रेडकर्नर नोटिस नै अवैध
०४ साउन २०७०
•
१२ मिनेट पाठ
रेडकर्नर नोटिस नै अवैध
काठमाडौं - प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएको व्यक्ति नेपालमा पक्राउ पर्दा 'रेडकर्नर नोटिस' जारी भएकालाई बुझाउनुपर्ने बाध्यकारी कानुन छ' भन्दै सरकारले तत्काल बुझाइहाल्छ।
देशको सीमा कटेर भागेका अपराधीको खोजीमा रेडकर्नर जारी हुनुलाई ठूलो उपलब्धिका रुपमा समेत प्रचार गरिन्छ, तर यी दुवै दाबीमा सत्यता छैन। किनकि, नेपालमा जारी रेडकर्नर नोटिसको कुनै वैधता छैन।
नेपालको फौजदारी कानुनले रेडकर्नरलगायत नोटिसलाई वैधता नदिँदा इन्टरपोलबाट जारी भएको नोटिसकै आधारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय अपराधी पक्राउ गर्ने कानुनी अधिकार नेपाली सुरक्षा निकायसँग छैन। सुपुर्दगी सन्धि नहुँदा त झन् सम्बन्धित देशलाई बुझाउने कानुनी हैसियत पनि राख्दैन नेपालले।
इन्टरपोलको विधान स्वीकार गर्दै वार्षिक १७ हजार युरो (२१ लाख २५ हजार ) सदस्य शुल्क तिर्दै आएको छ नेपालले। नेपाल सदस्य बनेको ४६ वर्ष टेकिसक्यो, तर त्यसको उपादेय इन्टरपोलको सदस्य राष्ट्र हौं भन्ने र उसले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेभन्दा बढी हुन सकेको छैन।
प्रत्येक वर्ष हुने इन्टरपोलको महासभामा 'नेपालले इन्टरपोलको नोटिसका आधारमा 'अस्थायी  पक्राउ' लाई वैधता नदिएकाले यसको कुनै मान्यता छैन' भन्ने उल्लेख गर्दै नेपाललाई कानुनी मान्यता दिन आग्रह गर्दै वषर्ौं बितिसक्यो।
महासभामा भाग लिन गएका नेपाली प्रतिनिधि उताबाट फर्किएलगत्तै 'आफ्नै हितमा हुने काम पनि गर्न सकिएन' भन्दै प्रक्रिया अगाडि बढाउने प्रयास पनि गर्छन्। यस्तो प्रयास भएको १६ वर्ष बितिसक्दा पनि गृह मन्त्रालयमा पुगेको फाइल त्यतै अड्कँदा इन्टरपोल महासभाको निष्कर्ष फेरिन सकेको छैन।' जानकार अधिकारीका अनुसार २०५४ मा सुरु भएको कानुनी वैधताको प्रक्रिया अझै टुंगिएको छैन।
कर्तव्यज्यान, बलात्कार, मानव बेचबिखन र ओसारपसार, आतंकवाद, लागूऔषध, संगठित अपराध र जघन्य फौजदारी अपराधको अभियुक्तको खोजीमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इन्टरपोलको सदस्य बन्नुको उद्देश्य अपराधीको खोजी र हस्तान्तरणमा सहजता नै हो। त्यही फाइदा लिन नेपाल ४६ वर्षअघि इन्टरपोलको सदस्य बन्यो, तर यसले जारी गर्ने नोटिसको नेपालमा अहिलेसम्म कुनै वैधता छैन।
इन्टरपोलको सदस्य बनेकाले उसको नीति र कार्यशैली पच्छ्याउनु नेपाल सरकारको नैतिक बाध्यता हो। सदस्यराष्ट्रको लाज राख्न रेडकर्नर नोटिसमा परेका भारतीय नागरिक डा. अमित कुमारलाई पक्राउ गरेर नेपालले भारतलाई बुझायो पनि। अस्ट्रेलियन नागरिक जेफरी जोनलाई हस्तान्तरण पनि गर्‍यो। तर, यी दुवै काम कानुनको दायरामा भएका थिएनन्।
अपराधको बढ्दो भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि सन् १९५६ मा इन्टरपोल गठन भयो। त्यसको विधान स्वीकार गर्दै नेपाल विसं २०२४ मा इन्टरपोलको सयौं सदस्य बन्यो।
सदस्यराष्ट्रको आग्रहमा इन्टरपोलले अपराधीको खोजीमा अन्तर्राष्ट्रिय समन्वयका लागि फरार अभियुक्त खोज्न रेडकर्नर र डिफ्युजन, अपराधीबारे जानकारी दिन ब्लु, अपराधीको कार्यशैली जानकारी दिन ग्रिन, सनाखत हुन नसकेको शवबारे ब्ल्याक, हतियारबारे ओरेन्ज र हराएका व्यक्तिको खोजी गर्न एल्लो नोटिस जारी गर्दै आएको छ।
इन्टरपोलको नोटिसका आधारमा १ सय  ९० सदस्यराष्ट्रका प्रहरी लुकेका अभियुक्त र अपराधीको खोजीमा सक्रिय हुन्छन्। अन्तर्राष्ट्रिय सञ्जालको फाइदा लिन नेपालले पनि आफ्नो भूगोलबाहिर पुगेका अभियुक्तको खोजीका लागि इन्टरपोलमार्फत रेडकर्नरलगायत नोटिस जारी गराउँछ।
सरकारले भने कानुनमा सामान्य संशोधन गरी रेडकर्नरलगायत नोटिसलाई आफ्नो देशका कानुन कार्यान्वयन गराउने निकायबाट जारी भएको आदेशबराबर हैसियतसमेत दिएको छैन। त्यसैले नेपालले जारी गराएको नोटिस प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
नेपालको आग्रहमा ११ नेपाली र ४ विदेशी नागरिक इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन्। नेपाल प्रहरीको एनसिबीले डोरबहादुर विष्टदेखि छोरीमाया महर्जनलगायत नौजनाको खोजीका लागि एल्लो नोटिससमेत जारी गराएको छ। एडभान्स पावर डिभाइस प्रालिका नाममा ३५ लाख बढी रकम ठगी गरेको अभियोगमा पशुपतिनाथ शुक्लको नाममा पनि रेडर्कनर नोटिस छ।
जमिम साह हत्या योजनामा संलग्न देखिएका पूर्व डिएसपी जगदीश चन्द, चिकित्सक उपेन्द्र देवकोटाकी छोरीको अपहरण अभियोगमा फरार केशव दर्लामीमगर, गोकुल गिरी, तानाराथ बोहोरा हत्याका अभियुक्त फकिर रियाज, ४ करोड ५० लाख ठगीका अभियुक्त भूपेन्द्र खड्कासमेत रेडकर्नर नोटिसमा छन्।
नेपालले वन्यजन्तुका अंग र पुरातात्त्िवक सामग्रीको तस्करी अभियोगमा फरार अमेरिकी नागरिक इयान बेकर, ३ करोड ६५ लाख ठगीका अभियुक्त भारतीय नागरिक राहुल हल्दियाको नाममा नेपालको आग्रहमा रेडकर्नर नोटिस जारी भएको छ। अन्य राष्ट्रबाट रेडकर्नरमा परेका नेपालीको संख्या ६८ छ।
तर, अन्य राष्ट्रबाट खोजी भएकाले रेडकर्नरमा परेकै आधारमा पक्राउ गर्ने न प्रहरीसँग अधिकार छ, न सीमापारि रहेकालाई पक्राउ गरेर बुझाउन दबाब नै बनाउन सक्छ। सीमापारि पुगेकाहरु नेपाली सीमाभित्र फेला नपरेसम्म वा उनीहरु बसेको देशले सहयोग गरौं न त भन्ने दया नदेखाएसम्म उनीहरु कारबाहीको दायरामा आउँदैनन्।
प्रहरी प्रवक्ता नवराज सिलवाल इन्टरपोलको सदस्य राष्ट्र भए पनि रेडर्कनर नोटिस जारी भएकै आधारमा कसैलाई पक्राउ गर्न नसकिने बताउँछन्। यस्तो नोटिस जारी भएकालाई निगरानी राख्ने र नेपालको कुनै कानुन उल्लंघन गरेमात्रै पक्राउ गर्न सकिने उनले जानकारी दिए।
'सुपुर्दगी ऐन सम्झौता भएको मुलुकका नागरिक भए पक्राउ गरेर सुपुर्दगी गर्न सकिन्छ,' उनले नागरिकसँग भने, 'तर इन्टरपोलले नोटिस जारी गरेकै आधारमा पक्राउ गरी सुपुर्दगी गर्न कानुनी  अधिकार छैन।'
१६ वर्षको निरर्थक प्रयास
भारतको दिल्लीमा भएको इन्टरपोलको ६६औं महासभामा भाग लिएर फर्किएपछि तत्काल प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले इन्टरपोलको नोटिसलाई कानुनी वैधता दिलाउने प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयसँग पत्राचार गरेका थिए।
२०५४ मंसिर २६ को मितिमा गृह मन्त्रालयलाई सम्बोधन गरेर पठाइएको पत्रमा' इन्टरपोलबाट जारी हुने नोटिसलाई कानुनी वैधता नदिँदा प्रभावकारी कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्दै सुपुर्दगी ऐन संशोधन गरी सुपुर्दगी गर्न सकिने प्रावधानमा 'रेडकर्नर नोटिस जारी गरी अनुरोध भई आएमा' भन्ने वाक्यांश थप्न सुझाइएको थियो।
प्रहरी संगठनका प्रमुखलाई मात्रै महासभामा बोलाउन राजनीतिक प्रतिबद्धता नभएको अनुभव गर्दै इन्टरपोलले प्रत्येक तीन वर्षमा गृहमन्त्रीस्तरीय बैठक पनि गर्छ। तैपनि नेपालमा भने कुनै फेरबदल हुन सकेको छैन।
कानुनसम्बन्धी जानकार अधिकारी सुपुर्दगी ऐन संशोधनको साटो नेपालको प्रमाण ऐनमा रेडकर्नरलाई समेत प्रमाणको रुपमा मान्ने हो भने पनि सहज हुने बताउँछन्। इन्टरपोलको महासभामा सहभागी हुन जाने प्रतिनिधिमण्डल त्यहाँका हरेक घोषणापत्रमा हस्ताक्षर गरेर त फर्कन्छन्, त्यसको नैतिक मूल्य भए पनि स्वदेश आइपुग्दासम्म कानुनी मूल्य भने शून्य बनिसकेको हुन्छ।
२०५५, २०५८ र २०६६ मा समेत बारम्बार पत्राचार भएको गृहको अभिलेखमा देखिन्छ। तर, गृहका अधिकारीले प्रस्तावसहितको फाइल मन्त्रालयमै थन्क्याएका छन्।
गृहका जिम्मेवार अधिकारी त त्यसबारे अनभिज्ञझैं बन्छन्। बिहीबार सम्पर्कमा आएका गृहका एक उच्च अधिकारीले यसबारे जानकारीका लागि शुक्रबारसम्म समय मागे। शुक्रबार दिनभर बुझिरहेको छु भन्ने ती अधिकारीले बेलुका भने, 'पुरानो फाइल होला, त्यसबारे थाहै भएन।'


अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस