'पुर्जा ढिला छ'
३० असार २०७०
•
२० मिनेट पाठ
'पुर्जा ढिला छ'
मान्छेहरू बेचैन छन्, अशान्त छन्, तनावग्रस्त छन्। आफूलाई नियन्त्रण गर्न नसकेपछि उनीहरू बर्बराउन थाल्छन्, असामान्य व्यवहार देखाउन थाल्छन्। र, उनीहरूलाई समाज बौलाहा, पागल, खुस्केड, क्य्राक, मेन्टल, साइको, आइसी उडेको आदि नामले बोलाउने गर्छ। मानसिक सन्तुलन गुमाएका मान्छेहरूको संख्या डरलाग्दो गरी बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा मानसिक असन्तुलन नम्बर एक रोग हुनेछ। यसपटक नेपालीको मानसिक स्वास्थ्यको खबर लिएकी छिन् संगीता श्रेष्ठले।काठमाडौँ, डिल्लीबजारमा लगभग ४० वर्ष जतिका एक जना पुरुष कराउँदै हिँडिरहेका हुन्छन्। उनी फर्र अंगे्रजी बोल्छन्। गाली पनि अंग्रेजीमै गर्छन्। नेपाली पनि त्यस्तै राम्रो बोल्छन्। डिल्लीबजारमा उनी आफ्नो घरपरिवारसँगै बस्छन्। उनका छिमेकीका अनुसार उनी धेरै पढ्ने र प्रतिभाशाली विद्यार्थी थिए। अमेरिका पढ्न जाँदा त्यहाँ दुर्घटनामा परेपछि उनको दिमागी सन्तुलन बिग्रेको हो। उनलाई अमेरिकाबाट नेपाल फर्काइयो। त्यतिबेलादेखि उनको अवस्था यस्तै छ।
पुतलीसडकमा एक जना पुरुष जति बेला पनि हात हल्लाउँदै बस्छन्। शंकरदेव क्याम्पस नजिक एक महिला अनुहारमा रातो रङ पोतेर गीत गाउँदै बस्छिन्। घण्टाघरतिर एक पुरुष सलाईका खोस्टादेखि पसलेले फालेका कार्टुनको भारी पिठ्यूँमा बोकेर हिँड्छन् भने चाबहिलमा एक जना महिला यताउता हिँडिरहेका पुरुषहरूलाई जिस्काउँदै बस्छिन्। यस्ता खाले दृश्य काठमाडौँ तथा शहरबजारमा धेरै देखिन थालेका छन्। विक्षिप्त महिला र पुरुष बजारमा निकै भेटिन्छन् आजभोलि।
हाम्रो समाजमा यस्ता व्यक्तिका लागि बौलाहा, पागल, खुस्केड, पुर्जा ढिला भएको, दिमाग खुस्केको, आइसी उडेको, साइको, क्य्राक, मेन्टल आदि अपमानजनक संज्ञा प्रयोग गरिन्छन्। मानव अधिकारवादीहरू यस्ता शब्दको प्रयोग गर्नुलाई मानव अधिकारको हनन मान्छन्। त्यसैले चिकित्सा विज्ञानको भाषामा उनीहरूलाई मानसिक सन्तुलन गुमाएका महिला वा पुरुष भन्ने गरिन्छ। दिमागले काम गर्न छाडेपछि मानिसले मानसिक सन्तुलन गुमाउँछ। आफूमा नियन्त्रण नभएपछि मानिस घरबाट भाग्ने, जंगलतिर जाने, सडकमा विक्षिप्त अवस्थामा घुम्ने, आत्महत्याको प्रयास गर्ने वा कतिपयले आत्महत्या पनि गर्ने गर्छन्। मानसिक सन्तुलन गुमाउने व्यक्तिले सुरुआतमा एकोहोरो टोलाउने, अरूले सुन्दै नसुनेको आवाज सुन्ने, हरेक कुरामा भ्रमपूर्ण सोचाइ राख्नेजस्ता क्रियाकलाप गर्ने बताउँछन्, काठमाडौँ मोडल हस्पिटलका वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय। 
त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा. सरोजप्रसाद वझाका अनुसार बाल्यावस्था, युवावस्था वा वृद्धावस्था जुनसुकै उमेरमा पनि मानिसले मानसिक सन्तुलन गुमाउन सक्छ। तर, बाल्यावस्थादेखि मानसिक असन्तुलनका लक्षण देखिए पनि यसको सुरुआत भने टिनएजपछि मात्र हुने उनी बताउँछन्। 'पन्ध्र वर्षको उमेरपछि मस्तिष्कको विकास हुने भएकाले टिनएजमा यो समस्या बढी बल्भि्कन्छ,' उनी भन्छन्। 
विश्व स्वास्थ्य संगठनले विश्वभरि अस्पतालमा आउनेमध्ये २० प्रतिशतलाई मानसिक स्वास्थ्यको समस्या देखिने बताएको छ। कुल जनसंख्याको तीन प्रतिशतलाई मानसिक रोग लाग्ने गरेको देखिएको छ। नेपाल पनि यही हाराहारीमा छ। स्वास्थ्य सेवा विभागको १० वर्षे तथ्यांकअनुसार सन् २००१ मा १२ हजार रहेको मानसिक रोगीको संख्या सन् २०१० मा ३६ हजार पुगेको थियो।
एक अध्ययनअनुसार कम्तीमा १० नेपालीमध्ये एक नेपाली कुनै न कुनै मानसिक रोगको चपेटामा परेको देखिन्छ। मुख्य रूपमा डिप्रेसन, चिन्ता, फोबिया, बाइपोलर डिसअर्डर, स्ट्रेस, मानसिक थकान, यौन समस्या, लागुऔÈध दुर्व्यसन तथा सिजोफ्रेनिया आदिबाट नेपालीहरू पीडित छन्। माओवादी सशस्त्र द्वन्द्वका कारण पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) का रोगीको संख्या पनि धेरै छ।
चिकित्सा विज्ञानले 'यही कारणले मानसिक सन्तुलन बिग्रेको हो' भन्न सक्ने अवस्था नभए पनि साधारणतया आनुवंशिक, जैविक, रासायनिक, मनोसामाजिक, मद्यपान तथा लागुऔÈध दुर्व्यसन, दीर्घ र जटिल रोगका कारण मानसिक रोग लाग्ने गर्छ। अभिभावक मानसिक रोगी छ भने बच्चा त्यस्तै वातावरणमा हुर्किन्छ। 'म पनि पागल हुन्छु कि?' भन्ने डरबाट छोराछोरी त्रसित हुन्छन्। त्यही भयले पनि उनीहरूलाई मानसिक रोगी बनाउन सक्ने बताउँछन्, डा. कपिल। भन्छन्, 'अभिभावकलाई छ भन्दैमा सबैलाई हुने होइन तर १० देखि १५ प्रतिशतसम्ममा हुने सम्भावना रहन्छ।' पढाइमा राम्रो गर्न नसक्दा, प्रेममा धोका पाउँदा, करिअरमा असफल हुँदा, बेरोजगार हुँदा, रक्सी वा ड्रग्सको सेवनले मानसिक असन्तुलन हुनेको संख्या बढ्दै गएको मनोचिकित्सकहरू बताउँछन्।
भ्रमको जालो, बदनामीको डर
म शब्दलाई देख्दछु! 
दृश्यलाई सुन्दछु!
बास्नालाई स्वाद लिन्छु!
आकाशभन्दा पातला कुरालाई छुन्छु!
ती कुरा
जसको अस्तित्व लोक मान्दैन 
जसको आकार संसार जान्दैन!
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई जे भ्रम हुन्छ, उसका लागि त्यही नै सत्य हुन्छ। ऊ त्यसमै बाँच्न चाहने बताउँछन्, डा. कपिल। भन्छन्, 'मानसिक रोगीले आफूलाई बिरामी ठान्दैन। रोगी नभएको भ्रम भएकाले ऊ आफ्नो उपचार गराउन पनि चाहँदैन।' 
हाम्रो समाजमा अहिले पनि मानसिक रोगलाई भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहदशाका कारण भएको मानिन्छ। नेपाली समाजमा त झन् मानसिक रोग लुकाउने–छिपाउने प्रवृत्ति विद्यमान छ। लोकलाजका कारण घरपरिवारले पनि मानसिक असन्तुलन भएको कुरा लुकाउने गर्छन्। तर, रोगलाई लुकाउँदा रोग झन् बढेर जाने बताउँछन्, डा. कपिल उपाध्याय। 'मानसिक समस्या भएका बिरामीले लगातार औषधि सेवन गरेमा समस्या समाधान हुन्छ। त्यसैले रोगका लुकाउनुभन्दा उपचार गर्नु जाति,' उनी भन्छन्। 
प्रेममा पागल
बुटवलका २९ वर्षीय विपिन शर्मा विगत छ महिनादेखि लखनखेलस्थित मानसिक अस्पतालको एउटा सानो कोठामा एक्लै बर्बराइरहेका छन्। अस्पतालको त्यो कोठामा उनी अधिकांश समय एक जना केटीको नाम लिइरहेका हुन्छन्। केटीको नाम लिँदै कहिले एक्लै हाँस्छन्, कहिले निन्याउरो अनुहार बनाउँछन्। केटीको नाम कहिले भुइँमा त कहिले भित्तामा हातका औँलाले लेख्दै, मेटाउँदै गर्छन्। उनी मानसिक अस्पताल पुग्नुकोे कारण थियो– पाँच वर्षे प्रेम सम्बन्ध टुट्नु। अस्पतालका चिकित्सकका अनुसार उनलाई मानसिक समस्या साइकोसिस भएको छ। चिकित्सकहरूले आफन्तबाट लिएको जानकारीअनुसार विपिनले माया गर्ने बुटवलकै शारदाले पाँच वर्षे लामो प्रेम सम्बन्धलाई छोडेर अर्कै केटासँग विवाह गरेपछि उनले एकाएक फरक व्यवहार देखाउन थालेका थिए। 
अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचनका अनुसार साइकोसिसको समस्या भएको व्यक्तिको दिमागमा कुनै एउटा कुरा गहिरोसँग गडेको हुन्छ। विपिनलाई पनि त्यस्तै भएको उनको अनुमान छ। 




मानसिक अस्पतालमै केही हप्ताअगाडि मात्र सबनम नाम गरेकी एक जना २३ वर्षीया युवतीलाई उपचारका लागि ल्याइएको छ। डिप्रेसनबाट ग्रसित भएपछि आफन्तले उनलाई उपचारका लागि अस्पतालमा ल्याएका हुन्। उनको समस्याको जड पनि प्रेम नै हो। काठमाडौँ निवासी ती युवती तीन वर्षदेखि एक पुरुषसँगको प्रेम सम्बन्धमा थिइन्। डेढ वर्षअघि अस्ट्रेलियामा अध्ययनका लागि गएका सबनमका प्रेमीले अस्ट्रेलियाबाट सुरुसुरुमा फोन गर्ने गरे पनि केही समयपछि वास्ता गर्न छाडे। आफ्नो प्रेमीले फोन पनि नगर्ने, सामाजिक सञ्जालबाट समेत हटाएको, यताबाट फोन गरे पनि हत्तपत्त नउठाउने र उठाइहाले पनि बारम्बार फोनमा गाली गर्ने, आफू अर्कैसँग प्रेममा परेको बताउने गरेपछि सबनम डिप्रेस्ड भएकी हुन्। उनले दुई पटक ब्लेडले नाडी काट्ने प्रयास पनि गरिसकेकी छिन्। औषधि उपचारपछि उनको स्वास्थ्यमा केही सुधार आएको छ।
लगनखेलस्थित मानसिक अस्पतालमा विपिन र सबनमजस्तै प्रेममा 'पागल' भएर उपचार गराउन आउनेको संख्या दिनहुँ बढ्दै गएको छ। मन मस्तिष्क र सम्पूर्ण जीवन नै आफ्ना प्रेमीलाई दिएका ती 'पागल' प्रेमीका कथा लगभग उस्तै छन्। अस्पतालमा भर्ना गरिएका र जटिल समस्या भोगिरहेका तथा भर्ना गर्नुपर्ने अवस्थामा पुगेका 'पागल' प्रेमीहरूको अवस्था छोटो समयसम्म देखिने मानसिक समस्याका बिरामीको तुलनामा निकै दयनीय छ। उनीहरू परिवारका लागि पीडा भएका छन्। मानसिक समस्या लिएर अस्पतालमा आउनेमा अविवाहितभन्दा विवाहितको संख्या बढी भएको अस्पतालका निर्देशक डा. शेरचन बताउँछन्। 
चिकित्सकका अनुसार विपिनलाई भएको 'साइकोसिस' कडा मानसिक रोग हो। साइकोसिसलाई बोलिचालीको भाषामा पागलपन पनि भन्ने गरिन्छ। यस्ता रोग लागेकाले सामाजिक परिप्रेक्ष्यमा अमिल्दो व्यवहार गर्ने, कुराकानीमा पनि गडबडी भेटिने, आफू के गरिरहेछु र के बोलिरहको छु भन्ने थाहा नहुने, कुनै एउटा कुरा दिमागमा गढेको छ भने त्यही कुरालाई व्यवहारमा उतार्ने, कुनै आधारबिना गलत विश्वासमा अडिग रहने, बाहिर आवाज नआईकन आवाज सुन्ने, नभएको कुरा देख्ने, लक्ष्यहीन तथा दिशाहीन क्रियाकलाप गर्ने, अर्थहीन बोलिरहने, एउटै कुरामा एकोहोरो लागिरहने, एउटै व्यवहार देखाइरहने लगायत व्यवहार देखाउने चिकित्सक बताउँछन्।
सबनमलाई भएको डिप्रेसनको समस्या भने अधिकांशमा देखिने समस्या हो। डिप्रेसनमा मानिस उदास हुने, सोचिरहने, कुरा खेलाइरहने जस्ता समस्या देखिन्छ। चिकित्सकका अनुसार डिप्रेसनमा मन ज्यादै दुःखी हुनु, कुनै कुरामा रुचि नहुनु, थकाइ बढी लागेको अनुभूति हुनु, मनमा नकारात्मक कुरा मात्र बढी आउनु, भोक र निद्रा पनि गडबडी हुने हुन्छ। निर्देशक शेरचनका अनुसार पछिल्लो समयमा अस्पतालमा डिप्रेसनका बिरामीको संख्या ह्वात्तै वृद्धि भएको छ। डिप्रेसनका बिरामीमा आत्मविश्वास पनि कम हुने, पश्चात्ताप लाग्ने र मनमा छटपटी हुने गरेको उनको भनाइ छ। डिप्रेसनको समस्या लिएर आउने अधिकांश युवायुवतीमा प्रेमको असफलता, वैवाहिक जीवनमा मनमुटाव, बेरोजगारी, मनमा चोट परेका, बढी महŒवकांक्षालगायत कारण रहेका छन्। चिकित्सकका अनुसार डिप्रेसनको समस्याले सताएका बिरामीलाई क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आफ्नो 'काल आइदिए हुन्थ्यो' जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हुन थाल्छ र चरम सीमा आत्महत्यासम्म पुग्न सक्छ। पछिल्ला समयमा प्रेमका कारण आत्महत्या बढ्नुको कारण पनि डिप्रेसनको समयमा नै उपचार नहुँदा भएको चिकित्सकहरूको भनाइ छ।

विदेशमा गुम्यो सन्तुलन 

घरेलु कामदारका रूपमा कुवेत पुगेकी सिन्धुपाल्चोक, स्याउलेकी २२ वर्षीया सम्झना तामाङ केही महिनाअघि मानसिक सन्तुलन गुमाएर घर फर्किइन्। पौरखी नेपाल नामक संस्थाले उनलाई त्रिभुवन विमानस्थलबाट उद्धार गरी उपचारमा राखेको थियो। बर्बराइरहने सम्झना कहिले होसमा हुन्थिन्, कहिले बेहोसीमा। उनको उपचारमा संलग्न डा. शिखरबहादुर स्वाँरले उनलाई गहिरो मानसिक रोग भएको बताएका थिए। यहाँ आउनासाथ अरेबियन, नेपाली र तामाङ भाषामा उनले केही बेर कुरा गरेकी थिइन्। आफूले यातना पाएको उनले बताएकी थिइन्। चिकित्सकहरूले शारीरिक र मानसिक यातनाका कारण उनको यो अवस्था भएको बताएका थिए। 
भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा साउदी अरब पुगेकी अनिता चौधरी मानसिक सन्तुलन गुमाएर नेपाल फर्किएकी थिइन्। पाँच महिनामै नेपाल फर्किएकी उनी अहिले मानसिक रोगको उपचार गराइरहेकी छिन्। नवलपरासी धर्कैया–७ की चौधरीलाई एनआरएन साउदी अरबले सहयोग गरी नेपाल फर्काएको थियो। 
कतार, साउदी अरब, कुवेत, युएई, लेबनान, बहराइनलगायत मुलुकबाट उद्धार गरेर ल्याइएका २ हजार ८ सय २२ जना नेपाली महिलामा ४ सय १५ जनाले मानसिक सन्तुलन गुमाएका थिए। 
सामान्यतया रोजगारीका क्रममा यातना सहनुपर्ने, कडा काम गर्न नसक्ने भएपछि महिलाहरूले मानसिक सन्तुलन गुमाउने गरेको घटनाहरूले पुष्टि गरेका छन्।
चितवन भण्डारा–२ का तिलक थापाले मानसिक सन्तुलन गुमाएर २०६७ सालमा लेबनानबाट फर्केकी पत्नी विनिताको उपचारमा धेरै ऋण बोकेका थिए। त्यसबेला उनी निकै पीडामा थिए। वैदेशिक रोजगारमा गएर विभिन्न रोग र मानसिक सन्तुलन गुमाएर फर्किनेहरूको आधिकारिक तथ्यांक सरकारी निकायले राखेको छैन। 
पछिल्लो समय इपिएस प्रणालीबाट दक्षिण कोरियामा काम गर्न पुगेकाहरूमध्ये केहीले मानसिक सन्तुलन गुमाउन थालेका छन्। कामको चापका कारण नेपालीहरूले मानसिक सन्तुलन गुमाउन थालेको बताइएको छ। 
(फिचरमा उल्लेखित मानसिक रोगीका नाम परिवर्तन गरिएका छन्। प्रवीण ढकाल, अम्मर जिसी र डी विनोदको सहयोगमा)
अर्को समाचार
बिग्रेको जहाज अझै उडाउन अनुमति
२८ मंसिर २०६९
•
६ मिनेट पाठ
बिग्रेको जहाज अझै उडाउन अनुमति
सुशील भट्टराई, काठमाडौं, मंसिर २९ - करिब एक महिनादेखि कम यात्रु (लोड पेनाल्टी) मा जहाज उडाइरहेको नेपाल वायुसेवा निगमलाई पुनः केही दिन त्यसरी नै उडाउन नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ।  
 जहाजका पुर्जा आपूर्ति गर्ने बेलायती कम्पनीले सामान दिन ढिलाइ गरेको भन्दै निगम व्यवस्थापनका उच्च अधिकारीहरू बुधबार दिउँसो प्राधिकरण पुगेका थिए। त्यसपछि प्राधिकरणले बिहीबार निगमको जहाजलाईं बढीमा २० दिन लोड पेनाल्टीमै उड्न अनुमति दिएको सम्बद्ध एक अधिकारीले जानकारी दिए।
'विदेशबाट मगाएको सामान आइनपुगेको भन्दै समय थप्न आग्रहपत्र लिएर निगमका अधिकारीहरू आएका थिए,' प्राधिकरणका एक अधिकारीले बिहीबार नागरिकसँग भने, 'ध्वजावाहकको कुरा भएकाले म्याद थप भएको छ। यो दोस्रोपटक म्याद थप भएको हो।'
निगमसम्बद्ध एक अधिकारीका अनुसार जहाजमा कुनै सामान नभएपछि 'मिनिमम इक्विपमेन्ट लिस्ट' (एमइएल) को समय थप्न प्राधिकरणबाट अनुमति लिनुपर्छ। प्राधिकरणले समय नथपे जहाजलाई 'ग्राउन्डेड' गर्नुपर्छ।
मंसिर ४ गते एक एयर होस्टेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको निगमको बोइङ ७५७ ९एन एसिबी जहाजको 'इमर्जेन्सी स्लाइड' खोलिदिएपछि यो जहाज बिनास्लाइड लोड पेनाल्टीमा उडिरहेको छ।
यस्तो स्लाइड निगमका ठूला जहाजमा दायाँ र बायाँ तीन-तीनवटा छन्। ती एयरहोस्टेसले खोलिदिएको स्लाइड पछाडि भागको हो। एउटा स्लाइड नहुँदा जहाजले एक उडानमा २१ यात्रु कम बोक्नुपर्छ। अन्तर्राष्ट्रिय उडान गर्ने निगमका दुवै जहाजमा १ सय ९० सिट क्षमता छ। बोइङ एसिबी हाल १ सय ६९ यात्रुमात्र बोकेर उडिरहेको छ।
'सामान नमगाएर एमइएलको म्यादमात्र थप्नुको औचित्य छैन, फेरि बेलायती कम्पनीले सामान पठाउन ढिला गर्‍यो भनेर उम्किन मिल्दैन,' निगम स्रोतले भन्यो, 'एक महिनामा त कम्पनीले इमर्जेन्सी स्लाइड उत्पादन गरेर पठाउन पनि भ्याउँछ। बढीमा १० दिनभित्र सामान आउनुपर्ने हो, तर एक महिनाभित्र पनि नआउँदा निगमको विश्वसनियतामा प्रश्न उठेको छ।'
निगमका एक अधिकारीका अनुसार बेलायतको एएम कम्पनीले मंसिर २० मा इमर्जेन्सी स्लाइड पठाइदिने जानकारी दिएको थियो। त्यो दिन सामान नआएपछि २२ गते पठाउने भने पनि पठाएन। फेरि जानकारी माग्दा सामान परीक्षण गर्नेक्रममा काम नगरेपछि पठाएन नसकेको बताएको थियो। 'शुक्रबार सामान डिस्चार्ज गर्ने जानकारी दिएको छ,' उनले भने, 'बढीमा एक साताभित्र सामान आइपुग्छ।'
जहाजलाई पानी वा जमिनमा आकस्मिक अवतरण गराउँदा ढोकाको सट्टा इमर्जेन्सी स्लाइड खोलिन्छ र यात्रुहरू त्यही स्लाइडमा चिप्लेटी खेल्दै बाहिर निक्लने गर्छन्।
'स्लाइड नभएको जहाजले एक महिनामा झन्डै ३० उडान गरिसक्यो। ती उडानबाट जानुपर्ने करिब ६ सय यात्रु उड्न पाएनन्,' स्रोतले भन्यो, 'निगमले ती यात्रुलाई होटलमा राख्दा वा अन्य वायुसेवाबाट पठाउँदा उल्टै आम्दानी गुमाएको छ।' गत बिहीबार काठमाडौंबाट मलेसिया जान लागेका १३ यात्रुलाई निगमले होटलमा राखेको थियो।
जहाज लोड पेनाल्टीमा उडिरहे पनि व्यवस्थापनले १ सय ९० सिटकै टिकट बुकिङ गरिरहेको स्रोतले दाबी गरेको छ। टिकट बेचे पनि सिट कम भरेर आम्दानी गुमाइरहेको स्रोतले बतायो। 'सामानै ल्याउँदा फाइदा हुन्छ भन्ने व्यवस्थापनले किन बुझ्दैन?,' स्रोतले भन्यो।
स्रोतका अनुसार इमर्जेन्सी स्लाइड फेर्न कम्तीमा १२ हजार अमेरिकी डलर लाग्छ। बिनाकारण एसिबीको इमर्जेन्सी स्लाइड खोलिदिने ती एयरहोस्टेस सहित तीन एयरहोस्टेसलाई निगम व्यवस्थापनले हाल उड्न नपाउने गरी निलम्बन गरेको छ।
व्यवस्थापनले उनीहरू तीनजनाको नाम सार्वजनिक गरेको छैन। तथ्य पत्ता लगाई छानविन गर्न निगमको क्वालिटी एस्योरेन्स तथा फ्लाइट सेफ्टी निर्देशक रविन प्रधानको संयोजकत्वमा एक समिति गठन गरिएको छ। समितिले चाँडै प्रतिवेदन बुझाउने छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस