मःमःको सहर
०५ पौष २०७०
•
१५ मिनेट पाठ
मःमःको सहर
चालिस वर्षअघि असनको मासंगल्लीमा लक्ष्मीनारायण डंगोलको प्रख्यात खाजा पसल थियो– छोयला, कचैला, भटमास र चिउराको खाजा पाइने। एकदिन उनले ग्राहकलाई फरक स्वाद चखाउने विचार गरे र, 'ट्राई' गरे। नयाँ स्वादको खाजाको नाम थियो– मःमः।

नारायण दाइको पसलमा अब मःमःको बास्ना आउन थाल्यो। सेतो–सेतो डल्लोभित्र मासुले भरिएको यो नयाँ परिकारलाई धेरैले मन पराए। पहिले भटमास–चिउरा खानेहरू मःमःतिर लोभिन थाले। मुखमा झुन्डिन थाल्यो– मःमः। थाहा नहुनेहरूलाई त यो अचम्मको परिकार थियो।

मःमःको स्वाद लिन र हेर्नकै लागि धेरै ठाउँबाट मासंगल्लीमा मान्छेहरू आउन थाले। यही पसललाई अहिलेसम्म निरन्तरता दिइरहेका किरण श्रेष्ठ भन्छन्, 'त्यस बेला धेरैलाई मःमःको नाम नै थाहा थिएन। कतिपय त हेर्नकै लागि आउँथे।'

गत हप्ता गौशालास्थित 'नारायण दाइको मासंगल्ली फेमस मःमः सेन्टर' पुग्दा मःमः खानेको भीड थियो। तात्तातो डल्लो प्लेटमा हाल्न किरण श्रेष्ठलाई भ्याइनभ्याई थियो। उनले यसरी मःमःको डल्ला बटार्न थालेको ४० वर्ष भइसक्यो। नारायण दाइले मःमःको स्टोभ बसाल्दा उनी १० वर्षका थिए। 'अहिले ५० वर्ष पुगिसकियो,' उनले भने, 'मःमःसँगै दाह्री–जुंगा पनि पाकिसके।'

असन गल्लीबाट सुरु भएको उनको मःमः पसल कालिकास्थान हुँदै गौशालाको आफ्नै घरसम्म आइपुगेको छ। नारायण किरणका सानोबुबा हुन्। उनले सानैदेखि नारायणलाई सहयोग गर्दै आए। 'सानोबुबाबाट सिक्नै मौका पाएकाले नै अहिलेसम्म व्यवसायमा टिकिरहेको छु।'

लक्ष्मीनारायणले बनाएको मःमः पहिलोपल्ट खानेहरू भन्थे, 'वाह! क्या शानदार मःमः।' पछि ग्राहककै सल्लाहमा उनले पसलको नाम पनि 'शानदार मम सेन्टर' राखे। लक्ष्मीनारायणको निधन भएको १६ वर्ष भयो। त्यसपछि किरणले नै पसललाई निरन्तरता दिइरहेका छन्। 'उहाँकै सम्झनामा छ वर्षअघि पसलको नाम पनि 'नारायण दाइको मासागल्ली फेमस मःमः सेन्टर' राख्यौं,' किरणले भने।

नारायणले पसल सुरु गर्दा रन्जना गल्लीमा आरसी नामक एउटा खाजा पसल थियो। आरसीले पनि मःमः पकाउन सुरु गरेको किरण सम्झन्छन्। त्यसबाहेक काठमाडौंमा मःमः पसल कतै थिएनन्। 'एक प्लेट मःमःलाई २ रुपैया ५० पैसा पर्थ्यो,' उनी भन्छन्, 'अहिले यही पसलमा ८० रुपैयाँ पर्छ।' असनमा पसल गर्दा १०–१२ जना कामदार थिए। भ्याइनभ्याई हुन्थ्यो। पसल सानो भएकाले ग्राहक बाहिर उभिएरै खान्थे। कलेजका विद्यार्थीहरूको घुइँचो लाग्थ्यो। असनमा १४–१५ वर्ष चल्यो उनीहरूको पसल। भाडा धेरै बढेपछि उनीहरू कालिकास्थान सरे। कालिकास्थनमा १० वर्ष चलाएपछि अहिले गौशाला सरेका हुन्। भित्तामा नारायण दाइको फोटो झुन्डिएको छ।

'यहाँ आएको १६ वर्ष भइसक्यो,' किरण भन्छन्, 'मःमःको बिक्री राम्रा भएको देखेर यसैको नक्कल अरूले पनि पसल सुरु गरे।' कतिपयले त व्यवसायको मात्र नक्कल होइन नामसमेत नक्कल गरेछन्।

किरणले मःमःमात्र होइन, किमा, मसला पनि अन्य पसललेलाई बेच्छन्। उनकोमा मःमः खान बनेपादेखिका ग्राहक पनि आउँछन्।

नारायण दाइकोमै काम गर्नेहरूले मःमः बनाउन सिकेपछि आफैं पसल खोल्न थाले। यसले पनि मःमःको विस्तार भयो। नारायण दाइको पसल, आरसीपछि महाबौद्धमा अर्को मःमः पसल सुरु भयो। 'महाबौद्धको साहूले पनि नारायण दाइबाट नै आइडिया र पैसा सापटी लिएर सुरु गरेको थियो,' किरणले भने। महाबौद्धमा धेरै भरिया हुन्थे। उनीहरूका लागि सस्तो मःमः सुरु गरेको किरण बताउँछन्। अहिले यो पसल जमलमा सरेको छ। मान्छेको भीड हुने र व्यापारिक केन्द्र भएकाले असन र महाबौद्धतिर पनि बिस्तारै पसल खुल्ने क्रम बढ्यो।

२६ वर्षअघिदेखि नक्सालमा एभरेस्ट मःमः पसल सुरु गरेका डम्बर थोमरोस कुलुङ अहिले काठमाडौंको मःमः व्यापार देख्दा दंग पर्छन्। २०४५ सालतिर काठमाडौंका प्रमुख चोक–चोकमा मात्र मःमः पसल थिए। उनले सुरु गर्दा नक्साल, कमलपोखरी चोक, चारखाल अड्डा, पुतलीसडक, डिल्लीबजार, असन, महाबौद्ध, खिचापोखरी, रन्जना गल्लीजस्तो बस्ती भएका ठाउँमा मःमः पसल खुलिसकेका थिए।

उनी काठमाडौं आउँदा नक्सालमा पातलो बस्ती थियो। कालोपुलतिर गाईपालन थियो। कामको खोजीमा सोलुखुम्बुबाट काठमाडौं आएका डम्बरले व्यवसाय गर्नेबारे सोच्दै थिए। कम लगानीमा पनि गर्न सकिने मःमः पसल उनको रोजाइमा पर्‍यो। एउटा सानो स्टोभ र दुई–चारवटा प्लेट किनेर उनले पसल सुरु गरे। चार–पाँच महिनापछि भाडा पुग्ने आम्दानी हुन थाल्यो।

नक्साल, कालोपुलतिर कतै पनि मःमः पसल थिएनन्। 'यस्तो छेउमा आएर के मःमः पसल सुरु गरेको,' वरिपरिकाले डम्बरलाई भन्थे। 'गर्ने कि नगर्ने भन्दाभन्दै दुई–तीन महिना बित्यो, त्यतिन्जेलसम्म भाडा पुग्ने व्यापार भइसकेको रहेछ,' उनी सम्झन्छन्, 'त्यसपछि यसलाई छोड्न सकिनँ।'

५० सालतिर आइपुग्दा एभरेस्ट नामको मःमःले काठमाडौंमा निक्कै चर्चा पायो। डम्बर भन्छन्, 'एभरेस्ट नाम जोडेर धेरै मःमः पसल खुले।' अहिले पनि त्यही नामका थुप्रै पसल छन्।

४० वर्षअघिदेखि सुरु भएको मःमः खाने चलन अहिले गल्लीगल्ली र घरघर छिरेको छ। काठमाडौंको चिसो वातावरणमा मःमः खाने पारखीसँगै यसको पसल पनि बढिरहेको छ। किरण श्रेष्ठ दिनको ५० देखि ६० केजी मासुको मःमः बेच्ने गरेको बताउँछन्।

आखिर किन लोकप्रिय बन्दैछ त मःमः? 'खान सजिलो, मिठो र पेट भरिने भएकाले मःमःलाई धेरै मन पराएका हुन्,' किरण भन्छन्।

काठमाडौंको चिसो वातावरण र जनसंख्याको चापले गर्दा मःमःको व्यापार धेरै भएको डम्बरको भनाइ छ। 'मान्छेको जनसंख्या बढ्दै गएपछि मःमःको व्यापार पनि बढेको छ, पसल पनि विस्तार भएको छ,' उनले भने।

सर्वसुलभ, सस्तोमा मासुको टेस्ट पाइने भएकाले मःमः धेरैको रोजाइमा पर्ने ठान्छन् लेखक बुद्धिसागर। उनी आफैं पनि मःमःको स्वादका लागि धेरै ठाउँ चहार्छन्। झन्डै १२ वर्ष काठमाडौंका गल्लीगल्ली हिँड्दा बुद्धिसागरलाई दुई–तीनवटा पसलको मःमःमात्र मन परेको छ। काठमाडौंका चोकचोक पसल छन् तर उनी जहाँतहीँ झिर्दैनन्।

अर्का मःमः पारखी हुन्, लेखक ब्रजेश खनाल। उनी लोकल मःमः मन पराउँछन्। केटाकेटी हुँदा असनको मासंगल्लीमा मःमः खान पुग्ने ब्रजेशले काठमाडौंका धेरै ठाउँ पुगेर यसको स्वाद चाखिसकेका छन्। तर सीमित पसलले मात्र उनको जिब्रोलाई लोभ्याएको छ। 'पाटनमा एक बूढी आमाले बनाउने मःमःको पारखी हुँ म,' उनले भने, 'पापाल र जावाल गल्लीको बीचमा पर्ने यो पसलको नाम छैन, तर स्वाद नमेटिने खालको छ।'

कलाकार आर्यन सिग्देललाई पनि मःमः मन पर्ने खाजा हो। 'नारायण दाइको मासंगल्ली फेमस मःमः सेन्टर' उनको गन्तव्य हो। 'पाँच–छ वर्षदेखि यहीँको मःमः खाँदै आएको छु,' आर्यनले भने, 'यहाँको मःमः एकदम स्वादिष्ट छ।'

मःमःको व्यापार विस्तारसँगै मूल्य पनि बढ्दो छ। किरण सम्झन्छन्, 'हामीले मःमः पसल सुरु गर्दा एक प्लेट मःमःको २ रुपैया ५० पैसा थियो। अहिले एक प्लेटको ८० रुपैयाँ पर्छ।' एभरेस्ट मःमः सुरु गर्दा तीन–चार रुपैयाँमा एक प्लेट आउने डम्बर सम्झन्छन्। अहिले उनको मःमःलाई ११० रुपैयाँ प्रतिप्लेट पर्छ।

यी मूल्य काठमाडौंका पाइने मःमःको औसत मूल्य हो। यहाँ गल्लीको सस्तो मःमःदेखि रेस्टुरेन्टको महँगो मःमःसम्म पाइन्छ। पछिल्लो समय मासु र मरमसलामा बढेको महँगीले मःमःको मूल्य पनि माथि पुगेको व्यवसायी बताउँछन्। बजारभाउ धान्न मःमःको मूल्य पनि बढाउनुपरेको उनीहरूको भनाइ छ।

मूल्यअनुसार सबै ठाउँको मःमः गुणस्तरीय नभएको किरण श्रेष्ठ बताउँछन्। 'सबैले राम्रो मासु र किमा बनाउँदैनन्,' उनले भने, 'धेरै पसलमा सरसफाईको अभाव छ।'

म:म पारखी भन्छन्

आर्यन सिग्देल, नायक

नारायण दाइको पसलमा छ वर्षदखि खाइरहको छु। त्यहाँको मःमः मिठो लाग्छ। मासुमा बोसो हुँदैन। हेर्दै स्वच्छ र सफा छ। त्यहाँ जानुको अर्को कारण छोयला पनि हो। त्यहाँको छोयला साह्रै मिठो छ। म जहाँ पायो त्यहीँको मःमः खाँदिन।

मःमः मिठो, छिटो र सजिलो खाजा हो। कपाकप खायो, हिँड्यो। समयको बचत पनि हुन्छ। मलाई मासु धेरै मन पर्छ, त्यही भए पनि म मःमःको पारखी हुँ।

बुद्धिसागर, लेखक

मःमः सबैभन्दा सजिलो खाजा हो। काठमाडौंमा जताजतै पाइन्छ। थोरै पैसामा मासुको टेस्ट लिन पाउने भएकाले धेरैको लागि यो रोजाइमा परेको हो। काठमाडौंको चिसो वातावरणले पनि मःमःका पारखी बढेका हुन्। मःमः खाने एकखालको लत पनि रहेछ। बानी पर्‍यो भने राम्रो मःमः खोजीखोजी खाइन्छ। मैले काठमाडौंमा १२ वर्ष मःमः खाँदा दुई–तीन ठाउँमा मात्र असली स्वाद फेला पारको छु।

मःमः खान मन लाग्यो भने जहाँ भए पनि सधैं खाने गरेको पसलमा गएर खाने गरेको छु। मैले पहिलोपटक २०५० सालतिर कैलालीको लम्कीमा मःमः खाएको थिएँ। एउटा साथीले 'लम्कीमा मःमः भन्ने चिज आएको छ रे' भने सुनायो। त्यही अचम्मको खाजाको लत अहिलेसम्म लागिरहेको छ।

ब्रजेश खनाल, साहित्यकार

काठमाडौंको मःमःमा पाइने स्वाद अन्त कतै पाएको छैन। यहाँको लोकल मःमः झनै मिठो हुन्छ। म प्रायः पाटनमा एक बूढी आमाले बनाउने मःमःको पारखी हुँ। हाइफाईको खोज्ने हो भने महाराजगन्जको एक चाइनिज रेस्टुरेन्टको मःमः स्वादिलो छ।

छिटो छरितो, सस्तो र मिठो स्वादकै कारण मःमः खानेहरू बढेका हुन्। पहिलोपटक मैले केटाकेटी हुँदा नै असन मासनगल्लीको मःमः (नारायण दाइको) खाएको थिएँ। 'मःमः खानुपर्छ' भने काकाले त्यहाँ लिएर जानुभएको थियो। त्यहाँ भीड भएकाले टिकट लिएपछि एकछिन पर्खेर मात्रै पालो आउँथ्यो।

अहिले रेस्टुरेन्ट, होटल, खुल्ला पसल जताततै मःमः पाइन्छ। तर स्वच्छ मःमः पहिचान गरेर मात्रै खानुपर्छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस