अम्मर जिसी -'फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार...'
घट्टेकुलोस्थित एक होस्टलमा गीत गुनगुनाउँदै चित्र कोरिरहेका भेटिए, पुष्कर घर्तीमगर। बगैंचामा ठिटाठिटी कुम जोडेर कुरा गर्दै गरेको रोमाञ्चक दृश्य कागजमा उतार्दै थिए।
१९ बर्षे पुष्कर जन्मिँदै अशक्त हुन्। सानैदेखि चित्र कोर्न सौखिन उनका धेरै चित्र बिकिसकेका छन्। बचेका र पूरा गर्न बाँकी चित्र उनी सुत्ने खाट, र्यारक र भुइँमा यत्रतत्र छन्। उनको देब्रे खुट्टा मात्र छ, त्यो पनि सद्दे छैन। दाहिने खुट्टा काम नलाग्ने छ भने दाहिने हात पनि अशक्त छ। वैशाखीको सहारामा हिँडडुल गर्छन्। देब्रे हातले कोरिएका सुन्दर चित्र मल्टिमिडियामा उतार्न उत्तिकै सिपालु छन् उनी।
रुकुममा जन्मेका पुष्कर काठमाडौंमा हुर्के, बढे, पढे र चित्र कोर्न सिपालु बने। गाउँकै एक दिदीले बुबा नभएको र आर्थिक अवस्था कमजोर भएकोले पाँच वर्षमै काठमाडौंको थलीस्थित अपांग नवजीवन केन्द्रमा सम्पर्क गराइदिइन्। पढाईलेखाई र हेरचाहको जिम्मा लगाइदिइन्। पोहोर ६९ प्रतिशत अंक ल्याई एसएलसी पास गरेपछि पुष्कर अर्कै होस्टलमा छन्। बिहान सिर्जना कलेज अफ फाइन आर्टमा चित्रकला पढ्छन्। दिउँसो माया एकेडेमीमा एनिमेसन कोर्स। अमेरिका, बेलायत र नर्वेका सहयोगी नागरिकबाट उनको सबै खर्च चलिरहेको छ। ‘दुवै क्याम्पस र होस्टलको खर्च दाताले बेहोर्छन्। पकेट खर्चचाहिँ चित्रले टार्दैछ,' उनले भने।
दुई वर्षअघि भारतको चेन्नईमा दक्षिण एसियाली देशबीच भएको चित्रकला प्रतियोगितामा उनी दोस्रो भए। स्कुलमा हुने प्रतियोगितामा समेत उनका चित्रले पुरस्कार पाउँथे। 'भारतकोे प्रतियोगितामा दोस्रो हुँदा जोश बढ्यो,' पुरानो खुसी सम्झन्छन्, ‘गुरुहरूले प्रोत्साहित गर्नुहुन्थ्यो। चित्रले मलाई सबैको प्यारो बनाएको जस्तो लाग्छ।'
माया एकेडेमीमा एनिमेसनसँगै मोडलिङ र भिएफएक्सका कक्षा लिइरहेका उनले भने, ‘एनिमेसनको पढाईअनुसार नै हातले कोरेका चित्र कम्युटरमा उतार्ने गर्छु।'
चित्र कोरेरै पुष्करले करिब डेढ लाख रूपैयाँ कमाइसकेका छन्। विदेशीले बढी मूल्य दिएर चित्र लैजान्छन्। गत वर्ष नागरिकता बनाउन घर गएका बेला आमाको अवस्था देख्दा उनी दुःखी भए। बुबाको निधनपछि दाइदिदीले आमालाई एक्लै छाडेर आ-आफ्नो बन्दोबस्ततिर लागे। ‘बूढी भइसकेकी आमालाई घरमा कसैले हेरेको छैन। घर गएको बेला आफूले कमाएको केही पैसा दिएँ,' भावुक हुँदै पुष्करले भने, ‘आमालाई पैसा पठाउने ठूलो सपना छ।'
चित्रकलाबाटै एनिमेसन कोर्स सजिलो भएकाले कुशल एनिमेटर बन्ने उनको लक्ष्य छ। अपांग भएकाले केही गर्न सक्दिन भन्नेलाई सुझाव दिन्छन्, ‘अपांगता भएकै कारण लुकेर बस्ने होइन। आँट भए सबलांग भन्दा राम्रो गर्न सकिन्छ।'
दुवै कलेजका साथी र गुरूले उनको कला, अनुशासन र लगनशीलताको सराहना गर्छन्। गुरुहरू पनि उनको प्रतिभाप्रति खुसी व्यक्त गर्छन्। डिएनसीकी होस्टल म्यानेजर पुष्करकै शब्दमा 'आमाजस्ती मिस' शान्ता उप्रेती भन्छिन्, ‘पुष्कर हाम्रै उत्पादन भएकाले गर्व लाग्छ। शारीरिक अशक्तले केही गर्न सक्दैनन् भन्नेका लागि राम्रो उदाहरण बनेका छन्।'