिन्छ। सिचुवानमा चीनकै नम्बर एक कृषि कम्पनी रहेछ, जसले बंगलादेशमा लगानी शुरु गरिसकेको छ भने नेपाल, भारत र पाकिस्तानमा पनि तयारी गरिरहेको छ। नेपालमा जलविद्युत, पर्यटनसँगै कृषि क्षेत्रको विकासमा पनि चीनको सहयोगको संभावना धेरै देखियो। पहाडदेखि तराईसम्मको कृषिमा सहयोग हुनसक्छ। परम्परागत मेडिसिनमा चीनको अनुसन्धान बलियो छ र यसमा धेरै प्रगती पनि गरेको छ। त्यस्तै नेपालमा पाइने थुप्रै जडिबुटी चिनिया मेडिसिनमा प्रयोग हुन्छ। नेपालमै त्यसलाई प्रोसेस गरेर चीनमा निर्यात गर्ने हो भने आयस्रोतसँगै रोजगारी पनि बढ्न सक्छ। अलिकति व्यवस्था मिलाइदिने हो भने हामी आउछौँ भनेर तत्परता देखाउने लगानीकर्ताहरु भेटिएका छन्। भौतिक संरचना निर्माण, खनिज पदार्थहरूमा पनि उनीहरूले चासो देखाएका छन्।
पश्चिम सेतीमा शुरुमा विवाद देखिएपछि थ्री गोर्जेजले फर्किने चेतावनी नै दियो, अहिले के भन्छन्?
थ्री गोर्जेज जस्तो विश्वसनीय र ख्याती कमाएको कम्पनी यस्तो अप्ठेरो परिस्थितिमा पनि लगानी जुटाउँछु भनेर आएपछि हामीले हरेक किसिमले सहयोग गर्नुपर्ने हो। नेपालमा केही समय उनीहरूले जुन अप्ठेरो स्थिति सामना गरे त्यसबाट यहाँका लगानीकर्ता केही झस्किने अवस्थामा त होला। तर थ्री गोर्जेजका अधिकारीहरूसँग बेइजिङमा छुट्टै भेट्दा र दूतावासको छलफलमा पनि उनीहरूले त्यस्तो अनुभूती दिएनन्। नेपाल चीन सम्बन्धका लागि पश्चिम सेती परियोजना महत्वपूर्ण छ भन्ने उनीहरूले ठानेका छन्। यसले के देखाउँछ भने चिनियाहरू वर्तमान मात्र होइन, अलि पछिको समयलाई पनि हेरेर लगानी गर्न खोज्दैछन्।
राजनीतिक स्थिरता हुन्छ भन्ने विश्वासमा अहिले नै लगानी गर्न खोजेका हुन्?
शान्ति प्रक्रिया टुङ्गो लागेपछि नेपाल लगानीका लागि निकै राम्रो ठाउँ हुनसक्छ भन्ने चीनले बुझेको छ। त्यसकारण पछिलाई हेरेर अप्ठेरोसँग जुधेरै भएपनि अहिले नै हात हाल्नुपर्छ भन्ने दुरदृष्टियुक्त व्यापारिक पहल उनीहरूले लिन खोजेका हुन्। चिनिया लगानीकर्ता अहिलेको अप्ठेरोबाट त्यत्ति विचलित छैनन्, राम्रो सोचाई बनाएर योजनावद्ध रुपले नै नेपाल आउन खोज्दैछन्। चिनिया बैँक पनि आयो भने लगानीकर्तालाई नेपाल आउन झन् सजिलो हुनेछ। त्यस्तै नेपाल राष्ट्र बैँकले आफुसँग जम्मा भएको रकम उच्च व्याजदरका लागि चीनका बैँकमा राख्ने प्रस्ताव गरेको कुरा पनि आएको छ। त्यसले चिनिया आरएमबी र नेपाली रुपैयाँको कारोबार पनि सजिलो हुनसक्छ। व्यापार र लगानी प्रवर्द्धनका लागि त्यो निकै महत्वपूर्ण कदम हुनसक्छ।
चीनले पनि विदेशी लगानीबाटै आर्थिक विकासमा फड्को मारेको हो, नेपालले के लिनसक्छ चीनको अनुभवबाट?
अवसर सदुपयोग गर्न हामी कति सक्षम हुन्छौँ भन्ने महत्वपूर्ण कुरा हो। बाहिरबाट सहयोग ल्याएर मात्र नेपालको विकास हुन्छ भन्ने भ्रममा पर्‍यौँ भने वास्तविक विकास हुँदैन। चीनको विकास अनुभवले त्यही भन्छ। चीनले बाहिरबाट प्रविधि ल्यायो, जोइण्ट भेन्चर गर्‍यो। तर उनीहरू पराश्रित भएनन्, आफ्नै क्षमता विकास गरे।
देङ सियाओपिङको विकास नीति त्यही हो?
विदेशी लगानी भित्र्याउने देङको नीतिको प्रमुख पक्ष त्यही नै हो। तर देङ पूर्व नै चीनले आत्मनिर्भर अर्थतन्त्रको विकासमा गहिरो जरा गाडिसकेको थियो। विदेशी लगानी, शीप ल्याउँदा पनि चीन पराश्रित भएन। विस्तारै आफ्नै क्षमता विकास गरेर बाहिरको शीप नचाहिने अवस्था सिर्जना भयो। आर्थिक विकासमा त्यो ठूलो योगदान थियो, जसले ३० वर्षमै चीनलाई विश्वको दोस्रो आर्थिक शक्तिमा उकाल्यो। तर देङको विकास रणनीतिका कमजोर पक्ष पनि छन्। आर्थिक असमानता बढेको, वातावरणमा क्षति पुगेको जस्ता एजेण्डा यसपाली राष्ट्रिय जनकँग्रेसको अधिवेशनमै उठेको थियो। तर पराश्रित हुने होइन, आफु विकसित हुने अवसरको रुपमा विदेशी लगानी भित्र्याउनु पर्छ भन्ने चीनले सिकाएको छ।
माओबारे तपाईंले किताब नै लेख्नुभयो, अहिलेको चीन हेर्दा त्यसबेलाको विश्लेषण सही लाग्छ?
चीनमा अहिले पनि माओका आधारभूत प्रस्थापनाहरू सान्दर्भिक नै रहेका छन्। अहिलेको नेतृत्वले गरेका कतिपय परिवर्तनहरूलाई त्यसकै निरन्तरतामा हेरिनु पर्छ। देङले माओ विचारलाई माइनस गरेर आर्थिक रणनीति विकास गरेँ भनेका थिएनन्। माओ विचार समेटेरै आधुनिक विकास नीति अगाडि बढाइएको अहिलेको नेतृत्वले पनि दावी गर्छ। देङको रणनीति अनुसार चीनले जसरी तीब्र विकास गर्‍यो त्यसलाई सारा विश्वले मानेको छ। तर बढ्दो आर्थिक असमानता र वातावरण विनासलाई रोक्ने चुनौती अहिलेको नेतृत्वलाई छ र यहीँनेर माओविचारको सान्दर्भिकता पनि खोजिँदै छ।
उत्तर कोरियालाई त एक वंशीय कम्युनिष्ट राष्ट्रकै रुपमा लिइन्छ, प्योङयाङमा एक साता बस्दा कस्तो अनुभूती भयो?
उत्तर कोरियाका लागि गैर आवासीय राजदूतको हैसियतमा किमइल सुङको सयौँ जन्मदिनको अवसरमा मैले एक साता प्योङयाङमा बिताएँ। त्यसबेला राजधानी प्योङयाङ पुरै फेस्टिवलको मुडमा थियो। ठूलो उत्सव मार्फत् 'उत्तर कोरियामाथि आक्रमणको खतरा छ तर हामी आत्मसमर्पण गर्दैनौँ, कुनै पनि मूल्यमा सामना गर्न सक्षम छौँ' भन्ने सन्देश दिन खोजेको भान हुन्थ्यो। तर उच्च अधिकारीहरूसँग छलफल गर्दा उत्तर कोरिया युद्ध होइन, शान्ति र मित्रता चाहन्छ भन्ने सन्देश प्योङयाङले दिन खाजेको बुझिन्थ्यो। अमेरिकालाई पनि कुटनीतिक नियोग खोल्न अनुरोध गरेर कुटनीतिक प्रयासमार्फत् नै द्वन्द्व सामान्यीकरण गरी उत्तर कोरिया मित्रताको नयाँ युगतर्फ बढ्न चाहन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ। कोरियालीहरूले आफुले गरेका राम्रा कामहरू पनि हामीलाई देखाए। नदी र समुद्र दोभानमा उनीहरू आफैले निर्माण गरेको आठ किलोमिटर लामो आधुनिक बाँध र त्यससँगैको रेल तथा सडकमार्ग निकै ठूलो परियोजना लाग्थ्यो। सुरुङ, रेल र पहाडमा सडकमार्ग निर्माणमा आफै सक्षम रहेको छाप दिन खोजेका थिए। नृत्य संगीत र अर्केष्ट्रामा उनीहरू निकै अगाडि देखिन्छन्। पेन्टिङ क्षमता त अचम्मै लाग्ने खालको रहेछ। परम्परागत औषधी र खेलकुदको क्षेत्रमा पनि नेपालसँग साझेदारी हुनसक्छ भन्ने छ।
तपाईं जनस्वास्थ्यबाट कुटनीतिक क्षेत्रमा जाँदा धेरैले अचम्म पनि मानेका छन्, आफुलाई कस्तो अनुभूती भइरहेको छ?
स्वास्थ्य र विकास अभिन्न रुपले जोडिएकाले विकासको क्षेत्रमा हस्तक्षेप नगरी स्वास्थ्य क्षेत्रको अभिवृद्धि हुने मैले देखिनँ। स्वास्थ्य क्षेत्रसँग म अहिले पनि जोडिएकै छु, बेइजिङको प्रसिद्ध छिङ्ह्वा विश्वविद्यालयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय समारोहमा चीनको जनस्वास्थ्य सम्बन्धमा विशेष मन्तव्य दिने अवसर पनि पाएको थिएँ। चीन जसरी अगाडि बढिरहेको छ, त्यो हेर्दा नेपालको विकासमा चीनको अत्यन्तै ठूलो भूमिका हुनेछ भन्नेमा म प्रष्ट थिएँ। नेपालमा चीनको सहयोगलाई अझै संस्थागत गर्न सकियो भने स्वास्थ्य क्षेत्र पनि सुदृढ हुनसक्छ भन्ने हिसावले म आएँ। नेपाल चीन सम्बन्धमा आउने केही वर्षहरू कोशेढुङ्गा हुने वस्तुगत कारणहरू पैदा भएको छ। त्यस हिसावले म ऐतिहासिक समयमा चीन आएछु जस्तो लाग्छ।
कोशेढुङ्गा कसरी?
हिजोको राजतन्त्रात्मक नेपाल भन्दा आजको गणतान्त्रिक नेपाल चीनका लागि अझै निकट हुने मैले देखेको छु। दुई देशबीच र अन्तर्राष्ट्रिय रुपमै बढिरहेको सम्पर्क सम्बन्ध हेर्दा नेपाल र चीनलाई हिमाल र भाषाले छेकिरहला भन्ने लाग्दैन। चीन यस्तो स्थितिमा पुगेको छ कि नेपालमा आफ्नो हित अनुकुल के छ भनेर खोज्ने क्रम शुरु गरिसकेको छ। जसरी विकसित देशहरूले विभिन्न कारणले आफ्ना उद्योगहरू कम विकसित देशमा सारे चीनले नेपालमा पनि त्यस्तो अवसर खोज्न सक्छ। नेपालमा उत्पादन गर्दा दुवै देशलाई फाइदा हुने क्षेत्रहरूको खोजी हुनसक्छ। चीनको सांस्कृतिक वास्तुकलाको विकासमा नेपालको योगदानबारे पनि चीनमा निकै चासोसाथ खोजी भैरहेको छ।
चीनले नेपालमा भूरणनीतिक अवसर मात्र खोजेको हो कि?
नेपालको जमिनमा टेकेर दक्षिण एसियाली देशहरूसँग आफ्नो सम्बन्ध विस्तार गर्नेबारे चीनको चासो हुनसक्छ। तिब्बतको कारण पनि चीनका लागि नेपालको भूरणनीतिक महत्व छ। बुद्ध जन्मस्थल लुम्बिनीको कारण नेपाल सांस्कृतिक रुपले पनि चीनको आकर्षणको थलो बन्न सक्छ, जुन भारतको बोधगया र पाकिस्तानको तक्षिलासम्म जोडिन सक्छ। हरेक छिमेकीसँग बलियो सम्बन्ध बनाउने क्रममा रहेको चीनले नेपालसँग पनि सम्बन्ध सुदृढ गर्न खोज्नु स्वाभाविक हो। विश्वको दोस्रो आर्थिक महाशक्ति चीन निकट भविष्यमै पहिलो हुने तरखरमा छ। चीनबाट आउने अवसरको बेगलाई कति सदुपयोग गर्न सक्छौँ त्यसले नै अब नेपालको विकासको गति निर्धारण गर्छ भन्ने लाग्छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस