'प्रमको कुर्सीमा सबैको धुर्वे दृष्टि!'
१५ पौष २०६९
•
१८ मिनेट पाठ
'प्रमको कुर्सीमा सबैको धुर्वे दृष्टि!'
कलाकार दीपकराज गिरी नेपालका सबैभन्दा ठूला टेलिभिजन सेलिब्रिटीमध्ये एक हुन्। तै पनि, हास्य शृंखला 'तीतो सत्य'का अभिनेता तथा निर्देशक दीपक आफ्नो भविष्य असुरक्षित देख्छन्। 'तीतो सत्य'की सहकर्मी कलाकार दीपाश्री निरौलासँग उनको सहकार्य भएको सत्र वर्ष भयो।
यो सम्बन्ध यति दिगो हुनुको कारण समझदारी र पारदर्शिता हो भन्छन् उनी। राजनीतिमाथि व्यंग्य गर्न माहिर दीपकसँग स्वरूप आचार्यले गरेको अन्तरंग कुराकानी।
 

.....

तपाईं यो क्षेत्रमा लाग्नुभएको कति भयो?
 

जहाँ अहिले म छु, बीस वर्ष भयो।

भनेको हास्यव्यंग्यमा?
राष्ट्रिय स्तरमा। नाटक-साटक त गाउँमै पनि गरिन्थ्यो। त्यो त स्थानीय स्तरको भयो।

तपाईंलाई यो क्षेत्रमा केले तान्यो?
तानेको चाहिँ सिनेमाले नै हो। बच्चामा सिनेमा धेरै हेरिन्थ्यो। हिन्दी फिल्महरू विशेषतः। अनि पर्दामा त्यो हिरोलाई देखेर आफू कल्पना गरिन्थ्यो। कुनै फिल्म हेरेर आएपछि त्यो फिल्मको हिरोको आत्माले ममा प्रवेश गरेको फिल हुन्थ्यो। अनि गाउँघरमा गएर त्यो सबै डाइलग जस्ताको तस्तै सुनाइदिन्थेँ। फिल्म नै छापिन्थ्यो मेरो दिमागमा। आफू एक्टर बन्न जन्मिएको हो भन्ने लाग्न थाल्यो। नेपाली फिल्म पनि हेरिन्थ्यो। 'जीवनरेखा' १९ पटक हेरको छु, 'सिन्दुर' १५ पटक जति हेरेको छु। स्कुलका किताबका हरेक पानामा फिल्मको नाम हुन्थ्यो। त्यसैका कारण स्कुलमा कुटाइ कति खाइयो कति!

स्कुल छोडेर तपाईंको बास फिल्म हलतिरै हुन्थ्यो रे। हो?
हो। केसम्म हुन्थ्यो भने, हजुरबा फी तिर्न जानुहुन्थ्यो। स्कुलमा 'नाति भेटूँ न त' भन्दा त, नाति छैन। त्यसैले हजुरबा, बा छड्के हान्न गइरहनुहुन्थ्यो। रञ्जना हललाई मैले थुप्रै पैसा बुझाएको छु। धेरै फिल्म हेरिदिएबापत रोयल्टी आउने भए मैले पनि पाउँथेँ। (हाहाहा...)

सिनेमामा त्यस्तो के नशा छ?
त्यो एडिक्सन केले क्रिएट गर्छ भने नि, मान्छे आफ्नो जीवनमा एकथरी हिसाबले बाँच्छ। तर, कलाकारलाई त्यो बन्देज हुँदैन। पर्दामै भए पनि मैले चाहेको जीवन बाँच्न पाइराखेको हुन्छु। म कहिले पुलिस हुन पाउँछु, कहिले भिलेन त कहिले डाक्टर, त्यो स्वतन्त्रता वास्तविक जीवनमा हुँदैन। त्यो मोहले अदृश्य रूपमा तानेको हुनुपर्छ।

तपाईंको बुवाको इच्छा त तपाईंलाई अधिकृत बनाउने थियो रे? तपाईं कलाकार बन्नुभयो। कत्तिको गाह्रो थियो आफ्नो चाहना र बुवाको इच्छाको समन्वय गराउन?
मलाई बुवा पुलिस अफिसर बनाउन चाहनुहुन्थ्यो। म पुलिसमा भर्ना भएको पनि हो। दुईचार दिन तालिम गरेर भागेँ। मलाई थाहा थियो, म पुलिस हुन सक्दिनँ भनेर। त्यहाँ पनि म फेल भएँ। त्यसपछि त बुवाको र मेरो सम्बन्ध यस्तो बिग्रियो कि के भन्ने? बुवा सुतेपछि घर जाने, उठ्नुभन्दा अघि उठेर हिँड्ने। त्यो बेला कुन चाहिँ बाबुले आफ्नो छोरो कलाकार होस् भन्ने चाहन्थ्यो र? अहिले न व्यावसायिक हुन थाल्यो। त्यो बेला त मै हुँ भन्ने कलाकारलाई पनि जीवन धान्न धौधौ थियो। अनि रहरैरहरमा जीवन बिताओस् मेरो छोरोले भन्ने कुन चाहिँ बाबुलाई लाग्छ होला र? त्यसैले त्यो द्वन्द्व स्वाभाविक थियो।

तपाईंलाई सर्वप्रथम रेडियो कार्यक्रम 'रामविलास-धनियाँ'ले चर्चित गरायो। त्यसको उत्पत्ति कसरी भयो?
म दुई वर्षजति जागिरे भएर वीरगञ्जमा बसेँ। त्यतिबेला मैले भोजपुरी वा मैथिली भाषा त सिकिनँ। तर, उनीहरूले नेपाली बोल्ने तरिका र त्यो लवज भने टिपेँ। हरेक मुलुकमा कमेडीको त्यो प्रमुख स्रोत हो। मैले पनि त्यो समातेँ। पछि रेडियो नेपालमा कार्यक्रम चलाउने अवसर पाएँ। त्यहाँ 'रामविलास-धनियाँ' भन्ने कार्यक्रम चलाउन थालेँ। रामविलास त म आफैँ भए। धनियाँको अत्तोपत्तो थिएन। काल्पनिक पात्रको रूपमा त्यो कार्यक्रम चलाइरहेको थिएँ। थुप्रै प्रतिक्रिया आउन थाले। त्यसपछि सबैले धनियाँको खोजी गर्न थाले। मैले पनि खोजी गरेँ। र, दिपाजीलाई भेटाएँ।

त्यसपछि त्यो जोडीले यति धेरै धमाल मच्चायो कि तपाईंहरू आज पनि सँगै हुनुहुन्छ। त्यो सुखद शुरुवात साबित भयो।

हो।

आजको दिनमा तपाईंहरूको जोडीको सबैभन्दा ठूलो सफलता भनेको 'तीतो सत्य' हो। त्यसको उत्पत्ति?
कन्जुस्याइँ नगरी भन्नुपर्छ- म 'हिजोआजको कुरा' को ठूलो फ्यान। मैले 'ट्वाक्क टुक्क' र अरू पनि कमेडी फुट्कर सिरियलहरू गरेँ। तर, चर्चा त हिजोआजको कुराकै हुन्थ्यो बजारमा। किनकि त्यसले करेन्ट कुरालाई कमिक पारामा देखाउँथ्यो र केही सन्देश पनि दिन्थ्यो। मलाई पनि हिजोआजका कुरा जस्तै केही बनायो भने चल्छ जस्तो लाग्यो। तर, मेरो उद्देश्य सन्देश दिने होइन, डाइरेक्ट भन्ने खालको बनाउने थियो। जे हो र्‍याङकी ठ्याङ ठोक्ने, कमिक पारामा।

नाम कसरी जुराउनुभयो 'तीतो सत्य'?
नाम चाहिँ शम्भुजित बाँसकोटा दाइको देन हो। उहाँ नेपाल टेलिभिजनको बोर्डमा हुनुहुन्थ्यो। शुरुमा मेरो पाँचसातवटा डमीहरू फ्याँकिसकेका थिए। कसैले पत्याउन तयार नै थिएन हामी योङ कमेडियनहरूले सिरियल चलाउन सक्छौँ भनेर। शम्भुजित दाइ त्यहाँ बोर्ड मेम्बर भएपछि उहाँले फेरि हौसाउनुभयो। उहाँले नै 'तिम्रो कार्यक्रमको नाम 'तीतो-सत्य'' भनेर भन्नुभयो। 'दाइ, यो नाम त कमेडीलाई ठीक नहोला' भनेर पनि भनेँ। तर, उहाँले 'नाम जे राखे पनि कामले त्यसलाई पुष्टि गर्ने हो' भन्नुभयो। 'ल त ल' भनेर 'तीतो-सत्य' नै राखियो।

'तीतो सत्य'ले 'हिजोआजको कुरा'लाई फेजआउट गराएकै हो?
मेरो उद्देश्य 'हिजोआजको कुरा'लाई फेज आउट गराउने थिएन। मलाई लाग्छ- कुनै पनि कार्यक्रम लामो समयसम्म चलेपछि दर्शकले नयाँ खोज्छन्। हामीले सही समयमा त्यो दिन सक्यौँ। त्यसैले त्यो चल्यो। आज हाम्रो कार्यक्रमको विकल्प पनि दर्शकले खोज्दै होलान्।

पछिल्लो समय धेरै हास्य टेलिफिल्म आए। तर, गुणस्तर भने खस्किँदै गएको भान हुन्छ। त्यस्तो किन भइरहेको छ?
हामीकहाँ जसले जे गर्‍यो, त्यही फलो गर्ने परम्परा छ। कुनै चिज चलेपछि सबैले त्यही कपी गर्ने। त्यसले पनि थुप्रै हास्य टेलिफिल्म बने। तर, केहीमात्र गुणस्तरीय छन्। अर्को कुरा हामी टेक्नोलोजीको प्रयोगमा धेरै पछाडि छौँ। केटी जस्तोसुकै राम्री किन नहोस्, बिहेको मण्डपमा बस्दा त शृंगार आवश्यक हुन्छ। शृंगार, गहनाले त्यो रूपलाई अझ राम्रो बनाउँछ। त्यो अभाव हामी कहाँ खड्किन्छ।

नेपाली हास्य सिरियलमा छिटो-छरितो 'पन्च' हुँदैन, भद्दा किसिमको पन्च हुन्छ भनियो भने?
कमेडीको आत्मा नै पन्च हो। पन्च सधैँ फास्ट किसिमको राख्न हाम्रोमा किन मिल्दैन भने दर्शकले बुझ्दैनन्। उनीहरूलाई बुझाउन खोज्दा त्यस्तो भइदिन्छ। 'मास'लाई पनि त हेर्नुपर्छ हामीले।

तपाईंलाई, 'धेरै कुरा रिपिट भयो, अब केही समय ब्रेक गरौँ अनि फेरि केही समयपछि चलाउँला' जस्तो लाग्दैन।
मलाई त्यस्तो लाग्नै हुँदैन। यहाँ त एकपटक तल उत्रियो भने फेरि माथि उक्लिन अर्को दश वर्ष लाग्छ। मैले दश वर्ष हिट कार्यक्रम चलाएँ, अब सुस्ताउँछु भन्न सक्ने अवस्था नै छैन। मसँग त्यति रकम जम्मा भएकै छैन। स्टार भएपछि त्योसँग आउने जिम्मेवारीका कारण पनि हामीले निरन्तर काम गर्नुपर्ने बाध्यता छ। मेरो भविष्य अझै असुरक्षित छ।

तपाईंले त थुप्रै पैसा कमाउनुभएको छ भन्छन्। हिजोआज करले खुब खेद्न थालेको छ। त्यसैले त होइन?
हेर्नुस्, यहाँ पाईपाई हिसाब गरेर त कसले कर तिर्छ होला र? मैलेमात्र तिरेको छु भनेँ भने त्यो झुट हुन्छ। म सामाजिक कर तिर्छु। केही समय पहिला मेरो गाउँमा एम्बुलेन्स किनेर दिएँ। केटाकेटीहरूलाई स्कुल पढाएको छु। त्यो पनि त कर नै हो नि। फेरि मैले त्यस्तो अकूत पैसा कमाएको पनि छैन। कमाएको भए भविष्य असुरक्षित छ किन भन्थेँ र?

हास्यव्यंग्य क्षेत्रमा धेरै जोडी बने र टुक्रिए पनि। अटुट जोडी भनेको मदनकृष्ण-हरिवंश र दीपक-दीपाको हो । कुन गम प्रयोग भएको छ यो जोडका लागि?

हामीलाई टाँस्ने गम चाहिँ दुईतीनटा तत्वले बनेका छन्। एउटा तत्व, हामी विपरीत लिंगी हौँ। पुरुष, महिला। दीपाजी महिला कलाकारहरूमा अब्बल हुनुभयो भने मलाई दुःख लाग्दैन, किनकि म पुरुष हुँ। म अब्बल भएँ भने दीपाजीको केसमा पनि त्यही हुन्छ। अहिले, को अब्बल भन्ने कुरामा पनि धेरै विवाद हुन्छ। अर्को भनेको पारदर्शिता। हामी एक-एक रुपैयाँको पनि हिसाबकिताब राख्छौँ। त्यसैले त्यो समस्या पनि रहेन। जोडीहरू फुट्ने भनेकै अपारदर्शिता, इगो र असझदारीका कारणले हो। त्यो हामीमा छैन। अन्तिम भनेको कुनै पनि जोडी फुटाउन बाहिरको मान्छे लागेर हो। सबैलाई के थाहा भइसक्यो भने त्यो प्रयास गर्नु भनेको यिनीहरूसँग दुश्मनी मोल्नु हो।

'दुई विपरीत लिंगी मित्रमात्र रहन सक्दैनन्' भन्ने हाम्रो समाजको बुझाइ छ। के भन्नुहुन्छ?
दीपाजी र मेरो रिलेसनको कुरा उठ्नुलाई एक रत्ति पनि अस्वाभाविक मान्दिनँ। तपाईं अफिस आउँदा कुनै केटीसँग तीन दिन संयोगवश एउटै बसमा पर्नुभयो भने त कुरा काट्न थाल्ने हाम्रो समाज छ। हामी सँगै हिँडेको त सत्र वर्ष भयो। म ढाँट्दिनँ। 'दीपाजी र मेरो बीच केही पनि छैन, प्रेम नै छैन, हामी ढुंगाजस्ता प्राणी हौँ, भाव नै छैन' पनि भन्दिनँ म। हामीबीच प्रेम छ। दुईजना बीच प्रेम नभएको भए सत्र वर्षको यात्रा सम्भव नै छैन। यति भन्नेबित्तिकै तपाईंमा 'यो प्रेम केमा परिणत हुन्छ' भन्ने कौतूहल पनि जागिसक्यो। तपाईंले सोध्नुअगाडि नै म भन्छु। हामीले हरेक हप्ता नैतिकताको पाठ सिकाइरहेका छौँ दर्शकलाई, यो सही यो गलत भनेर। हामीले यो सम्बन्धलाई, प्रेमलाई, आकर्षणलाई आदर्श बनाइराख्ने कि बिहेको मण्डपमा लगेर झोसिदिएर दशौँ वर्षदेखि कमाएको इज्जत सबै फालिदिने? त्यसकारण हाम्रो प्रेम अनुशासित, मर्यादित छ। कसैले पनि औँला उठाउने खालको छैन।
तपाईंहरू कलाकारिताबाहेक अर्को क्षेत्रमा हुनुहुन्थ्यो भने नतिजा पनि अर्कै हुनसक्थ्यो होला?
तपाईंले हाइपोथेटिकल प्रश्न सोध्नुभयो। मेरो पनि त्यस्तै उत्तर छ- 'मे बी '। (हाहाहा...)

प्रसंग बदलौँ। तपाईं सानो पर्दामा सुपर हिट हुनुहुन्छ। तर, तपाईंमा ठूलो पर्दाको मोह अझै बाँकी छ। फिल्म खेल्नुभयो तर चलेन।
हो, त्यो फिल्म चलेन। अब आफैँ एउटा फिल्म बनाउने सोच बनाएको छु। त्यो फिल्मको म संयोजन गर्दै छु। हामी सात जना हास्यकलाकार त्यसमा नायक हुन्छौँ। त्यो सिनेमाको वैशाख २ गतेदेखि सुटिङ शुरु हुन्छ। पर्सी तीतो सत्यको पाँच सय भागको दिन मुहूर्त हुन्छ।

नढाँटिकन भन्नुस् है, तपाईंको हास्य क्षेत्रमा कोसँग मीठो सम्बन्ध छ, कोसँग तीतो सम्बन्ध?
मदन दाइ, हरि दाइसँग मीठो सम्बन्ध छ। उहाँहरू मलाई भाइ भनेर माया गर्नुहुन्छ, म दाइ भनेर आदर गर्छु। सन्तोष दाइसँग वान वे ट्र्याक छ। म सम्मान गर्छु। तर, उहाँले मलाई मन पराउनुहुन्न। अरू साथीहरूसँग पूर्ण व्यावसायिक रिलेसन छ। प्रतिस्पर्धा धेरै छ, आत्मीयता कम छ। संसारमै कहीँकतै पनि एउटै तहका पेशाकर्मीहरू राम्रा मित्र हुन सक्दैनन्।

राजनीतिक नेताहरूको पनि त्यही हो?
हो नि। तर, हामी उनीहरूभन्दा माथि छौँ। किनकि हामी आवश्यकता परेको बेला एकठाउँमा उभिनसक्छौँ।

तपाईं कमेडियन हो। तपाईंले समाजलाई चित्रण गर्नुपर्ने हुन्छ। अहिलेको राजनीतिलाई कसरी हेरिरहनुभएको छ?
संविधान सभा निलम्बित भएजस्तै केही समय प्रधानमन्त्रीको कुर्सी पनि निलम्बन गर्नुपर्‍यो। सबैको 'अर्जुनदृष्टि' त्यही मात्र छ। अहिले त 'धुर्वेदृष्टि' भन्दा उचित हुन्छ। कसरी अर्कोलाई पाखा लगाउने र भोग गर्ने भन्ने मात्र छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस